२७ चैत्र २०८१ बुधबार
image/svg+xml १४:१२ अपराह्न
विचार

गणतन्त्र, संघीयता र सिंहदरबार

नेपालको उत्पत्ति, शासन व्यवस्था तथा शासक र शासितको स्वरूपहरूलाई इतिहासकारका दिव्य दृष्टि तथा भौतिक जगत्का अवयव र मानव विकासका कालखण्डका तथ्य तथ्याङ्कको विन्यास, योग र प्रतिफलसँग तुलना गर्दा प्रकट हुने स्वरूप र त्यसमा विश्लेषकले उजागर गर्न सकेका आयाम/पहललाई बजारका तत्वले आफ्नो हितको पक्षबाट बुझ्ने, बुझ्न पाउने र बुझेअनुसार आफ्नो ज्ञान, सिप, क्षमता र व्यवहारमा आउने परिवर्तन नै आधुनिक र आदिम मानव जीवनचक्रको फन्को भएको यो पंक्तिकारको ठम्याइ छ।

साठी वर्षको जीवनकाललाई आफूले आफ्ना लागि भनेर बुझेको र लागेको कालखण्ड जुन कुल जीवनकालको करिव दश वर्ष कान्छो हो भन्ने आधार स्थापित गरेर हेर्ने जमर्को गर्दा वर्तमानसम्मको परिदृष्यमा सामाजिक, सांस्कृतिक, बौद्धिक तथा आर्थिक पक्षभन्दा प्रबल गतिशील पक्ष राजनितिक भन्ने सार खिचिएको छ।

नेपालको उत्पत्तिताका देवपाटनका गोपालवंशीलाई नेपालको राजा बनाएकोदेखि लिच्छविकाल, मल्लकाल हुँदै शाहकाल जुन बडामहाराज पृथ्वीनारायण शाहले बाइसे र चौबीसे राज्यलाई एकीकरण गरी नेपाल राज्य स्थापना गरेबाट एकछत्र श्री ५ महाराजधिराजले शासन गरेको यस मुलुकमा राज्यशक्ति हत्याउन बुद्धि, विवेकभन्दा पनि बल प्रयोग गर्ने गरेको कुरा शाहवंशीय इतिहासमा धेरैवटा आउँछन्।

वि.सं. १९०४ ताकाबाट तत्कालीन भारदारमध्येका जंगबहादुर राणाले बालक राजा पृथ्वीवीरविक्रमलाई राजगद्दीमा राखी आफूले प्रधानमन्त्री हुँदै राज्यशक्तिको प्रयोग गरेको र आफूलाई श्री ३ महाराज घोषणा गरी आफूपछि आफ्नो भाइ जहानिया श्री ३ महाराज राणा प्रधानमन्त्री हुने प्रथा बसाले। जुन १०४ वर्षसम्म राणा शासन कालका रूपमा चिनियो।

राणाभित्र पनि आफ्नो पालो कुर्न नचाहने र आफू सत्तामा पुग्न आतुर हुनेहरूले विभिन्न समयमा बल, सौर्य र रणकौशलताबाट आफू सर्वेसर्वा हुने र कमजोरलाई कजाइ आफ्नो अभीष्ट पूरा गर्ने राणातन्त्र चलेको देखिन्छ। यस किसिमको सत्ता संघर्ष नेपालमा मात्र नभएर तत्कालीन समयमा यस पृथ्वीमा बसोबास गर्ने मानवीय स्वभाव र पद्धत्ति नै हो भन्ने कुरा विश्व इतिहासबाट सबैले थाहा पाएका छौँ। धेरै मानिसले ज्यान गुमाएका प्रथम र द्वितीय विश्वयुद्ध र त्यसमा जित्ने र हार्ने वर्ग, राज्य, समुदायबारे लेखिएका ऐतिहासिक दस्ताबेज, प्रारूप श्रव्य दृष्य सामग्रीबाट पनि सो कुरा प्रमाणित भएको छ।

बाहुबलबाट पृथ्वीको भूभाग आफ्नो नियन्त्रणमा ल्याउने क्रम मानव सभ्यतासँगै प्राकृत जीवनशैली र जीवन यापनका लागि स्वतन्त्ररूपमा खाना, पानी, ऊर्जा र आवागमनका पक्षहरूमा सहज पहुँच र प्रयोग नभै प्रतिस्पर्धा र प्रतियोगिताबाट मात्र पाउन सकिने अवस्था आउँदै गर्दा परिवार, समाज र राज्यको सांगठनिक स्वरूप निर्माण र भूगोलमा सीमा निर्धारण हुँदै आएको देखिन्छ।

