जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार सङ्ख्याले मात्रै बलियो नहुने बताएका छन्। बिहीबार (आज) सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।
'सरकार सङ्ख्याले मात्रै बलियो नहुँदो रहेछ,' उनले भने, 'यो सरकार बन्ने क्रममा केही आश्वासन, प्रतिबद्धताहरू गरिएका थिए। संविधान संशोधन, राजनीतिक स्थिरता दिएर मुलुकलाई अगाडि बढाउने, आर्थिक सुधार गर्ने भनिएको थियो। तर, झन्डै ९ महिना बितिसक्दा पनि न संविधान संशोधन, न अरु केही। संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले ०८७ मा मात्रै हुन्छ भनेर बोलिदिनुभयो। सरकार सबै किसिमबाट असफल भइसक्यो।'
उनले सरकार कमजोर भइरहेको उल्लेख गर्दै सरकार झक्झकाउनका लागि मोर्चा घोषणा भएको दाबी गरे। 'सङ्घीय लोकतन्त्रिक गणतन्त्रको रक्षा गर्ने, जनतालाई सुशासनको प्रत्याभूति गराउने, आर्थिक सुधार गर्ने र राष्ट्रिय समस्याहरूलाई समाधान गर्नका लागि यो मोर्चा बनाइएको हो,' उनले भने।
प्रकाशित: २१ चैत्र २०८१ १६:५६ बिहीबार