नागरिक नायक

ह्याेल्मोका ‘प्रिय सर’

बुधबार, ११ बैशाख २०७६, १२ : १८ छत्र कार्की/ध्रुव दंगाल

पूर्ण सरले ३५ वर्षअघि सुरु गरेको मेलम्चीघ्याङ माविले दर्जनपटक एसएलसी/एसइईमा सहभागिता जनाइसकेको छ। विशिष्ट र प्रथम श्रेणीमा लगातार शतप्रतिशत नतिजा निकालेर पुरस्कृत भइसकेको यो विद्यालय यतिबेला देशैभर चर्चामा छ।

काभ्रेको कात्तिके, चौरीदेउरालीबाट ३५ वर्षअघि प्रथम श्रेणीमा  एसएलसी पास गरेपछि उनले इन्जियिर बन्ने सपना देखेका थिए। पुल्चोक क्याम्पसमा सर्टिफिकेट लेभल इन्जिनियरिङमा उनी भर्ना भए।

कलेज सुरु भएको दुई महिनापछि मीनपचास बिदा भयो, जुन जाडोयाममा ५० दिनसम्म हुन्थ्यो। ‘हेलम्बु ‘ट्रेकिङ’ जाऔं, त्यहाँको समाज र जीवनशैली राम्रो छ,’ एक साथीले हौस्याए। नभन्दै केही दिनमा उनीहरू हेलम्बु पदयात्रामा निस्किए। आखिर यही पदयात्रा पूर्ण गौतम (५२) को जीवनमा ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो।

हुस्सु–कुहिरोले ढाकेको पुस महिनाको दिन उनीहरू पहिलोपटक मेलम्चीघ्याङ पुगे। बाटामा केटाकेटी भेटिए तर, उनीहरू नयाँ मान्छे देख्नेबित्तिकै भाग्थे। नजिक आउनै चाहँदैनथे। ‘हैन, तपाईंहरूका छोराछोरी हामीलाई देख्नेबित्तिकै किन भागेका हुन्?’ पूर्णले स्थानीयलाई सोधे।

‘यहाँका केटाकेटी नेपाली बुझ्दैनन्, उनीहरू नेपालीमा बात मार्न सक्दैनन्’ यो उत्तर पाउँदा पूर्णलाई नमज्जा लाग्यो। ‘यो ठाउँ पनि त नेपाल हो, काठमाडौंबाट टाढा छैन, एउटा नेपालीलाई देख्नेबित्तिकै अर्को नेपालीका बच्चाहरू भाग्छन्, यो ठिक भएन नि,’ उनको मन चसक्क भयो।

उनले दोर्जे लामा, लाक्पु दोर्जेलगायत स्थानीयलाई भेटे। स्थानीयले गाउँमै स्कुल खोल्ने चाहना व्यक्त गरे। त्यसबेलाका गाउँ पञ्चायतका प्रधानपञ्चलाई भेटेर पूर्णले स्कुल स्थापनाबारे कुराकानी गरे।

गाउँको प्राकृतिक सौन्दर्य अति मनमोहक, वर्णन गरी साध्य थिएन। त्यहाँको सुन्दरताले उनलाई लोभ्यायोे। ‘त्यहाँको घर–परिवार, समाज, सभ्यता, संस्कृति, परम्परा अनि जीवनशैली वास्तवमै अन्य ठाउँको भन्दा विल्कुलै फरक थिए, ती चिजले गर्दा म भित्रैदेखि प्रभावित भएँ,’ उनी सम्झिन्छन्, ‘हामी जब पाहुना बनेर घरमा बस्यौं, कस्तो हार्दिक आतिथ्य!’ उनलाई लाग्यो–यो ठाउँमा प्रकृतिको अमूल्य वरदान छ, यो चानचुने ठाउँ होइन।

