मुलुकको राजनीतिले गम्भीर मोड लिएको छ। यस प्रकारको परिस्थिति उत्पन्न हुनुमा ठुलासाना दलको कतै सुषुप्त त कतै प्रस्ट भूमिका देखिन्छ। जेनजी उत्तरआधुनिक पुस्ता हो। यस पुस्ताले जुन जीवन र मुलुकको सुन्दर तस्बिर मनमस्तिष्कमा कोरिरहेको हुन्छ, त्यसमा मुलुकको भविष्य जोडिएको हुन्छ। सामाजिक, राजनीतिक एवं आर्थिक बेथिति र भ्रष्टाचारमा जेलिइरहेको प्रत्यक्ष अनुभूत गरिरहेका किशोरकिशोरी वा युवापुस्तामा मुलुकको वर्तमान र भविष्यप्रति सजगता देखिनु स्वाभाविक छ।
उनीहरूले आफ्नो साझा चिन्तालाई संयमतापूर्वक सडकमा प्रदर्शन गरेका थिए। सरकारले ठिक समयमा सुझबुझ देखाउन नसकेका कारण अकल्पनीय मानवीय क्षति हुन गयो। सत्ताले मदहोस भएको सरकारले परिस्थितिको सही अनुमान गरेर सुरक्षा निकायलाई सजगतापूर्वक परिचालन गर्न सकेको भए त्यस्तो अकल्पनीय जनधनको क्षति हुने थिएन। घुसपैठलाई पनि नियन्त्रणमा ल्याउन सक्थ्यो। जेनजीले सोच्दै नसोचेको क्षति हुनपुग्यो। जेनजीले अनुमानै नगरेको घुसपैठकारी तत्त्वहरूको रवैयाका कारण अकल्पनीय रूपमा राष्ट्रिय सम्पदा/सम्पत्तिको पनि विनाश भयो। यसको समुचित छानबिन भएर दोषीउपर कानुनी कारबाही हुनेछ भन्ने अपेक्षा सर्वत्र गरिएकै छ।
जेनजीलाई हेर्ने दृष्टिकोणलाई अब फराकिलो पार्नुपर्छ। सामाजिक सञ्जालमा रमाएर फुर्सदको समय बिताउने वर्ग भनेर एमाले, कांग्रेस लगायतका राजनीतिक नेतृत्वले अनदेखा गर्दा सरकारबाटै हात धुनुपर्ने स्थिति सिर्जना भयो।
जेनजीले पुरानो परम्परा, मूल्यमान्यताभन्दा नयाँ विश्वजनीन मूल्यलाई बढी महत्त्व दिन्छ। विश्वसँग यो पुस्ता जोडिएको छ, संवाद गरिरहेछ। उसले प्रविधिका माध्यमबाट विश्व चहारिरहेछ, विश्वलाई चियाइरहेछ। नेपालमा बसेर उसले विश्वलाई चियाउने सामाजिक सञ्जालरूपी आँखा बन्द गरिएपछि उसमा असन्तुष्टि छाउनु स्वाभाविकै हो। सँगसँगै जेनजीले भ्रष्टाचार विरोधी आम जनमानसको अपेक्षालाई पनि सँगसँगै बोकेर हिँड्यो, जुन सर्वथा उपयुक्त थियो।
जेनजी सैद्धान्तिक दर्शन र बौद्धिक डिस्कोर्समा भन्दा तिनको व्यावहारिक पक्षमा आँखा पुर्याउँछ। उसले नेपालका राजनीतिक दलका भाषण र आदर्शका कुरा धेरै सुन्यो। तिनको व्यावहारिक रूपान्तरणको यथार्थलाई अनुभव गर्न पाएन। नेताहरू सिद्धान्त र आदर्शका कुरा गरेर मुलुकप्रतिको आफ्नो अकर्मण्यलाई ढाकछोप गरिरहे, जेनजीले दलहरूले सिद्धान्तलाई व्यवहारमा ल्याएका छन् कि छैनन् भनेर अप्रत्यक्ष रूपमा अनुगमन गरिरह्यो। नेताहरूले अर्तिउपदेश दिएको धेरै सुने, आफैं उदाहरण बन्न नसकेको, बरु नेताहरू आफू भने राज्यकोषको अपव्यय, दुरुपयोग र दोहन गरिरहेको कुरा चाल पाए। अनि सामाजिक सञ्जालमा जोडिँदा जोडिँदै एउटा ठुलो सञ्जाल समूह निर्माण गरे। अब चुप लागेर बस्नुहुँदैन भनेर सडकमा ओर्लने निर्णय गरे । बुझेसम्मको कुरा यति नै हो।
