संविधान निर्माण प्रक्रिया अहिले कुन अवस्थामा छ?
यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संविधानको विधेयक संविधानसभाको पूर्ण बैठकमा प्रवेश गरेको छ। अब यहीँबाट संविधान निर्माण प्रक्रिया टुंगो लाग्छ। संविधानको परिमार्जित विधेयक संविधानसभामा प्रस्तुत भएर त्यसमाथि सैद्धान्तिक छलफल भइरहेको छ। त्यो पनि टुंगिने अवस्थामा छ। छलफल टुंगिएपछि संशोधन प्रक्रियामा जान्छ। त्यसपछि पारित गर्ने प्रक्रियामा प्रवेश गर्छौं। हामी संविधान निर्माणको महŒवपूर्ण र अन्तिम चरणमा पुगेका छौं।
संविधान निर्माण प्रक्रिया अब रोकिँदैन?
अब रोकिने ठाउँ कहीँ पनि छैन। अब सहजतापूर्वक टुंगोमा पुगेपछि मात्र यो प्रक्रिया रोकिन्छ।
संविधान जारी गर्नु चुनौतीपूर्ण छैन र?
मैले त्यस्तो कुनै चुनौती देखेको छैन। हाम्रा अगाडिका चुनौती अहिलेको अवस्थामा पनि अझै कतिपय असन्तुष्टि देखिएका छन्। कतिपय सुझाव सम्बोधन हुनुपर्छ भन्ने अपेक्षा पनि छ। त्यसलाई अन्तिम प्रक्रियामार्फत कति हदसम्म सम्बोधन गर्न सक्छौं भन्ने मात्रै हो। यो अन्तिम प्रक्रियामा सामेल भइरहँदा गर्न सकिने र हुन सक्ने विषय सम्बोधन गर्ने प्रयास गरौं भनेर मैले सबै दलका नेतालाई पनि भनेको छु।
संविधानसभाभित्र असन्तुष्टिका स्वर झनै बढेका छन् नि?
संविधानसभाभित्रको माहोल हेरेर कसैले बढेको र कसैले घटेको हो कि पनि भनेका छन्। 'विचार गरियोस्'् भन्ने प्रस्तावमा छलफल हुँदा यो तपार्इंहरुले पनि देख्नुभएको छ। कसैले बढेको र कसैले घटेको रुपमा देखेका छन्। मैले त यो प्रक्रिया सहजतापूर्वक टुंगोमा पुग्ने देखेको छु। त्यसैले अन्तिममा कतिसम्म सम्बोधन गर्न सकिन्छ, सम्बोधन गरेर संविधान निर्माण टुंगोमा पुर्यागउँ्क भन्ने मेरो हार्दिक चाहना हो।
यत्तिका वर्ष प्रयास गर्दा पनि कतिपय शक्ति सहमतिमा आएका छैनन्, उनीहरुसहित अन्य दल पनि सहमतिमा आएनन् भने के हुन्छ?
त्यसका लागि अन्तिमसम्म पहल छाड्नुहुँदैन। सकेसम्म माग सम्बोधन पनि गर्नुपर्छ। तर संविधान निर्माण प्रक्रियालाई टुंगोमा पुर्याछउन ढिलो गर्नु हुँदैन। सहजतापूर्वक टुंगोमा पुर्या उनुपर्छ भन्ने हेक्का राखेर हुन सक्नेसम्म विषय सम्बोधन गर्न हामी सबै तयार हुनुपर्छ।
संविधानसभाभित्रै रहेका दलले कोठे बैठकबाट निर्णय भएको गुनासो गरेका छन्। त्यस्तो हो भने छलफलको आवश्यकता किन पर्योह र? उनीहरुले भनेजस्तै अवस्था हो त?
