१० असार २०७८ बिहीबार
अन्तर्वार्ता

'शव ब्यवस्थापनमा शत प्रतिशत सुरक्षाको विधि अपनाउँछौं'

नयाँ भेरियन्टसहित दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको अवस्था झन् भयावह छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि अहिले दैनिक रुपमा ८ देखि १६ जनाको मृत्यु भइरहेको छ ।

मृतकको संख्या बढिरहँदा शव ब्यवस्थापनको काम पनि चुनौतीपुर्ण बन्दैछ । मृतकको शव ब्यवस्थापन सम्बन्धी सम्पुर्ण काम गर्ने जिम्मा नेपाल सरकारले नेपाली सेनालाई दिएको छ । बाँके र बर्दियामा अहिले मृतकको शव ब्यवस्थापन कसरी भइरहेको छ ? यसै विषयमा भैरवप्रसाद गण इमामनगर ब्यारेक राँझा नेपालगन्जका गणपति एवम् प्रमुख सेनानी(कर्णेल) नकुल थापासँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको संवाद:

मृतकको शव ब्यवस्थापन कसरी भइरहेको छ ।

भैरव प्रसाद गणको बाँके र बर्दिया दुई वटा जिल्लामा कार्यक्षेत्र पर्दछ । विशेष गरेर बाँके जिल्लामा चाही गतसालदेखि नै शव ब्यवस्थापनमा प्रत्यक्ष रुपम हाम्रो टोलीले खटिएर काम गरिराखेको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशिका, शव ब्यवस्थापन निर्देशिका आइसकेको छ । त्यही स्वास्थ्य निर्देशिका र शव ब्यवस्थापन गर्ने निर्देशिका अनुसार नै तालिम प्राप्त नेपाली सेनाको टोली यसमा कार्यरत छ ।

शव ब्यवस्थापनमा सेनाको कति जनशक्ति परिचालित छ ?

अहिले हामीसँग चार वटा टिम छ । सुरुको अवस्थामा त एउटा टिमले बाँके जिल्लामा र बर्दिया जिल्लामा एउटा टिमले सकिराखेको अवस्था थियो भने यसपाली गत वैशाख १ गतेदेखि शवको संख्या बढ्न थालेपछि चाही दुई टिमले कार्य गरिरहेको छ र अर्को दुई टिम तयारी अवस्थामा राखेर यो कामको लागि चारवटा टिम तोकिएको छ ।

एउटा शव ब्यवस्थापनमा कति जना खटिन्छन् ?

खासमा पाँच जनाको टिम हो । त्यसमा सुपरभिजन गर्नलाई अर्काे एक जना क्याप्टेन साब खटाएको छ । ६ जनाको टिम छ अहिले ।  

शव ब्यवस्थापन गर्न कतिको कठिनाई हुन्छ ?

शव ब्यवस्थापन कार्य गर्नलाई केही समय लाग्छ । तर प्रक्रिया सबै पुरा भईसकेपछि ब्यवस्थापन गर्नलाई केहीपनि कठिन छैन । अस्पतालमा मृत्यु भएको शवलाई अस्पतालबाट प्रशासनले सम्पुर्ण कागजात पुरा गरिसकेपछि जिल्लास्थित डिसिसिएमसी(जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र) मा रिपोर्ट गरिसकेपछि हामी परिचालित हुन्छौं । त्यसपछि लैजानलाई सम्बन्धित परिवारसँग समन्वय गरेर यहाँको धर्म, संस्कृती, रितिरिवाज अनुसार अन्तिम संस्कार गर्नलाई हामीले सहयोग, समन्वय गरिरहेका छौं । अब केही संक्रमित बिरामीहरु चाही होम आईसोलेसनमा र त्यसपछि अन्यत्र जिल्लाको शव ब्यवस्थापनमा अलिकति कठिनाई हुन्छ । उहाँहरुले शव वाहन तयार गरेर लिएर जानुपर्ने हुन्छ । यही ठाउँमा घर भएका मृतक हो भने त सजिलै शव ब्यवस्थापन हुन्छ । जिल्ला बाहिरको भएपछि प्रक्रिया अलि लम्बिन्छ । नत्र भने सरल तरिकाले भइराखेको छ ।  

पछिल्लो समयमा मृतकको संख्या दिनहुँ बढिरहेको छ, यसले गर्दा शव ब्यवस्थापन गर्न केही जटिलता त आएको होला नि ?