एकातिर, यस्तो सुन्दर ठाउँ अनि सफा मनका मान्छेहरू, अर्कातिर, गाउँमा उनीहरूका बालबालिका पढ्ने स्कुल छैन। सुन्दर गाउँका अबोध बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित छन्। गाउँलेहरूको हाउभाउले भन्थ्यो–यो मान्छे यहीँ बसेर हाम्रा केटाकेटी पढाए कति गज्जब हुन्थ्यो। तर, उनीहरू जोडबलसाथ यसो भन्न सकिरहेका थिएनन्।

पूर्णलाई भित्री शक्तिले इशारा ग-यो। उनले तुरुन्त गाउँलेसँग वाचा गरे, ‘एकपटक घर गएर बुबाआमासँग बिदा मागेर यहीँ आउँछु, बालबालिका शिक्षाका लागि मैले केही गर्नैपर्छ। किताब लिएर गाउँ फर्कनेछु।’

...

तीन दिन हेलम्बु बसेर उनी काभ्रे घर गए। मेलम्चीघ्याङ फर्किएर केटाकेटीलाई पढाउने आफ्नो योजना सुनाए। परिवारबाट थेग्नै नसक्ने दबाब आयो। बुवाआमा, छ दिदीबहिनी र चार दाजुभाइ गरी परिवारमा १२ जना थिए। ‘यो सुनेपछि आमा रुनुभयो, घर छाडेर नजा, त्यहाँ गइस् भने तेरो जिन्दगी बर्बाद हुन्छ, काठमाडौं बसेर पढाइ अगाडि बढाउनुपर्छ भन्नुभयो,’ आमाले उनीप्रति देखाएको स्नेह उनी स्मरण गर्छन्। भाइले पनि ‘नजाऊ, नजाऊ’ भनी जिद्दी गरेका थिए। तर,  त्यसबेला उनका बुबाले भने ‘आफ्नो निर्णय आफैं गर, तिमी आफ्नो खुट्टामा आफैं उभिनुपर्छ। यो कुरा आफैं सोच,’ भन्नुभएको थियो। आखिर, उनले गाउँलेसँग गरेको वाचा तोडिनन्, दुई महिनापछि फेरि हेलम्बु फर्किए।

पञ्चायतकालमा कुनै काम सुरु गर्न वा जागिर खान सजिलो थिएन, स्थानीय प्रधानपञ्चबाट स्वीकृति लिनुपथ्र्यो। ‘मैले तत्कालीन प्रधानपञ्च फिन्जु लामालाई भेटेर मेलम्चीघ्याङमा स्कुल खोल्ने योजना सुनाएँ।  उनले अनुमति दिए, र, भने, ‘गाउँका सबै बालबालिकालाई स्कुल भर्ना गर्नुपर्छ नि!’,’ उनी सम्झिन्छन्।

छिमेकी गाउँ तार्केघ्याङको गोरखनाथ प्राविले किताब उपलब्ध गराइदियो। २०४१ साल फागुनमा उनले स्थानीयको घरको बरन्डामा स्कुल सुरु गरे। गोरखनाथकै शाखा विद्यालयको रूपमा चिनाउन थालियो। एक वर्षसम्म गाउँलले उठाएर दिएको अन्न र तरकारी पकाएर खाए। ‘पछि अल्छी लागेकाले घर–घरमा गएर खाएँ,’ पूर्ण भन्छन् ।

२०४२ सालमा शाखा विद्यालयको हैसियतमा गोरखनाथको दरबन्दीमा छिरे। २ सय रुपैयाँ तलब थियो। विद्यालयले केही गति लिन थालेको थियो। गाउँलले राम्रो साथ दिएपछि २०४५ शाखा स्कुललाई मेलम्चीघ्याङ प्राविमा परिणत गराइ प्राथमिक तहको स्वीकृति लिए। उनी स्थायी दरबन्दीमा प्रधानाध्यापक भए। त्यसयता मेलम्चीघ्याङ स्कुलमा निर्वाध रूपमा ३४ वर्षदेखि प्रधानाध्यापकका रूपमा कार्यरत छन्।  ‘गाउँमा औपचारिक शिक्षाको थालनी गर्न धेरै दुःख गर्नुप-यो,’ उनले विगत सुनाए।

