सन् १९४७ पछि विभाजित हाम्रा दुई छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तान त्यसै समयदेखि नै भूराजनीतिक सुरक्षा तनावमा रहँदै आएका छन्। यिनीहरूबीचको धार्मिक राष्ट्रवाद र कश्मीर समस्या त्यसै बेलादेखिको हो। कश्मीर विषयलाई लिएर यी दुई देशबीच सन् १९४८, १९६५, १९७१ र १९९९ (कारगिलसमेत) चार पटकसम्म युद्ध भइसकेको छ।
दिल्लीको संसद भवन, मुम्बई, पुलवामा, उरीलगायतका पहलगाममा भएका आतंककारी घटनाहरू वास्तवमा दुवै विषयसँग सम्बन्ध राख्छन्। दुई देशबीचको सीमाक्षेत्रमा ससाना गोलावारी र कश्मीर उपत्यकामामा हतियारधारीको घूसपैठ, आतंककारी क्रियाकलाप र भिडन्तका घटना भैरहन्छन् तर यसका कारणले दुई देशबीचको युद्ध विस्तार भएमा दक्षिण एसिया क्षेत्र असुरक्षित बन्न सक्छ।
गत अप्रिल २२ मा कश्मीरको पर्यटकीय रमणीय स्थल पहलगाममा रमाइरहेका २६ जना पर्यटकलाई (२५ भारतीय र एक नेपाली ) ५–६ जना आतंककारीले धर्मका निहुँमा नृशंस हत्या गरिदिए। सन् २०१९ मा भारत सरकारले जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक अनुच्छेद ३७० लाई हटाउने फैसला गरेपछि त्यहाँका मुस्लिम समुदाय बढी चिढिएका मौकामा ‘द रेजिस्टेन्स फ्रन्ट’ भन्ने कट्टरपन्थी मुस्लिम आतंककारीबाट यो घटना गराएको हो भनिन्छ। रेजिस्टेन्स फ्रन्टको सम्बन्ध पाकिस्तानमा रहेको लश्कर–ए–तैयबा र अन्य केही त्यस्तै संगठनसँग छ भन्ने भारतको बुझाइ छ।
भारत आफ्नो भूमिमा भएका धेरै यस्ता इस्लामिक आतंककारी गतिविधिलाई प्राय: पाकिस्तानसँग जोड्न खोज्छ यद्यपि पाकिस्तान यो मान्न तयार छैन। पहलगामको घटनाको बदलामा भारतीय सेनाले पाकिस्तानभित्र ८–९ स्थानमा मे ७–८ को रात हवाई आक्रमण गर्यो। यसको प्रतिरोधमा त्यसको केही दिनपछि पाकिस्तानी सेनाले पनि भारततर्फ थुप्रै स्थानमा हमला गर्यो। यस समय सार्क सदस्य राष्ट्रहरू किंकर्तव्यविमूढ बनिरहे र दुवै तर्फबाट चार दिनसम्म चलेको तीव्र हवाई आक्रमणपछि हाललाई युद्धको संकट टरेको छ।
परोक्षत्व (प्रोक्सी) क्रियाकलाप
दुई देशबीचको प्रत्यक्ष युद्धभन्दा कुनै समूहलाई साथ लिएर आफ्नो उद्देश्य पूर्ति गर्नु परोक्षत्व युद्ध (प्रोक्सी वार) को अवधारणा हो। भारत र पाकिस्तान एकापसलाई परोक्षत्व (प्रोक्सी) क्रियाकलापको आरोप लागाउँछन्। अहिले मध्यपूर्व र पश्चिम एसिया, पूर्वी युरोप, दक्षिण पूर्वी एसिया, दक्षिण एसिया र भारतको सुदूरपूर्वी भाग र म्यानमारसम्म यो ढंगको गतिविधि धेरै स्थानमा विद्यमान देखिन्छ।
पाकिस्तानको बलुचिस्तानको पृथकतावादी हरियारधारी समूह र तालिवानी समूहद्वारा पाकिस्तानी सेनामाथि नै आक्रमणका सिलसिला यथावत छन्। एकापसमा प्रोक्सीको आरोप लगाएर भारतभित्र हुने आतंककारी गतिविधिहरूमा पाकिस्तानी संलग्नता छ भनी भारतले पाकिस्तानभित्र आक्रमण गर्ने र पाकिस्तानले पनि भारतमाथि त्यही सोच राखेमा यो क्षेत्र साँच्चै असुरक्षित बन्दै जानेछ। परोक्षत्व युद्धमा कुन बाह्य शक्तिले आफ्नो स्वार्थ पूर्ति गर्न कोसिस गरेको छ। त्यसको सूचना लिन भने दुवै देश चुक्नु हुँदैन।
