२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्तर्वार्ता

प्रचण्डले नै हामीविरुद्ध सेना परिचालन गराए

एमाओवादीका शक्तिशाली अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु मानिन्छन् मोहन वैद्य। उनकै नैतृत्वमा सञ्चालित माओवादी युद्धबाट खुला राजनीतिमा आएपछि संविधान सभा निर्वाचनमा सहभागी भएको थियो। तर बीचमै वैद्यले नेकपा-माओवादी गठन गरे। चेलाको पार्टी संविधानसभामा जोडदाररुपले सक्रिय हुँदैछ भने गुरुचाहिँ आफूलाई चेलाकै नेतृत्वमा भएको चलखेलले निर्वाचनको ढोका बन्द गरेको दाबी गर्छन्। अध्यक्ष वैद्यसँग विश्वमणि पोखरेल र प्रकाश तिमल्सिनाले गरेको कुराकानीः

भर्खरै सम्पन्न पोलिटब्युरो बैठकको जोड केमा रह्यो ?
जनयुद्धमा संलग्न एउटा हिस्सा बाहिर राखेर संविधान सभाको दोस्रो निर्वाचन गर्ने नौटंकी भइरहेको छ । त्यसको विरोध गर्नेछौं । यो प्रक्रियामा हाम्रो पार्टीलाई पाखा पार्न चाहने भित्र र बाहिरका शक्तिकेन्द्रहरुको भत्र्सना गरिनेछ । यस स्थितिमा सशक्त ढंगले बहिस्कार गर्ने निर्णयलाई जोड दिइएको छ ।

बहिस्कार मात्रै हो कि प्रतिरोध नै गर्ने हो ?
हामी जनतामा जान्छौं । जनतामा गइसकेपछि सबै क्रियाकलापको राजनीतिकरूपमा विरोध र भण्डाफोर गर्छौं । जनतासँग राष्ट्रघाती र जनविरोधी निर्वाचनमा भाग नलिनका लागि अनुरोध गर्छौं ।

पोखराबाट आजसम्म आइपुग्दा केही फरक भएको छ ?
पोखरामा हामीले यथास्थितिमा निर्वाचन बहिस्कार गर्ने र वार्तालाई पनि साथसाथै लाने निर्णय गरेका थियौं । बहिस्कारको गर्ने निर्णय स्वतः जाने नै भइहाल्यो र वार्ता पनि अब यो प्रक्रियामा सकियो । अब अर्को प्रक्रियामा मात्र वार्ता गर्न तयार छौं ।

पार्टी र उम्मेदवारप्रति नेकपा–माओवादीले गर्ने व्यवहार के हुन्छ ?
उमेदवार नउठ्नुहोस् भन्ने अनुरोध गर्छौं ।

पत्र नै लेख्ने कुरा पनि आएको छ नि ?
कतिपय तल्ला कमिटीका साथीहरुले पत्र नै पठाएर अनुरोध गर्ने निर्णय गर्नुभएको छ । त्यो सबैजसो उमेदवारलाई पत्र जान्छ भन्नूस् ।

उमेदवारलाई पत्र पठाउँदा पनि निर्वाचन प्रक्रियामा सहभागी भएमा के गर्नुहुन्छ ?
उहाँहरु पनि निर्वाचन प्रचारप्रसारका लागि निश्चितरूपमा जानुहुन्छ । हामी पनि त्यसको विरुद्ध जनतामाझ जान्छौं ।

लोकतन्त्रमा विरोध र बहिस्कार गर्न पाइन्छ तर प्रतिरोध र बिथोल्न त पाइँदैन नि ?
हामी शान्तिपूर्ण तरिकाले बहिस्कार गर्नेछौं । हामी शान्तिपूर्ण विरोधमा नै जान्छौं । उहाँहरुले हाम्रो शान्तिपूर्ण विरोधलाई कसरी हेर्नुहुन्छ ? कस्तो व्यवहार गर्नुहुन्छ ? त्यसैमा हाम्रो अगाडिको आन्दोलन निर्भर हुन्छ ।

