७ वैशाख २०८१ शुक्रबार
विचार

राजावादी प्रदर्शन खतराको घन्टी

बाइरोडको बाटोमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईले आयोजना गरेका व्यवस्था विरोधी प्रदर्शन हाललाई कमजोर देखिएपछि सत्ता शिविरमा खुसियाली छाएको छ। यस्तो अभियान तत्काललाई कमजोर देखिन सक्छ तर यसले व्यवस्थाका संकट कम भएको मान्न सकिँदैन। किनकि खड्गो टरिसकेको छैन। प्रसाई जस्ता पात्रले यो अभियान चलाउन खोजेका कारण कमजोर भयो भनेर रमाइलो मान्नुपर्ने पनि कारण देखिँदैन। प्रसाईले व्यवस्था विरोधी अभियान चलाउन सकिन्छ भन्ने बिउ रोपेका छन् जसको फसल उठाउन कपिपय तयार भइसकेका छन्।

कुनैबेला राजावादीले टाउको उठाउन सक्ने अवस्था थिएन । आज सामाजिक सञ्जालका अधिकांश टिप्पणीकर्ताले आशाको केन्द्र वर्तमान राजनीतिक नेतृत्वलाई नमान्नु आफैँमा खतराको संकेत हो । दलका नेताहरूले जतिसुकै ‘प्रेत’ भनेर गाली गरे पनि हिजो स्वतन्त्रता हनन गर्ने र लोकतन्त्रका ठाउँमा एकाधिकार लागु गर्ने राजाको खोजी हुनु चिन्ताको विषय हो।

के मानिसलाई स्वतन्त्रता प्यारो छैन ? प्रायः मानिसको स्वाभाव यस्तो हो– आफूलाई केही हुन्न भने अर्कोको सुखको स्वर्ग पनि भत्किए भत्कियोस्। धेरैको बुझाइमा अहिलेको व्यवस्था केही सीमित दल, दलका पनि निश्चित गुट र यसका नेता तथा कार्यकर्ताको मुठीमा कैद छ। त्यति मात्र होइन, अहिलेको व्यवस्था कसैको पनि संरक्षण नपाएर बेवारिसे अवस्थामा छ। यसको स्वामित्व लिनेहरूको कमी प्रष्टसँग देख्न सकिन्छ।

यस्तो चिन्ताजनक अवस्थाको जवाफ दुर्गा प्रसाईको अभियान असफल भयो भनेर खुसी मनाएर दिन सकिँदैन। दुर्गा जालान् तर अरू कोही फेरि त्यो मैदान सम्हाल्न आइपुग्छन्। यसै पनि मंसिर ७ बाट प्रसाईको अभियान घोषणाले सत्ताको ओठमुख सुकेकै हो। सबैजसो प्रमुख नेताले अब के हुन्छ भनेर चिन्ता पनि प्रकट गरेकै हुन्। तिनले केही दिन चिन्ता प्रकट गरे, अहिले बिर्सिए। काम गर्ने चालढाल उही छ। तिनलाई आफू सुध्रनुपर्छ भन्ने लागेकै छैन। बरु लाग्दो हो– सुध्रिने जिम्मा बाँकी अरूको हो, आफ्नो हुँदै होइन। 

लोकतन्त्र भनेको शासक उत्पादन गर्ने कारखाना होइन। यसले आमनागरिकको सेवा गर्न सक्नुपर्छ। आफूलाई वास्तवमै नागरिकको सेवकका रूपमा स्थापित गर्न चाहने राजनीतिक नेतृत्वबेगर व्यवस्था बलियो हुन सक्दैन। लोकतन्त्र जस्तो उन्नत व्यवस्थाविरुद्ध दुईजना मानिस पनि निस्कनु भनेको आफैँभित्र केही कमजोरी छन् भन्ने प्रमाण हो। नत्र कोही किन स्वतन्त्रताको विरोधी हुन्छ ?  

वास्तवमा नेपालमा कहिल्यै पनि लोकतन्त्रले मौका पाएन। जहिल्यै यसका विरुद्ध वातावरण बनिरह्यो। हिजो राजा हुन्जेल तिनैले यसलाई कमजोर बनाउन केही न केही गरिरहेका हुन्थे। राजालाई पनि त्यो अवस्थामा पुर्‍याउने भने दलहरू नै थिए। तिनले अहिलेकै जस्तो हर्कत गर्थे, त्यसैलाई निहुँ पारेर राजा आफ्ना कदम चाल्थे। अहिले राजा छैनन्, त्यसैले तिनले प्रत्यक्षरूपमा यसका विरुद्ध केही गर्न सक्ने अवस्था छैन। तर राजाभन्दा राजावादी ठूला हुन्छन्। अहिले के राजावादी के विगतका गणतन्त्रवादी ती सबैलाई अहिलेको बेथितिले जोडेको छ। यस्तो बेलामा कतिपय गणतन्त्रवादीसमेत रिसले राजावादी हुन खोजेका देखिन्छ। 

राजा चाहिन्छ भन्ने लहर सिर्जना गर्न एकथरी मरेरै लागेका छन्। तिनका निम्ति हिजोको राजतन्त्रकालीन समय जस्तो उन्नत बेला नेपालमा कहिल्यै थिएन। तर भुक्तभोगीहरूले राजाको शासनलाई राम्ररी बुझेका छन्। तिनीहरू फेरि राजा आएर देशमा उन्नति हुन्छ भन्ने ठान्दैनन्। उन्नति हुन्थ्यो भने अढाइ सय वर्षसम्म तिनले के हेरेर बसे ? भुटानका राजाले जति पनि बुद्धि नपुर्‍याउने हाम्रो राजतन्त्र थियो। भिडमा गएर ‘बुझेँ’ भन्दैमा देश बुझिँदैन। त्यसैले राजा आएर देश बन्दैन।  

