७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

बढ्यो महिला हिंसा

काठमाडौं - धनुषाको क्षिरेश्वरनाथ हार्सरकी २० वर्षीया हजरा खातुनलाई दाइजो नल्याएको भन्दै सासु–ससुरालगायत परिवारले मट्टितेल छर्केर आगो लगाए। काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा २०७४ माघ ३० गते खातुनको मृत्यु भयो। खातुनका बुबाले उनका पति, सासु, ससुरा, नन्दलगायत परिवारका सदस्यविरुद्ध किटानी जाहेरी दिए। खातुनका पतिमात्रै पक्राउ परे, अरू सबै प्रहरीको सूचीमा फरार छन्।

धनुषाकै खरियानीकी १८ वर्षीया अञ्जली दासको गर्भमा छोरी भएको र भनेजति दाइजो नल्याएको आरोपमा पतिले उनको हत्या गरे। परिवारले कुटपिट गरेपछि माइत बस्दै आएकी अञ्जलीका पति दीपेन्द्र दासले कुटपीट नगर्ने सर्तमा घर लगी २०७५ वैशाख ७ गते हत्या गरेका थिए। दीपेन्द्र प्रहरीको सूचीमा फरार छन्। माथिका दुई प्रतिनिधि घटनाले नेपालमा विभिन्न निहुँमा आफ्नै परिवारबाट हत्यालगायत महिला हिंसाका घटना बढेको देखाउँछन्। दाइजो कम भएको, प्रेम गरेको आदि आरोपमा देशभर १ सय २० महिलाको आफ्नै परिवारबाट हत्या भएको छ।

हत्या, बलात्कार, दाइजो नल्याएको निहुँमा कुटपिट, बहुविवाह, यौन दुर्व्यहार, बेचबिखन तथा ओसारपसार, बोक्सीको आरोपजस्ता महिलामाथि हुने हिंसा बढेको मानवअधिकार अध्ययन प्रतिवेदनले देखाएको हो।

देशमा समग्र मानवअधिकारको अवस्था सुध्रिँदै गएको देखिएको छ तर महिला हिंसाका घटना बढेको तथ्यांकले देखाएको छ। हत्या, बलात्कार, दाइजो नल्याएको निहुँमा कुटपिट, बहुविवाह, यौन दुव्र्यवहार, बेचबिखन तथा ओसारपसार, बोक्सीको आरोपजस्ता महिलामाथि हुने हिंसा बढेको मानवअधिकार अध्ययन प्रतिवेदनले देखाएको हो।एक वर्षको अवधिमा २ हजार ८ सय २४ महिला हिंसामा परेका छन्। तीमध्ये ४ सय ७५ जना बलात्कारबाट पीडित छन्। बलात्कार प्रयासबाट १ सय ५५ तथा यौन दुव्र्यवहारबाट ७९ महिला पीडित भएका छन्। बोक्सी आरोपमा ६३ जना पीडित भए भने १ हजार ६ सय ३२ महिला घरेलु हिंसामा परेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गतवर्ष देशभर गरेको अध्ययनमा १ सय २० महिला आफ्नै परिवारबाट मारिएको घटना छन्।

यस्तै पतिले अर्को विवाह गरेका कारण ३ सय २६ महिला पीडित भएका छन्। गत भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिताले बहुविवाहलाई मान्यता दिएको छैन। दोस्रो विवाहलाई अवैधानिक मानेको छ। कानुनले बहुविवाहलाई अस्वीकार गर्दासमेत दोस्रो विवाह गर्ने क्रम भने रोकिन सकेको देखिएन। त्यसैगरी भनेजति दाइजो नल्याएका कारण धनुषामा दुई, बारामा एक महिला परिवारबाटै मारिएका घटना इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ। दाइजोका कारण २२ महिला कुटिनु परेको घटना छन्। समग्र हिंसामध्ये महिला हिंसाका घटना बढी छन्। जसमा बालिका बलात्कार तथा यौन दुव्र्यवहार पनि छन्। प्रतिवेदनअनुसार सन् २०१८ मा ८ सय १८ बालिका बलात्कृत भएका छन्।

‘विगतका वर्षझैं महिलामाथि हुने हिंसाका घटनामा कमी देखिएन। मानवअधिकार उल्लंघनका घटनामा केही कमी देखिए पनि महिला हिंसाको प्रवृत्तिमा तात्विक भिन्नता पाइएन,’ इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले भने।

मानवअधिकार उल्लंघन घट्यो
यस वर्ष ५ हजार १ सय १० जना मानवअधिकार उल्लंघन घटनाबाट पीडित भए। यो तथ्यांक सन् २०१७ को भन्दा ९ सय ४९ ले कमी हो। सन् २०१८ मा मानवअधिकार उल्लंघनका घटनामा ३६ महिला, २ सय ८६ पुरुष गरी ३ सय २२ जना पीडित भएका छन्। ज्यादतीका घटनामा ४ हजार २ सय ६६ महिला र ५ सय २२ पुरुष गरी ४ हजार ७ सय ८८ जना पीडित भए।

कञ्चनपुरमा प्रहरीको गोलीले एक बालकको मृत्यु भयो। यस्तै भक्तपुरमा ‘मुठभेड’का नाममा प्रहरीकै गोलीबाट दुई, रूपन्देहीमा दुई तथा सुनसरीमा एक गरी पाँच जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। इन्सेकले हरेक वर्ष मानवअधिकारको अवस्था सम्बन्धमा देशभरबाट तथ्यांक संकलन गरी प्रकाशन गर्ने गर्छ। यसैक्रममा उसले यस वर्ष मानवअधिकार वर्ष पुस्तक २०१९ को २७औं संस्करण प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रकाशित: १४ फाल्गुन २०७५ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App