७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

'शंकर' डाक्टर

'दमक, बिर्तामोड र भद्रपुरको उपचारले मलाई बिसेक भएन, अब एकपटक शंकर दाक्दर (डाक्टर) कोमा जँचाउँदा पो निको हुन्थ्यो कि?,' गाह्रो मान्दै आमा बोल्नुभयो। घाँटी दुख्ने समस्याले उहाँलाई थला पारेको थियो। ओछ्यान परेको निकै दिन भइसकेको थियो। सुरुमा अलिअलि बढेको टन्सिल पाकेपछि झनै जटिल भयो। खानेकुरा निल्दा मात्र होइन, पानी पिउँदासमेत आमाको अनुहारमा असह्य पीडा झल्किन्थ्यो। घाउ अनियन्त्रित रूपमा फैलँदै गएको भान हुन्थ्योआमाले राम्ररी नखाएको महिनादिन नाघिसकेको थियो। घाउ पाकेकाले मुखबाट फोहोर रगत निस्कन थालेको थियो। गाउँमा कतिपयले अनुमानका भरमा भन्दा रहेछन्– लामो समय घाउ निको नभए त क्यान्सर हुन्छ रे। यसले परिवारका सदस्यलाई झन् हताश बनाउँथ्यो। बुबा र दिदीहरू आत्तिन थाल्नुभएको थियो।

२०३७ सालको कुरा हो। म भर्खर स्कुल जान थालेको थिएँ। साथीभाइसँग खेलेर रमाइलोे गरे पनि आमा लामो समय बिरामी पर्दा भित्रभित्रै चिन्तित थिएँ। उहाँ सुत्नुभएको खाटछेउ टहलिरहन्थेँ। आमा बिरामी भएयता स्कुल पनि गएको थिइनँ। 'कान्छा तँ सानै छस्, कथंकदाचित् मलाई तलमाथि भए तेरो बिजोग हुन्छ होला हगि,' दुखाइ बढेका बेला आमा हरेस खानुहुन्थ्यो। मेरा आँखा भरिएर आउँथे।

'मैले सुनेको छु, 'शंकर डाक्टर'ले अन्त निको नभएका धेरै बिरामी निको पारेका छन् रे, उनी असाध्यै नामी र जान्ने डाक्टर हुन्, ध्यान दिएर जाँच गर्छन् र रोग खुट्ट्याईकन छाड्छन्। उनैलाई देखाउँला, ठिक भइहाल्छ नि, किन धेरै चिन्ता गरेकी,' नजिकै खाटमा बस्नुभएका बुबाले आमालाई आश्वस्त तुल्याउनुभयो। हुन पनि झिलझिले मेडिकलको गुप्ता, दमकको राई, बिर्तामोडको साहलगायत डाक्टरलाई देखाए पनि रोग बीसको उन्नाइस भएको थिएन।

बुबाका अनुसार डाक्टरको जाँचशुल्क र औषधि किन्दा साहुसँग ऋणपान गरेको करिब २ हजार सिद्धिएको थियो। त्यस बेलाको हाम्रो निम्नमध्यमवर्गीय परिवारका लागि यो सामान्य खर्च थिएन।

आमालाई 'शंकर डाक्टर' अर्थात् डाक्टर शंकरप्रसाद उप्रेतीकहाँ लैजाने निधो भयो। खै किन हो, बुबाको कुरा सुनेलगत्तै मलाई पनि 'शंकर डाक्टर'ले जाँच गरेर दबाइ दिएपछि आमालाई पक्कै निको हुन्छ भन्ने लाग्यो।

'तँ केटाकेटी मान्छे, घरमै बसेर पढ्, म आमालाई जँचाएर ल्याइहाल्छु,' बुबाले फकाउन खोज्नुभयो। मैले मानिनँ। मनैदेखि बिरामीको उपचार गर्ने 'शंकर डाक्टर'लाई भेट्ने मेरो चाहना उत्कट भइसकेको थियो। रोइ–कराइ गरेपछि बुबाले मलाई पनि सँगै लैजाने हुनुभयो।

बुबा, आमा र म हाम्रो घर दूधे (नहरचोक) बाट बस चढेर बिर्तामोड हुँदै शनिश्चरे बजारमा रहेको 'शंकर डाक्टर' को घर पुग्यौं। उहाँ बिहानैदेखि राति अबेरसम्म त्यहीँ बिरामी जाँच्नुहुन्थ्यो। बिरामीलाई जुनसुकै बेला ढोका खुला थियो।

हामीभन्दा पहिले नै त्यहाँ अरू बिरामी पुगिसकेका रहेछन्। गोरो र उज्यालो अनुहार, तेजस्वी व्यक्तित्व अनि मझौला कदका 'शंकर डाक्टर'लाई मैले पहिलोपटक देख्ने अवसर पाएँ। आमालाई जाँच्ने पालो आयो। डाक्टरको कोठामा बुबासँगै म पनि गएँ। ओहो, उहाँले कस्तो मायालु र सरल व्यवहार देखाएर बिरामी जाँच्नुहुँदो रहेछ!

