२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:९ पूर्वाह्न
विचार

साउन, शिव र जलवायु सुरक्षाका पाठ

वर्षा ऋतु सुरु भएपछि हुने भीषण वर्षाले बाढी र पहिरो निम्त्याउँछ, जसले पूर्वाधार, पशुधन र मानिसको ज्यानसमेत बगाएर लैजान सक्छ। यस वर्ष काठमाडौं उपत्यकामा छालासम्बन्धी रोगको समस्या देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले सचेतना सन्देश जारी गरेको छ। विज्ञान, धर्म, संस्कृति र परम्पराले कहिले काहीँ एकआपसमा गहिरो सम्बन्ध राख्छन्। पुस्तौंदेखि समुदायले ऋतु अनुसार कसरी जिउने कुरा सिकेका छन् भन्ने बुझ्न पनि सघाउँछ।

हिन्दु पात्रोअनुसार साउन महिनाको सुरु, साउने संक्रान्तिबाट हुन्छ। नेपालमा यो दिनलाई लुतो फाल्ने दिन पनि भनिन्छ। पण्डितहरूका अनुसार साउनमा सूर्य कर्कट राशिको सान्निध्यमा रहन्छ, जसले गर्मी र वर्षा दुवैलाई तीव्र बनाउँछ।

यो मानो रोपेर मुरी उब्जाउने चाहनाले काम गर्ने महिना हो। उनीहरूलाई विशेष गरी धान रोपाइँका लागि मानिसहरू दिनभर बाहिर रहन्छन्, चर्का घाम लाग्ने र अपर्झट पानी पर्ने जस्ता छिनभरमै हुने मौसमी परिवर्तनको सामना गर्न बाध्य बनाइदिन्छ। किसान र मजदुरहरू प्रायः भिज्छन्। किराफट्यांग्रा, कमिला र कतिपय परजीविहरूसमेतको सम्पर्कमा पुग्छन्। हिलो र फोहोर पानीमै बसेर काम गर्नुपर्ने परिस्थिति पनि बन्छ। यस्तो गर्मी, चिसो र अस्वच्छ वातावरणका कारण दाद, लुतोलगायतका छाला चिलाउने खालका समस्या देखिने र घाउ खटिरा समेत आउन सक्छ।

परम्परागत रूपमा साउने संक्रान्तिलाई सफा र उपचार गर्ने दिनका रूपमा लिइन्छ। परिवारका हरेक सदस्यले छालाका रोग हटाउन नुहाउने र परम्परागत उपचार गर्ने चलन छ। आजका दिनमा अस्पतालहरूले पनि यस ऋतुमा छालासम्बन्धी रोगका बिरामी बढेको सूचना प्रवाह गरिरहेका छन्। आधुनिक चिकित्सा पद्धतिले यी समस्याको उपचार गर्छ भने आयुर्वेदिक औषधि, माटो लगाउने उपचार र जडीबुटीको प्रयोग पनि अझै प्रचलनमा छ।

साउन महिना भगवान् शिवको आराधना विशेष महिना पनि हो। जाति, धर्म, पन्थ वा समुदाय जे भए पनि अधिकांश नेपालीको मन र संस्कृतिमा शिवको स्थान महŒवपूर्ण छ। पशुपतिनाथ मन्दिर र कैलाश पर्वत– शिवसँग सम्बन्धित पवित्र स्थलहरू– हिन्दूहरूको महान तीर्थ मानिन्छन्। नेपाल र संसारभरिका हिन्दु श्रद्धालुहरूले जीवनमा कम्तिमा एक पटक पशुपतिनाथको दर्शन गर्ने परम्परा विद्यमान छ। नेपालमै पनि समुदाय र सम्प्रदायहरू यति धेरै अन्तरसम्बन्धित छन् कि हरेकले शिवप्रतिको सामिप्य दर्शाइरहेका हुन्छन्।

भगवान् शिव ब्रह्मा, विष्णु र महेश्वर गरी हिन्दु त्रिमूर्तिमध्येका एक हुन्, जसलाई सिर्जना र विनाश दुवैसँग जोडिन्छ। उनलाई प्रेम र समर्पणको प्रतीक पनि मानिन्छ। योनी र लिंगको एकताको कथा शिव–पार्वतीको प्रेम र त्यागको प्रतीक हो। मेरो लागि शिवको सबैभन्दा ठूलो सन्देश भनेको प्रकृतिलाई माया र संरक्षण गर्नु हो। उनको रूप –पवित्र गंगा नदी उनको जटाबाट बगिरहेको, घाँटीमा सर्प लपेटिएको, शरीरमा बाघको छालाले ढाकेको) सम्पूर्ण रूपमा प्राकृतिक तŒवहरूसँग जोडिएको छ।

हिन्दु समुदायमा समुद्र मन्थनको विशेष स्थान छ। समुद्र मन्थनको समयमा विष निस्किएपछि शिवले मानवता बचाउन त्यसलाई पिएको बताइन्छ। शिवपुराणका कथाहरूले हिमालय, नदी, वनस्पति, जनावर र मानवलाई विनाशबाट जोगाएको चर्चा गर्छन्। साथै, उनले तेस्रो नेत्र खोलेर पाप र अन्याय अन्त्य गरेको प्रसंगहरू पनि सुनिन्छ, सुनाइन्छ।

साउन महिना पानी र नवीकरणसँग पनि जोडिएको छ। के विश्वास गरिन्छ भने यस अवधिमा शिव (जसलाई शम्भु पनि भनिन्छ) ले कैलाश पर्वतबाट उत्तरी ध्रुवसम्म पैदल यात्रा गरेका थिए। यस यात्राले संसारभरि उनको उपस्थितिको संकेत गर्छ। यही महिनादेखि नेपालमा चाड पर्वहरू सुरु हुन्छन्, जनै पूर्णिमा, नागपञ्चमी, हरितालिका तीजजस्ता पर्व क्रमशः मनाइन्छन्।

विशेष गरी महिलाहरूले साउन महिनाभर प्रत्येक सोमबार व्रत बस्छन्। आफूले शिवजस्तो पति पाऊँ भन्ने कामना गर्दै शिवको पूजा गर्छन्। शिव–पार्वतीको प्रेम कथाले हिन्दु समुदायमा गहिरो छाप छाडेको छ। साउने सोमबार र हरितालिका तीजमा महिलाले कठोर उपवास राख्दा पतिको दीर्घायु प्राप्त हुने विश्वासका साथ परम्परालाई निरन्तरता दिने गरेका छन्।

परम्परा र संस्कृतिहरू मानिसकै सिर्जना हुन्, तिनमा समयसँगै समीक्षा र परिमार्जन आवश्यक हुन्छ। विडम्बना त के हो भने यी व्याख्याहरू कहिले पितृसतात्मक सोचबाट निर्देशित भए भने कहिले बजारमुखी अर्थतन्त्रबाट। ‘राम्रो पति पाउनुपर्छ’ भन्ने सन्देश र महिलालाई आफ्नो जीवनसार्थक बनाउन विवाहमा सीमित हुनुपर्छ भन्ने सोच समाजमा अझै पनि गढेको छ।

शिवका गहिरा मूल्य र सन्देशहरू (प्रकृति संरक्षण, अन्यायसँग लड्न सिकाउने) अनि पार्वतीको महिला सशक्तता र अन्यायलाई दमन गर्ने पक्षलाई अँगाल्नुको सट्टा, महिलालाई पानीको एक थोपा नखाइ उपवास गर्न र विवाह नै सबैभन्दा ठूलो लक्ष्य हो भन्ने मान्यतालाई निरन्तर प्रचार गरियो। यी सोचलाई झन् बलियो बनाउन हालको बजारले रातो, हरियो, पहेँलो लुगा, गहना र चुरा अनिवार्य झएझैं गरी बेच्न थालेको छ। यसमा अन्धभक्त भएर नयाँ पिँढी किनमेलमा व्यस्त छ। नयाँ पुस्ताले फजुल खर्चतिर होइन समाजलाई सकारात्मक बाटोतिर लाने सचेतना जगाउन जरुरी छ।

चाडपर्वहरूलाई व्यापारीकरणले फरक बनाइरहेको छ। हरितालिका तीजको अघिल्लो दिन दर खाने दिन भनेर छोरी–नातिनीलाई आमाले घरमा बोलाएर सामूहिक भोजन गर्ने चलन थियो। आजकल महिनौं अघि होटलमा ठुला पार्टी आयोजना हुन्छन् भने घर–परिवारमा भेला हुने परम्परा हराउँदै गएको छ। एक पटक आत्मीयता र सादगीपूर्ण तवरले मनाइने पर्व अब सामाजिक हैसियत देखाउने विम्ब बन्दै गएको छ।

यस वर्ष हामी परम्परामा लुकेका सकारात्मक मूल्यहरू सम्झौं– ऋतुजन्य छाला रोगको सचेतना राखौं र जल, जनावर र वनस्पतिको संरक्षण गरौं। यसरी नै नयाँ पुस्ताले खर्च र दमनकारी परम्परालाई प्रश्न गर्न थाल्नुपर्छ।

अन्धधुन्ध खर्च गर्नु आधुनिकता होइन। वातावरण जोगाउने र सांस्कृतिक अभ्यासलाई खराब भए परिमार्जन गर्ने अनि सकारात्मक एवम् जीवनोपयोगी भए अँगाल्ने कार्यलाई अवलम्बन गर्नु नै प्रगति मान्नुपर्छ। भविष्यतर्फ हेर्दै हामी साउनलाई नवीकरणको महिना बनाऔं। प्रकृतिसँगको सम्बन्ध, मानव गरिमाको सम्मान र जलवायु एवम् स्रोत संरक्षणका लागि उपयोग गर्न साझा प्रयास गर्दै अघि बढौं।

(शर्मा वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी हुन्।)

प्रकाशित: १ श्रावण २०८२ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App