सिन्धु नदीहरूको सन्धि
मानसरोवरबाट उत्पत्ति हुने सिन्धु नदी वास्तवमै भारत–पाकिस्तानका लागि वरदान हुन्। कश्मीर आफ्नो अधीनमा आएपछि भारतले सन् १९४८ मा पाकिस्तानतर्फ बग्ने नदीनालाको मुहानमा नियन्त्रण राख्न सफल भएको हो। साठीको दशकमा भएको यी दुई देशबीचको ‘सिन्धु नदीहरू सन्धि’ अनुसार भारतलाई तीन पूर्वी नदी– सतलज, ब्यास र रावीको पानी प्रयोग गर्ने अधिकार दिइएको थियो भने पाकिस्तानलाई तीन पश्चिमी नदी– सिन्धु, झेलम र चेनाव। सिन्धु नदीहरूको नियन्त्रणमा कश्मीर क्षेत्र भारत र पाकिस्तान दुवैलाई महत्वपूर्ण छ। तर पहलगाम घटनाको विरोधस्वरूप भारतले यो सन्धिलाई स्थगन गर्ने चेतावनी दिएको छ।
पाकिस्तानले ‘आफ्नो भूमितर्फ पानीको बहाव रोक्ने भारतको कार्यलाई युद्धकार्य हो’ भनी चेतावनी दिएको छ। भारत भन्छ– यो फुकुवा गर्न पाकिस्तानले आतंककारीलाई नियन्त्रण गर्नुपर्दछ। पानीको अभावमा पाकिस्तानलाई कृषि उत्पादनमा चरम संकटको सामना गर्नुपर्ने भएमा यो जटिलताले अकल्पनीय स्थिति ल्याउने सम्भावना देखिन्छ। पानीलाई हतियारीकरण (विपनाइजेसन) गरिनुलाई धेरै विश्लेषकले निन्दा गरेका छन्।
हतियारको होडबाजी र आर्थिक पक्ष
दक्षिण एसियामा हतियारको होडवाजीले क्षेत्रीय शान्ति बिग्रँदो छ। दुवै छिमेकीले यो कुरा बुझे तापनि कश्मीरमा चलेको द्वन्द्वात्मक स्थितिले यी दुवै देश असीमित सैन्य सामथ्र्य हासिल गर्नेतर्फ उन्मुख छन्। उपल्लो दर्जाको हतियार प्राप्त गरी आफ्ना प्रतिद्वन्द्वीलाई सैन्य शक्तिमा उछिन्ने हतियारको होडबाजी आफैँमा गलत अभ्यास हो। भारत प्रतिरक्षा बजेट धेरै छुट्ट्याउने, बलिया र असरदार हतियार खरिद गर्ने र उत्पादन पनि गर्ने पाँचौँ शक्तिशाली मुलुकका रूपमा परिचित छ।
पाकिस्तान आफ्नो आर्थिक क्षमता कमजोर भए तापनि भारतलाई निकट प्रतिद्वन्द्वी ठानी आफ्नो सैनिक सामथ्र्य वृद्धि गर्ने बाध्यतामा छ। भारतको सैनिक खर्च ८६.१ अर्ब अमेरिकी डलर छ भने पाकिस्तानले १०.२ अर्ब डलर छ (स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युट)। केही दिनयताको युद्ध तनावले गर्दा मात्र भारततर्फ ५० हजार करोड थपिएको छ। जम्मु कश्मीरमा मात्रै भारतको प्रतिरक्षा बजेटको ठूलो हिस्सा खर्च हुने गरेको छ। सैनिक तथा गैरसैनिकतर्फ क्षतिको त्यत्तिकै नराम्रो अवस्था छ। सैनिक खर्च कटौती गरी अधिकांश गरिब जनताको लागि नि:शुल्क शिक्षा, स्वास्थ्य र शुद्ध पिउने पानीको व्यवस्था गरिनु प्राथमिकता हुन्।
आणविक हतियारको प्रयोग