केटाकेटीलाई असाध्यै माया गर्नुहुँदो रहेछ, मलाई चकलेट दिनुभयो। दंग परेँ। सोचेँ, 'डाक्टरले सुई घोच्ने, चिरफार गर्ने काम मात्र गर्छन् भनेको त यति मिठो चकलेट दिँदा रहेछन्।'

निकै समय लिएर आमाको घाँटी जाँच गर्नुभयो उहाँले। फिस लिनुभएन। उहाँले लेखिदिएअनुसार १५ दिनका लागि औषधि किनेर फर्कियौं। सात दिनपछि नै आमाको स्वास्थ्यमा सुधार देखिन थाल्यो। औषधि सिद्धिँदासम्म त पूरै निको भइसक्नुभएथ्यो। 'शंकर दाक्दर' ले दिएको ५० रुपैयाँको औषधिले मेरो घाँटी दुख्ने समस्या निको भयो, अन्त ग'को भए निक्कै खर्च हुन्थ्यो, निको नहुन पनि सक्थ्यो। यी दाक्दर त बिरामीका लागि शंकर भगवानै हुन्,' आमाले त्यति बेला भनेको अझै सम्भि्करहन्छु।

'शंकर डाक्टर'प्रति आमाको ठूलो भरोसा थियो। त्यसो त झापाका काँकडभिट्टा, धुलाबारी, ज्यामिरगढी, जलथल, बनियानी, गौरादह, दमक, शिवगन्ज, सतासीधाम, महाभारा, गौरीगन्जका बासिन्दा उपचारका लागि उनीकहाँ पुग्थे। इलाम, पाँचथर, ताप्लेजुङ, मोरङसम्मका बिरामी पनि जान्थे। उहाँले वर्षौं मेडिकल अभ्यास गर्दा कुनै पनि बिरामीसँग जाँच–फिस लिनु भएन। उल्टै हजारौं विपन्नलाई औषधिसमेत सित्तैमा दिनुभयो। जिल्लाका स्थानीय अझै भन्छन्, 'शंकर डाक्टरकै कारण अनेक व्यक्तिले पुनर्जीवन पाए।'

आमाको उपचार सिलसिलामा म शनिश्चरे पुग्दा त्यहाँ 'शंकर डाक्टर'ले बिरामीलाई सेवा दिन थालेको दस वर्ष बितिसकेको थियो। त्यसअघि करिब ९ वर्ष उहाँले सरकारी चिकित्सकका रूपमा कैलाली र भोजपुरमा सेवा पुर्यायइसक्नुभएको थियो। उहाँ विशेषज्ञ डाक्टर नभए पनि हरेक रोगका बिरामीको उपचार गर्नुभयो। आश्चर्य के भने विशेषज्ञ डाक्टरकहाँ धाउँदाधाउँदै थोकेका बिरामी पनि त्यहाँ आएपछि निको हुन्थे। प्रसूति, हाडजोर्नी, घाँटी, नसा लगायतका जटिल स्वास्थ्य समस्या समाधान हुन्थ्यो।

२०३७ सालपछि करिब डेढ दशकजति 'शंकर डाक्टर' सँगको सम्बन्ध पारिवारिक चिकित्सकको जस्तै रह्यो। परिवारका जो सदस्य बिरामी भए पनि उहाँकोमै पुगिहाल्ने। यो क्रम 'शंकर डाक्टर'ले झापाको शनिश्चरे छाडेर राजधानी नजाउन्जेलसम्म चलिरह्यो।

विद्यालय तहमा मेरो स्वास्थ्य राम्रो थिएन। पेट दुख्ने, दम बढ्ने, खुट्टा बाउँडिनेलगायत समस्या आइरहन्थे। दुई दशकयता भने विपश्यना, क्रियायोगलगायत ध्यान–साधनाको प्रभावलेे स्वास्थ्य दरिलो बन्दै गएको महसुस छ।

