'देश र जनताको भलाइका निम्ति आफ्नो ज्यान अर्पण गर्दैछु । प्रजातन्त्र ल्याउने कार्यका निम्ति तपाईंहरु सदैव कटिबद्ध हुनुहुनेछ ।' आफूहरुले छाडेका अधुरा सपना पूरा गर्न उनले यसैगरी अर्को सन्देश दिएका थिए । राणाशासकले झुण्ड्याएर मारेको स्थल सिफलस्थित शिलालेखमा उल्लेख गरिएको यो कथनले पनि उत्तिकै मार्मिक अर्थ बोकेको छ ।
'राणाहरुको पारिवारिक शासन अन्त्य गरेर जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यले विसं १९९३ साल जेठमा नेपाल प्रजापरिषद आफू बसेको ठाउँमा खोलेर आफूले खतरा मोल्ने लौहपुरुष त्यसबेला कोही थियो त श्री ५ त्रिभुवनको व्यायाम शिक्षक एवं बगाल च्याम्पियन धर्मभक्त नै थिए ।'
विसं १९६६ असोज ९ गते काठमाडांैको ओमबहाल नवहिलमा आमा उत्तरादेवी र बाबा सुब्बा आदिभक्त माथेमाको सन्तानका रुपमा धर्मभक्तले जन्म लिएका थिए । बुबाले राणासँग बिन्तीभाउ गरी छोरा पढाउन अनुमति मागे । त्यत्ति मागेको बदला उनी जागिरबाट मात्र होइन, सर्वस्वहरणसहित देशबाटै निकालिए ।
उनको परिवार कलकत्ता प्रवासमा गयो तर त्यो प्रवास एक बाबुका लागि दुखद भए पनि सिंगो नेपालकै लागि सुखद बन्यो । भारतको कलकत्तास्थित स्कटिर्च कलेजबाट धर्मभक्तले आइए पास गरे । कलेजमा छँदा साह्रै दुब्ला थिए । 'बुबालाई सबैले सिकुटे भनेर जिस्काउँथे,' छोरी रेणुदेवी अहिले पनि ती दिन सम्झन्छिन्,' त्यही ईखले व्यायाम सिकेर पहलमान बन्नुभयोे ।'
विसं १९९० मा उत्तरादेवीसँग उनको बिहे भयो । पाँच वर्षपछि छोरी रेणुको जन्म भयो । छोरी जन्मेको पाँच महिना बित्न नपाउँदै १९९६ सालमा पत्नी उत्तराको निधन भयो । पत्नी वियोगको पीडा एकातिर थियो, काखे छोरीको स्याहार अर्काेतिर ।
प्रजातन्त्रको बिजारोपणको जिम्मेवारी प्रजापरिषदबाट काँधमा उठाएका उनलाई १९९७ सालमा राणाहरुले पक्राउ गरे । त्यही साल माघ ६ गते मृत्युदण्डको सजाय सुनाइयो । माघ १३ गते सिफलको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइयो ।
साँच्चै सहिद धर्मभक्तले सोचेको कुरा नेपालीले अझै भोग्न पाएनन् । 'जनताको सुख, शान्ति र सुविधाका लागि बुबासहित चार जना सहिद भए तर आज नेपाली जनताले खै पाएको शान्ति, सुख र सुविधा ?' रेणुदेवीको हृदयबाट निस्केको यो निराशामा हरेक नेपालीको पीडा झल्किन्छ ।
अझ सहिदको रगतको मूल्य तोकेको उनलाई पटक्कै चित्त बुझेको छैन । अहिले जोसुकैलाई सहिद घोषणा गरेर १० लाख रुपैयाँ दिने सरकारी नीति छ । उनी त्यसप्रति कटाक्ष गर्छिन् । बिनास्वार्थ देशका लागि आहुति दिने व्यक्ति सहिद हो रेणुदेवी सहिदको अर्थ लगाउँदै भन्छिन्, 'सहिदको रगतको पनि कहीँ मूल्य हुन्छ ?'