यो राजनीतिक विषय हो। यी आरोप राजनीतिक परे। वास्तवमा उहाँहरुले नै उठाउनुभएका कुराहरु उहाँहरुले भनेजसरी नै टुंगो लगाउने हो भने पनि दलहरु कोठामै बसेर निष्कर्षमा पुग्ने हुन्। यसलाई हामीले बिर्सनु हुँदैन। म एउटा कुरा पनि स्पष्ट भन्छु– केही नेताले अँध्यारो कोठामा बसेर यो काम गरे भन्ने विषय अहिले पनि उठाइरहेको पाउँछु। त्यसमा अलिकति पनि सत्यता छैन। उदाहरणका लागि यसपटक संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पाँच शीर्ष नेता सम्मिलित विशेष समिति बनायो। त्यसमा संवाद समितिका सभापतिलाई नै संयोजक तोकियो।
त्यो कुनै चार दलको समिति होइन। त्यो संविधानसभाको संवाद समितिले बनाएको समिति हो। त्यसले गर्ने निर्णय चार दलको मात्र भन्न मिल्दैन। अनि पाँच जनाको विशेष समिति कोठाभित्र बसेर गरेको निर्णयलाई अँध्यारो कोठामा बसेर गरे भन्नु उचित होइन। त्यसैले अहिले जे भइरहेको छ, त्यो संविधानसभाले गरेको निर्णय हो। संविधानसभाले नै निर्णय गरेर अघि बढेको छ। जुन अझै पनि सम्बोधन गर्नुपर्छ। सम्बोधन गर्दा पनि यिनै प्रक्रियाबाट गर्छौं र गर्नुपर्छ।
बाँकी प्रक्रियामा तपाईले थप केही चुनौती देख्नुभएको छैन?
मैले पहिले पनि भनेको छु। सबैभन्दा ठूलो चुनौती असन्तुष्ट दलका अपेक्षा र उहाँहरुका कुरालाई सकेसम्म छोटो समयमा कसरी सम्बोधन गर्ने भन्ने हो। अहिले विचार गरियोस् भन्नेमा छलफल चलिरहेको छ। त्यसपछि संशोधनका लागि समय दिन्छौं।
संशोधनका लागि सात दिनको समय प्राप्त हुन्छ। दलहरुभित्रको छलफल यही छलफलबीच टुंगो लाग्नुपर्छ। किनकि, कुरा टुंगिँदा पनि प्रक्रियामा छिर्नुपर्छ। अब संशोधनबाहेक प्रक्रियामा छिर्ने कुनै पनि बाटो छैन। त्यसैले संविधानको विधेयकमाथि संशोधन हाल्न जति समय बाँकी छ। त्यो समयभित्र कुरा टुंगो लाग्नुपर्छ। त्यसपछि सभासदमार्फत संशोधन हाल्न सकिन्छ। त्यसैले थोरै समय बाँकी छ। सकेसम्म सम्बोधन गर्नु छ। असन्तुष्टिलाई बढीभन्दा बढी सम्बोधन गर्नुपर्नेछ। हाम्रा अगाडि देखिएको अहिलेको चुनौती यही हो।
संविधान कहिले जारी हुन्छ त? जनतालाई विश्वस्त हुने किसिमले भनिदिनुस् न?
भदौ महिनाभित्र उपयुक्त समयमा संविधान जारी हुन्छ।
तपाईहरु (संविधानसभा सचिवालय) ले संविधान जारी गर्ने तयारी पनि गरिसक्नुभएको छ?
निश्चय पनि तयारी गरेका छौं। मैले राष्ट्रपतिज्यूलाई बोलाउने तयारी गरिसकेको छु। मैले उहाँलाई भेट्दा उपयुक्त मिति र समय तय गरेपछि राष्ट्रपतिज्यूलाई निम्ता गर्न आउँछु भनेको छु। अनि त्यो दिन हाम्रो नेपालकै इतिहासमा महŒवपूर्ण दिन हुन्छ। संविधानसभाका लागि त्यो अन्तिम बैठक हुन्छ। यो कुरा समेतलाई ध्यानमा राखेर तयारी मैले गरेको छु।
संविधानको विधेयक सरसर्ती हेर्दा तपार्इंले व्यक्तिगत रुपमा कस्तो पाउनुभयो?
