३० वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

तान्त्रिक साधनामा निष्ठा

दर्शन

‘तनोति त्रायति तंत्र’ भन्नाले तन्काउने र विस्तार भन्ने बुझिन्छ। सामान्य रूपमा यसको अर्थ हुन्छ-सूक्ष्म मानव भौतिक शरीरको विराटसित सम्पर्क स्थापित गर्ने।

प्राचीनकालदेखि नै ऋषिमुनि र योगीहरूले मानव कल्याणका लागि थरी थरीका मन्त्र, जप, ध्यान, योग तथा प्राणायामजस्ता ज्ञानको खोज गरेर जनकल्याणका लागि समर्पित हुनुभएको छ। हुन त सबै महत्वपूर्ण र कठिन पनि छन्। यसमध्ये तन्त्र साधना धेरै नै कठिन र महत्वपूर्ण छ। यसमा सम्मोहन, वशीकरण, उच्चाटन र आन्तरिक चक्रहरू जगाउनका लागि गर्ने क्रियाहरू छन्।

देवीका दश रूप जसलाई दश विधा पनि भन्छ-काली, तारा, छिन्नमस्ता, षोडशी, भुवनेश्वरी, त्रिपुर भैरवी, धूमावती, बगलामुखी, मातंगी र कमला।

नेपाल, बंगाल, विहार, कस्मिर, राजस्थान र तिब्बत प्राचीन कालदेखि नै तन्त्र–साधनाका लागि महत्वपूर्ण स्थान थिए।

हिन्दु, बौद्ध, जैन र तिब्बती धर्ममा तन्त्र–साधनाका थुप्रै ग्रन्थ पाइन्छन्। वाराही तन्त्रका अनुसार सृष्टि बचाउन र प्रलयबाट मुक्तिका लागि तान्त्रिक साधना गरिन्छ। महानिर्वाण तन्त्रका अनुसार कलियुगका प्राणीको भाव अपवित्र भएकाले सिद्धि प्राप्त गर्न धेरै कठिनाइ हुन्छ। सामान्य रूपमा हेर्दा मन्त्र अर्थहीन जस्तो लाग्छ तर त्यस्तो होइन। कुनै कुनै मन्त्र एकाक्षरी हुँदाहुँदै पनि यसको धेरै महत्व छ। जसरी ह्लीं, क्लीं, श्रीं, स्थीं, शूं, क्रूूंको महत्व छ।

वैष्णव संहितामा पनि तन्त्रका दुईवटा विचारधारा छन्: वैखानस संहिता र पञ्चरात्र संहिता। वैखानस संहिताले तप र साधनाको परम्परालाई बुझाउँछ भने पञ्चरात्र संहितामा भक्तिवादी परम्पराको साधना हुन्छ।

एउटा भनाइ छ–नियम छैन भने जीवन छैन। कुनै पनि कार्यको आफ्नै नियम हुन्छ। बिनानियम वा सिद्धान्त कुनै पनि कार्य पूर्ण हुन सक्दैन। साधनाको पनि आफ्नै नियम हुन्छ। बिनानियम कुनै पनि साधना पूर्ण हुँदैन। यहाँ म विशेष रूपमा तन्त्र साधनामा उपयोग हुने नियमको उल्लेख गर्न गइरहेको छु।

तन्त्र साधना प्राचीन कालको एउटा रहस्यमयी र आध्यात्मिक विधा हो। आत्मज्ञान, सृष्टिको रहस्य, मुक्ति तथा जनकल्याण बुझ्न तान्त्रिक साधना गरिन्छ। मन्त्र साधनाका दुईवटा विधि हुन्छन्–वैदिक र तान्त्रिक। मन्त्रमा जति अक्षर हुन्छ, त्यति लाख जप गर्नुपर्छ।

तान्त्रिक साधनाका सात नियम

श्रद्धा - तान्त्रिक साधनामा अटुट श्रद्धाको विशेष महत्व छ। श्रद्धा र समर्पणको सहयोगबाट कुनै पनि कार्य सजिलै गर्न सक्छौं। गीतामा श्रीकृष्ण भन्नुहुन्छ, ‘संशयात्मा विनश्यन्ति ।’ शङ्का मान्छेको दुस्मन हो। यसले मान्छेलाई विनासको बाटोमा पुर्‍याउन सक्छ। श्रद्धा मनको एउटा भाव हो, जसलाई आधार मानेर मान्छेले काम पूरा गर्नका लागि ध्यान र शक्ति लगाउँछ। श्रद्धाविहीन मान्छे कुनै पनि कार्यमा सफल हुँदैन।

श्रद्धा तीन प्रकारका हुन्छन्-सात्त्विक, राजसिक र तामसिक। सात्त्विक प्रकृतिका मान्छेको श्रद्धा धेरै बलियो हुन्छ। राजसिक मान्छेको श्रद्धा मध्यम शक्तिको हुन्छ। त्यसैगरी तामसिक स्वभावका मान्छेको श्रद्धा धेरै कमजोर हुन्छ।

