७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

तलब माग्दै शिक्षकद्वारा तिला गाउँपालिकामा धर्ना

जुम्ला – जुम्लाको तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिक तलब दिन गाउँपालिकाले आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन्। उनीहरुले तत्काल शिक्षकलाई तलबको व्यवस्था गर्न माग गरेका हुन्।

आर्थिक वर्ष २०७४/०७५ को पाठ्यपुस्तक र छात्राबृत्ति रकम विद्यालयहरुले नपाएको, शिक्षक विद्यालय कर्मचारी ईसिडीसम्मका शिक्षक कर्मचारीले पोशाक भत्ता नपाएको, स्थायी शिक्षकहरुले आर्थिक वर्ष २०७३/०७४ देखि पोशाक भत्ता नपाएको भन्दै तत्काल माग सम्बोधन गर्नको लागि आन्दोलनका कार्यक्रम थालिएको तिला गाउँपालिका शिक्षक संघर्ष समितीका अध्यक्ष मानवहादुर शाहीले जानकारी दिए। उनका अनुसार विद्यालयमा आउने पिसिएफ, ननपिसिएफ, छात्रावृत्ति पाठ्यपुस्तक, बुक कर्नर, निरन्तर मूल्यांकन खर्च, प्रशासन खर्च, एसआईपी निर्माण गर्ने लगायतका काममा स्थानीय तह सञ्चालन भएबाट बाधा पुग्दै आएको छ।

गाउँपालिका स्तरिय शिक्षक समिति अहिलेसम्म गठन हुन सकेको छैन। यहाँका शिक्षकले चार महिनादेखिको तलब पाउन सकेका छैनन्। ‘केन्द्र सरकारले नै तलब कम पठाएको भन्दै गाउँपालिकाले झारा टार्ने काम गरिरहेको छ’, संघर्ष समितीका अध्यक्ष शाहीले भने, ‘अन्य गाउँपालिकाले समयमै रकम माग गरेर तलब खुवाइसके, तर यहाँका गाउँपालिकाका जनप्रतिनिधी , कर्मचारी सुतेर बसेपनि यो समस्या आएको हो।’ उनले भने, ‘दुईचार शब्द बोल्दैमा गाउँपालिका चल्दैन, गाउँपालिका चलाउनको लागि जिम्मेवार र जवाफदेहि नेतृत्वको आबश्यक हुन्छ, त्यो यो गाउँपालिकामा देखिएन, बाहिर योजना गाँउपालिका भन्दै आएपनि भित्र योजना बिहिन गाउँपालिका जस्तो बनेको देखियो।’

यहाँका शिक्षकहरुले तलबको लागि पहल गरिदिन भन्दै असार पहिलो सातादेखि नै गाउँपालिकालाई घचघच्याउँदै आएका थिए। गाउँपालिकामा आउदाँ प्रमुख प्रशासकिय अधिकृत र अध्यक्षले तलबको चिन्ता नगर्नुस, जताबाट पनि खुवाई हाल्छौँ भन्ने, व्यवहारमा शिक्षकलाई उपेक्षा गर्ने गरे। शिक्षक संघर्ष समितिका उपाध्यक्ष मेघनाथ योगीले भने, ‘असार पन्ध्र गते शिक्षकलाई तलब निकासा गरेर १६ गते नै तलब खुवाउने आश्वासन अध्यक्ष रतननाथ योगिले दिएका थिए, तर गाउँपालिकामा बुझ्न आउँदा जिल्ला वाहिर गइसकेछन्, यो उनले गरेको शिक्षक प्रतिको अपहेलना हो, जनप्रतिनिधीको यस्तो व्यवहारले समृद्ध गाउँपालिका बन्न सक्दैन।’

तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले शिक्षकको तलब र अन्य खर्चको लागि शिर्षक वाइज पत्राचार गरिसकिएको वताए। गाउँपालिकाकी कार्यवहाक अध्यक्ष बिष्णु बुढाले शिक्षकको तलब अपुग भएको बारेमा आफुलाई कुनै जानकारी नभएको बताइन्।

कार्यवहाक अध्यक्ष बुढा र शिक्षक बिच एक हप्तामा तलब लगायतका सेवा सुविधा उपलब्ध गराउने सहमति भएको छ। एक हप्ता भित्र तलब भत्ताको व्यवस्था हुन नसके कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने शिक्षकहरुले चतावनी दिएका छन्। तिला गाउँपालिकामा ५८ लाख रुपैयाँ शिक्षकको तलब अपुग देखिएको हो।

प्रकाशित: १९ श्रावण २०७५ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App