काठमाडौं - विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट गम्भीर असर परेको अर्थतन्त्रलाई जोगाउन अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले फरक किसिमको सहयोग चाहेको बताएका छन्।
कोरोना असरको सामना गर्न अर्थमन्त्री खतिवडाको पहलमा सरकारले ‘थ्री आर (रेस्पोन्स, रिलिफ र रिकोभरी)’ योजना बनाएको छ। सर्वसाधारण जनता, उद्योगी व्यवसायी र पूरै अर्थतन्त्रलाई जोगाउन बनाइएको यो योजनाका लागि कति रकम चाहिन्छ भनेर सरकारले लागत तयार पार्दैछ। यसै क्रममा अर्थमन्त्री खतिवडाले शुक्रबार अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहयोगका लागि भिडियो कन्फरेन्समार्फत छलफल गरेका हुन्।
बहुपक्षीय विकास बैंकहरू, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगमलगायत संयुक्त राष्ट्रसंघका उच्च पदस्थ पदाधिकारीसँग गरिएको छलफलमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरसबाट नेपाली अर्थतन्त्रलाई बचाउन परम्परागत ढाँचाभन्दा भिन्दै सहयोग चाहेको बताए।
कोरोना असरबाट अर्थतन्त्रलाई जोगाउन सरकारले ‘थ्री आर (रेस्पोन्स, रिलिफ र रिकोभरी)’ योजना बनाएको छ। सरकारले यो योजनाका लागि आवश्यक पर्ने लागत तयार पार्दैछ। यसै क्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकास साझेदारसँग फरक तरिकारले सहयोग मागेका हुन्।
सबै निकायका उच्च पदाधिकारी समावेश भएको छलफलमा अर्थमन्त्री खतिवडाले सरकारको ‘थ्री आर’ योजनाबारे जानकारी गराउँदै नेपाललाई अन्तर्राष्ट्रिय जगतले चार किसिमबाट सहयोग गर्नुपर्ने बताए।
परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकट समाधान नहुने भन्दै अर्थमन्त्री खतिवडाले अबका दिनमा नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरण आवश्यक रहेको बताए। ‘नयाँ सहायता नीतिले मात्र हाम्रो जस्तो जोखिमयुक्त देशको संकट समाधान हुनेछ’, अर्थमन्त्री खतिवडाले भने।
नियमित रुपमा उपलब्ध भइरहेका बाहेक अतिरिक्त थप स्रोत साधनबाट मात्र संकट समाधान हुन सक्ने उनको भनाइ छ। खतिवडाका अनुसार कोरोना असरबाट अर्थतन्त्र बचाउन सहयोग गर्ने हो भने विकास सहायताको प्रकार, विधि, सर्त तथा ऋणको लागत एवं प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्छ।
अर्थमन्त्री खतिवडाले वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानीको समय केही वर्ष पर सार्ने नीति लिन पनि अन्तर्राष्ट्रिय दातालाई आग्रह गरे। नेपाल जस्ता गरिब मुुलुकका लागि द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनुुपर्नेमा पनि खतिवडाले जोड दिए। ‘दातृ निकायहरूले यी उपाय अपनाए मात्र हाम्रो जस्तो सीमित स्रोत भएका मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थान गर्न ठूलो सहयोग पुग्नेछ’, खतिवडाले भने।
अर्थ मन्त्रालयको वैदेशिक सहायता तथा समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले अन्तर्राष्ट्रिय विकास साझेदारहरूले अर्थमन्त्री खतिवडाले राखेको प्रस्तावको खुलेर समर्थन गरेको जानकारी दिए। ‘अर्थमन्त्रीज्यूको परम्परागत प्रणालीलाई छाडेर नयाँ ढंगबाट सहायता गर्ने, सर्त फरक पार्ने, सहायता बढाउने, वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि समय पर सार्नेलगायत प्रस्तावमा सबै विकास साझेदारका प्रतिनिधिले समर्थन गरेका छन्’, महाशाखा प्रमुख नेपालले नागरिकसँग भने, ‘यस किसिमको उच्चस्तरीय कन्फरेन्स सायद पहिलो पटक भएको होला।’
उनले छलफलमा विकास साझेदारहरूका उच्च प्रतिनिधि सहभागी भएकाले पनि यो विशेष किसिमको बन्न पुगेको बताए।
अर्थमन्त्री खतिवडाले कोरोना रोकथाम, उपचार र पुनस्र्थापनाका लागि बाह्य स्रोत परिचालन गर्न अर्थसचिवको संयोजकत्वमा सहजीकरण समिति गठन गर्ने तथा त्यसमा सरकारी क्षेत्र र निजी क्षेत्रका अतिरिक्त दातृ निकायका प्रतिनिधिलाई समेत समावेश गर्ने प्रस्ताव राखेका छन्। अर्थमन्त्री खतिवडाको यो प्रस्तावमा विकास साझेदारहरूले समर्थन गर्दै सहजीकरण समितिमा आआफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
वैदेशिक सहायता तथा समन्वय महाशाखा प्रमुख नेपालका अनुसार विकास साझेदारले कोरोनाविरुद्ध नेपालले गरेका कार्यको सराहना गर्दै अबका प्रयासमा पनि साथ र सहयोग रहने विश्वास दिलाएका छन्।
विश्वका सबै मुलुकले सामना गरिरहेको हालको संकट पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्।
छलफलमा विश्व बैंकका भाइस प्रेसिडेन्ट हार्टबिग सेफर, अन्तर्राष्ट्रिय मुद्रा कोषका डाइरेक्टर च्याञ्योङ री, अन्तर्राष्ट्रिय वित्त निगमका भाइस प्रेसिडेन्ट नेना स्टोजोभिक, एसियाली विकास बैंकका भाइस प्रेसिडेन्ट सिजिन चेन, एसियाली पूर्वाधार विकास बैंकका भाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ अफिसर डिजे पान्डिन, नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भेलिरी जुलिएन्ड, नेपालस्थित विश्व बैंकका कन्ट्री म्यानेजर, नेपालस्थित एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टरलगायत सहभागी थिए।
भिडियो कन्फरेन्समा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमबारे पनि छलफल भयो।
अर्थमन्त्री खतिबडाले यो विश्वव्यापी संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भए पनि देशभित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वोपरी रहनेमा जोड दिए। उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको पनि उत्तिकै आवश्यक रहेको बताए।
कन्फरेन्समा सहभागीले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षा सामग्रीको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यम र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले गर्न सक्ने सहयोगबारे आआफ्ना धारणा राखेका थिए।
प्रकाशित: २९ चैत्र २०७६ ०१:४५ शनिबार