नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
पार्टीको शुुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आइतबार आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उनले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताए ।
महामन्त्री शर्माले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटल व्यवसायी सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविको चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राखे ।
‘मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ । अब पार्टीभित्रका विभिन्न तह र तप्काका व्यक्तिलाई व्यवसायसँग जोड्न सङ्घले सहयोग गर्नुपर्छ’, उनले भने ।
महामन्त्री घिमिरेले कांग्रेसको अबको लक्ष्य समयमै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुरहेको उल्लेख गरे । उनले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधारको राजनीतिमा जान पाउनेगरी विधानमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिएको बताए ।
पार्टीका सहमहामन्त्री एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन सङ्घले खेलेको भूमिका सराहनीय रहेको बताए। उनले व्यवसायविना राजनीति र समाजसेवा हुन नसक्ने धारणा राखे ।
कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्र विकासमा होटल क्षेत्रले खेलेको भूमिकालाई थप बढाउन राज्यले उचित नीति लिनुपर्ने बताए ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले मध्यपूर्वको समस्याका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो समस्या उत्पन्न हुँदा यसको प्रभाव होटल क्षेत्रमा परेको बताए । उनले होटल व्यवसायीको समस्या समाधानमा कांग्रेसले काम गर्ने बताए ।
प्रतिनिधिसभा सांसद सन्तोष सुब्बाले व्यवसायीको हितका लागि कांग्रेसले लामो समयदेखि कुरा उठाउँदै आएको र पार्टीका तर्फबाट आफूले यसबारे संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए ।
डेमोक्रेटिक लयर्स एसोसियशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जेनजी आन्दोलनपछि कांग्रेसभित्र रुपान्तरण जरुरी रहेको र उक्त कार्य विशेष महाधिवेशनले पूरा गरेको बताए ।
प्रकाशित: ६ वैशाख २०८३ १५:१२ आइतबार





