२६ पुस २०८२ शनिबार
image/svg+xml
विचार

खेलप्रेमी गणेशमान

हामी नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताब्दी वर्ष मनाइरहेका छौँ। विश्वका प्रायः सबै विकसित र सभ्य मुलुकमा आफ्नो देशका महान् राजनेता, विद्वान, दार्शनिक तथा समाज रूपान्तरणमा योगदान पुर्यािएका आदर्श व्यक्तित्वको जन्मशताब्दी वर्ष बडो धुमधामले मनाउने प्रचलन छ।यस्ता कार्यक्रम राज्यले मात्र होइन, जनस्तरबाट पनि मनाउने गरिएको छ। जन्मशताब्दीका अवसरमा सामाजिक तथा सांस्कृतिक सुधार एवं परिवर्तनका काम गर्ने–गराउने र उनीहरूले देखेको सपनालाई साकार पार्ने खालका विभिन्न क्रियाकलाप आयोजना गरिन्छ। जन्मशताब्दी वर्षकै अवसरमा उनीहरूको बहुआयामिक व्यक्तित्वका बारेमा पनि चर्चा गर्ने गरिन्छ।

गणेशमान एक बहुआयामिक व्यक्तित्व थिए। बाल्यकालमा निकै चञ्चल स्वभावका उनलाई परिवारमा सबैले हीराकाजी भनेर बोलाउँथे। सबैबाट पुल्पुलिएका हीराकाजी निकै उद्दण्ड स्वभावका थिए। टोलका केटाहरूलाई बटुलेर हुलदंगा गर्ने र स्कुलबाट भागेर गुच्चा तथा पौडी खेल्न जान्थे। हीराकाजी ६ वर्षको हुँदा बुवा ज्ञानमान रोगले थलिएर ओछ्यान परेका थिए। हीराकाजी भने दिनहुँ टोलमा गुच्चा खेल्न जान्थे। दिनभर खेले पनि उनी सन्तुष्ट हुँदैनथे। पिताजीले बोलाउनुभएको छ भन्दै मानिसहरू उनी खेलिरहेको ठाउँमै बोलाउन पुग्थे। उनी निकै रिसाएर घर फर्कन्थे। हीराकाजी घर पुगेपछि पिताजीले उनलाई सोध्ने गर्थे– कहाँ गएका थियौ? उनी निर्धक्क भएर भन्थे– गुच्चा खेल्न गएको। अनि खेल्न पुग्यो त? भनेर सोध्दा बालक हीराकाजी 'छैन' भनेर मुन्टो हल्लाउँथे। सुब्बा ज्ञानमान उनलाई फेरि खेल्न पठाउँथे। छोरालाई असाध्यै माया गर्ने उनी छोरालाई सधैँ खुसी राख्न चाहन्थे। त्यही भएर उनी हाँसेर खेल्न पठाउँथे।

पिताजीको निधनपछि हीराकाजी झन् फुक्काफाल भए। जेठा बाजे रत्नमानले काका तीर्थमानको रेखदेखमा शिक्षा दिने व्यवस्था गरेका थिए। काकाबाहेक अरु शिक्षकको समेत व्यवस्था गरिएको थियो। काका दिउँसो आफै स्कुल जाने भएकाले उनी दिनभर फुक्का हुन्थे र गुच्चा तथा पौडी खेल्न दौडिहाल्थे। उनको दैनिकी भनेकै हुल्याहा केटाहरूलाई बटुलेर गुच्चा र पौडी खेल्नु हुन्थ्यो। पछि उनलाई गुच्चाभन्दा पनि पौडीमा बढी ध्यान गयो। उनी पानी देखेपछि अधीर भइहाल्थे र सुरुवाल खोलेर हत्तपत्त विष्णुमती र वाग्मतीमा झ्याम्ल्याङ्ङ फाल हाल्थे।

यसरी बरालिन थालेपछि काजी रत्नमानले उनलाई दरबार हाइस्कुलमा ५ कक्षामा भर्ना गरिदिए। तर, उनी स्कुलमा पूरा दिन कहिल्यै पनि बस्दैनथे। हाफ टाइम हुनासाथ पौडी खेल्न खोलातिर कुदिहाल्थे। यसरी पौडी खेल्ने क्रममा एक दिन वाग्मतीले उनलाई बगायो। त्रिपुरेश्वरको पञ्चायनी घाटबाट पौडी खेल्न थालेका उनलाई एक्कासी बाढी आएपछि बगाएर टेकु दोभानसम्म पुर्याुयो। उनले किनारा लाग्ने अनेक प्रयास गर्दा पनि सकेनन्। टेकु दोभान पुगेपछि विष्णुमतीको प्रभाव र बेग बागमतीको भन्दा बढी भएकाले किनारामा हुत्यायो र एकजना किसानको नोलको सहायताले खोलाबाट निस्कन सफल भए। कक्षा ६ मा पुगेका हीराकाजीले राणाका सन्तानलाई कुटेपछि उनी विद्यालयबाट भागे र त्यसपछि कहिल्यै पनि विद्यालय नटेक्ने निर्णय गरे। यसपछि त उनी असनमा छाडेको राँगोझैँ स्वतन्त्र बन्न पुगे। परिवारको बन्देजबाट बाहिर रहे। घरको ढुकुटी फोरेर कलकत्ता नजाउन्जेलसम्म हीराकाजीको नित्यकर्म भनेकै जुवा, गुच्चा र पौडी खेल्नु हुन्थ्यो।

कलकत्तामा पढाइ सकेर नेपाल फर्किएपछि गाउँ डुल्ने क्रममा एक दिन झोछेँ र ओमबहालको बीचमा गणेशमानको एक बलिष्ट शरीर भएका व्यक्तिसँग जम्काभेट भयो। आफूलाई टोलको दादा ठान्ने गणेशमान शरीरमा तेल घसेर बसेका बलिष्ट व्यक्तिलाई देखेपछि रिसले मुर्मुरिन पुगे। आफ्नो इलाकामा अर्कैले अड्डा जमाएर बसेको देखेपछि मुर्मुरिएका गणेशमानले उनलाई कुस्ती खेल्न च्यालेन्ज गरे। कलकत्तामा बस्दा केही कसरत गरेका गणेशमानले त्यो व्यक्तिलाई सजिलै पछार्ने ठानेर च्यालेन्ज गरेका थिए। दिउँसोको घाममा तेल घसेर बस्ने व्यक्ति थिए– धर्मभक्त माथेमा। बंगाल टाइगरको उपमा पाएका धर्मभक्तलाई उनले पराजित गर्न सकेनन्। बरु गणेशमान उनको चेला बन्न पुगे। उनी पनि शारीरिक सुगठनका कुशल खेलाडी भएर निस्किए। कसरतबाट धर्मभक्तलाई डेग चलाउन नसक्ने देखेपछि गणेशमानले अर्को प्रस्ताव राखे–बक्सिङ खेल्ने। तर, धर्मभक्त बक्सिङ खेलमा पनि निकै कहलिएका थिए। उनी कुनै समय बंगालको च्याम्पियन बनेका थिए। यस्ता व्यक्तिलाई गणेशमानले परास्त पार्न सक्ने सम्भावना नै थिएन। गणेशमानलाई प्रोत्साहित गर्न उनले सुरुमा नाकमा हान्न दिइरहे। गणेशमानले यसैलाई कमजोरी सम्झेर धर्मभक्तलाई थला पार्ने कोसिसमा लागे। उनले मौका पाउनासाथ धर्मभक्तको घोक्रोमा एक दनक दिए, धर्मभक्तलाई पनि रिस उठेछ। उनले गणेशमानको नाकमा एक मुक्का के हानेका थिए– ब्युँझँदा त उनले धर्मभक्तलाई गुलाब जल छर्किरहेको अवस्थामा पाए।

सुरुमा एउटा जंगलमा दुइटा शेर बस्न सक्तैन भनेर धर्मभक्तलाई गिराउन गणेशमानले कसरत र बक्सिङको बहाना गरे पनि पछि उनी धर्मभक्तका राम्रो चेला बने। धर्मभक्तबाट शारीरिक सुगठन र बक्सिङ सिके। प्रजातान्त्रिक आन्दोलनमा अमर पहिचान बनाएका गणेशमान यसरी बक्सिङ र शारीरिक सुगठनका कुशल खेलाडी बने। उनले स्थानीयस्तरमा हुने बक्सिङका थुप्रै प्रतियोगितामा सहभागी भएर खेलाडीलाई हौसला बढाउने काम गरे। राजनीतिक गतिविधि सञ्चालन गर्न सरकारले रोक लगाएको अवस्थामा उनी आमजनतामा राजनीतिक चेतना जगाउन शारीरिक सुगठन र बक्सिङका प्रतियोगिता भएका स्थानमा पुगेर घुमाउरो ढंगबाट चेतना बढाउने काम गर्थे। धर्मभक्तको संगतमा परेपछि शारीरिक सुगठन र बक्सिङ खेलमा रमाउन थालेका गणेशमानले टोलका साथीसँग आकासपातालका गफ हाँक्दै बरालिएर हिँड्ने कामलाई चटक्क छाडे। उनी कुशल खेलाडी र राजनीतिक कार्यकर्ता बने। धर्मभक्तको यही प्रेरणाले गणेशमान राणा शासन उल्टाएर प्रजातन्त्र ल्याउने अभियानमा आफूलाई समाहित गर्न पुगे।

गणेशमानले बाल्यकालमा पौडी र गुच्चा आफ्नो सोखका लागि खेलेका थिए। तर, शारीरिक कसरत र बक्सिङ सुरुमा धर्मभक्तलाई खिस्याउन खेले पनि पछि त्यसलाई राणा शासनविरोधी राजनीतिक अभियानका रूपमा सञ्चालन गरे। २००७ सालमा प्रजातन्त्र स्थापना हुनुअघि राजा र राणाका दरबारमा सीमित खेलहरूलाई जनताको माझमा पुर्याुउने काम धर्मभक्त र गणेशमानले गरे। धर्मभक्तको मुख्य उद्देश्य शारीरिक सुगठनका माध्यमबाट राजा त्रिभुवनसँग सम्बन्ध स्थापित गर्नु र प्रजातन्त्र स्थापनाका लागि वातावरण तयार पार्नु थियो। गणेशमानले पनि आमजनतामा राजनीतिक चेतना जगाउन शारीरिक कसरत र बक्सिङ खेललाई प्रयोग गरे। यी खेल भइरहेका स्थानमा पुगेर गणेशमान आमजनतालाई राजनीतिक चेतना जगाउने काम गर्थे। उनीहरुको योगदान कालान्तरमा नेपालको सत्ता परिवर्तनमा मात्र सीमित रहेन, खेलकुद र खेलसंस्कृतिको विकासमा पनि एउटा कोशेढुंगा बन्न पुग्यो।

प्रजातन्त्रको उदयसँगै पहिले राजा र राणाको दरबारमा सीमित खेल बाहिर निस्किए र जनताले पनि बिस्तारै खेल्न थाले। खेलका बारेमा जानकार हुनथाले। प्रजातान्त्रिक व्यवस्थाको उपभोग गर्दै फुटबल, क्रिकेटलगायतका खेलको राष्ट्रिय संघ नै गठन हुन पुग्यो। २०१६ कात्तिक १५ गते काठमाडौँको टुँडिखेलमा प्रधानमन्त्री बीपी कोइराला– ११ र राजा महेन्द्र– ११ टोलीबीच प्रदर्शन फुटबल खेल भएपछि काठमाडौँका जनतामा खेलभावनाको विकास हुन पुग्यो। यसले पनि खेलकुदको विकासमा ठूलो योगदान पुर्या यो। २००७ सालदेखि अहिलेको अवस्थासम्म आइपुग्दा खेलकुद क्षेत्रमा ठूलै क्रान्ति नै आइसकेको छ। पहिले मनोरञ्जन र शारीरिक कसरतका साथै जनतामा राजनीतिक चेतना जगाउन खेलिने खेलहरू अहिले व्यक्तिको सोखमा मात्र सीमित छैन, पेशा बनिसकेको छ। खेलकुदलाई राणाका दरबारबाट थुतेर जनताको आँगनमा ल्याउन लौह पुरुष गणेशमानले पुर्या एको योगदान सदैव स्मरणीय रहनेछ।

प्रकाशित: २ आश्विन २०७२ २३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App