परिमार्जित पहिलेको प्रारम्भिक मस्यौदालाई हेरेर भएका टिप्पणी पनि मलाई थाहा छ। यसलाई हामीले धेरै सुधारेका छौं। यसबीच भाषाविज्ञ, मस्यौदाकार, धेरै विद्धान मित्रहरुलाई सहभागी गराएका छौं। उहाँहरुले धेरै मेहनत गरेर विधेयक राम्रो बनाउनुभएको छ।
जहाँसम्म यसका अन्य पक्ष छन्, एउटा कुरा अझै स्पष्ट गरिनुपर्छ। विभिन्न विज्ञको सहभागिता रहँदारहँदै पनि यो संविधानसभाले बनाएको संविधान हो भन्ने सधैं हेक्का राख्नुपर्छ। संविधानसभाभित्र पहिले पञ्चायतकालीन शक्ति, सशस्त्र द्वन्द्वमा सहभागी शक्ति, प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमि भएका शक्ति, मधेस आन्दोलन लगायत विविध पृष्ठभूमिका शक्तिहरुको सहभागिता छ।
त्यसैले संविधानसभाले बनाएको संविधान हो भन्ने कुरालाई हामी जहिले पनि हेक्का राख्नुपर्छ। यसो गर्दा सात जना विज्ञ सम्मिलित आयोगले बनाएको संविधान र संविधानसभाले बनाएको संविधानमा निश्चय केही अन्तर रहन्छन्। मैले त्यसरी हेरेको छु। व्यक्तिगत रुपमा हेर्दा मेरा कतिपय विषय यसमा परेका छन्, कतिपय कुरा यसमा परेका छैनन्। यही आधारमा म सबैलाई आग्रह गर्छु। हामी सबैका सबै कुरा संविधानमा पर्न सक्दैन। किनकि यो समझदारीको दस्तावेज हो। यो सिंगो देशको साझा दस्तावेज हो। त्यसैले मैले यसलाई कसरी हेरेको छु भन्दा मेरा परेका कुरामा म खुसी छु, जे कुराहरु परेका छैनन् आउने दिनमा पार्दै जानका लागि लड्ने ठाउँ बनेको छ। संविधानले लोकतान्त्रिक प्रक्रिया र आधार तयार पार्न सकेको छ। सबैका लागि लड्दै जाने र जनतामा पुग्ने ठाउँ दिएको छ। जनतामा पुगेर विश्वास जितेर भोलि संशेाधन गर्दै जाने ठाउँ राखिएको छ। यो कुरामा हेर्दा म खुसी छु।
तर आदिवासी, जनजाति, महिला, मधेसी, थारूलगायत समुदाय यो विधेयकसँग पूर्ण सन्तुष्ट छैनन्, किन?
मलाई त्यसमा खुसी लागेको छ। पूर्ण सन्तुष्टि भयो भने कुरा चौपट भइहाल्छ। पूर्ण सन्तुष्टि हुने ठाउँ छैन। यसमा विवादै छैन। मैले तपाईंको प्रश्नसँगै एउटा कुरा जोड्न चाहन्छु, गएको संविधानसभामा २०६९ जेठ २ गतेको सेरोफेरोमा मैले सबैलाई भनेको थिएँ, 'अहिले जुन आधार तयार गरेका छौं, यसलाई भत्कन नदिउँ्क। यही आधारमा संविधान जारी भयो भने मधेसी, दलित, जनजाति, महिला र जनतामैत्री संविधान हुन्छ। अहिले यो संविधानसभा भत्कियो भने यो अवस्था रहन्न। फेरि संविधानसभा बन्छ कि बन्दैन, त्यस बेला हाम्रा उपलब्धि गुम्न सक्छ।' तर त्यस बेला केही नेता (जो मैले अहिले नाम उल्लेख गर्दिनँ) ले हामीलाई हाताहाती चाहिन्छ, सयमा सय चाहिन्छ, नगदी चाहिन्छ भनेर मलाई उत्तर दिएका थिए।
अहिले पछाडि फर्केर हेरौं त, हामी कहाँ आइपुगेका छांै। अहिले बन्न लागेको संविधान पनि सयमा सय चित्त बुझ्ने खालको छैन। मेरै चित्त नबु‰ने धेरै कुरा छन्। तर मैले यसलाई कसरी हेरेको छु भने महत्वपूर्ण उपलब्धि प्राप्त भएका छन्। अरू थप उपलब्धिका लागि लड्ने आधार र ठाउँ बनाइएको छ।
भनेपछि अहिले कोही आत्तिनुपर्दैन?
