७ वैशाख २०८३ सोमबार
image/svg+xml
विचार

विद्याबाट विनय

देश अहिले चरम असन्तुष्टिको मोडमा उभिएको छ । यसले रूपान्तरण खोजिरहेको छ। एकातिर जेनजी पुस्ता ठुला–ठुला महत्त्वाकांक्षासहित देश निर्माण अभियानमा लाग्न खोजिरहेको छ। यो पुस्ता भनेको सूचना सञ्जालमा खेल्ने र रमाउने डिजिटल पुस्ता हो। अर्कातिर पुरानो कार्यशैलीमा यथास्थितिको संसदीय राजनीतिक संस्कार भएको पुस्ता छ। यी दुई पुस्ताबिचको समन्वयकारी भूमिका निर्वाह हुन कठिन छ। यथास्थितिको राजनीति र चरम भ्रष्टाचारविरुद्ध भदौ २३ को आन्दोलन र भदौ २४ को विध्वंसले २४ घण्टामै सत्ता पल्टायो, संसद् विघटन गरायो र अन्तरिम सरकारको गठन भयो। अहिले राजनीतिक तरलताबाट उन्मुक्ति खोजिरहेको छ। कुन बेला के हुन्छ भन्न सकिने अवस्था छैन। यसरी असफल र रुग्ण हुनबाट जोगाउन जेनजी पुस्ता र पुरानो राजनीतिक संस्कारको पुस्तालाई सही दिशा दिन चेतना जरुरी छ। यस किसिमको चेतना नागरिक शिक्षाबाट हुन्छ, जहाँ अभिभावक समाज, नागरिक समाज, राजनीतिक नेता, कार्यकर्ताको समेत सहभागी भई इमानदारी, कर्तव्यपरायणता, संयम, मिलनसारिता, सहयोगी भावना आदि विषयको ज्ञान, सिप र प्रवृत्ति विकाससँग जोडिएका सिप र कला आबद्ध हुन्छन्।

पुरानो पुस्ता आफ्नै समकालीन विचार, भावना र संस्कारमा रमाउन खोज्छ भने जेनजी पुस्ता नयाँ चेतनालाई ग्रहण गर्न खोज्छ । पुरानो पुस्ता विवेक र परिपक्वता खोज्छ, नयाँ पुस्ता त्यसबाट माथि उठी नवीनतम खोजीमा अग्रसर हुन्छ। सूचना सञ्जालमा खेली साइबर पुस्ताको पहिचान दिलाउँछ। देश निर्माणको रूपान्तरणतर्फ आफूलाई होम्ने प्रयास गर्न खोज्छ। यथास्थितिकै राजनीतिक सिद्धान्त सर्वमान्य भइरहन्छ भन्ने सोच राख्दैन।

हाम्रो देश अनेक जाति, भाषा, संस्कृति, क्षेत्र र विविध भौगोलिक धरातलीय भूमिकासहित रहेको छ। यहाँ झन्डै एक सय ४२ जातजाति छन्, झन्डै एक सय २४ भाषा छन् र अनेक धर्ममा विभाजित छन्। यस्तो देशमा संसदीय प्रणालीअन्तर्गत समावेशिताको आधारमा सन्तुलन कायम राख्न कम चुनौती छैन। मुलुकलाई गरिबी र बेरोजगारीको पहाडले नराम्ररी थिचेको छ। विश्व बैंकको २०८१ को प्रतिवेदनले २५ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि देखाएको छ भने १९ प्रतिशत युवा बेरोजगार छन्। प्रत्येक वर्ष लाखौं युवा विदेश पलायन हुने गरेका छन्।

राजनीतिक नेतृत्वले आर्थिक विकासका कार्यक्रमसँगै सुशासनको प्रत्याभूति दिन नसक्नु ठुलो भुल हो। देशभर भ्रष्टाचार र अनियमितता मौलाउनु नै हाम्रो देशमा पुस्तान्तरणीय अविश्वासको खाडल बढ्दै आएको छ। पुरानो पुस्ता निहित स्वार्थ र दलगत गुटमा रमाउनु र नयाँ पुस्ताको सोच, सिप, प्रविधि प्रयोग र कार्यशैलीप्रति बेवास्ता गर्नु नै जेनजीको उदय हुन गएको हो।

