चलचित्र ‘पारी बुटोले’को टिजर सार्वजनिक भएको छ। टिजरमा कुनै संवादलाई समेटिएको भने छैन। तर टिजरमा समेटिएका दृष्यले चलचित्रको विषयवस्तुलाई प्रस्तुत गर्न खोजेको छ।
जसले चलचित्र ग्याङ्स्टर जनरामा निर्माण भएको कुरालाई प्रमाणित गर्छ। टिजरमा देखिएको कलाकारहरूको उत्कृष्ट अभिनय, महेश पौडेलको जीवन्त छायाङ्कन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्यापर भ्योमाको गीतले आफ्नो एक दमदार प्रभाव छोडेको छ।
‘पारी बुटोलेु केवल एउटा ग्याङ्स्टर चलचित्र मात्र होइन। यो युवाहरू, उनीहरूको परिवार, जीवनका सङ्घर्षहरू र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयासको कथा हो। बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको यस चलचित्रले त्यहाँको वास्तविक वातावरणलाई समेट्दै दर्शकलाई एकदमै लोकल र यथार्थपरक अनुभूति दिनेछ।
ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा अनुप बराल, दिया मास्के, दिव्य देव, सुवर्ण थापा, कामेश्वर चौरासिया, निरीक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठलगायतका दर्जनौँ कलाकारको अभिनय छ।
लेखक तथा निर्देशक गणेश देव पाण्डेको निर्देशनमा बनेको चलचित्र वास्तविक धरातलबाट उठेर निर्माण भएको यस चलचित्रले नेपाली दर्शकमाझ नयाँ छाप छोड्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ६ वैशाख २०८३ १६:२० आइतबार