त्यस बेला बिरामी हुनासाथ बुबा मलाई शनिश्चरे लगिहाल्नुहुन्थ्यो। कतिचोटि त म एक्लै पनि 'शंकर डाक्टर'कहाँ गएँ। मलाई अचम्म अनुभव हुन्थ्यो– टाइफाइडले गलेको मान्छे, उहाँले नाडी छाम्नासाथ निको भएजस्तो अनुभूति। प्रेसर नाप्दै भन्नुहुन्थ्यो, 'अब छिट्टै निको हुन्छौ।' मलाई तुरुन्तै तंग्रिएजस्तो फुर्ती आउँथ्यो। उहाँले पटक–पटक मेरो नाडी छाम्नुभएको छ, बेथा खुट्ट्याएर औषधि दिनुभएको छ, अनि रोगलाई पराजित गरेर अघि बढ्न हौसला दिनुभएको छ।

काठमाडौं आएर डा. कीर्तिस्वरूप रावतको संगतमा परामनोविज्ञानबारे केही पढ्ने मौका मिलेपछि सकारात्मक ऊर्जाले कसरी शरीर र मनलाई 'हिलिङ' गर्छ भन्ने थाहा पाएँ। अहिले मलाई लाग्छ– 'शंकर डाक्टर' मा चिकित्सकीय ज्ञान मात्र होइन, प्रचुर आध्यात्मिक शक्तिपुञ्ज पनि रहेछ। पछिल्लोचोटि २२ वर्षपहिले बुबा बिरामी हुँदा म उहाँकहाँ गएको थिएँ। त्यस बेला उहाँ नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको सदस्य हुनुभएको थियो। काठमाडौंमा सदन नचल्दा गाउँमै गएर बिरामीको उपचार गर्नुहुन्थ्यो। बुबालाई टाउको दुख्ने, रिँगटा लाग्ने समस्या थियो। विभिन्न डाक्टरले दिएको औषधि खाँदा पनि बुवाको स्वास्थ्य ठिक हुन सकेको थिएन। उहाँले जाँच गरेर औषधि दिएको केही दिनमै बुबा स्वस्थ हुनुभयो।

'शंकरले औषधि दिएर मात्र निको हुने होइन, उहाँमा अचम्मको सकारात्मक शक्ति र ऊर्जा छ। उहाँको नजिक पुग्ने अधिकांश बिरामीको आधाजसो रोग त्यही ऊर्जाका कारण निको हुन्छ,' बुबा अचेल पनि बेलाबेलामा यो कथन दोहोर्याकउनुहुन्छ। त्यसयता करिब अढाई दशक 'शंकर डाक्टर' सँग भेटघाट हुन सकेको थिएन।

....

माघ ७ गते बिहान साहित्यकार कृष्ण धरावासीले फोन गर्नुभयो– 'भाइ, आज २ बजे थियटर भिलेज, लाजिम्पाटमा 'शंकर डाक्टर' बुबाको 'जीवन एक सपना' संस्मरणको विमोचन छ, निम्तो है! 'हुन्छ दाइ, म आउँछु,' फोन कुराकानी सकियो।

थियटर भिलेजको प्रांगणमा 'शंकर डाक्टर' र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला कुराकानी गरिरहनु भएको थियो। छेउमा 'शंकर डाक्टर' का छोरा सञ्जीव उप्रेती र बुहारी अर्चना थापा पनि हुनुहुन्थ्यो। अभिवादनपछि मैले शंकर डाक्टरसँग झापाका केही प्रसंग झिकेर कुराकानी गर्न खोजेँ। ८१ वर्षीय उहाँको श्रवणशक्ति कमजोर भएकाले दोहोरो कुराकानी सम्भव भएन।

साहित्यकार काइँलाले दियो बालेर कार्यक्रम शुभारम्भ गरेको केही बेरपछि नै 'जीवन एक सपना' विमोचित भयो। एउटा गाउँको डाक्टरले आठ दशकमा भोगेको अनुभूति छ यसमा। भनिन्छ– जीवन किताब हो। लाग्छ–'शंकर डाक्टर'ले किताबरूपी जीवनका पानालाई आफ्ना भोगाइले भरिदिनुभएको छ। नयाँ कुरा सिक्ने अनि जीवन बुझ्ने गहन चाहना थियो उहाँमा। त्यही भएर तेह्रथुमदेखि जोगबनी हुँदै काठमाडौं पुगेको पढाइयात्रा भारतमा गएर टुंगिन्छ। जोगबनी जुटमिलमा कार्यरत पिएल उप्रेतीको घर बस्दा कानपुरबारे सुनेका शंकर काठमाडौंबाट भागेर त्यहाँ पुग्नुहुन्छ र आफ्नै कमाइमा कलेजस्तरमा पढाइ पूरा गरीकन छाड्नुहुन्छ। चौध वर्षको उमेरमा काठमाडौंबाट भागेर कानपुर पुग्दा उहाँलाई आरएस नारायण तथा सुब्रमन्यम स्वामीजस्ता व्यक्तिले सहयोग गरेका थिए। ईश्वरप्रति आस्थावान् उहाँ ठान्नुहुन्छ– त्यस बेला पर्दापछाडि त सायद अर्कै कुनै दैवी वा ईश्वरीय शक्तिले काम गरिरहेको थियो। पछिल्लो समयमा 'आत्मकथा लेखन' लेखकको अहँकार व्यक्त गर्ने माध्यम भएको छ। तर, शंकरले किताबमा आफूलाई एउटा सामान्य व्यक्तिको रूपमा उभ्याउनु भएको छ। कुनै दम्भ झल्किँदैन उहाँको लेखाइमा।

कोलम्बो प्लानअन्तर्गत भारतको जयपुरबाट एमबिबिएस पास गरेपछि त्यहीँ नबसीकन उहाँ नेपाल फर्कनुहुन्छ। २०१८ सालमा उहाँले एमबिबिएस गरेको समयमा नेपालभरि औंलामा गन्न सकिने डाक्टर थिए। तर, उहाँले डाक्टरी पेसा भजाएर अकुत पैसा थुपार्ने योजना बनाउनु भएन। त्यस बेला चाहेको भए काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्जजस्ता बिरामीको भिड लाग्ने सहरमा मेडिकल प्राक्टिस गर्न सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन । हुँदाखाँदाको सरकारी जागिर छाड्नुभयो, झापाकै दुर्गम गाउँलाई केन्द्रमा राखेर जीवनभर रोगीको सेवा गर्नुभयो।

यसो गर्नुको पछाडि ईश्वरसँग गरेको वाचा रहेछ, जुन उहाँले तोड्नु भएन। कोलम्बो प्लानमा नाम निस्किएपछि प्रतिबद्धता जनाउनु भएको रहेछ, 'हे भगवान्, तिम्रो कृपाले नै आज म मेडिकल पढ्न गइरहेछु। एमबिबिएसभन्दा ज्यादा पनि पढ्दिनँ, त्यति भए मलाई पुग्यो।' अधिकांश मानिस स्वार्थ पूरा भएपछि वाचा र प्रतिबद्धता भुल्छन्, उहाँले त्यसलाई कार्यान्वयन गरीकन छाड्नु भयो। वाचाअनुसारै एमबिबिएसपछि ५० वर्षसम्म दूरदराजको गाउँमा बिरामीको सेवा गर्नुभयो। काठमाडौंमा श्याम चैतन्य बाबासँग भेट भएपछि उहाँको आध्यात्मिक चेतना र जागरण बढ्दै गयो। नेपाली कांग्रेसको राजनीति गर्दा होस् वा मेडिकल प्राक्टिस गर्दा, अन्तरात्मालाई ढाँटेर कहिल्यै काम गर्नु भएन । आफूलाई परमात्माले खटाएको दूत सम्झेर दीनदुःखीको सेवा गर्नु भयो।

२०६८ सालमा धर्मपत्नी महेश्वरीलाई अल्जाइमर्सले च्यापेपछि उहाँहरू कर्मथलो झापाको शनिश्चरे छाडेर छोराबुहारी (सञ्जीव–अर्चना) सँगै काठमाडौंमा बस्न थाल्नुभयो। महेश्वरीले शरीर छाडेपछि डाक्टरसा'बले आफूलाई परमात्मा–चिन्तनमा समर्पित गर्नुभएको छ। हरदम प्रश्न गर्नुहुन्छ, 'म को हुँ, किन धर्ती आएँ, जीवनको आखिरी लक्ष्य के हो?' उहाँ यसको उत्तर बाहिरी किताबमा होइन, आफूभित्रै खोज्नुहुन्छ ।

मेडिकल प्राक्टिस अवधिभर बिरामीमै परमात्मा देख्ने 'शंकर डाक्टर'को प्रसंग उठाउनेबित्तिकै जिल्लाबासी श्रद्धाले झुक्छन् र भन्छन्, 'डाक्टर हुनु त शंकरजस्तो।'

प्रकाशित: २२ माघ २०७२ २१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App