तपाईँले निर्वाचनको बिरोध गर्नु त स्वाभाविक भयो तर तपाईँको पार्टीको बिरोधमा उनीहरु किन आउनुप¥यो र ?
हाम्रो बिरोधमा सिंगो राष्ट्रिय÷अन्तर्राष्ट्रिय दलाल शक्ति आउँछन् । देशलाई फाँसीवादीकरण हुँदै सिक्कमीकरणका लागि आउँदैछन् ।

नेकपा–माओवादीको नजरमा चुनाव बहिस्कार गर्ने पक्षमा जनमत छ कि निर्वाचनको पक्षमा ?
जनमत सबै दल मिलेर संविधान सभा निर्वाचन गराऊन् भन्ने छ । एउटा ठूलो शक्तिलाई पाखा लगाएर निर्वाचनमा जाऊन् भन्ने जनमत छैन । जनताको यही चाहनाविरुद्ध चार दलीय सिन्डिकेट अघि बढेको छ, जनमतलाई उनीहरुले कदर गरेका छैनन् । सबै दल मेलमिलाप गरेर जाऊन् भन्ने नेपाली जनताको भावना र चाहनाविपरित उनीहरु गएका छन् । जुन प्रत्युत्पादक छ ।

माओवादी आफैँ निर्वाचनमा आउन चाहेको छैन, सर्तमाथि सर्त राखेर अलमलाउने काममा मात्रै लागेको छ भन्ने कुरा पनि छ नि ?
यो बिल्कुल गलत कुरा हो । हामी निर्वाचनमा आउन चाहेका थियौं तर दिइएन । देशलाई सिक्किम बनाउने दलालहरुबाट यो कुरा आइरहेको छ । वार्ता प्रक्रियामा पनि त्यो प्रकट भएको थियो । वार्ता दुईपटक उत्कर्षमा पुग्यो । पहिलो वार्तामा गोलमेच सभा गरौंै र त्यहीँबाट समाधान खोजौं भन्नेमा चार प्रमुख दल र माओवादीसहितको ३३ दलबीच सैद्धान्तिक सहमति भइहाल्यो । गोलमेचका लागि स्वाभाविकरूपमा एजेन्डा ल्याउने कुरा भयो तर एजेन्डा पेश गर्नेबित्तिकै सकिँदैन भन्ने भएपछि तुरुन्तै भंग भयो । दोस्रो पटक, राष्ट्रपतिको पहलकदमीमा वार्ता भयो । त्यहाँ हामीले ४ बुँदे प्रस्ताव पेश ग¥यौं र लचकदार भएका कारण त्यसमा लगभग सहमति भइसकेको थियो । त्यहाँ सबै सकारात्मक नै देखिएका थिए । चार बँुदेमा स्वाभाविक अवस्था थिए । तर एक दिन ग्याप राखेर आउने भन्ने कुरा भएको थियो । ग्यापको दिन भारतबाट एक जना सचिव आउनुभयो । नेताहरुले भेटिसकेपछि मंसिर ४ गते नै गर्नुपर्छ भनेर अडान राख्न थाल्नुभयो । लचकतामा हामी पराकाष्ठामा पुगेका थियौं तर उहाँहरुले हामीले निर्वाचन नै चाहेनौं भनेर भन्नुभयो । यो गलत हल्ला हो । निर्वाचन हामीले नचाहेको होइन, हामीलाई ल्याउन उनीहरुले नचाहेका हुन् ।