प्राणीहरूमा सबैभन्दा जान्ने विवेकशील मानिस यस पृथ्वीमा आफ्नो स्थायित्वका लागि स्वयं मात्र पर्याप्त नभएर अरू समाज र तन्त्रसँग जोडिन बाध्य छ। नेपाली राजनीतिमा आएका तन्त्र भन्ने शब्द नेपाली शब्दकोशअनुसार कुनै शासन व्यवस्था वा पद्धत्ति (राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र) हो। यो पंक्तिकारले राज्यका तन्त्रमध्ये राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र भोग्न र अनुभव गर्न पाएको छ।

त्यस्तै समाजतन्त्र, परिवारतन्त्र पनि अनुभूत भएको छ। राजतन्त्रसँग जोडिएको भारदारी एकतन्त्र, प्रजातन्त्रसँग जोगिएको छाडातन्त्र अनि गणतन्त्रसँग गाँसिएको लोकतन्त्र र मौलाएको खाओवादीतन्त्र अर्थात भ्रष्टतन्त्रले गर्दा अहिले राज्यको शासन व्यवस्था आक्रान्त छ।

महाभारतमा अभिमन्यु फसेको चक्तव्यूह जस्तै शाासक वा सत्तापक्ष जो विभिन्न विचारका प्रतिनिधि राजनीतिक पार्टीबाट मिलिजुली सरकारको रूपमा खडा भएको छ। गणतन्त्रसँग जोडिएको अर्को भाँडतन्त्र पनि हो जसले सत्तापक्षलाई प्रभाव र दबाबमा पारेर संघीयताका अवयवहरूलाई हुइयाँको भरमा उचाल्ने, फाल्ने, थप्ने र मास्ने कार्य सुनियोजित लाग्नेझैँ गरिरहेको छ।

शासन विधि संघात्मक र प्रणाली गणतन्त्रात्मक भए पनि विधि र प्रणालीको सुखद सहयात्रा हुन पाएको छैन। संघीयतासहितको शासन विधान (नेपालको संविधान) आठ वर्षको भएको छ। तर गणतान्त्रात्मक प्रणाली राजतन्त्रलाई हटाएको दिनबाटै आएको हो जुन छतौरो युवावस्थाको करिव १७ वर्षे भएको छ।

यही सत्र वर्षे युवाले आफूअनुकूल सत्ता र शक्तिको प्रयोगबाट अतिरञ्जित पटके तन्त्रकारहरूको गोप्य मन्त्र दान लिएर तिलश्मी भावबाट खडा गरिएकाले स्थापित प्रणालीका अवयवलाई बलात् कब्जामा लिंदै स्वेच्छाले सहयात्रा गर्दै जाँदा बालुवाटारमा अंश लगाएको सिहंदरबार जो नेपालको शासन व्यवस्थाको धरोहरका रूपमा आमनागरिकले चिनेका थिए, तिनी अहिले बेमोसमी र असुरक्षित अवस्थामै सुत्केरी भएकी छिन्।

अर्थात् एकै बेतमा ठूला सात मझ्यौला सात सय त्रिपन्न हुँदै कनिष्ट ६७४३ स्वरूपमा आफ्नो हकवाला मुकरर गरेर कुनाभित्र बसेकी छिन्। यसरी जायजन्म तिथि, मिति ग्रहगोचर, नक्षत्र घडी र पला शुभफल दिनेमा छन् कि कनिष्ट र क्रष्टसहितको कालबेलामा परेको छ।

 तिमीलाई सम्मुन्नत, सौम्य र सबैकी सम्पुज्य बनाएर गोधाममा सुरक्षित राख्छु भन्नेले सत्तामन साटेर यो आहालमा पारेको उनलाई अत्तोपत्तो नहुँदै प्रजनन र प्रसवका सामाग्री संहिता, संकल्प, संकलन र परिचालनको नाममा कति हुल आए हेक्का राख्ने अवसर नै नपाउँदै ती बहुरूपियाहरू कतिबेला घरेलु त कतिबेला बाह्य भएको भ्रम छरेर मन्त्रविनाको तन्त्र जस्तो, कहिले गणतन्त्र ठीक हो भन्छ कहिले लोकतन्त्र।

आमजनसाधारण भने मन्त्र तन्त्र र यन्त्रको समन्वय र सहकार्यको आशामा कहिले लोकतन्त्र, कहिले गणतन्त्रका लागि सिहंदरबारलाई सम्झन्छन्। कतिले राजतन्त्र नै निको थियो भनिरहेका वर्तमानमा सुत्केरी भएकी सिंहदरबार कहिले अखण्ड ज्योतिको दर्शन गर्न कुनाबाहिर आउँछिन् थाहै हुन सकेन।

यो अवस्थामा उनी (सिहंदरबार) आफूले कतिवटालाई सकुशल जन्म दिने र कतिवटालाई हुर्काउन सक्छु भन्ने सोच, तयारी योजना त छैन नै, बलात् भारी जिउकी हुनुपरेकाले हेक्का राख्ने हालतमा नभएको अवस्था छ अर्थात प्रसव वेदनाको अवधि लम्बिएको लम्बियै छ।  

प्रकाशित: १५ पुस २०८१ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App