जेनजीले नेपालको संविधान, २०७२ जारी भएदेखि नै हरेक सरकारले बारम्बार दोहोर्याउँदै आएका भ्रष्टाचारशून्य प्रशासनिक व्यवस्थाका नारा, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने जस्ता कुरालाई छद्म नाराका रूपमा बुझे किनभने नेताहरू जति त्यसो भन्दै आए, व्यवहारमा उति नै धेरै नेताहरू भ्रष्टाचारका काण्डमा मुछिए। जेनजीले सरकारका पुगेका राजनीतिक दलका भनाइको व्यावहारिक रूपलाई अनुभव गर्न पाएनन्।
जेनजीले मुलुक प्राकृतिक स्रोत–साधनमा धनी हुँदाहुँदै दिनहुँ हजारौंको संख्यामा आफूजस्तै युवाहरू रोजगारी खोज्दै बिदेसिनुपर्नाको कारण नेपालमा हुने गरेका भ्रष्टाचार नै हो भन्ने कुरा महसुस गरे। भोलि आफ्नो पनि त्यही अवस्था हुने कुराले उनीहरूमा बेचैनी बढिरह्यो। अनि अब नजुर्मुराए कहिले जुर्मुराउने भनेर उनीहरू जागे।
जेनजी आन्दोलन अल्पकालको जस्तो देखिए पनि यो उनीहरूभित्र गुम्सिरहेको सचेतनाको ज्वारभाटा बनेर प्रस्फुटन भयो, त्यसको वेगले शासन सत्तालाई बढार्यो। त्यस क्रममा भएको जेनजी युवाको सहादतले सत्तासीनलाई मात्र नभएर सम्पूर्ण दलहरूलाई अब भने गम्भीर ढंगमा आत्ममूल्यांकन गर्नैपर्ने बाध्यात्मक स्थितिमा पुर्याएको छ। यस अघि बेलाबेलामा नेताहरूद्वारा गरिएका आत्मालोचना र पार्टीहरूका समग्र गतिविधिका मूल्यांकन भनेका तार्किक आधारमा मात्र गरिएका हुन् भन्ने कुराको हेक्का राखी यथार्थलाई तर्कले ढाकछोप गरेर ‘पानीमाथिको ओभानो’ बन्न नहुने रहेछ भन्ने महसुस गराउन जेनजी आन्दोलनले दलहरूलाई चुनौतीपूर्ण आह्वान गरेको छ।
अर्को, भविष्यमा हुने कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुनका निम्ति पार्टीको आशीर्वाद भन्दा उम्मेदवारको जनमुखी लोकप्रियता र राजनीतिक निष्ठालाई सर्वोपरि प्राथमिकतामा राख्नैपर्ने पाठ जेनजी आन्दोलनले नमेटिने गरी सिकाएको छ। २०४८ सालमा केही हदसम्म निष्ठामुखी उम्मेदवारहरूले टिकट पाएका थिए। त्यसबेला रापताप अलि बेग्लै थियो।
२०५१ को मध्यावधि निर्वाचनदेखि बढी आफन्तवाद हाबी हुन थालेको हो। त्यसयताका निर्वाचनमा निष्ठा र इमान्दारीभन्दा नेतृत्वको तजबिजले नै गतनिर्वाचनसम्म अधिक ठाउँ पाइरहेको अनुभव सर्वत्र हुँदै आएको हो। जेनजी आन्दोलनले नेताभक्तिभन्दा देशभक्तिलाई शिरमा राख्ने नेतृत्व चयनका लागि ठुलो पाठ सिकाएको छ। यसैगरी व्यक्तिभन्दा पार्टीको आदर्शलाई ध्यान दिन सचेत गराएको छ।
यसैगरी कसैले प्रत्यक्ष र कसैले व्यावहारिक तवरमा भन्ने वा देखाउने गरेका छन् कि ‘सन्यासी हुन कसैले राजनीति गर्दैन’। यसको तात्पर्य राजनीतिक गर्नु भनेको धन आर्जन गर्नका लागि हो। अब मनसा, वचसा र कर्मणा यसो भन्ने र सोच्ने दिनलाई जेनजी आन्दोलनले पूर्णविराम लगाइदिएको छ।
नेपाली कांग्रेसका आदर्श पुरुष बिपी कोइरालाले २०१३ सालमा बागलुङका एक कार्यकर्ता ओमप्रसाद थकालीलाई पत्र लेख्दै भनेका थिए,‘यदि कांग्रेसलाई एउटा व्यक्तिगत स्वार्थ साधनको निमित्त बनाउन कोही लाग्छ भने हामीले त्यसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ। हामी सबैले निःस्वार्थी सेवाव्रत लिनुपर्छ। गेरुवा रङको लुगा नलगाएर पनि हामीले मनमा जोगीका जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ। कुनै ठुलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवाभाव हुनुपर्छ। यदि साधारण अवस्थामा रहनु परेमा पनि दुःखी भएर उही सेवाभाव मनमा रहनुपर्छ। यति कुरा गर्न सक्यौं भने देशलाई हामीले माथि लैजान सक्छौं।’
बिपीले एउटा कार्यकर्तालाई भनेका कुरा हुन् यी। पत्रमा अंकित ‘जोगीको जस्तो निष्काम प्रवृति’ वाक्यांशले बडो महत्त्वपूर्ण अर्थ सम्प्रेषण गर्छ। जोगी हुन गेरुवा वस्त्र लगाउनु जरुरी छैन। जोगीको तात्पर्य धन संग्रह गर्ने मनोवृत्तिबाट मात्र मुक्त हुनु हो। आफ्नो पैत्रिक र असल नियतले, कर्मले आर्जन गरेको धनदौलत सबै त्याग्नुपर्छ भन्ने होइन। राजनीतिमा लागेर धन आर्जन गर्ने प्रवृत्ति भएका कार्यकर्ताले देशसेवा गर्नै सक्दैन। उसले आत्मसेवा मात्र गर्छ।
बिपी विचारका धेरै अनुयायीमा राजनीति भनेको अर्थलिप्सा परिपूर्तिको माध्यम बनेको छ भन्न हिच्किचाउनु पर्दैन। एमाले, माओवादी लगायत पार्टीमा पनि मुखमा राम राम र बगलीमा छुरा जस्तो अर्थलिप्सा अझ बढी चुलिएको कुरा छर्लङ्ङ छ। त्यसैले २०४८ साल यताका सबै तहका नेता कार्यकर्ताको सम्पत्ति शुद्धीकरण गरी वैयक्तिक/पारिवारिक विरासत र मिहिनेतबाट आर्जेकोबाहेक बाँकी सम्पत्ति राष्ट्रका नाममा ल्याउनुपर्ने विषयलाई जेनजी आन्दोलनले प्रस्ट संकेत गरेको छ।
इतिहासमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, सुशील कोइराला, रामहरि जोशी, महेन्द्रनारायण निधि, बलबहादुर राई, भीमबहादुर तामाङ, मदन भण्डारी लगायत कैयौं आदर्श नेतासँगै राजनीतिमा लागेका, सहकार्य गरेका वर्तमानको नेतृत्व पुस्ताले आत्ममूल्यांकनका लागि अब ढिलाइ गर्नु हुँदैन। पहिले आफूले आफैंलाई शुद्धीकरण गर्ने अनि आआफ्नो पार्टीका शुद्धीकरण गर्ने साहस वर्तमानको नेतृत्वपुस्ताले गर्नुपर्छ। त्यसो नगरिएमा हुने परिणति कस्तो हुने रहेछ भन्ने पाठ जेनजी आन्दोलनबाट सिक्नुपर्छ।
अब सम्पूर्ण राजनीतिक दलले आफूलाई संवैधानिक बखेडामा नअलमल्याई सच्चिने अवसरका रूपमा नयाँ परिस्थितिलाई आत्मसात गरेर स्वच्छ, सक्षम र इमानदार नेता–कार्यकर्ताहरूलाई आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउन गृहकार्यतर्फ लाग्नु नै मुलुकको हितमा हुनेछ। लोकतन्त्रमा नै यस्ता चुनौती आउने हुन्।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। लोकतन्त्रलाई अझ उन्नत, जनमुखी र जवाफदेही बनाई राष्ट्रलाई आन्तरिक तवरमा सबल र भौतिक उन्नतिमा समृद्ध बनाउने जिम्मा जननिर्वाचित लोकतान्त्रिक सरकारको नै हो। राजनीतिक दलहरूद्वारा अंगीकार गरिएका सिद्धान्त र नीतिहरूको अन्तर्य पनि यही हो। सत्ता र शक्तिभन्दा राष्ट्र माथि रहन्छ भन्ने कुरा दलहरूले नबुझेका हुँदै होइनन्।
प्रकाशित: २३ आश्विन २०८२ ०९:३४ बिहीबार