धैर्य - चीनमा एउटा उखान छ-तपाईंसँग पेसेन्स छैन भने तपार्इं पेसेन्ट हुनुहुन्छ। धैर्य विकासको आधार हो। सफलताको साँचो हो र आध्यात्मिक साधनाको मूलमन्त्र हो। प्रकृतिको सारा काम बिस्तारै हुन्छ। त्यस्तै कुनै पनि काम बिस्तारै गर्दा सफलताको सम्भावना धेरै रहन्छ। तान्त्रिक साधनामा पनि धैर्यको धेरै महत्व छ। धैर्यले शान्ति दिन्छ र शान्तिले सफलता दिन्छ। हतारले अशान्ति दिन्छ, यसले असफलता दिन्छ।

शुद्धि – तान्त्रिक साधनामा सबैभन्दा पहिला मानसिक र शारीरिक शुद्धिको ख्याल राख्नुपर्छ। किनकि एकाग्रता, शान्ति र समर्पण कुनै पनि साधनाका लागि आवश्यक गुण हो। मानसिक र शारीरिक शुद्धि सफलताको सहायक बन्छ। त्यसपछि स्थान शुद्धिको ख्याल राख्नुपर्छ। यसका साथसाथै एकान्त र शान्त वातावरण पनि साधनामा धेरै सहयोगी बन्छ।

आसन - हुन त तान्त्रिक साधनाका लागि कुनै पनि आसन उपयोगी हुन्छ तर एउटा खास आसनको महत्व धेरै हुन्छ। पदमासन, सिद्धासन, सुखासन वा वज्रासनमध्ये कुनै एउटा आसनलाई चुन्ने, त्यसलाई निरन्तरता दिने, बस्दा ढाड एकदमै सिधा राख्ने। जब हामी शरीरमाथि नियन्त्रण गर्छौं, मनमाथि नियन्त्रण गर्न सजिलो हुन्छ।

प्राणायाम - साधनाको प्रारम्भमा कम्तीमा पाँच मिनटको एउटा प्राणायाम गर्न धेरै लाभकारी हुन्छ। यसबाट शरीरमा अक्सिजनको अतिरिक्त आपूर्ति हुन्छ, जसले गर्दा रगतको सञ्चार व्यवस्था राम्रो तरिकाले चल्छ। यस अवस्थामा शरीर र मन स्थिर हुन थाल्छ।

इष्ट देवता -तन्त्र साधनामा आवश्यकताअनुसार मन्त्र चुन्नुपर्छ र मन्त्रअनुसार इष्ट देवतालाई चुन्नुपर्छ। शैव परम्परामा भगवान् शिवलाई नै तन्त्रको देवता मानिन्छ। किनकि यस परम्पराअनुसार शिव नै चेतन तत्व र जड तत्व हुनुहुन्छ।

यसप्रकार शिव नै मूलशक्ति पनि हुनुहुन्छ। शक्तिबाट नै बन्धन–मुक्ति र मोक्षप्राप्ति हुन्छ। शिवपुराणका अनुसार श्री भैरव, भगवान् शिवको अवतार हुनुहुन्छ। श्री भैरव नै तन्त्रका प्रमुख देवता हुनुहुन्छ। भगवान् शिवको अवतार हुँदाहुँदै पनि श्री भैरवको मूर्ति घरमा स्थापित गर्न अशुभ मानिन्छ किनकि उहाँलाई तन्त्रका देवता मानिन्छ। भैरव भगवान्को मूर्ति खुला स्थानमा स्थापित गर्नुपर्छ।

ब्रह्मचर्य-तान्त्रिक साधनामा ब्रह्मचर्यको पालन गर्न धेरै आवश्यक छ। ऊर्जालाई सञ्चित गर्नका लागि यो उपासना गर्न जरुरी हुन्छ।

साधकका लागि केही आवश्यक सुझाव

-साधक ब्रह्ममुर्हूतमा उठ्नुपर्छ।

-प्रतिदिन सफा वस्त्रको उपयोग गर्नुपर्छ। रेसमी वा ऊनी वस्त्र उपयोग गर्नु शुभ मानिन्छ।

-साधनाकालमा कमभन्दा कम आहार लिनुपर्छ। साथै सात्त्विक आहार लिनुपर्छ। धेरै व्यक्तिसित भेटघाट गर्न र कुराकानी गर्न मनाही छ।

-जहिले पनि शुद्ध भाव राख्नुपर्छ।

-साधनामा निरन्तरताको ख्याल राख्नुपर्छ।

-साधनाका बेला भुइँमा सुत्न लाभकारी हुन्छ।

-शुभ मुहूर्तमा साधना प्रारम्भ गर्नुपर्छ।

यसप्रकार सबै विधिविधान पूरा गरेर नियमपूर्वक साधना गर्नु भयो भने सफलता प्राप्त हुन्छ।

-स्वामी ध्रुव सृष्टि साधना केन्द्रका प्रमुख आचार्य हुन्।

प्रकाशित: ४ कार्तिक २०८० ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App