प्रधानपञ्च फिन्जु लामा र गोरखनाथ प्राविका प्रधानाध्यापक दीपकराज गिरीले स्कुल सुरु गर्न ठूलो मद्दत गरेका थिए। सिन्धुपाल्चोककै प्रतिष्ठित यो स्कुलमा विभिन्न ठाउँका विपन्न बालबालिकाले पढ्ने अवसर पाएका छन्। फरक ढंगले विद्यार्थीले सिकिरहेका छन्।

पूर्ण सरले बरण्डाबाट, शाखा र प्रावि हुँदै अघि बढाएको यो विद्यालयले १३ पटकसम्म एसएलसीमा सहभागिता जनाइसकेको छ। विशिष्ट र प्रथम श्रेणीमा लगातार शतप्रतिशत नतीजा निकालेको विद्यालय यतिबेला देशैभर चर्चामा छ। इलामदेखि विराटनगर र काठमाडौंदेखि दोलखासम्मका विद्यार्थी यहाँ अध्ययनरत छन्। गोरखनाथ अहिले पनि प्रावि नै छ। ‘समुदायको सहयोगले यो क्रान्ति भएको हो,’ उनले आफूलाई नेतृत्वकर्ता मात्र भन्न रुचाए।

‘कहिल्यै निरास भइनँ’

स्कुल सुरु गर्दाका दिन चुनौतीपूर्ण थिए। पढाइ सुरु भइसकेपछि पनि विभिन्न समस्या आउँथे। ‘तर, म कहिल्यै निरास भइनँ, अहिलेसम्म स्कुलमा रहँदा थकित अनुभव पनि भएको छैन,’ उनी अनुभव बाँड्छन्।

२०४६ सालमा उनले एक वर्षको बेतलबी बिदा लिएर पढाइ अघि बढाउने निश्चिय गरे। पुल्चोक क्याम्पसमा प्रवेश परीक्षा दिएर फेरि इन्जिनियरिङ पढाइ अघि बढाउने निर्णय गरे। स्कोर नपुगेकाले उनले सिभिल इन्जिनियरिङ पढ्न पुल्चोकमा प्रवेश पाएनन्।

‘अब मैले अरु विषय पढ्नुपर्छ,’ उनले निर्णय गरे। महेन्द्ररत्न क्याम्पस ताहाचलमा भर्ना गरे। सबै किताब किने अनि स्वअध्ययन गर्न थाले उनले। मेलम्चीघ्याङमा शिक्षणकार्य पनि चल्दै गयो। उनी खालि परीक्षामा मात्र सहभागी हुन्थे। मुख्य विषय गणित लिएका उनलाई कठिन भयो। गणितजस्तो प्राविधिक विषयमा लगातार कक्षा नलिइ परीक्षा दिनु सजिलो कुरै थिएन। त्यसपछि उनले ‘फ्याकल्टी’ परिवर्तन गरेर नेपाल ल क्याम्पसमा भर्ना गरे।

स्कुलमा विद्यार्थी पढाउने अनि व्यवस्थापनको अभिभारा छँदैथियो। कानुनका किताब लगेर घरमै अध्ययन गरे, परीक्षामा मात्र सहभागी भए। अन्ततः नेपाल ल क्याम्पसबाट आइएल र, पछि बिएल पास गरे। त्यसलगत्तै उनले समाजशास्त्रमा एमए गरे। पछि उनले एकवर्षे बिएड पनि सिध्याए।

