२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

पर्यटकलाई गाउँ घुमाउने बन्दीपुरको योजना

‘गाउँ पर्यटन मेला’ आयोजना

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर। बन्दीपुरमा गाउँ पर्यटन मेला संचालनको तयारी भएको छ। तस्बिरः सन्तोष पोखरेल/नागरिक

ग्रामीण पर्यटन प्रवर्द्धन गर्नका लागि तनहुँको पर्यटकीय नगर बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’ आयोजना गर्ने तयारी भएको छ। बन्दीपुरमा बढि भन्दा बढि संख्यामा पाहुना भित्र्याउने र ती पाहुनालाई बन्दीपुर आसपासका ग्रामीण क्षेत्र समेत घुमाउने उद्देश्य सहित यो मेला आयोजना गरिएको हो।  

वैशाख १८ र १९ गते हुने मेलामार्फत बन्दीपुर र आसपासका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने योजना स्थानीयको रहेको छ। पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको आयोजना तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) गण्डकीको सह आयोजनामा हुन थालेको मेलामा कम्तिमा ३० वटा होमस्टेले सहभागिता जनाउने बोर्डका गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले जानकारी दिए।  

‘यसअघि तीनवटा मार्ट पोखरामा आयोजना गरिएको थियो। यो पटक बन्दीपुरमा मार्ट गर्ने तयारी भएको छ। बन्दीपुरमा मार्टले सकारात्मक प्रभाव पारेको अवस्थामा प्रदेशका अरु जिल्लामा पनि पालैपालो मार्ट गर्ने योजना हो,’ उनले भने, ‘हरेक जिल्लामा कार्यक्रम गर्न सकेमा ती जिल्लाको पर्यटन प्रवर्द्धन पनि हुन्छ। पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न पनि यस्ता मार्ट जरुरी छ।’ गाउँ पर्यटन मेलाको यो चौंथो संस्करण हो।  

बन्दीपुरलाई बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष समेत घोषणा गरेको सन्दर्भमा मार्ट आयोजना गर्न थालिएको उनले बताए। गाउँका साना पर्यटन व्यावसायी र सामुदायिक होमस्टेलाई सिधै सहरी बजार तथा ठूला एजेन्सीसम्म जोड्ने काम यो मार्टले गर्ने लामिछानेले बताए। सामुदायिक होमस्टे र सेवाको बजारीकरण तथा बजारसँग जोड्न र गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्न पनि यसले सघाउने उनले बताए।

‘मेलामा बिटूबी (बिजनेस टू बिजनेस) र बिटूसी (बिजनेस टू कन्जुमर) सम्म सञ्जाल बिस्तार गर्न पनि यसले सघाउनेछ,’ उनले भने, ‘आएका पाहुनालाई ग्रामीण भेगका पर्यटकीय गन्तव्यसम्म पुर्याउन सकियो भने त्यसले स्थानीयलाई लाभ दिनेछ।’ 

मार्टमा होमस्टेहरुले स्टल राख्नेछन। त्यसबाहेक बन्दीपुरका बारेमा बहस पनि संचालन गरिनेछ। विभिन्न जातजातीको सांस्कृतिक प्रस्तुती पनि त्यहाँँ संचालन गरिने उनले बताए। 

उनका अनुसार आन्तरिक पर्यटकका लागि पछिल्लो समय प्याकेज संचालन गरिरहेका टुर अपरेटर्स पनि सहभागि हुनेछन, जसले आन्तरिक पाहुनाका लागि घुमघामको प्याकेज बन्दीपुरमा सार्वजनिक गर्नेछन्।  

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका बन्दीपुर आफैमा पुरानो सहर भएको र पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य बनेकोले बन्दीपुर आसपासका ग्रामीण क्षेत्रको प्रवर्द्धन गर्नका लागि यो मार्ट आयोजना गरिएको हो।

‘बन्दीपुर आसपासमा होमस्टे संचालन गरिरहेका आठवटा गाउँलाई जोडेर सर्किट बनाईरहँदा पर्यटकलाई ती गाउँसम्म पुर्याउने लक्ष्य यो मार्टले लिएको छ,’ थापाले भने, ‘बन्दीपुर आफैमा सुन्दर छ। त्यहाँको हावापानी पनि पर्यटनका हिसाबले अति उत्तम रहेको छ। प्रकृति र साहसिक गतिविधिका हिसाबले पनि बन्दीपुर गतिलो गन्तव्य हो।’  

बन्दीपुर आसपासका गाउँका होमस्टेमा पाहुना पुर्याउन सकेको खण्डमा त्यहाँका बासिन्दाको आयआर्जन बढ्ने र त्यसले बसाई सराईलाई पनि रोक्ने अध्यक्ष थापाको भनाई छ। ‘पर्यटनले आम्दानी दिलाउँछ। पाहुनालाई होमस्टेमा पुर्याउन सकियो भने घरमै बसीबसी आम्दानी गर्न पाउने अवस्था सिर्जना हुन्छ। आम्दानी भएपछि बसाई सरेर अन्यत्र जानै परेन,’ उनले भने, ‘घरमै बसेर आम्दानी गर्न पाएपछि अन्यत्र जान जरुरी पनि छैन। गाउँलेलाई गाउँमै बसौबसौ बनाउने उद्देश्य गाउँपालिकाको छ। त्यसका लागि पर्यटन माध्यम बन्न सक्छ।’  

भिटोफ गण्डकी अध्यक्ष शोभाकुमारी सापकोटाले पनि ग्रामीण क्षेत्रका लागि होमस्टे आयआर्जन गर्ने माध्यम बनेको बताईन। ‘गाउँमा पुगेका पाहुनालाई आतिथ्यता दिएर आम्दानी गर्ने भएकोले होमस्टेमा धेरै गाउँ आकर्षित भएका छन,’ उनले भनिन, ‘गाउँमा पाहुना पुर्याउँदा पर्यटनमार्फत लाभ त हुन्छ नै स्थानीय उत्पादनले पनि बजार पाउने अवस्था रहन्छ। त्यसले समग्र गाउँलेको आम्दानी बढाउँछ।’ बन्दीपुरमा वर्षमा ६ लाख भन्दा बढी पाहुना पुग्ने गरेका छन्। ती पाहुनालाई आसपासका गाउँमा पुर्याउने उद्देश्य यो मार्टले लिएको सापकोटाले बताईन।

प्रकाशित: ६ वैशाख २०८३ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App