निर्वाचनमा सहभागी हुने भनेर जानुभएको थियो र ?
निर्वाचनमा सहभागिता जनाउने भनेर इमानदारीपूर्वक नै आएका थियौं तर हाम्रो इमानदारितालाई उहाँहरुले सम्मान गर्नुभएन । ३३ दलको बैठक बसेर, हाम्रो पार्टीको बैठक बसेर निर्वाचनमा जाने भनेर निर्णय गरेका हौं तर हामीले यथास्थितिमा जान्नचाहिँ भनेका हौं । प्रधान न्यायाधीशबाट खिलराज रेग्मीले राजीनामा दिने र निर्वाचनको मिति सार्ने भन्ने कुरा गरेका हौंं किनभने मंसिरमा त हामी सहभागी हुन सक्दैनौं । यो विशुद्ध प्राविधिक कुरा हो । उमेदवार चयन गर्न समय पुग्दैन, पार्टी दर्ता पनि भएको छैन, मतदाता नामावलीमा नाम दर्ता पनि गराएका छैनांै, चुनावी घोषणापत्र लेख्न पनि समय लाग्छ भनेका कारण निर्वाचनमा आउन भ्याउँदैनौं भनेका हौं । यसका निम्ति मिति सार्नुप¥यो भनेर जोड गरेका थियौं । खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिएको भएमात्रै धेरै कुरा मिल्थ्यो ।

तपाईँलाई चुनावमा आउन नदिने मुख्य शक्ति को हो त ?
पहिलो यो घटना किन भयो भन्ने कुरा नै आउँछ । वैदशिक शक्तिकेन्द्रको चासोका कारण यसो भएको हो । भारतबाट सचिव आउनेबित्तिकै सहमति नै भाँडिएको छ, यसले पनि देखाउँछ नि को कति जिम्मेवार छ भनेर ? कांग्रेस÷एमालेलाई के लाग्यो र पारियो भन्दा दुई माओवादी एक हुन्छन् । दुई माओवादी मिलेपछि त हामी बर्बाद हुन्छांै भन्ने प¥यो । उता प्रचण्डजीहरुलाई के रह्योे भने वैद्यहरु चुनावमा आए भने हामी त जित्नै सक्दैनौ, बरु बहिस्कार नै ठिक छ । खास यही कुरा हो, दुवै एक अर्काका प्रति डराएर यति महŒवपूर्ण विषयमा हामीलाई सहभागी गराउन चाहनुभएन । जबकि यी दुवै बुझाई गलत थिए ।

चुनावमा आउने विषय शीर्ष नेताले किन बुझेनन् त ?
म कुनै पार्टीमा केन्द्रित हँुदिन, सबै शीर्ष नेतृत्वमा जान्छु । दोस्रो तहका नेता धेरै सकारात्मक देखिनुहुन्छ, उहाँहरुको महŒवपूर्ण भूमिका नै रह्यो । झलनाथजी असाध्यै नेगेटिभ देखिनुभयो, उहाँको रोल पूरै नेगेटिभ भयो । उहाँ आफँैमा पनि पोजिटिभ गर्न सक्ने मान्छे पनि होइन । हेर्दा इमानदार जस्तो मात्रै लाग्ने । सुशीलजी कुरै नबुझ्ने मान्छे पो हुनुहँुदो रहेछ । जतिखेर पनि उहाँ दुईवटा विषय सरकार र मंसिर ४ गते परिवर्तन नै हुँदैन, अरु कुरा मिलाउँछु मात्र भन्नुहुन्छ । यसमा पनि सबैभन्दा ठूलो जिम्मेवार भनेको प्रचण्डजी नै हो । उहाँलाई एक नम्बरमा नै राख्छौं हामीले, जसले हामीलाई निर्वाचनमा नै भाग लिन दिएनन् ।

कसरी प्रचण्ड जिम्मेवार ?
हामीलाई त सबै थाहा छ किन थाहा नहुनु ? प्रचण्डले नै देशलाई थप संकटमा पारेका हुन् ।

तैपनि जनतालाई भनिदिनुहोस् कि किन प्रचण्ड नै तपाईँहरुप्रति यति धेरै नेगेटिभ किन देखिनुभयो त ?
यिनीहरु निर्वाचनमा आए भने हाम्रो स्थिति कमजोर हुन्छ भन्ने हिसावले नै उहाँले असाध्यै नकारात्मक भूमिका खेल्नुभयो ।

एकीकृत माओवादी र नेकपा–माओवादी फुटेको छैन भन्ने शंका धेरैको छ । यो पार्टी फुटेजस्तो मात्र गरेको हो कि साँच्चै फुटेकै हो ?
यो त राजनीतिको क, ख र ग पनि नबुझ्ने मान्छेले मात्रै शंका गर्ने कुरा हो । मिलेको भए हामी किन फुट्थ्यौं ? राजनीति नै नबुझ्ने मान्छेले यस्तो कुरा गर्छ । हामी मिल्ने भएको भए फुट्थ्यौं र ?

