२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा

नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी । तस्विरः नागरिक

आउँदो मंसीर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अन्यौलता सिर्जना भएको छ। सुर्खेतस्थित वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाको काम सम्पन्न भई नसकेको र खेलाडीको आवासीय व्यवस्थापन टुंगो नलाग्दा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने द्विविधा छाएको हो ।

समयमै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने विषयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी आफैँ ढुक्क छैनन् । उनले समयमै उक्त प्रतियोगिता हुने विषयमा अन्योल भएको धारणा व्यक्त गरे । उनले खेलकुद प्रतियोगिताको अन्यौलता बारे नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा यसो भने, ‘रङ्गशाला निर्माणको काम सम्पन्न भइसकेको छैन । केही समयमै सम्पन्न हुन्छ । यदि निर्माण सम्पन्न भयो भने तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न सकिन्छ । नत्र गाह्रो छ ।’ दोस्रो विकल्पमा उनले भने, ‘उद्घाटन पछि भए पनि खेलहरू अगाडी गर्न सकिन्छ ।

यदि यो पनि सम्भव नभएमा फागुनको पहिलो साता प्रतियोगिता गर्न सकिने उनी बताउँछन् । तर, २०८१ सालमै प्रतियोगिता हुने र अर्को सालमा प्रतियोगिता नसारिने उनको दाबी छ । पूर्वाधार निर्माण कार्य गरिरहेको एमएसी–जीएसएल कम्पनीसँगको सम्झौता सकिन अब ३५ दिन मात्र बाँकी छ । तर, यो अवधिमा यहाँको पूर्वाधार सकिन पनि कठिन हुने मन्त्री चौधरीको भनाइ छ । उनी निर्माणाधीन रङ्गशालाको निरीक्षणपछि फर्किने क्रममा नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘हामी तयारी अवस्थामा छौं । तर, पूर्वाधार निर्माणको कामले समयमै १०औँ खेलकुद सुरु गर्न सकिन्छ सकिन्न भन्ने विषयमा अन्यौलता छ ।’

खेलाडीको आवासीय व्यवस्थापनमा पनि समस्या देखिएको उनी बताउँछन् । ‘पाँच÷६ हजार खेलाडी सहभागी हुन्छन्,’ उनले भने, ‘उनीहरु बस्न सक्ने ठाउँ अभाव देखिएको छ ।’ यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग छलफल गरिएको भन्दै उनी भन्छन्, ‘सुरक्षा निकायले पनि आफ्नै विभागीय खेलाडीलाई व्यवस्थापन गर्न समस्या हुने भएकाले बाहिरका खेलाडीलाई राख्न नसकिने बताएका छन् ।’ कर्णालीमा २२ खेल मात्र हुने सम्भावना देखिएकाले कर्णालीसँग नजिकका प्रदेशमा केही खेलकुद सञ्चालन गर्न पाए आवासीय व्यवस्थापनमा पनि सहज हुन सक्थ्यो ।’ उनले केही खेल बाँकेमा गर्न सकिने सङ्केत गरे ।

‘धेरै प्रदेशले कर्णालीमा हुन नसक्ने खेल आफ्नो प्रदेशमा गर्नलाई अनुरोध गरिराख्नु भएको छ,’ उनी भन्छन्, ‘तर, हामीले कसैलाई बचन दिइसकेका छैनौँ । पायक पर्ने प्रदेशमा अन्य खेल खेलाउन सकिन्छ ।’ १०औँ प्रतियोगिताका लागि कर्णालीका जनताको धेरै उत्साह देखिएको उनी बताउँछन् ।

सङ्घीय युवा तथा खेलकुद मन्त्री चौधरी, कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष प्रमोद हमाल र प्रदेश परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल सहित बसेको बैठकले १५ दिनमा मुख्य निर्माण कार्यको प्रगति बुझाउने निर्णय गरेको थियो ।

यसभन्दा अघि नै कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद समयमै हुन नसक्ने सङ्केत गरेका थिए । उनले भनेका थिए, ‘प्रचारका लागि मात्र गरेर हुँदैन । समयमै प्रतियोगिता सञ्चालन गर्न जटिलता छन् । प्रचारभन्दा पहिला पूर्वाधार निर्माण सम्पन्न हुनुपर्छ ।’ कर्णाली प्रदेशको खेलकुद परिषद्ले केही दिन अघि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दिन गन्ती सुरु गरिसकेको छ ।

उक्त रङ्गशाला प्रदेश सरकारको एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लगानीमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशालाभित्र फिफाको मापदण्डअनुसार एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान बनेको छ । उक्त मैदानमा १० हजार दर्शक बस्ने प्यारा फिट बनेको छ ।

प्रकाशित: ७ भाद्र २०८१ १८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App