बाल्यकालदेखि नै पूर्णको अलि बेग्लै स्वभाव थियो। उनी अलि मनमौजी खालका थिए, स्वनिर्भर बन्न चाहन्थे। कसैले दबाब दिएको उनलाई मन पर्दैनथ्यो। घरदेखि स्कुल जाँदा दुई घन्टा र फर्कदा डेढ घन्टा लाग्थ्यो। हिँड्नै नसकेर उनका गाउँका सबै साथीहरूले कक्षा ६ देखि पढाइ छाडे। पूर्ण र उनका दाजुले मात्र दुःखकष्टसाथ हाईस्कुलसम्मको पढाइ पूरा गरे।

नेपाल आर्मीका पूर्वजागिरे उनका बुवाले सधैं भन्ने गर्थे, ‘पढाइ छाड्नु हुँदैन, मेहनत गर्नुपर्छ, पढाइबिना पछि गाह्रो हुन्छ।’ आमाले पनि पढाइलाई जोड दिन्थिन्–‘तिमीहरू राम्रो भविष्य बनाउन चाहन्छौ भने पढाइलाई निरन्तरता दिनुपर्छ।’ यसरी आफूले जस्तो अप्ठ्यारो अवस्थामा पनि पढाइलाई प्राथमिकता दिएको उनी सम्झिन्छन्।

उनलाई लाग्न थाल्यो–अब मैले जीवनभर शिक्षाक्षेत्रमै काम गर्नुपर्छ, प्राथमिक तह मेरा लागि सानो क्षेत्र हुन्छ, मेरो ज्ञानलाई विस्तार गर्न म अलि फराकिलो क्षेत्रमा जानुपर्छ।

‘प्राथमिक शिक्षक भएर काम गर्नुभन्दा राजनीति अलि फराकिलो क्षेत्र हो,’ उनलाई त्यसबेला लाग्यो। उनी एक वर्षको बेतलबी बिदा लिएर राजनीति गर्न काभ्रेको गाउँ आए। उनी वर्ष दिनसम्म गाउँका नेताहरूको पछि लागे, इमानदारीसाथ उनले अह्राएखटाएको काम पनि गरे। आखिर उनले निष्कर्ष निकाले–यो मेरो क्षेत्र होइन। म जनतालाई झुक्याउने काम गर्न सक्दिनँ। म जनताकासँग सधैं ढटुँवा बन्न चाहँदिनँ। राजनीति ढटुँवाहरूले गर्ने काम हो।

‘अहो! अब म स्कुल फर्कनुपर्छ, स्कुललाई ‘मोडल’ बनाउनुपर्छ,’ उनले राजनीति गर्ने निर्णय बदलेर फेरि मेलम्चीघ्याङ फर्किए। उनले साथमा विद्यार्थीहरूका लागि अंग्रेजी किताब किनेर लगेका थिए।

स्कुल पुगेको भोलिपल्ट उनले अभिभावकको भेला डाँके। ‘आजदेखि हामी स्कुलमा अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्छौ, यहाँ अंग्रेजी किताब छन्, तपाईंहरूले बच्चाका लागि लैजानुस्, छ भने पैसा दिनुस्, छैन भने मलाई आलु, अन्डा वा घरमा भएको चीज दिए हुन्छ,’ उनले भने। २०५२ सालमा उनले विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरे। त्यही वर्ष उनले विद्यालयको गुरुयोजना पनि सार्वजनिक गरे।

हेलम्बुमै घरजम

हेलम्बु वास्तवमै आकर्षक ठाउँ भएकाले उनी मोहित भए। त्यहाँका समाजसँग घुलमिल हुनका लागि स्थानीय ह्याल्मु महिलासँग उनले विवाह गरे।

