६ जेष्ठ २०७९ शुक्रबार
अन्तर्वार्ता

‘स्यानी’ पढ्दा हरेक पाठकले आफ्नी आमाको उपस्थितिको झल्को पाउँछन्

शैक्षिक र प्रशासनिक क्षेत्रमा सुपरिचित खगराज बराल साहित्यकार पनि हुन्। विसं २०४४ सालदेखि साहित्य लेखनमा प्रवेश गरेका बराल श्रमिक बरालको नामबाट पनि परिचित छन्।

उनले हालसम्म कैयौं साहित्य सिर्जना गरेर नेपाली साहित्यमा योगदान गरेका छन्। श्रमिक बरालका नामबाट ‘श्रमिक बरालका फुटकर रचना’ २०७८, ‘आँगनीको फूल’ २०७६, ‘सानीको बर्थ डे’ २०७५,  ‘श्रमिक बरालका गीतहरू’ २०७३, ‘मौन आकाश’ २०७१, ‘अविरल गङ्गा’ २०६७, ‘म त सधैं एक्लै परेँ’, २०६२ प्रकाशित छन्।

बराल शिक्षा क्षेत्रका सिद्धहस्त लेखक पनि हुन्। ‘दर्शन, शिक्षा र आचरण’  (२०७८, ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ (२०७५, ‘शिक्षा र सिकाइ: सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’ (२०७४), ‘शैक्षिक दृष्टार्थ’ (२०७३), ‘केही शैक्षिक प्रबन्ध’ (२०७१), ‘शैक्षिक विचरण’ (२०७०), ‘शैक्षिक विमर्श: वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ (२०६९, ‘केही शैक्षिक मुद्दाहरू’ (२०६८ र ‘शिक्षा विकासका नवीन आयामहरू’ (२०६७) उनका प्रकाशित कृतिहरू हुन्। साहित्य क्षेत्रमा खगराज बरालका नामबाट बरालका ‘मालामा नउनिएका फूलहरू’ (२०७८, ‘सिकाइ र सहयोग’ (२०७६ र ‘सिकाउने शैली’ (२०७५) जस्ता गैह्रआख्यान अनुभूतिजन्य निबन्ध सङ्ग्रह र ‘स्यानी’ (२०७७) नामक उपन्यास प्रकाशित छन्। बरालले सम्पादन गरेका ‘शैक्षिक व्यवस्थापनका बहुआयामिक चिन्तन’ (२०६६) र ‘लीलावती स्मृति ग्रन्थ’ (२०७५) पनि प्रकाशित छन्।

बरालले आफ्नी स्वर्गीय आमाको बारेमा लेखेको ‘स्यानी’ उपन्यासको बारेमा नागरिककर्मी सुभद्रा ढकालले गरेको कुराकानीको सम्पादित अंशः

स्यानी उपन्यासभित्र के छ?

यस उपन्यासमा मेरी आमासँग जोडिएका कैयौं कुरा समेटिएका छन्। ‘स्यानी’ नाम मेरी आमालाई बाल्यकालमा मावलीतिर राखिदिएको नाम हो। आमालाई माइती–मावलीमा अत्यन्त प्यार र स्नेहका साथ राखिदिएको यो नामसँग मेरो पनि उत्तिकै स्नेह र प्रेम जोडिएको छ। आमाको मृत्युपछि लेखिएको यस उपन्यासमा आमासँगका धेरै सम्झना जोडिएका छन्।

आमा बितेपछि मलाई उहाँको सम्झनाले पलपल सताउन थाल्यो। प्रत्येक दिन मार्निङ वाकमा निस्कँदा टहटह जून लाग्थ्यो। हामी सानो छँदा यस्तो समयमा  गोरु लिएर फाँटमा दाइँ गर्न जान्थ्यौं। मलाई त्यही समयले पोल्थ्यो। दशैं र साउने संक्रान्ति आउँदा बाल्यकाल र आमासँग जोडिएका हरकुराले सताउन थालेपछि मैले आमाको सम्झनामा स्यानी लेखें।

‘स्यानी’ उपन्यासमा कस्तो किसिमको भाषाशैलीको प्रयोग गरिएको छ?

यो उपन्यास पोखरा महानगरपालिकाको वडा नं.२२ को पुम्दीभुम्दी, ठूलिविणी र सो वरिपरिको भूभाग तथा स्याङ्जाको फेदीखोला गाउँपालिकाको चनौटे र बाँहेटारीको पेरिफेरिलाई समेटिएको छ। उपन्यासमा छोटा, सरल र आञ्चलिक भाषाशैलीको प्रयाग गरिएको छ।

‘स्यानी’ उपन्यासको पाठक प्रतिक्रिया कस्तो छ?

