coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

प्रेमीले थमाइदिए कोकिन

काठमाडौं- पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाई। ३७ वर्षीया उनी जागिरको खोजीमा थिइन्। त्यही क्रममा केप्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्यो।। क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो। २०१५ फेब्रुअरीमा लुइसले राखेको प्रेमप्रस्ताव उनले सहजै स्विकारिन्।एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन्। केही दिनमै लुइसले उनको हातमा पैसा थमाइदिए। अनि पासपोर्ट बनाउन अह्राए।

छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागुऔषध ओसारपसारको गम्भीर पासोमा फसिएला भन्ने उनले सायदै सोचेकी हुँदी हुन्। लागुऔषध कारोबारको अन्तर्राष्ट्रिय गिरोहकी सदस्य उनी केही दिनअघि मात्र नेपालमा पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

'पासपोर्ट बनेपछि उसले मैले गर्नुपर्ने काम सम्झायो,' उनले बयानमा खुलाइन्, 'म केही सामान लिएर इन्डिया जानुपर्ने भयो, त्यहाँ पुगेर गर्नुपर्ने काम उसको भाइ माइकले सम्झायो।'

उनको भारतयात्रा सुरु हुनुअघि लुइस नाइजेरिया फर्किए। जोहनासबर्ग बस्ने उनका भाइ माइकले एमपाथोनीलाई केही कपडासहितको सुटकेस, हवाई टिकट र बाटोखर्च ५ सय अमेरिकी डलर दिए।

त्यहीँबाट सुरु भयो, एमपाथोनीको कोकिन भरिया 'जागिर'।

२०१५ जुलाई १८ मा उनी मोजाम्बिक गइन्। सोही दिन साउथ अफ्रिका फर्किएकी उनी १९ अक्टोबरमा दोहा पुगिन्, लुइसकै सहयोगमा। त्यहाँबाट कोकिन बोकेर भारत, चेन्नई हान्निइन्।

भारतस्थित गिरोहका सदस्य उनलाई 'रिसिभ' गर्न तम्तयार थिए। अक्टोबर २१ मा चेन्नई उत्रिएलगत्तै उनलाई लिन नाइजेरियाका इमानुअल विमानस्थल पुगेका थिए।

एमपाथोनीले बयानमा जनाएअनुसार इमानुअलले चेन्नईमा घरै भाडा लिएका थिए। घर पुगेलगत्तै उनी एमपाथोनीले ल्याएको सुटकेस बोकेर बाहिरिए। केही समयमा फर्किएका उनले एमपाथोनीलाई अर्को घर पुर्याउए, जहाँ लुइसका भाइ माइक युगान्डियन प्रेमिकासँग बसिरहेका थिए। एमपाथोनी त्यहाँ एक साता बसिन्। यो अवधिभर उनको मोबाइल फोन माइकले लिए।

हप्तादिनपछि माइकले उनलाई दिल्ली पुर्याहए। त्यहाँबाट फिलिपिन्स जान अह्राए। फिलिपिन्सको हवाई टिकट, त्यहाँको सम्पर्क नम्बर, ५ सय अमेरिकी डलरसँगै नयाँ ब्याग एमपाथोनीको हातमा थमाइदिए। गोप्य तरिकाले कोकिन लुकाइएको ब्याग बोकेर उनी २९ अक्टोबरका दिन फिलिपिन्स पुगिन्।

'त्यहाँ लुइसको फोन आयो, उसले ब्याग माइकले भनेको व्यक्तिलाई नदिनू भन्दै अर्कै नम्बर दियो' एमपाथोनीको बयान उद्धृत गर्दै ब्युरोका अनुसन्धान अधिकारीले भने, 'मैले लुइसले दिएको नम्बरमा फोन गरेँ तर त्यहाँ दाजुभाइले भनेका दुवै व्यक्ति सँगै आइपुगे, नाइजेरियन नै थिए।'

ती दुईले एमपाथोनीलाई ट्याक्सीमा एक रेस्टुराँ पुर्याएए, त्यसका सञ्चालक पनि नाइजेरियन। त्यहाँ ब्याग कसले लैजाने भन्ने विवाद चल्यो। केही बेरपछि उनीहरू एमपाथोनीलाई त्यहीँ छाडी ब्याग बोकेर बाहिरिए।

करिब ३ घन्टापछि ती नाइजेरियन ब्याग बोकेर रेस्टुराँमै फर्किए। एमपाथोनीलाई होटेल पुर्या।ए। त्यहाँ उनी ३ दिन बसिन्। नोभेम्बर ३ का दिन रेस्टुराँ सञ्चालकले उनलाई चेन्नई फर्किने हवाई टिकटसँगै ५ सय अमेरिकी डलर बाटोखर्च दिए। त्यहाँबाट उनी लुइसको निर्देशनअनुसार भारत, दिल्ली आएर बसिन्। १८ नोभेम्बरमा साउथ अफ्रिका फर्किइन्।

यसपछिको चार महिना उनी फुर्सदिली भइन्। लुइस नाइजेरियाबाट फर्किसकेका थिएनन्। पहिलो यात्रामै राम्रो कमाइ भएपछि एमपाथोनी खुसी थिइन्।

नेपाल-यात्रा
लुइसले उनलाई २०१६ मार्च १४ मा दोस्रोचोटि प्रस्ताव गरे– कोकिन बोकेर काठमाडौं जाने। काम सकिनासाथ ३ हजार अमेरिकी डलर पाउने प्रस्ताव उनले स्विकारिहालिन्।

काठमाडौं जानुअघि ब्राजिल पुग्नुपर्ने भयो। उनी मार्च १५ मा दुबई हुँदै ब्राजिल, साओपाउलो पुगिन्। त्यहाँ लुइसले नम्बर दिएको केन्नी भन्ने व्यक्तिलाई फोन गरिन्। लागुऔषध ओसारपसार गिरोहका ब्राजिलस्थित ती सदस्य पनि घरै भाडामा लिएर बसेका थिए।

'ब्राजिलमा ६ दिन बसेपछि पहिलाझैं नयाँ झोला दिए, बाटोखर्च भन्दै एक सय अमेरिकी डलर थमाए,' एमपाथोनीले बयानमा भनेकी छिन्, 'अब काठमाडौं जाने अनि एउटी महिलालाई ब्याग दिनुपर्ने निर्देशन थियो। मार्च २४ मा दुबई हुँदै काठमाडौं उत्रिएँ।'

आगमन कक्षमा सुरक्षाजाँच कसिलो नहुने र भन्सारले पनि सामानको भन्सार लाग्ने–नलाग्ने मात्र जाँच गर्ने भएकाले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार गर्न खासै चुनौती भएन। उनको ब्यागमा केही कपडा र स्याम्पु मात्रै देखेपछि भन्सार कार्यालयले सहजै छाडिदियो।

विमानस्थलबाट उनी गिरोहकै सेटिङअनुसार ठमेलको खाङसार गेस्टहाउस पुगिन्। त्यहाँ उनका नाममा ३०२ नम्बरको कोठा बुक थियो।

'भोलिपल्ट लुइसले फोन गरी होटलमै बस्नू, एक विदेशी युवती आउँछिन्, उनैलाई सामान दिनू भन्यो,' बयानमा उल्लेख छ, 'तर, त्यस दिन कोही आएन।' बरु दिल्लीबाट फोन आयो। उक्त व्यक्तिले दुबईमा ट्रान्जिट परेकाले ढिलाइ भएको जानकारी दिँदै उनीसँग होटलको नाम र नम्बर माग्यो। उनले एसएमएस गरिदिइन्। मार्च २६ सम्म पनि कोही नआएपछि उनले आत्तिएर फोन गरिन्, अझै पाँच दिन समय रहेकाले नआत्तिन निर्देशन आयो। चाँडोभन्दा चाँडो सामान बुझाएर पुनः दुबई हुँदै दक्षिण अफ्रिका फर्कने हतारो थियो उनलाई।

मार्च २७ दिउँसो साढे ३ बजे एक युवती होटल पुगिन्। उनी थिइन् भारत, नागाल्यान्डकी मेर्सी। एमपाथोनीले झोलाबाट स्याम्पुका पाँच बट्टा निकालेर मेर्सीलाई दिइन्। विमानस्थल भन्सारले स्याम्पु ठानेर छाडिदिएको ती बट्टामा खासमा झोल कोकिन रहेछ। त्यति नै बेला कोठामा लागुऔषध नियन्त्रण ब्युरोको टोली पुग्यो, दुवै जनालाई नियन्त्रणमा लियो।

यसरी पक्राउ परे उनीहरू
उक्त गिरोह लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय संगठनको निगरानीमा परिसकेको रहेछ। एमपाथोनी नेपाल जान लागेको सूचना पाएपछि संगठनले नेपाल प्रहरीलाई उनको हुलियासहितका जानकारी पठायो।

सूचना पाएलगत्तै प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका सादा पोसाकका सुरक्षाकर्मी विमानस्थलमा खटिए। त्यसयता उनीहरू एमपाथोनीका हरेक गतिविधि निगरानी गरिरहेका थिए। त्यसै क्रममा ब्युरोको टोलीले गिरोहका दुई जनालाई रंगेहात पक्राउ गरेको हो।

सन्तान पाल्न आर्थिक सहयोगका लागि प्रेमीको सम्पर्कमा पुगेर कोकिन भरिया बनेकी एमपाथोनी अभियोग पुष्टि १५ वर्ष कारावासमा रहनेछिन्।

प्रकाशित: २० चैत्र २०७२ २०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App