उनले जीवनभर बिहे नगर्ने अठोट गरेका थिए रे। ‘चाहेको काम गर्न परिवार बाधक बन्छ भन्ने सोचाइ थियो,’ उनले कारण खुलाए। यही अठोटले उनले जीवनको ३४ वर्षसम्म बिहे गरेनन्। १८ वर्षअघि स्थानीय एकल महिलासँग घरजम गरे। त्यो पनि प्रेम गरेर। अझै पनि ब्राह्मण समुदायमा विधवा स्वीकार्नु ‘संस्कार विरोधी’ बन्नु हो। ‘मेरो भावना यति कोमल भो कि मलाई कुनै संकार र अठोटले छुन सकेन,’ गम्भीर मुद्रामा पूर्ण सर बोले।

‘विवाहको कथा अलि रमाइलो छ,’ उनले सुरु गरे।

स्थानीय गुम्बामा हरेक महिना पूजापाठ, ध्यान–साधना हुने गथ्र्यो। उनले पहिलोचोटि गाउँ जाँदा नै गुम्बामा भएको अनुष्ठानमा सहभागी हुने मौका पाएका थिए। त्यहाँ प्रार्थनामा उच्चारण गरिने मन्त्र सुन्दा बडो आनन्द लाग्यो उनलाई।

उनले गुम्बाका भिक्षुहरूसँग आग्रह गरे–‘मलाई पनि मन्त्रका केही ‘टेक्स्ट’ सिकाइदिनुप-यो।’ नभन्दै उनीहरूले सिकाइदिए, पूर्णले सिके पनि। त्यसपछि स्कुलपछि जब गुम्बामा अनुष्ठान हुन्थ्यो, उनी त्यहाँ गएर सहभागी हुन थाले, मन्त्र पढ्न थाले। सबै सांस्कृतिक कार्यक्रममा उनी सहभागी हुन थाले।

‘त्यहाँ मैले तिब्बतियन बौद्घधर्म सिक्ने अवसर पाएँ, सनातन धर्म र बौद्घ धर्मबीच के भिन्नता छ भन्ने अध्ययन गरे,’उनी भन्छन्, ‘त्यसपछि म ध्यान शिविरमा पनि सहभागी भएँ।’ त्यहाँ उनले आधारभूत ध्यान सिके।

बौद्घ धर्मप्रतिको लगावले उनमा कैयौं वर्षसम्म पञ्चशील पालना गरे। उनी महिलाप्रति आशक्त भएनन्। ‘पछि मैले गाउँमै मेरो श्रीमतीलाई भेटेँ,’ उनी भन्छन्, ‘त्यसबेला उनी विधवा थिइन्, सानो छोरा साथमा थिए। उनी सुन्दर थिइन्, त्यसबेला। हामीले एकअर्कालाई प्रेम गर्न थाल्यौं, पछि विवाह भयो।’ २०५७ सालमा उनीहरुबीच विवाह भयो।

स्कुल व्यवस्थापन

२०५२ सालमा उनले हेलम्बु क्षेत्रमा पर्यटकका रूपमा आएकी इभालिन मुलर नामक जर्मनी महिलालाई भेटे। स्कुलको विकासका बारेमा कुराकानी गरे। उनले पूर्णलाई जर्मनी बोलाइन्।  फन्ड जुटाएर दुई शिक्षकको वार्षिक तलबको रकम व्यवस्था गरिदिइन्। दुई वर्षपछि उनले अर्को स्पोन्सर खोज्न आग्रह गरिन्। ‘पूर्ण मेरो व्यापार घाटा जान थाल्यो, जर्मनी सरकारले पनि कडाइ गर्न खोजेजस्तो छ, तिमीले अर्को व्यवस्था गर्नुपर्ला। ६ महिनाभित्रमा विकल्प सोचिसक्नुपर्छ,’ उनले भनिन्। त्यही बेला उनले लाङटाङ ट्रेकिङबाट फर्किएकी हिल्दालाई भेटे। त्यसपछि लगातार हिल्दाले बेल्जियमको केटाकेटी नामक संस्थामार्फत्  स्कुललाई सहायता गर्दै आएकी छन्। कम्युनिटी एक्सन नेपालले पनि सहायता जारी राखेको छ।

