नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (आज) बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।
आजको बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति तथा कार्ययोजना बैठकका मूल एजेण्डा रहेको दुलालले बताएका छन्। बुधबार सभापति थापाले पदबाट राजीनामा दिएका थिए। उनी गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।

यसैबिच, उपसभापति विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ।
उनले एक्समा भनेका छन्, ‘“नैतिक जिम्मा लिन्छु” भन्नु सकारात्मक तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ। डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !’
प्रकाशित: ६ चैत्र २०८२ ०८:५५ शुक्रबार