‘स्यानी’ उपन्यास पढ्दा हरेक पाठकले आफ्नो आमाको उपस्थितिको झल्को पाउँछन्। हरेक पाठकलाई आमाले आफूलाई गर्ने धेरै व्यवहार मिलेको अनुभूति सुनाउँछन्। धेरैले आफ्नो जिन्दगीको घटना लेखेको जस्तै भएको बताउनुहुन्छ।

उपन्यासको पाठक प्रतिक्रिया राम्रो पाएको छु। सामाजिक सञ्जालदेखि फोनसम्म पनि उस्तै प्रकारको पाठक प्रतिक्रिया पाएँ। पढ्ने जति पाठकले सजिलो गरी पढेको बताउनुभयो। यसरी सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पाएको छु।

‘स्यानी’ उपन्यासको सन्देश के हो?

उक्त उपन्यास सन्देशका लागि लेखिएको होइन। यद्यपि यस उपन्यासले मातृप्रेम र आफ्नो भाषा संस्कृति र परम्परा नबिर्सियून् भन्ने किसिमको सन्देश दिन खोजिएको छ।

यस उपन्यासमा संस्कार, आचरण, गाउँले परिवेश र व्यवहारलाई समेटिएको छ। परम्परागत संस्कृतिहरू–दशैं, तिहार, संक्रान्ति, लुतो फाल्ने, नाग पञ्चमी, भजन जस्ता पर्व कसरी मनाइन्थ्यो र तिनको ऐतिहासिक महत्त्व के कस्तो छ भन्ने जानकारी पनि दिएको छ। गाउँले जीवनको परिवेशलाई राम्रोसँग अथ्र्याएर भावी पुस्ताले संस्कृति बिर्सन हुँदैन भन्ने सन्देश पनि छ।

गाउँले परिवेशबाट बसाइँसराइँ र संस्कृतिमा आएका विकृतिका कारण हाम्रो धर्मसंस्कृति नै भुल्न लागेको वर्तमान पिँढीलाई यस उपन्यासले पुनर्ताजगी गराएको छ। भावी पुस्तालाई पूर्वज र अग्रजहरूले मनाउने संस्कृति, चाडपर्व, रीतिरिवाज तथा पुर्खाको ग्रामीण जीवन पद्धतिको जानकारी नै उपन्यासको मुख्य सन्देश हो।

‘स्यानी’ उपन्यास लेखिरहँदा एकल पुरुष तथा एकल महिलाका सम्बन्धमा के फरक पाउनुभयो?

हाम्रो समाजमा एकल पुरुषलाई जिउन एकदमै गाहो हुन्छ। एकल महिलाहरू त देवर, जेठाजु,वल्लो घर र पल्लो घरमा गएर समय कटाउँछन्। तर, पुरुषहरूलाई आफन्ती महिलाकामा पनि जान एकदम अप्ठेरो हुने रै’छ। एकल पुरुषको पीडा बेग्लै प्रकृतिको हुने रहेछ भन्ने थाहा पाएँ।

अहिलेको साहित्यिक बजार कस्तो लाग्छ?

अहिलेसम्म धेरै किताब छापिए। तर, नियम र सर्त अनुसारको लेखकस्व पाएको छैन। खासै किताब बिक्री हुँदैन भन्ने प्रकाशकको गुनासो पनि छ। किताब किनेर पढ्ने पाठक घटेको छ। किताब घरमा लगे पनि कसैले हेर्दै नहेर्ने प्रवृत्ति बढेको छ। सकेसम्म मागेर पढ्ने प्रवृत्ति बढ्दो छ। यस्तो प्रवृत्तिले लेखक र प्रकाशकलाई कसरी उत्साहित बनाउँछ!

मान्छेहरू धेरै समय मोबाइलमै झुन्डिरहेको हुन्छन्। नयाँ पुस्तामा त पुस्तक पढ्ने शून्यजस्तै भइसक्यो। प्रकाशकको पनि आफ्नै समस्या होलान्। किनेर पढ्ने प्रवृत्ति नै छैन। किताब बाँड्ने प्रवृत्ति बढेको छ भने किताब किन्ने घटेको छ।

अहिलेको पुस्ताले किताब पढ्छन कि सजाउँछन?

किताब पढ्नेभन्दा किताब सजाउने शोख छ वर्तमान पुस्तालाई। किताब किनेर लगे पनि पढ्नेहरू निकै कम छ। नयाँ पुस्तकका सम्बन्धमा चर्चापरिचर्चा पनि हुने गरेको पाइँदैन।

प्रकाशित: २३ वैशाख २०७९ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App