भूकम्पले स्कुल भवन ध्वस्त भयो। कारितास स्वीट्जरल्यान्डको सहयोगमा कक्षा ११ सम्मको भवन बनिसकेको छ। भूकम्पले उनको निजी घर पनि भत्कियो। १८ होस्टलका कोठा ब्रिटिस संस्था कम्युनिटी एक्सन नेपाल (क्यान) बनाएको छ। अझै १६ कोठा अभाव छ।

स्कुलमा १८ शिक्षक र ३ सय २० विद्यार्थी छन्। २५० विद्यार्थी बोर्डर्स छन्। स्कुल फि, होस्टल निःशुल्क छ तर, उनीहरुले खानाको मेस शेयर गर्नुपर्छ। खानाको लागि २४०० देखि २७०० सम्म तिर्नुपर्छ। परीक्षा शुल्क १०० लिने गरिएको छ। ७ शिक्षककोे तलब केटाकेटी नामक संस्था तथा एक शिक्षकको तलब कम्युनिटी एक्सन नेपालले उपलब्ध गराएको छ।

भावी योजना

कर्ममा पूर्ण सर यसरी होमिए कि उनी आफैंले भेउ पाउन सकेनन्। माओवादी युद्ध चलिरहेका बेला एक दिन माइला दाइ उनलाई खोज्दै टुप्लुक्क आइ पुगेछन्। ‘घर नगएको १३ वर्ष बितिसकेको थियो। दाइ आएपछि मात्र थाहा पाएँ,’ जुंगा मिलाउँदै उनले भने, ‘घर नजानुमा युद्धको कारण थिएन।’

उनलाई इन्जिनियर बन्ने अवसर सदुपयोग नगरेकोमा कुनै पछुतो छैन। बरु विकट गाउँमा बसेर पनि स्वअध्ययनका भरमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् उनले।

भूकम्प नआएको भए यति बेलासम्म स्कुल कक्षा १२ सम्म भइसक्थ्यो। अब पनि स्कुललाई कक्षा १२ सम्म लैजाने लक्ष्य छ।

‘मैले धेरै कुरा पाएको छु, केही गुमाएजस्तो लाग्दैन,’ उनी भन्छन्, ‘नेपालभित्र र बाहिर मलाई सहयोग गर्ने धेरै दयालु मान्छे छन्, यो मेरा लागि ठूलो पुँजी हो।’ स्कुललाई अझै व्यवस्थित बनाएर  शिक्षकलाई हस्तान्तरण गर्ने योजना छ। उनले फरक खालको शिक्षण र सिकाइको परिकल्पना गरेका छन्।

‘हामी लेख्ने पढ्ने मात्र होइन, फरक तरिकाले विद्यार्थीलाई फरक ज्ञान दिन खोजिरहेका छौं,’ उनी भन्छन्, ‘यहाँका विद्यार्थीलाई नेपालका साथै विश्व परिवेशको बारेमा जानकारी दिन हामी कोशिस गरिरहेका छौं, यसले गर्दा उनीहरूले वैश्विक नागरिक (ग्लोबल सिटिजन) को अवधारणा बुझ्न सक्छन्।’

 जीवनको उर्बर समय हेलम्बुको माटोमा खर्चेका उनी बाँकी यात्रा यहीं गर्न चाहन्छन्। स्थानीयले दिएको दुई रोपनी जग्गामा घर बनाएका छन्। उनले भने, ‘त्यसैले म पूर्ण गौतम ‘ह्योल्मो’।’ हेलम्बु क्षेत्रका बासिन्दा आफूलाई ‘ह्योल्मो’ भन्न रुचाउँछन्। कक्षा ११ मा विज्ञान संकाय अध्ययन गरिरहेका छोराको नाम पनि उनले यस्तै राखेका छन्– कर्मतेन्जेन गौतम ‘ह्याल्मो’।
    

 

यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad