७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

पार्टीलाई विधानमा चलाउँछुः शेखर कोइराला, सभापतिको उम्मेदवार

सबैभन्दा पहिले त सभापतिको उम्मेदवार बन्नुभएकोमा बधाई छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुनुभएको छ। कस्तो माहोल पाउनुभएको छ?

नेपाली कांग्रेसका साथीहरूसँग म पाँच वर्षदेखि निरन्तर सामिप्यमा रहँदै आएको छु। उहाँहले नेतृत्वको परिवर्तन मात्रै होइन, पुस्तान्तरण,कार्यशैली र विचारको परिवर्तन खोजिरहनु भएको छ। जे कार्यक्रम भइरहेका छन्, त्यसमा नेपाली कांग्रेसका ऊर्जावान, गतिशील कार्यकर्ताले परिवर्तन खोजिरहेका छन्।

त्यो हिसाबले पनि म अगाडि बढेको हुँ। नेता कार्यकर्ताको मागअनुसारकै ऊर्जावान टिम बनेको छ। गतिशील टिम छ। नेपाली कांग्रेसको मात्रै होइन देशकै लोकतन्त्र बचाउन पनि यो टिमले जित्नुपर्छ ।

ऊर्जाशील टिम बनाउन तपाईंहरूबीचमा सहमति नजुट्दा असफल भयो भन्ने छ नि?

त्यसो होइन, एउटा टिममा बसेपछि यस्तो कुराहरू आउँछन्। पार्टीभित्र मैले मान्नुपर्ने अग्रज व्यक्ति धेरै हुनुहुन्छ। पार्टी सभापति बनाउनुपर्छ र बन्नुपर्छ भन्ने अग्रज व्यक्तिहरू पनि हुनुहुन्छ।

त्यसमध्ये सहमतिमा रामचन्द्र पौडेल आउनुहोस् म छोड्न तयार छु भनेर भनेकै हो। उहाँ अत्यन्त सम्मानित व्यक्ति हुनुहुन्छ। उहाँको नाममा सहमति हुन सकेन, प्रकाशमानजीले तेह्रौँ महाधिवेशनमा पनि मैले छाडेको हो त्यसकारण अब म छोड्दिन भन्नुभयो। मैले रामचन्द्रजीलाई प्रकाश उठेपछि तपाईं नउठ्दा राम्रो हुन्छ भनेर सम्झाँए। उहाँले हुन्छ भन्नुभयो। मलाई पूर्ण विश्वास छ मलाई उहाँको समर्थन छ 

तपाईंको उम्मेदवारी किन? तपाइँ सभापति भएपछि के गर्नुहुन्छ?

पार्टी अहले गतिहीन अवस्थाबाट अगाडि गइरहेको छ। विधि विधान एकातिर राखेर पार्टी अगाडि बढाउन खोजिएको छ। अहिले कांग्रेस पार्टीको लडाई कम्युनिस्ट पार्टीसँग पनि रहेको छ। जब राज्यसत्तामा जाने कुरा आउँछ त्यसबेला कम्युनिस्टसँग मिलेर जानु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ। अहिले जे भइरहेको छ त्यसले कांग्रेसभित्र राम्रो गरिरहेको छैन। विधि विधानलाई एकातिर पन्छाउने काम भयो।

अधिवेशनका मुखमा अएर पनि त्यस्ता काम धेरै भएका छन्। अहिले म त्यसलाई कोट्याउन चाहन्न। नेपाल कांग्रेसभित्र पारदर्शिता,जवाफदेहीता, उत्तरदायित्व समाप्त भएको देखियो। त्यसले गर्दा पनि पार्टी गतिहीन दिशामा गएको हो भन्ने लागेको छ। साथै जननायक बिपी कोइरालाले भन्नुभएको,राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई अहिलेको सन्दर्भमा हामी पुनः परिभाषित गरेर अघि बढ्नु पर्नेछ। खाली राष्ट्रियता,समाजवाद, प्रजातन्त्र मात्रै भनेर पनि पुग्दैन पुनः परिभाषा गरेर अघि जानुपर्छ। कार्यशैली,विचारलाई सँगै लैजानुपर्छ।

संविधान कार्यान्वयन, वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना,क्रियाशील र जिम्मेवार भ्रातृ एवं शुभेच्छुक संगठन, अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण, पारदर्शी निर्णय, जवाफदेही नेतृत्व,उत्तरदायी पार्टी, सहभागितामूलक लोकतान्त्रिक अभ्यास र प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन मेरा प्रतिबद्धता हुन्। सभापति भएपछि यी कामको इमान्दारीपूर्वक पालना गर्दछु।

पुनः परिभाषित गर्नुपर्छ भन्ने विषयलाई अलिकति प्रष्ट पारिदिनुस् न।

अहिले समाजवादको कुरा गर्नुहुन्छ भने कोभिडका कारण निकै अप्ठेरोमा परेका छाैँ, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता, सामाजिक न्यायलाई सुरक्षाको आधार लिएर अघि बढ्नुपर्छ। समावेशिता संविधानमा त राखेका छौ, विधानमा पनि टेकेका छाैँ तर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा छलफल गर्नुपर्छ। त्यस्तै राष्ट्रियताको बारेमा कोल्ड वारपछि फेरि नयाँ कोल्ड वार सुरु भएको छ। त्यो नेपालमा पनि कताकता आभाष भएको छ। त्यसलाई हामीले कसरी ट्याकल गर्न सक्छाैँ?

मेरो धेरै साथीहरू र राष्ट्रियताको सवालमा विज्ञता हासिल गरेका विज्ञहरू हुनुहुन्छ उहाँको साथ लिएर वृहत् परराष्ट्र नीति बनाउनुपर्छ। र लोकतन्त्रको कुरा गर्दा अस्ति भाषण गरेको पनि सुनियो। लोकतन्त्र खतरामा पर्‍यो भन्ने आयो।

तर यो व्यवस्था खतरामा परेको छैन। यसलाई अभ सुदृढ गरेर जानुपर्छ। तीनवटा निर्वाचनहरू सम्मुखमा छन्। स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनलाई ध्यान दिएर नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाएर लैजानुपर्छ।

अहिलेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जान्छ कि के हुन्छ?

यो गठबन्धन त निर्वाचनसम्मै जाला यसलाई हामीले फरक ढंगले नसोचाैँ तर निर्वाचनको बेलामा हामी कसरी जान्छाैँ भनेर सोच्नुपर्छ। सभापति, प्रधानमन्त्री र रामचन्द्रजी सबैजना सरसल्लाह गरेर जान्छौं।

तपाईंले सभापति जित्नुभयो भने पनि अहिलेको सरकारले निरन्तरता पाउँछ?

यही सरकारले निरन्तरता पाउँछ, अर्को सरकार फेरिँदैन। अहिलेकै नेतृत्वमा सरकार सञ्चालन हुन्छ। तर अवस्था कस्तो छ भने कार्यपालिका पनि ठिक ठाउँमा हिँड्दैन, न्यायपालिका पनि जर्जर अवस्थामा छ।

मानिसहरूको दिमागमा यो सरकार नै जान्छ भन्ने छ तर त्यो विल्कुल झुट हो। यो सरकारको निरन्तरताको साथै अझ सुदृढ भएर अघि बढ्छाैँ। यो सरकारले निर्वाचन गराउँछ।

अहिले जित्ने टिम निर्वाचनमा जान्छ। कांग्रेस सभापति परिवर्तन भयो भने सरकार परिवर्तन हुन्छ भन्ने परेको छ तर त्यो होइन भ्रम नपरोस्, निर्वाचन गराउन यही सरकारले निरन्तरता पाउँछ। यसमा कोही कसैले भ्रम नपाले हुन्छ। सभापति परिवर्तन भए पनि सरकार परिवर्तन हुँदैन 

पार्टीको निर्वाचनमा तपाइँले कस्तो परिणामको अपेक्षा गर्नुभएको छ?

म त अत्यन्त उत्साहित छु। साथीहरूको माया पाएको छु। दोस्रो चरणमा निर्वाचन जाँदैन। पहिलो चरणमा म सफल हुन्छु।

पहिलो चरणबाट निर्वाचन जित्छु भन्नुभयो, त्यसको अधार चाहिँ के हो?

कांग्रेसको मूल धार यही टिममा छ। डा. शशांक हुनुहुन्छ, रामचन्द्रजी हुनुहुन्छ, त्यसकारण हामीबीचमा सभापति को बन्ने प्रतिस्पर्धा मात्रै हो। अब त हामीले टिम नै बनाइसकेका छौं। यो भन्दा राम्रो अर्को टिम छैन ।

यदि निर्वाचन दोस्रो चरणमा प्रवेश गर्‍यो भने सभापतिका उम्मेदवारसँग कसरी सहकार्य हुन्छ?

दोस्रो चरणमा प्रवेश नै गर्नुपर्देन। यदि प्रवेश भयो भने सभापतिको सबै उम्मेदवारसँग सहकार्य हुन्छ।

प्रकाशित: २७ मंसिर २०७८ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App