झगडा गरेर म¥यो सहिद, गाडीले हान्यो, त्यो पनि सहिद भनाउने चलन गलत भएको उनी टिप्पणी गर्छिन् । त्यसरी जथाभाबी बनेका सहिदहरु इतिहाससँगै हराएर जान्छन्, जुन ओज चार सहिदको छ, त्यो अमर रहने उनी सुनाउँछिन् ।
कालीमाटी, सोल्टिमोडबाट झन्डै ५ सय मिटरभित्र एक हाउजिङभित्रको एक घरमा बस्छिन् रेणु । सहिदको सन्तान भए पनि उनको कुनै दम्भ छैन । उमेरको उत्तराद्र्धको ८०औं पाइलामा पनि सक्रिय छिन् । बिहानै उठ्छिन् । हरियो चिया पिउँछिन् । एक घन्टाको योगापछि केहीबेर पूजाआजा । अनि सुरु हुन्छ दैनिकी ।
साढे दुईतले घरमा एक्लै बस्छिन् । ढोकाबाट छिर्नेबित्तिकै पिता धर्मभक्तका नाममा रहेका सम्मानपत्र भित्तामा सजिएका भेटिन्छन् । दायाँपट्टि पहलवान धर्मभक्तको स्केच गरिएको एउटा फोटो । टेबलमा उनकै नामका केही पर्चा । माथेमा गुठीका कागजपत्र । एउटा महाभारतको किताब भर्खरै पढेर राखेजस्तो देखिन्छ । अगाडिपट्टि सामान्य काठको सिसावाला दराजमा रेणुका वयस्क उमेरका फोटा र छोराका फोटा छन् । छोरा कुमुद, बुहारी र एउटी नातिनी अमेरिका बस्छन् । फार्मेसी पढेर कुमुद अमेरिका सरे, उनले देश छाडिनन् । 'बुबा सहिद भएको देश कसरी छाड्नु ?' उनी भन्छिन्, 'उहाँको सपनाको डोरी समातेर बाँचुन्जेल यही माटोमा हिँडिरहन्छु ।'
नेताहरुले आफ्नै मात्र दुनो सोझ्याउने र कुर्र्सी जोगाउने प्रवृत्ति राजनीतिमा हाबी हुँदै गएको उनको अनुभव छ । सात सालपछि जनताले प्रशस्त शिक्षा पाए । 'जब तिनै जनता राजनीतिमा पस्छन् नि अगुवाहरुले तिनीहरुको ब्रेन वास नै गर्छन् कि कसो, फेरि उनीहरु पनि कुर्सी, तलबभत्ताकै पछि दगुर्छन्,' उनले सुनाइन्, 'देश कंगाल हुन थालिसकेको नेताहरुले बिर्सिए ।'
'एक न एक दिन सही नेता आउँछन्'
'मेरा साथीहरु मरेपछि रुने उनीहरुका आफन्तहरु थुप्रै छन् । तर मेरा लागि रुने कोही पनि छैनन् । त्यसैले मलाई मारेपछि तिमी रोइदेऊ है राममाया ।' राममाया राणाकालीन सैनिक स्कुलमा सरसफाइको काम गर्थिन् । दशरथ चन्दसहित उनका साथीहरुलाई कात्तिक २ गते राणा सरकारका सिपाहीहरुले पक्रेपछि थुनेको ठाउँ सोही स्कुल थियो । माघ ६ गते राणा शासकले फाँसीको सजाय सुनाए । घरका आफन्त टाढा थिए । कसैलाई खबर गरेनन् । उनै रामामायालाई अन्तिम दिनको आफन्त बनिदिन माथिको आग्रह गरेका थिए ।
उनको सहादतपछि राममाया त रोइन् नै । सारा जनता पनि रोए । हरेकको मुटुमा शूल रोपेझैं भयो । त्यो शूलको पीडा २००७ सालको आन्दोलन र प्रजातन्त्र प्राप्तिपछि बल्ल केही कम भयो ।
१९६० असार २९ गते बुबा शेरबहादुर चन्द र आमा पार्वती चन्दबाट बैतडीमा जन्मेका दशरथ सहिद हुँदा ३७ वर्षका थिए । उनको सहादतको खबर आगोसरी फैलियो । 'काकालाई पक्रिँदा म सानै थिएँ,' दशरथका ७० वर्षे भतिज गणेश चन्दले भने, 'तर घरमा भएको हल्लीखल्ली र भागाभाग भएको झझल्को आउँछ ।'
दशरथका बुबाले राणा शासकबाटै लप्टन उपाधि पाएका थिए । अभाव र संकट थिएन । मनमा भने क्रान्तिको राँको बलेको थियो । उतिबेला सुदूरपश्चिमबाट काठमाडौं आउन भारत हुँदै वीरगन्ज नाकाबाट घुमेर आउनु पथ्र्यो । 'काकालाई भने त्यो भौगोलिक दुरीले असर गरेन । काठमाडौं आउनेजाने, खबर आदानप्रदान गर्ने र पत्रिकामा खबर छपाइरहने गरेर जनता जगाउँदै बस्नुभयो,' उनले सम्झे ।
काकाको सपना अनुसार देश बन्न नसके पनि एक दिन असल नेता अवश्य जन्मिने आशा उनलाई छ । सहिदको सपना बिथोलिएका बेला नाममात्रको सहिद दिवस मनाइनुको औचित्य उनी देख्दैनन् ।
सहिदलाई वर्षमा एक दिन सम्झेर होइन, उनीहरुले सोचे अनुकुलको काम गरेमा मात्र सहिदको सम्मान हुने दशरथकी बुहारी जयालक्ष्मी चन्द बताउँछिन् । पछिल्लो समय जथाभावी सहिद घोषणाले बलिदानीपूर्ण काम गरेकाहरुको अपमान भएको उनी तर्क दिन्छिन् ।
अहिले दस लाखे सहिदको बिगबिगी भएका बेला चार सहिदको सहादतको मूल्य आँक्न नसकिने नेपालभूषण चन्द बताउँछन् । नेपाली सेनाको रथीसम्म भएर अवकास जीवन बिताइरहेका उनी आफ्ना माइला बुवा दशरथलाई सधैं सम्झिन्छन् । दशरथकै प्रेरणाले उनका पिता ललित चन्द राजनीतिमा सक्रिय भए ।
दशरथको सहादतपछि तत्कालीन राण शासकले किरिया नगर्न आदेश दिएका थिए । त्यो आदेशविरुद्ध ललिच चन्दले 'यस्तो अन्याय हुन्छ' भन्दै सेता लुगा लगाएर र सेतै घोडामा चढेर नेपालगन्जमा घुमेको नेपालभूषणले बताए ।
बैतडीमा मुख्य कार्यालय रहेको दशरथ चन्द प्रतिष्ठानका निम्ति सरकारले कुनै सहयोग नगरेको गुनासो उनको छ । प्रतिष्ठानको काठमाडौं शाखालाई परिवारकै सदस्यहरूको सहयोगमा सञ्चालन गरिँदै आएको छ ।
'देशै बिरामी, कोसँग मागौं औषधि ?
शशिलाल (गंगालालपुत्र)
देशका लागि एक सहिद भए बदलामा हजार सहिद जन्मन्छन् । जनताको स्वतन्त्रताका लागि राणाशासनविरुद्ध लड्दालड्दै २१ वर्षे कलकलाउँदो उमेरमा सहिद भए गंगालाल श्रेष्ठ । उनलाई गोली हान्न शोभा भगवती लैजाँदै गर्दा पत्नी हँसिनादेवी श्रेष्ठ प्रशव पीडामा थिइन् । जब प्याफलको बाटो गंगालाल र दशरथचन्दलाई लगिँदै थियो । प्याफलमै गंगालालका परिवार बस्थे । पत्नी हँसिनादेवी श्रेष्ठलाई औधि माया गर्ने गंगालालले घरनजिकै पुगेपछि प्रेमले बोलाए... हँसिना ...हँसिना । हँसिनाले सुनिन् ।
प्रशव पीडामा रहेकी हँसिनामा श्रीमानको आवाजले एकाएक कुनै शक्ति सञ्चार भयो । उठ्न सकिनन् तर पनि भनिन्– उहाँले बोलाउनुभयो, हेर्नुस न आउनुभएजस्तो छ । तर श्रीमानले बोलाएको आवाज बिस्तारै रातको अँध्यारोमा हरायो । राणाशासकका मतियारले शोभाभगवतीमा गंगालाल सहिद नबनाउँदै उनको छोरा जन्मियो । माघ १४ गते राति करिब दस बजे शशिलाल जन्मिए । उनी जन्मँदै गर्दा सहिद दशरथ चन्दलाई गोली ठोकिँदै थियो । गंगालाललाई नरशमशेर राणा माफी मगाउने धृष्ठता गर्दै थिए । चारपटक गोली हान्दा पनि उनी कत्ति डगेनन् । न त माफी नै मागे । रातको साढे दुई बजे देशका लागि सहिद भए । त्यतिबेला हँसिना मात्र १९ वर्षकी थिइन् । हँसिनादेवीसँग गंगालालको बिहे १९८९ सालमा भएको थियो । गंगालालको मृत्युपछि पुष्पलालसहितका गंगालालका भाइबहिनी र छोरा एक्लै हुर्काएकी थिइन् हँसिनाले । बाबु भक्तलाल श्रेष्ठ र आमा तुलसीमाया श्रेष्ठबाट गंगालालको जन्म १९७५ सालमा रामेछापको भँगेरीगाउँमा भएको थियो । काकासँगै भारतको कलकत्तामा बसी स्कुले अध्ययन गरेका उनले १९९४ मा दरबार हाइस्कुलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । पछि त्रिचन्द्र कलेजमा आइएससी पढे । गंगालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता थिए । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलाप हुने कारण यो संस्थाबाट पछि प्रजापरिषदसँग जोडिन पुगे उनी ।
भक्तलालका दस भाइ छोरा गंगालाल, पुष्पलाल, गौरीलाल, देवीलाल, विजयलाल, जोहरलाल, तोरणलाल, ललितलाल र वसन्तलालमध्ये जोहरलाल, ललितलाल र वसन्तलाल जीवित छन् । उतिबेला १६ जनाको परिवार धान्न जेठा छोरा बितेपछि सहिद परिवारलाई निकै सास्ती भयो ।
गंगालालका छोरा शशिलाल अहिले ओछ्यान परेका छन् । नयाँ बजार क्षेत्रमा पुरानो घरमा बस्छन् । हिँडडुल गर्न सक्दैनन् । एकोहोरो सुतिरहन्छन् । पुराना कुरा बेलाबेला सम्झन्छन् । 'म बिरामी छु, देशै बिरामी भयो अब औषधि कोसँग माग्ने ?' उनी बर्बराउँछन् ।
हतपत कोहीसँग कुरा गर्न मन नगर्ने उनी २०४९ सालपछि एकोहोरो स्वभावका भए । सडक विभागमा चाइनिज भाषा अनुवादकको काम गर्थे तर अस्थायी भएकाले उनका ठाउँमा अर्को व्यक्ति राखेर निकालिए । धन्न पत्नीले नर्सको जागिर गर्थिन् र परिवारको भरणपोषणमा समस्या आएन । जागिर गएपछि उनको मन पनि मर्दै गयो । सहिदका छोरा भए पनि उनलाई साहरा दिने कोही भएनन् ।
उनी बिपी र मनमोहनलाई राम्रा नेता मान्छन् । 'बिपी निकै भद्र नेता थिए,' उनी स्मरण गर्छन्, 'सुन्दरीजल जेलमा भेट्न दिएनन् ।' गणेशमान अलि चर्को स्वभावको रहेको उनको सम्झना छ ।
'बिपी र गणेशमान त मिल्दैनथे, अहिलेका नेता के मिल्नु ?' उनी चर्किन्छन्, 'अहिले नेता कोही छैनजस्तो लाग्छ कसले गर्ने विकास ?'