जेनजी आन्दोलन पनि आशंकाको बादलमा मडारिरहेको होइन। हिजो राजनीतिक र सामाजिक रूपमा छिन्नभिन्न भएका दलका नेता नै फेरि तिनै अगाडि बढ्लान् र आफ्नो बाहुबल लगाएर जालझेल गर्ने भय कायमै रहेको आभास दिलाउँछ। अतः जेनजीले आफ्नो काँधमा आएको जिम्मेवारी महसुस गरी धैर्य भएर मुलुकको सार्वभौम स्वतन्त्रतालाई प्राथमिकतामा राखी आफ्ना गतिविधि निर्भीकतापूर्वक अगाडि बढाउन जरुरी छ। आन्तरिक वा बाह्य रूपमा हाम्रो देश असुरक्षित छ भन्ने सन्देश जानुहुँदैन भन्ने सवाल जेनजीले पनि बुझ्न जरुरी छ।

कुशासनको दुष्चक्रबाट नेपाल माथि उठ्न जरुरी छ। नागरिकका व्यवहार सभ्य र शिष्ट हुन पनि त्यत्तिकै खाँचो छ। यस्ता कुरा हरेक पुस्तामा नागरिक शिक्षाबाट नै चेतना जाग्ने हो। असल आचरणको विकासबिना कुनै पनि नागरिक सभ्य र शिष्ट बन्न सक्दैन। नागरिक समाजको निर्माणमा कुशल व्यवहार नभई हुँदैन। नागरिक चेतनाबिना असल भावना र व्यवहार फस्टाउन सक्दैन।

विगत २०८२ भदौ २४ मा देशभर भएको तोडफोड, आगजनी, लुटपाट र हिंसाले देशलाई ठुलो असर पुर्‍याएको छ। हुन त २०८२ भदौ २३ को कलिला होनहार युवाको निर्मम हत्याले जन्माएको विद्रोहको परिणाम हो। तथापि उक्त आन्दोलनमा केही अवाञ्छित तत्त्व घुसपैठ भई देशको सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन, उद्योग–प्रतिष्ठानजस्ता गरिमामय संवेदनशील ठाउँमा गरेको आगजनीले ठुलो शंकास्पद स्थिति सिर्जना गरेको छ। यस दुःखद घटनाले हजारौंको रोजगारी गुमेको छ। यहाँनिर हामीले महसुस गर्नुपर्छ कि हामीमा नागरिक चेतनाको कमी छ। यसरी एउटा नेपालीले अर्कोमाथि भय, त्रास र उत्तेजना बढाउने कार्य कतै पनि हुनु हुँदैन।

मानिसले सबैले सबैमाथि सद्भाव र सहयोगको भावना राख्नैपर्छ। समाजको सदस्यको हैसियत हरेकको हुन्छ। उसले आफ्नो हैसियतबाट सबैलाई साथ र सहयोग गर्न जान्नुपर्छ। यसरी मिलेर बस्न सिकाउने काम नागरिक शिक्षाले सिकाउँछ।

हाम्रो सन्दर्भलाई हेर्ने हो भने प्रत्येक क्षेत्रमा राजनीतीकरण मौलाएको छ। परिणामतः विद्रोहका अवयवहरू स्वाभाविक रूपमा बढ्दै आएका छन्। विश्वविद्यालयजस्ता पवित्र र स्वतन्त्र स्वायत्त संस्थाहरूमा समेत राजनीतिबाट जोगिन सकेका छैनन्। यस्ता प्राज्ञिक ज्ञान, विचार र विवेकका मन्दिरसमेत बिग्रिनु अत्यन्त दुःखद कुरा हुन्। जेनजी आन्दोलनमा विद्यालय पोसाकमै आन्दोलनमा उत्रिएका कलिला बालकहरू मारिँदा पनि सामान्य ठानिएका छन्। उल्टो तत्कालीन सत्ताका हुकुमवादीहरू डुक्रिन पछि परेका छैनन्। यो कहाँ र कताको चेतना हो हाम्रा शासकहरूको? यसले हाम्रो शिक्षा र नागरिक चेतनामाथि ठुलो प्रश्न खडा गरिदिएको छ। यस्ता हिमायती कुशासनका मतियार भएका ठाउँका हरेक नागरिकमा नागरिक शिक्षाको चेतना बर्साउनु जरुरी भएको कुरा विश्वविद्यालय लगायत सम्पूर्ण जिम्मेवार निकायले महसुस गर्नुपर्ने बेला आएको छ।

जेनजी आन्दोलनले सजग बनाएको देश अझै आफ्नो दिशा लिन सकेको छैन। विगतका बिथोलिएका, विध्वंस भएका संवेदनशील निकायलगायत मुलुकको आर्थिक, सामाजिक र राजनीतिक वातावरणलाई सहज र सौहार्द बनाउन समय लाग्ने नै छ। तत्कालीन सत्ताधारीहरूको अभिमानका कारण भएका विनाशलाई सजिलै पूरा गर्न सकिने स्थिति भने देखिँदैन। नेताहरूका केही गगनचुम्बी महलहरूको पनि ध्वंस भयो। यस्ता क्षतिलाई राम्रो त भन्न मिल्दैन, तथापि आवेगमा गलत सूचनाका कारणबाट पनि कतिपय घटना कुठाउँमा पर्ने हुन्छन्। यस्ता घटनालाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको निर्देशन भनी औंला सोझ्याउनु कुनै तुक देखिँदैन।