भारत र पाकिस्तानबीच युद्ध भएमा भारतसँग बलियो सैनिक सामर्थ्यका कारण उसलाई अधिकतम शक्ति (हार्ड पावर) प्रयोग गर्न कुनै हिच्किचावट हुँदैन। पहलगाम आतंकले चार दिनसम्म भारत र पाकिस्तानलाई झण्डै झण्डै युद्धमा धकेलेको थियो किनकि दुवैतर्फका हमलाका निशाना संवेदनशील हुँदै थिए तर युद्धको स्थिति आएन। कुनै पनि देशले आफ्नो अस्तित्व संकटमा परेको ठान्छ भने उसका युद्ध विकल्पहरू निर्मम नहोलान् भन्न सकिन्न।
वास्तवमा पाकिस्तानसँग भएको आणविक हतियार निरोधात्मक (डेटरेन्स) भनिए तापनि ‘राष्ट्रिय सुरक्षाको गम्भीर खतरा’ मा यसको प्रयोगको सम्भावना हुने केही सैन्य विश्लेषकहरूको छ । अमेरिकी राजनीतिशास्त्री जोन मर्सिमरको भनाइअनुसार निरोधात्मक उपायमा कुनै क्रियाको फाइदाभन्दा बढी खतरा र बेफाइदाको तर्क गरिन्छ। त्यसैले निरोधात्मक अवस्थाले आणविक हतियारको प्रयोगलाई रोक्न सफल हुन्छ। सैन्य विश्लेषक विलियम एस लिन्ड भन्छन्– ‘यदि पाकिस्तान स्थल युद्धमा हार्दै जान्छ भने आणविक हतियार प्रयोग हुने सम्भावना उच्च हुन्छ।’ इन्स्टिच्युट फर साइन्स एन्ड इन्टरनेसनल सेक्युरिटीका डेभिड अल्ब्राइटका अनुसार दुवै पक्ष परमाणु युद्ध त चाहँदैनन् तर परम्परागत युद्धले गलत दिशा लिएमा परिस्थितिलाई नियन्त्रण गर्न सक्ने सामथ्र्य गुम्न सक्छ ।
युद्ध उन्मुख भविष्य
जबसम्म कश्मीर समस्याको हल हुँदैन त्यस बेलासम्म यी दुई छिमेकीबीचको युद्ध मानसिकता रहिरहनेछ। मन्ट्रियलबाट निस्कने द ग्याजेट (१ अप्रिल, २०२२) मा प्रकाशित अमेरिकी विश्लेषकहरूका भनाइअनुसार पाकिस्तानमाथि भारतको सैनिक श्रेष्ठताले यी दुवै देशबीचको तनावले युद्धतर्फ उन्मुख बनाउँदै लगेको छ।
पाकिस्तानको भन्दा बढी परमाणु क्षमता भएको भारतसँग स्थल, हवाई र नौसैनिक शक्तिमा अग्रता छ नै, यद्यपि हैब्रिड युद्धकला, आतंककारी युद्धले बलिया देश मानिएकालाई पनि शिथिल बनाइदिन सक्छ भन्ने प्रमाणित भइसकेको हामीले बुझ्नुपर्दछ। भारतले सबक सिकाउने भनिएका आतंककारीहरूले झन् ठूलो इख साँध्न सक्ने, जसले गर्दा भविष्यमा आतंककारी संगठनहरूले नयाँ नयाँ ढाँचाका हमला, बिष्फोट आदि गर्न सक्ने र भारतीय जनता सधैँ त्रासमा रहनुपर्ने अवस्था हुन्छन्।
निष्कर्ष
अहिलेको लडाइँ बहुआयामिक हुन्छ। यहाँ स्थलसेनाद्वारा जमिन कब्जा गर्नेभन्दा हवाई शक्ति, ड्रोन, मिसाइल, गैरगतिज (नन काइनेटिक), विद्युत् चुम्बकीय ढाँचाद्वारा लडाइँलाई छिटो आफ्नो अनुकूलतामा पार्ने उद्देश्य रहन्छ। युद्ध गरेर पनि राजनीतिक–सामरिक उद्देश्य अप्राप्य भएमा त्यो निरर्थक हुन्छ। दक्षिण एसियाका देशबीच एकापसमा राम्रो सम्पर्क योजन (कनेक्टिभिटी) नभएका कारण अन्तरदेशीय व्यापार फस्टाउन नसकेको अवस्थामा यो क्षेत्रमा स्थायी शान्ति कायम गर्न सकिएन भने हामीले धेरै हानि बेहोर्नुपर्नेछ। भारत र पाकिस्तानले कश्मीरबारे आआफ्नो अडानमा लचकता नअपनाउने हो भने यो समस्या झन् जटिल बन्नेछ । दक्षिण एसिया नै असुरक्षित हुने जोखिम रहनेछ ।
प्रकाशित: १३ जेष्ठ २०८२ ०९:४५ मंगलबार