यति कुरामा प्रष्ट भए पनि आज संघीयता, धर्म निरपेक्षता र उन्नत लोकतन्त्रका गुण भएको व्यवस्था किन काम नगर्ने अवस्थामा पुगेको छ ? व्यवस्थालाई काम नलाग्ने अवस्थामा पुर्‍याएको यसका कर्ताहरूले हो। तर दोष जति व्यवस्थाको भागमा आएको छ। दोष जसले गल्ती गरेको हो, त्यसैलाई जानुपर्ने हो। व्यवस्था आफैँमा साधन मात्र हो, साध्य होइन। त्यो साधन प्रयोग गर्नेहरूको दोष प्रयोगकर्तालाई नै जानुपर्ने हो। त्यसो हुन नसक्दा व्यवस्था उल्ट्याएपछि मुलुकमा सुख शान्ति आउँछ भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ।  

राजा ल्याएर के गर्नु ? एकपटक स्थापना गरेपछि पुस्तौँपुस्ता फेर्न सकिँदैन। एक युगमा एक दिन आयो र पो राजतन्त्रको ठाउँमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सक्यो। लोकतन्त्रमा प्रत्येक पाँच वर्षमा आफ्ना शासक परिवर्तन गर्न सकिन्छ। अहिले गलत व्यक्ति आए पनि अर्को पटक तिनीहरूको ठाउँमा नयाँ व्यक्ति स्थापित गर्न सकिन्छ। यसकारण पनि सही व्यक्ति चयनतर्फ हाम्रो व्यवस्थाको गन्तव्य हुनुपर्छ। यो परिस्थितिलाई कसरी परिवर्तन गर्ने भन्नेतिर ध्यान जानु त कता हो कता राजतन्त्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस भएको छ।  

आजको सामाजिक सञ्जालको युगमा एकपक्षीय धारणाहरू फैलाउन सजिलो छ। आफूले ‘रोलमोडल’ ठानेका केही व्यक्तिले बोलेको कुरा ब्रह्मवाक्य हुने गरेको छ। तिनले लाख गल्ती गरे पनि नदेखिने र अरूले राम्रै गरेको पनि नपच्ने अवस्था अहिले छ । अझ अल्गोरिदमका कारण आफूले सुन्न चाहेको वा हेर्न चाहेको पक्ष मात्र देखिन्छ। यसले मानिसका धारणालाई सीमित जानकारीमा केन्द्रित गर्ने खतरा पनि उत्तिकै छ। त्यही भएर आज सामाजिक सञ्जालले सिर्जना गरेका ‘भगवान’ हरूबाट निर्देशित हुने खतरा छ । यस्तो बेलामा कसैले पनि असल राजनीतिक व्यवस्थाका विरुद्धमा निर्देशित व्यवस्था ल्याउन कोसिस गर्ने अवस्था हुन्छ।  

मानिस यसै पनि असन्तोषी स्वाभावको हुन्छ। आफूसँग जे छ, त्यसको मूल्य बुझ्दैन र आफूसँग जे छैन त्यसका निम्ति तड्पिइरहेको हुन्छ। आज स्वतन्त्रता छ, त्यसको मूल्य थाहा छैन। खोजिरहेको छ– निरंकुशतन्त्र। भोलि निरंकुशताको भुङ्ग्रोमा परेपछि स्वतन्त्रताको खोजी गरेर के गर्नु ? त्यतिबेला ढिला भइसकेको हुन्छ। आजको स्वतन्त्रता मासेर फेरि नेपाललाई निरंकुशतातिर लैजान खोज्नु भनेको अर्को एक दशक नेपाललाई अन्योलमा फसाउनु हो।  

निष्कर्षमा, अहिलेको व्यवस्थाको सुधार दुर्गा प्रसाई वा राजावादीले गरेर हुँदैन। सही अर्थमा मुलुक लोकतान्त्रिक गणतन्त्र रहोस् र यो व्यवस्थाको उदारवादी पक्ष बाँचोस् भन्ने चाहना हो भने यसका कर्ताहरूले सुध्रनु आवश्यक छ। दुर्गा प्रसाईहरू अहिले कमजोर देखिए भनेर रमाउनुको साटो यस्ता तŒवहरू कसरी आउनै नसक्ने अवस्थामा सुधार गर्ने भन्ने हो। यो सुधारको थालनी प्रमुख दलहरूका तर्फबाट हुनुपर्छ।  

यो व्यवस्था केही सीमित व्यक्तिको सुतीखेती होइन, समग्र नेपालीको आशाको केन्द्र हो। अहिले जो जति यसबाट उतर्सिएका छन्, तिनलाई यसप्रति विश्वस्त तुल्याउनु सक्नुपर्छ। त्यसका निम्ति यसमा अहिले देखिएका विकृृतिमाथि निर्मम प्रहार गर्ने बेला आएको छ। धन्यवाद दिनुपर्छ दुर्गा प्रसाईहरूलाई जसले थोरै भए पनि आँखा खोल्नुपर्ने अवस्थामा पुर्‍याएका छन्। उनीहरू सफल हुने दिन आयो भने त उदार राजनीतिक व्यवस्थाका पक्षपातीहरूले डाडुमा पानी तताएर मरे पनि हुन्छ।

प्रकाशित: १५ मंसिर २०८० ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App