त्यस्तो समस्या छैन । हामी यो भन्दा अगाडी बाँके र बर्दियालाई सम्बन्धित आ–आफ्ना घाटसम्म लगेर दाह संस्कारको लागि सहयोग गर्ने गरेका थियौं भने अब अहिले मृतकको संख्या पनि धेरै भयो । घाटहरु पनि टाढा–टाढा भए । जस्तै सिधनियाघाट पुर्याउन गाह्रो भयो । मानखोला पुर्याउन गाह्रो भयो । अब अहिले एक ठाउँमा मात्रै चिता बनाएर तयार गरेपछि हामीले शव लैजाने गरेका छौं ।  

मृतकका परिवारले आफ्नै धर्म, संस्कृति अनुसार अन्त्यष्टी गर्न चाहन्छन्, यसमा नेपाली सेनाको सहयोग कस्तो हुन्छ ?

कोभिडको कारणबाट मृत्यु भएको परिवारप्रति हाम्रो समवेदना रहन्छ । उहाँहरुलाई मृत्युको प्रमाणपत्र अस्पतालले दिन्छ, त्यो आधारमा मृतकका परिवारलाई हामी के, कसरी अन्तिम संस्कार गर्नुहुन्छ भनेर सोध्छौं । मुस्लिम समुदायको हकमा मुस्लिम धर्म अनुसार लगेर उहाँहरुको कब्रस्तानमा लगेर शव गाड्दिन्छौं, हिन्दु समुदायको लागि हिन्दु परम्परा अनुसार घाटहरुमा लगेर अन्त्येष्टी गरिदिन्छौं ।  

अस्पतालमा कुनै संक्रमितको मृत्यु भइहालेमा त्यो शव ब्यवस्थापन गर्न कति जति समय लाग्छ ?

समय ठ्याक्कै तपाईलाई भन्नुपर्दा सम्पुर्ण कागजपत्र तयार भइसक्यो, डिसिसिएमसीबाट सबै कुरा भइसकेपछि शव अस्पतालबाट बाहिर निकालिसकेको अवस्था छ, भने हाम्रो टोली पनि फ्रि हुनुपर्यो । तयारी अवस्थामा रहेको नेपाली सेनालाई खबर आउनासाथ आधा घण्टामै टोली परिचालन भईहाल्छ । तर कुरो के भने जस्तो कोहलपुरमा शव छ, कोहलपुरको शव लिएर नेपाली सेना सिधनियाघाट, अगैया वा मानखोलामा गएको अवस्था हो भने एक÷दुई घण्टा रोकिएर त्यही टोली आएर शव वहानमा हालेर लैजानुपर्ने स्थिती हुन सक्छ । अर्को कुरा सम्बन्धित परिवारसँग पनि स्वीकृती लिनुपर्यो नि । उहाँहरु घरमा हुनुहुन्छ, टाढाको मान्छे हुनुहुन्छ, उहाँहरु सबै जुटेर त्यसपछि के गर्ने भन्ने सल्लाह गरेपछि बल्ल त्यसपछि घाट छान्नुहुन्छ, त्यहाँ गएर ब्यवस्था गर्नुहुन्छ, त्यसपछि हाम्रो टोली चाही आएर शव लगिदिन्छ । त्यसको लागि न्युनतम एक घण्टादेखी दुई/तीन घण्टासम्म पनि लाग्न सक्छ ।  

शव ब्यवस्थापनमा खटिने टोलीलाई जोखिम कत्तिको हुन्छ ?

शव ब्यवस्थापनमा हामीले शत प्रतिशत सुरक्षाको विधि अपनाउँछौं । शव ब्यवस्थापनमा खटिने टोलीहरु अहिलेसम्म कसैलाई पनि कोरोना पोजेटिभ भएको रेकर्ड छैन ।  

शव ब्यवस्थापनमा आवश्यक पर्ने सामाग्री सेनालाई कसले दिन्छ ?

स्वास्थ्य सामाग्री र सुरक्षाको सामाग्री सबै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला विपद ब्यवस्थापन केन्द्र र जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रमार्फत सम्पुर्ण सामान हामीलाई उपलब्ध हुन्छ । यो उपलब्ध भएको सामानले हामी शव ब्यवस्थापन गर्छौ ।  

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अहिलेको अवस्था भनेको संकटको समय हो । यो संकटको समयमा हामी सम्पुर्ण जनताहरु चाही आफै संयम हुनुपर्ने जरुरी देखिएको छ । समुदायमा जनता आफै अनुशासित भएर आ–आफ्नो समुदायमा बस्नुपर्ने देखिएको छ । हामीले डिसिसिएमसीबाट विभिन्न सूचनाहरु जारी गरेर विभिन्न सम्पर्क नम्बरहरु उपलब्ध गराएका छौं । अस्पतालमा अलिकति चाप बढेको जस्तो देखिन्छ, त्यसकारण स्थानीय गाउँपालिका र नगरपािलकाहरुमा तयार गरिएको आइसोलेसन सेन्टरमा पहिले सम्पर्क गर्ने त्यसपछि भएन भने अस्पतालमा आउने गर्नुभयो भने त्यसपछि यो चाप सजिलो भएर जान्छ ।

प्रकाशित: २४ वैशाख २०७८ १८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App