अहिले हाम्रा दलहरूमा अझै चेतना र सुशासनप्रतिको सोचभन्दा बाहुबल र मसलधारीको गठबन्धनबाट राजनीति ब्युँताउने खेलमा लागेका छन्। अनेक समीकरण र ध्रुवीकरणको खेल सुरु भएको छ। नेतृत्वधारीहरू दलभित्र आफू कमजोर देख्दैनन्। कतिपय दलले त जनताको अपनत्व गुमाइसकेका छन्। बुझेर पनि बुझ पचाउने काम नेताहरूबाट हुनु देशका लागि दुर्भाग्य नै छ।

अहिले देश संकटमा छ। देशलाई प्रजातान्त्रिक लयमा ल्याउन नागरिक, राजनीतिक नेता सबैले संयमता अपनाउनु जरुरी छ। दलहरूले पनि जेनजी आन्दोलनको मर्मलाई बुझी आफ्ना दलहरूको महाधिवेशन गरी नयाँ–पुराना पुस्ताको इमानदारिताको आधारमा छान्ने र आफ्ना दलहरूलाई उचित बाटोमा लगाएर लोकतन्त्रको लयमा भित्र्याउने प्रयास गर्नु जरुरी छ।

अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय दृष्टिले लोकतान्त्रिक दलका रूपमा स्थापित नेपाली कांग्रेस भएकाले यस दलले विधिसम्मत तरिकाले नियमित वा विशेष अधिवेशन गर्नु उपयुक्त हुन्छ भनेर छिट्टै उक्त अधिवेशन भयो।

उक्त नेतृत्वले आफ्ना अजेन्डा जनतासामु पुर्‍याउन नसकेकाले नै र पुरानो नेतृत्वप्रतिको वितृष्णा यथावत् देखिएकाले निर्वाचनमा हार बेहोर्न बाध्य भयो। २०८२ फागुन २१ गतेको आमचुनावमा नेपाली कांग्रेस पार्टी पछाडि पर्न गयो।

विश्व इतिहासमा कतिपय शासकहरूले आफ्नो निरंकुश शासन बचाउन देशमा प्रेस स्वतन्त्रता र नागरिक अधिकारहरू कुण्ठित पारेका छन्। यस्ता घटनामा विश्वविद्यालयका विद्यार्थीहरू स्वयं सडकमा उत्रिएर प्रजातन्त्रका पक्षमा आन्दोलनमा उत्रिएका उदाहरणहरू छन्, सन् १९७५ मा भारतमा इन्दिरा गान्धीको आपतकालीन अवस्थाको बेला होस् वा नेपालको २०३६ सालमा भुट्टोको फाँसीपछि उत्रिएको विद्यार्थी आन्दोलन किन नहोस्। यस्तै आन्दोलनबाट नेता उदाउने हुन्, जसले पछि राष्ट्रिय राजनीति र नीति निर्माणमा आफ्नो भूमिका निर्वाह गर्ने हुन्छन्। यस किसिमका लोक अभ्यास र नागरिक चेतना बढाउन ठुलो भूमिका खेल्ने काम नागरिक शिक्षाबाट हुन्छ।

अबको समाज भनेको नयाँ पुस्ताको हो। यो पुस्ताले समाज, राष्ट्र र शासकीय पद्धति रोज्ने अवसर पाउनुपर्छ । देश संकटमा पर्दा राजनीतिले दिशा लिन नसक्दा जनता भ्रममा परेका बेला बाटो देखाउने काम नागरिक शिक्षाको हुन आउँछ। हाम्रा नयाँ पुस्तादेखि लिएर पुराना पुस्तासम्मको चेतना उधार्ने काम नागरिक शिक्षाको हो। यसले घर–परिवार, समुदाय, नागरिक समाज र मिडियासमेतको जिम्मेवारीबोध गराउँछ। यसर्थ प्रारम्भिक शिक्षादेखि विश्वविद्यालय पाठ्यक्रममा नागरिक शिक्षा समावेश गरी हरेक तहमा विद्यार्थीमा सकारात्मक सोच निर्माण गरी दया, करुणा र आत्मविश्वासको बाटो पहिल्याउने काम गर्नुपर्छ।

प्रकाशित: ७ वैशाख २०८३ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %