७ वैशाख २०८१ शुक्रबार
विचार

युवा चित्तको सम्मान

यतिबेला केही दिनअगाडि सर्वोच्च अदालतले गरेको एउटा मुद्दाको फैसला सामाजिक टिप्पणी र चियोचर्चाको विषय भएको छ। फैसलाको बोलीमा परेको ‘चित्तले देखेको’ भन्ने शब्दांशले आकर्षित बनायो। कानुनको विद्यार्थी भए पनि साविक मुलुकी ऐन अ.ब. १८८ नं. मा भएको ‘चित्तले देखेमा’ भन्ने वाक्यांश सम्झनामा थिएन। उक्त फैसलामा ‘चित्तले देखेको’ भन्ने शब्दले उक्त नं. को संस्मरण गरायो एकाएक। कोरोना नियन्त्रण, रोकथाम र उपचारका विषयलाई माग बनाएर सडक आन्दोलनरत ‘इनफ इज इनफ’ का अभियन्ताहरूको ‘युवा चित्त’ प्रति ध्यान गयो। उनीहरू शान्तिपूर्ण आन्दोलन र सत्याग्रहमा थिए। भलै केही दिनअघि सरकारसँग भएको सम्झौतापछि अनशन तोडेका छन्। यसै अभियानले विगतमा भएका राल्फा, बुटपालिस, ‘जयतु संस्कृतम्’ जस्ता युवा चित्त उत्प्रेरित गतिविधि यस सिलसिलामा खोतल्नु समसामयिक हुन्छ जस्तो लाग्यो।

बाल, किशोर, युवा र वृद्ध मानिसको जीवनको अवस्था हो। यही चार अवस्थामा मानिसको जीवनचक्र चल्छ। बाल र वृद्ध अवस्था सशक्त र ऊर्वर हुँदैन। अपवादबाहेक उपनिषद्, पुराणमा सशक्त बालकहरूको उल्लेख पाइन्छ। राजा उत्तानापादका छोरा ध्रुव जो पाँच वर्षका मात्र थिए। उनले आफ्नो तपबलले ध्रुव पद प्राप्त गरेको विष्णु पुराणमा पाइन्छ। कठोपनिषद्मा नचिकेताले यमको सामना गरेर जीवन र मृत्युको रहस्य बोध गरेका थिए भने प्रह्लाद आफ्नै बाबुसँग विद्रोह गर्दा धेरै कष्टदायक दण्डको सामना गर्नुपर्दा पनि हतास भएका थिएनन्। निष्ठामा रहे। त्यस्तै आफ्ना बाल ऋषि कछोडद्वारा गर्भावस्थामै श्रापित भएर आठ ठाउँ बाङ्गिएका अष्टाबक्र ब्रह्मज्ञानी थिए। राजा जनकसँग संवाद गरे। उक्त संवाद अष्टबक्र गीताका रूपमा लिपिबद्ध छ। अहिले पनि हाम्रासामु विज्ञानलाई चुनौती दिने अद्वितीय बालक आदित्य छँदैछन्। यी सबै अपवाद हुन्, सिर्जना, निर्माण वा ध्वंश गर्ने ऊर्वर शक्ति युवामा नै हुन्छ। युवामा विद्रोह चेत अरू अवस्थामा भन्दा बढी हुन्छ। उद्वेलित हुन्छ। आवेगमा आउँछ। विद्रोह गर्छ। उलटपुलट कायलपलट क्षणभरमा नै हुन सक्छ भनेर विश्वस्त पनि हुन्छ। बन्छ।

युवाको सामाजिक मनोभावलाई दुत्कार होइन, उनीहरूमा ब्युँझेको चेतको सम्मान गर्नु हितकर हुन्छ।  

विगतमा युवाहरूको एउटा जमात राल्फा भनेर चिनियो। वि.सं. २०२३ सालदेखि ३० सालसम्म कायम यो समूह यतिखेर इतिहासमा मात्र छ। नेपाली वा अन्य कुनै शब्दकोशमा ‘राल्फा’ को संभवतः अर्थ र शब्द छैन। तर पनि आफूलाई राल्फा भनेर चिनाए। आ–आफ्ना नाम परिवर्तन गरे। परिवर्तित नामका पछाडि राल्फा झुण्ड्याए। नारायणभक्त श्रेष्ठ रायन भए। रामेश्वर श्रेष्ठले आफ्नो नाम रामेश राखे। अहिले पनि यही नाम उनको चिनारी बनेको छ। मेघराज नेपाल मञ्जुल बने। हालका प्रदिप नेपाल सिरोज, सोनोफ भनेर त्यसबेला आफूलाई चिनाउँथे भनिन्छ। सहपाठी महेश नेपाल (कानुन व्यवसायी) ले मलाई संकल्प पत्रिकाको वण्डल पढ्न भनी दिएका थिए। त्यसमा भएको कुन अंक थियो सम्झना भएन। तर सिरोज, सोनोफले लेखेको ‘वर्षादका बिहानीहरू समिर नेपाललाई’ भन्ने शीर्षकको लेखनीले धेरै रोएकी छु। आफू जस्तै अरूपनि रोउन् भनेर धेरैलाई पढेर सुनाएकी थिएँ। त्यसबेला हरि श्रेष्ठको राल्फाकालीन नाम नोरेम नतेसा थियो भनिन्छ। निनु चापागाईँ त्यसबेला निनु राल्फा भनेर चिनिन्थे भने विमल चापागाईँको नाम विमल राल्फा तथा निरञ्जन भट्टराईको नाम निरन थियो भनिन्छ। राल्फा समूहसँग सशक्त आबद्धता साहित्यकार पारिजातको पनि थियो। राल्फाको विषयमा दयाराम सम्भव, ऋषि बराल, गोविन्द भट्टराई, चैतन्य, शक्ति लम्साल आदिले लेखेका छन्।

राल्फाका विषयमा शक्ति लम्सालले लेखेका भनाई उद्धृत लायक छन्। उनी लेख्छन्– ‘सन् १९६३ देखि सन् १९७७ सम्मको चौध वर्ष राल्फाली समूहका लागि संक्रमण, विवाद, आलोचना र आक्रमणको केन्द्र रह्यो। राल्फाली समूहको हाराहारीमै राजधानी काठमाडौँको नयाँ सडकमा अस्वीकृत जमात, अमलेख, बुटपालिस आदि यी सबैले आफ्नो प्रेरणाको मूल स्रोत पारिजात र मोहन कोइरालालाई नै इष्टदेवता हुनेरूपमा प्रतिस्थापित गर्ने काम गरे। उता युरोप, अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनीमा ठूला ठूला छात्र आन्दोलन सुरु भए। भारतको पश्चिम बंगाल, महाराष्ट्र, आन्ध्र प्रदेशमा दिगम्बर पिँढी, भोको पिँढी, चिल्डे«ेन पिँढीको आन्दोलन सुरु भएको थियो’(सिग्देल, कमला, शक्ति लम्साल, क्रान्तिकारी साहित्य, संस्कृति र पत्रकारिताका स्तम्भ)।

‘इनफ इज इनफ’ अभियानले विगतमा भएका राल्फा, बुटपालिस, ‘जयतु संस्कृतम्’ जस्ता युवा चित्त उत्प्रेरित गतिविधि सम्झाएको छ।

राल्फा समूहमा माक्र्सवाद विश्वास गर्ने र नगर्ने दुवैथरी थिए भनिन्छ। छोटो समयमा आफ्नो प्रभाव जमाउन भने उनीहरू सफल भए भनिन्छ। लम्सालको भनाइमा ‘कुनै निश्चित सिद्धान्त, विचार, संगठन, नीति, कार्यक्रम आदिअन्तर्गत नबाँधिएको र नरहेकाले यो राल्फाली समूह केही वर्षपछि आपसमै ठूलो वादविवादको भूमरीमा पर्न गयो, टुक्रियो, खण्डित–विखण्डित भयो’ (पूर्ववत, सिग्देल)।

त्यस्तै चैतन्यले भनेका छन्– राल्फालाई कसैले अतियथार्थवादी, कसैले निम्न पुँजीवादी, रोमान्सवादी, कसैले हङ्ग्री जेनेरेसन, दि बिट जेनेरेसन र कसैले मार्कर्युजिय नववामपन्थ जोड्ने गरेका छन्। (चैतन्य, माक्र्सवादी कला दृष्टि र समीक्षा)

राल्फा समूह दिगो र स्थायी नभएपनि इतिहास जमाउन सफल रह्यो। संगत–असंगत, विद्रोहमा मात्र नभएर साहित्यिक इतिहासमा यसको दह«ो उपस्थिति भयो नै।

युवा विद्रोहको इतिहासमा ‘बुटपालिस’ त्यत्तिकै सशक्त छ। यस अभियानका अभियन्तामा शैलेन्द्र साकार, कविताराम, नारायण ढकाल आदि थिए भनिन्छ। उनीहरू न्युरोड पीपलबोटमा बसेर बुट पालिस गर्ने गर्थे रे। उनीहरूबाट बुटपालिस गराउनेमा बालकृष्ण सम पनि भएको बताइन्छ। उनीहरू भन्दा अगाडि षडानन्द शर्मा नाम गरेका व्यक्ति दौरा सुरुवाल कोट टोपी लगाएर ठाँटबाटका साथ हाल राष्ट्रिय नाचघर भएको ठाउँमा बुटपालिस गर्न बसेर आफ्नो विद्रोहको भाव प्रतीकात्मकरूपमा व्यक्त गर्ने गर्थे भन्ने भनाइ पनि छ। त्यस्तै संस्कृत पाठशालामा अध्ययनरत छात्रहरूले गरेको ‘जयतु संस्कृतम्’ आन्दोलन युवा चेतकै कारण थियो। जसको अगुवाहरूमा काशीनाथ गौतम, श्रीभद्र शर्मा, कमलराज रेग्मी आदि थिए।

कुनै बेलाका नेपाल ल क्याम्पसका विद्यार्थी युनियनका सभापति (अखिल पाँचौँ) बलराम समालको बोली जादूमय थियो। उनी बोल्न थालेपछि कतै हावाको गति पनि रोकिन्छ कि जस्तो हुन्थ्यो। सपेराले बजाएको बिनको धूनमा लठ्ठिएको साँपकै त्यसबेला उनको भाषण सुन्ने स्रोताको अवस्था हुन्थ्यो। ‘जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ, त्यहाँ विस्फोट हुन्छ’– उनले भनेको अहिल्यै जस्तो लाग्छ। त्यसबेला त्यो प्रतिभाशाली युवाको अहिले कहीँकतै पत्तो पाउँदिन, गुमनाम छन्। त्यसैले युवाको सामाजिक मनोभावलाई दुत्कार होइन, उनीहरूको ब्युँझेको चेतको सम्मान गर्नु हितकर हुन्छ। ‘इनफ इज इनफ’लाई त्यही अर्थमा लिनु र बुझ्नुपर्छ भन्ने लाग्छ।

प्रकाशित: २९ श्रावण २०७७ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App