आत्तिनैपर्दैन। लड्ने आधार बनेको छ, यसमा टेकेर जनताका पक्षमा लड्दै संशेाधन गरेर सबल बनाउँदै जान सकिन्छ।
कतिपयले सर्वोच्चको फैसलापछि बनेको विधेयक हुँदा गैरकानुनी भनेर पनि प्रश्न उठाएका छन्, त्यस्तो हो?
अब त्यो कुरा धेरै परको भयो। त्यसबेला मैले भनेको पनि थिएँ। हामीले संविधान बनाउन सर्वोच्चका बेन्चबाट कुनै पनि निहँु तिमीले देखाउन सक्दैनौं। संविधान समयमा बनाउनुपर्छ, सम्मानित सर्वोच्चको फैसलाबमोजिम एक सेकेन्ड संविधान रोक्ने अवस्था छैन, हामी अघि बढ्छौं भनेर भनेको थिएँ। हामी त्यही अवस्थामा अघि बढेका हौं। त्यसरी अघि बढ्दा कसैलाई पनि आपत्ति हुनु नपर्ने गरी सीमांकन पनि टुंगो लगाएर संविधानसभा अघि बढेको छ। मलाई लाग्छ, अब संविधानसभामा त्यस्ता आपत्ति बाँकी छैनन्।
तपाईले पनि बेलाबेला हात्ती छिर्यो्, अब पुच्छरले रोक्दैन भन्नुहुन्छ तर नेपालमा त्यस्ता ईतिहास दोहोरिएका कैयौं घटना छन्। अब पनि रोकियो भने के हुन्छ?
अब त्यस्तो कुनै ठाउँ नै छैन। संविधान बन्ने आधार तयार भयो। अब संविधान बन्छ। अब हामी अन्तिम चरणमा छौं। अन्तिम चरण प्रक्रियाबाट अघि बढेका छौं। हात्ती छिरिसक्यो। हात्तीसँगै पुच्छर पनि छिर्छ। अब संविधान रोक्ने आधार केही पनि छैन।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबाटै संविधान रोक्ने प्रयास भएका छन् भन्ने कुरा आएको छ, तपाईं संविधानसभा नेतृत्वमा हुनुहुन्छ। केही त्यस्ता संकेत पाउनुभएको छ?
चर्चा र टिप्पणी मैले पनि सुन्ने गरेको छु। तर मलाई कसैको नियतमाथि शंका छैन। संविधान जारी गर्न हामी आफैं बलियो बन्नुपर्छ। 'अरूलाई चोर दोष नलगाउनू, आफ्नो थैली दह्रो राख्नू'– गाउँका बूढापाकाले भनेका कुरा नै मलाई राम्रो लाग्छ। आफू एकजुट भएर अघि बढ्दा कोही उपदेश दिन पनि आउँदैन। हामी त्यही बिन्दुमा पुगेका छौं। अब हामीलाई कसैले रोक्न सक्दैन, संविधानसभाले संविधान बनायो र बनाउँछ।
प्रकाशित: ११ भाद्र २०७२ २०:१० शुक्रबार





