६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाका पाँच गणेशः देश विकाशको ‘श्री गणेश’ कि ‘परिक्रमा’ को जोखिम ?

नेपाली राजनीतिमा कहिलेकाहीँ यस्ता संयोगहरू देखिन्छन् जसले प्रतीकको रूपमा  नयाँ कथा पनि बोकेर आउँछन्। यस पटकको सङ्घीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ‘गणेश’ नाम गरेका पाँच सांसदले नयाँ कामको थालनी र नयाँ आशा बोकेर आएका छन्।  

‘रास्वपाका हामी ५ गणेश नामधारी सांसद,’ गणेश कार्कीले फेसबुकमा सेयर  गरेको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

गणेश कार्की (मोरङ–३), गणेश पराजुली (काठमाडौं–७), गणेश पौडेल (कास्की–१), गणेश धिमाल (बारा–१) र गणेश पौडेल (रौतहट–४) यस पटकको निर्वाचनमा रास्वपाका निर्वाचित सांसद हुन्। उनीहरूको गणेश नामलाई लिएर धेरैले बिम्ब प्रयोग गरेर प्रतिक्रिया दिन थालेका छन्।  

हिन्दु दर्शनमा ‘गणेश’लाई विघ्नहर्ता, नयाँ कार्यको प्रारम्भकर्ता र शुभ सङ्केतका रूपमा लिइन्छ। त्यसैले राजनीतिमा एकै पटक पाँच ‘गणेश’को उदयलाई धेरैले केवल संयोग मात्र नभई ‘नयाँ राजनीतिक श्रीगणेश’ का रूपमा व्याख्या गर्न थालेका छन्।

‘देश विकाशको श्री गणेश गरौँ,’ विपुल भट्राइले तस्बिरको तल प्रतिक्रिया यस्तै एउटा अपेक्षा हो। तर कतिपयले भने ‘गणेश परिक्रमा’को जोखिम समेत औल्याएका छन्।  

नेपालको राजनीतिक यात्रा लामो समयदेखि स्थापित दलहरूको वरिपरि घुमिरहेको थियो। जनतामा असन्तुष्टि बढ्दै गएको थियो। भ्रष्टाचार, ढिलासुस्ती, वाचा र कार्यबिचको दूरी, र पुरानै अनुहारको दोहोरिने चक्र। यही पृष्ठभूमिमा नयाँ विकल्पको खोज तीव्र बन्यो।

यही सन्दर्भमा उदाएको रास्वपाले आफूलाई ‘व्यवस्थाभन्दा व्यवहार सुधार्ने शक्ति’ का रूपमा प्रस्तुत ग¥यो। र परिणामस्वरूप, जनताले पनि केही हदसम्म जोखिम लिए , नयाँ अनुहार, नयाँ पार्टी र नयाँ वाचा रोजे।

‘गणेश’ नाम मात्र कि सङ्केत?

धार्मिक–सांस्कृतिक सन्दर्भमा ‘गणेश’ केवल देवता होइनन्, प्रारम्भको शक्ति हुन्। कुनै पनि शुभ कार्य अघि बढाउनुअघि गणेशको पूजा गरिन्छ, ताकि अवरोध नआओस्।

राजनीतिक रूपमा हेर्दा, यी पाँच सांसदहरू पनि त्यस्तै भूमिकामा देखिन्छ। पुराना समस्याको अन्त्य, नयाँ अभ्यासको सुरुवा  र प्रणालीमा सुधारको अपेक्षा।  

तर प्रश्न यहीँ उठ्छ, के उनीहरू साँच्चै ‘विघ्नहर्ता’ बन्न सक्छन्? कि राजनीतिमा प्रवेश गरेपछि उनीहरू पनि त्यही पुरानो चक्रमा फस्ने छन्?

यी पाँच सांसद देशका फरक–फरक भूगोलबाट आएका छन्। पूर्वको मोरङदेखि मधेसको रौतहटसम्म, राजधानी काठमाडौँदेखि पर्यटकीय कास्कीसम्म। यसले एउटा सन्देश दिन्छ। रास्वपाको समर्थन कुनै एक क्षेत्र वा वर्गमा सीमित छैन।

गणेश कार्की (मोरङ–३) – औद्योगिक र सहरी–ग्रामीण मिश्रित क्षेत्रको प्रतिनिधि गर्छन्। गणेश पराजुली (काठमाडौं–७) राजधानीको शिक्षित, सचेत मतदाताको भरोसा बोकेका छन्। गणेश पौडेल (कास्की–१) – पर्यटन र विकासको सम्भावना बोकेको क्षेत्रको जिम्मा बोकेका छन्। गणेश धिमाल (बारा–१) – मधेसको राजनीतिक जटिलता अन्त्य गर्नु पर्ने छ।  त्यस्तै गणेश पौडेल (रौतहट–४) – सीमावर्ती सामाजिक–आर्थिक चुनौतीको प्रतिनिधित्व गर्छन्।  

समग्रमा यी सबै क्षेत्रको साझा अपेक्षा एउटै छ त्यो हो,परिणाममुखी राजनीति। उनीहरू सबैले चैत १२ गते यी सांसदहरूले शपथ लिँदैछन्, र चैत १३ गते नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दै छ। यो केवल संवैधानिक प्रक्रिया होइन ।जनताको अपेक्षाको औपचारिक सुरुवात हो।

‘नाम जस्तै उहाँहरूले नयाँ कामको पनि श्रीगणेश गर्नु हुने छ भन्ने विश्वास छ,’ बाराका नवीन धिताल भन्छन्, ‘यो मुलुकवासीले पाएको नयाँ अवसर हो।’नेपाली राजनीतिमा नयाँ शक्तिको उदय पहिलो पटक भएको होइन। विगतमा पनि धेरै पार्टीहरू आशाका साथ आएका थिए, तर समयसँगै उनीहरू पनि पुरानै प्रवृत्तिमा मिसिएका उदाहरण छन्।

‘परिक्रमा’को जोखिम

लेखको सुरुवातमा उठाइएको एउटा सशक्त प्रतीक फेरि सम्झनु आवश्यक छ—‘शिव–पार्वतीको परिक्रमा’पौराणिक कथामा गणेशले संसार घुम्नुको सट्टा आफ्ना माता–पिताको परिक्रमा गरेर नै ‘सर्वश्रेष्ठ’को उपाधि पाए। तर राजनीतिमा यही शैली अपनाइयो भने त्यो दुखदायी हुने छ ।  

नेतृत्व वरिपरि घुम्ने, आलोचना नगर्ने, स्वतन्त्रता गुमाउने,यही जोखिम यहाँ पनि देखिन्छ।

‘यदि यी सांसदहरू केवल पार्टी नेतृत्व वा शक्तिकेन्द्रको वरिपरि घुम्ने अवस्थामा पुगे भने, उनीहरूको ‘गणेशत्व’ केवल नाममै सीमित हुनेछ,’काठमाडौं जोरपाटीका प्रभाव दाहाल भन्छन्, ‘जनताको वरिपरि परिक्रमा गर्ने गणेश आजको आवश्यकता हो।’

जनताले अब प्रतीकभन्दा परिणाम खोजिरहेका छन्। उनीहरूलाई सडक, सुशासन र रोजगारी चाहिन्छ। छिटो निर्णय गर्ने क्षमता चाहिन्छ । ‘गणेश’ नामले सुरुवातको सङ्केत दिन सक्छ, तर यात्रा सफल बनाउन काम आवश्यक छ।

पाँच ‘गणेश’को उदयलाई धेरैले ‘राजनीतिक श्रीगणेश’ भनेर व्याख्या गरेका छन्। तर वास्तविकता के हो भने, यो केवल सुरुवात मात्र हो।सुरुवात राम्रो हुनु महत्त्वपूर्ण छ, तर यात्रा अझ महत्त्वपूर्ण हुन्छ।

‘अबको केही महिनाले तय गर्नेछ,’ दाहाल थप्छन्, ‘यी पाँच गणेश ‘विघ्नहर्ता’ बन्छन्, कि प्रणालीकै ‘विघ्न’मा हराउँछन्।’

प्रकाशित: ६ चैत्र २०८२ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App