सहिदका नाति भन्छन्– स्वार्थको रोग हाम्रो पुस्तामा नसार
सहिद गंगालालका छोरा शशिलालका एक छोरा र दुई छोरी छन् । नाति प्रशान्त श्रेष्ठ २७ वर्ष पुगे । कोरियन एयरमा म्यानेजर पदमा काम गर्छन् । स्नातकोत्तर पढ्दैछन् । सरल छन् । सानो उमेरमै परिवारको जिम्मेवारी बोकेकाले पनि परिपक्वता छाएको छ उनमा । 'सहिदको नाति भन्दा एकदम गर्व लाग्छ,' उनले भने, 'उहाँले जस्तै देशका लागि केही गर्ने आँट आउँछ ।'
जनताका रोलमोडेल नेता नै स्वार्थी भएको उनको बुझाइ छ । नेताहरुमा भ्रष्टाचार, दुराचार, कुशासनको रोग नेता, प्रशासकहरुमा फैलिएको उनले बताए । 'त्यो रोग हामी जनतामा नसार्नुस्,' उनले भने, 'चाँडो राम्रो काम गर्नुस् ।'
चार सहिदले कुनै बार्गेनिङ नगरी बलिदानी दिएको भन्दै उनले अहिले पार्टीगत रुपमा बार्गेनिङ गरी पैसाका लागि सहिद बन्ने चलन बढेको गुनासो गरे ।
'अधुरै रहे सपना'
शुक्रराज शास्त्रीको जन्म विसं १९५० मा माधवराज जोशी र आमा रत्नमाया जोशीका माइला छोराका रूपमा भयो । उनका दाजु धर्मराज, भाइहरु वागपती र अमरराज थिए । काठमाडौंको खिउल थाड्ढमदुमा जन्मेका उनी वनारसमा पढेर शास्त्रीको उपाधि पाएपछि शास्त्रीका रुपमा परिचित भए । उनले भारतको इलाहाबादस्थित दयानन्द आर्य समाजी विद्यालयका प्रधानाध्यापक भई काम गरे । पन्जाब विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेपछि उनी नेपाल फर्के ।
शास्त्रीका ब्रह्मसूत्र शांकर भाष्य, स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत प्रदीपलगायत पुस्तक प्रकाशित छन् । नेपाल भाषाका प्रमुख साहित्यकार थिए उनी । उनी आर्य समाजका सक्रिय सदस्य थिए । काठमाडौँ आएपछि प्रजापरिषदका क्रान्तिकारीसँग उनको सम्पर्क भयो । राजा त्रिभुवनलाई संस्कृत पढाउँथे । भारतका महात्मा गान्धी र जवाहरलाल नेहरुसँग भेट गरी नेपालबारे कुरा राखेर फर्केलगत्तै उनलाई राणासरकारले नजरबन्दमा राखेको थियो ।
'उहाँको बिहे भयो तर सहिद हुनुअगावै पत्नीको निधन भयो भनेर हजुरबाले भन्नुहुन्थ्यो,' शुक्रराजका नाति सुमनराज जोशीले भने, 'आफ्ना सन्तान नभए पनि दाजुभाइपट्टिका सन्तान छौं ।'
सुमन शुक्रराजका भाइ वागपतीका चार छोरामध्येका माइला मानुराजका छोरा हुन् । उनकी आमा बिमला जोशीलाई पनि पुराना कुरा त्यति याद छैन । 'उनीहरु पाटनतिर बढी बस्थे, यता कमै आउँथे,' उनले भनिन्, 'किताबहरु भने यहाँ राखेका थियौं ।'
उनको परिवार भने टंगालको महादेवचोकमा बस्छ । बांगेमुढामा शुक्रराजकी बहिनी चन्द्रकान्ता बस्थिन् । शुक्रराजका पिता माधवराज ज्योतिष शास्त्रका ज्ञाता थिए । 'चिना बनाउँदा नै उहाँले शुक्रराजको मृत्यु असामयिक हुन्छ भनेर लेख्नुभएको थियो,' सुमनराज बाबुले भनेको कुरा स्मरण गर्छन्, 'यो छोरा देशका लागि केही गरेर मर्छ पनि भन्नुभएको थियो ।'
त्यसैले सन्तानका लागि शुक्रराजको छिटै बिहे गरे पनि सन्तान नहुँदै पत्नी मेनकाको निधन भएको थियो । त्यसपछि लोभ, मोह छाडेर आन्दोलनमा होमिए ।
आफूलाई संस्कृत सिकाउन गएका बेला राजा त्रिभुवनले उनलाई भने, 'तपाईंले बाहिर जनतालाई जनचेतना फैलाउनुपर्छ है ?' सुमनराजले पुराना कुरा सुनाए, 'त्यसपछि उहाँ झन् सक्रिय हुनुभयो ।'
नजरबन्दमा रहेकै बेला असन ईन्द्रचोकमा जनतामाझ राणाविरोधी भाषण गरेपछि उनलाई तीन वर्षे कारावास सुनाइएको थियो । प्रजापरिषदका अन्य सदस्य पक्राउ परेपछि माफी माग्न भने पनि उनले मानेनन् । 'मैले माफी मागे भोलि प्रजातन्त्र आउँदैन,' नरशमशेर राणालाई उनले यस्तो जवाफ दिएका थिए । आफ्नो चिना सँगै बोकेर हिँडेका उनले आफ्नो श्राद्ध फाँसीको चार दिनअघि बागमतीमा आफंै गरेका थिए । आफूलाई मार्ने समय र तिथिसमेत उनैले तोकेर दिएका थिए । अन्तिम इच्छाका रुपमा राणाशासकले त्यो काम गर्न दिएको सुमनराज उल्लेख गर्छन् ।
शुक्रराज हजुरबा सहिद भएपछि उनका हजुरबा वागपतीलाई समात्न राणाका सिपाही आए । नपाएपछि छोरा भानुराजलाई समातेर लगे । भानुराजलाई खाना पु¥याउन जाँदा मानुराजलाई जेलमा राखेर भानुराज बाहिरको अवस्था बुझ्न हिँड्थे । फेरि साँझ भाइ मानुराजलाई घर फर्काएर जेल बस्थे ।
देश विकास नहुनुको प्रमुख कारण राणाकाल पनि रहेको उनी उल्लेख गर्छन् । त्यतिबेलै विकासको मूल बिगारे उनी भन्छन्, पछिका नेताले पनि आत्मनिर्भर भन्दा परनिर्भर हुने बाटो अपनाए । सात सालको आन्दोलनताका नै नेताहरुले राजनीति भारतको बलमा गरेकाले अहिले पनि त्यो समस्या बल्झिरहेको अनुमान उनको छ ।
'राणा हटाएको हाम्रै सहयोगले हो,राजा हटाएको पनि हाम्रै सहयोगले हो 'भनेर आफ्नो स्वार्थअनुरुप नेताहरुलाई काम गर्न बाध्य पारिरहेको दाबा उनले गरे । बलिदानको शताब्दी बित्न लागे पनि सहिदको सपना अधुरै रहेको उनको ठम्याइ छ । त्यो पूरा गर्न देशलाई आत्मनिर्भर बनाउनु र कडा कानुन बनाएर लागू गर्नुको विकल्प नरहेको उनी सुनाउँछन् ।
स्वदेशी लगानीकर्तालाई अवसर दिनु अति जरुरी रहेको भन्दै उनले भने, 'हरेक घरका एक जना मानिस विदेश छन्, लगानी गर्न चाहन्छन् तर सरकार र नेता विदेशीको मुख ताक्छन् ।' जनता ग्यास, तेल, महँगीको समस्यामा पनि चुप लागेर आत्मनिर्भरताको बाटोमा जान खोजेका बेलामाथिका नेताले त्याग गर्न सक्नुपर्ने उनी बताउँछन् ।
सहिदको लेखाजोखा पैसामा तौलिन थालिएको प्रति उनी पनि दिक्क छन् । पैसा १० लाख दिन्छ भनेपछि जसले भने पनि आन्दोलनमा गरिब जनता जान बाध्य हुने सहिद शुक्रराज परिवारको धारणा छ ।
प्रकाशित: १५ माघ २०७२ २२:०३ शुक्रबार