प्रचण्डले त सधैँ एकता हुन्छ, एकता हुन्छ भनेर बोलिरहनुभएको छ त ?
तपाईँले सही प्रश्न गर्नुभयो । हो यहाँनेर कुरा बुझ्न जरुरी छ । उहाँहरुले एकता हुँदैछ भनेर झुटो बोलिरहनुभएको छ । एकता हुँदैछ भनेपछि कांग्रेसले त सहमति गर्न चाहँदैन भन्ने कुरा प्रचण्डजीलाई राम्रोसँग थाहा छ । साँच्चै एकता हुँदैछ भनेर भनेको होइन, कांग्रेस÷एमालेलाई तर्साउनमात्र यो भनिरहेको हो । कांग्रेसले हाम्रो मागलाई सम्बोधन गर्दैछ भन्ने थाहा पाएको बेला मात्रै प्रचण्डजी एकता एकता भन्नुहुन्छ । एकता हुँदैनथ्यो ।

अब एकताको सम्भावना कत्तिको छ ?
अब झन् त्यसको कुनै सम्भावना छैन । उमेदवार तोकेर चुनावमा गइसकेको पार्टीसँग कसरी एकताको सम्भावना हुन्छ ?

प्रचण्डले त एउटै चुनाव चिह्न र झण्डा लिएर चुनावमा जान प्रस्ताव गर्नुभएको थियो, जानुहुन्छ ?
त्यो एकदम ठूलो बदमासी हो । अरु त कुरा छाडौं, सेना परिचालनको प्रस्ताव उहाँले नै राखेको हो । माओवादीलाई दबाएर जानुपर्छ भन्ने उहाँको इच्छा हो । अरु दुईवटा माओवादी मिल्छन् भनेर भन्छन् तर प्रचण्डजी हामीलाई दबाउन सेना परिचालनको प्रस्ताव गर्नुहुन्छ ।

दबाउने हिसाबले नै जानुभएको हो त प्रचण्ड ?
हाम्रो माओवादीलाई दबाउनका निम्ति प्रचण्डजीले सेना परिचालनको प्रस्ताव राख्नुभएको छ । हामीले पाएको सूचना गलत छैन भने प्रचण्डजी नै सेना परिचालनका मुख्य प्रस्तावक हुन् ।

वार्तामा नल्याउने र चुनावमा सहभागी नगराउने प्रचण्ड नै हुन त ?
एकदम । यो त व्यवहारले नै देखिएको कुरा हो, मैले भन्नै पर्दैन ।

त्यसो भए एकता एकता भनेर प्रचण्डको मात्रै भनाई हो ?
खै कुरा बुझेको, के एकता एकतर्फी हुन्छ ? उहाँ त धेरै बाठो मान्छे । भ्रम दिन सिपालु हुनुहुन्छ, चुनावी प्रक्रियामा पनि भ्रम दिन सफल हुनुभयो । कांग्रेस र एमालेलाई बिच्काउनका निम्ति मात्रै एकता भन्नुभएको हो ।

चुनावपछि एमाओवादीको अवस्था के होला ?
भविश्यवाणी त के गरौं ? जनतालाई कुन पार्टी कस्तो छ ? कुन नेता कस्तो छ भन्ने थाहा नै छ तर नौटंकी निर्वाचन भएकाले भविश्यवाणी गर्नचाहिँ गाह«ो छ ।

तपाईँले अन्य पार्टीलाई किन कन्भिन्स गर्न सक्नुभएन ?
एमालेका कुरा गर्नुहुन्छ भने बढी भूमिका खेल्ने भनेको अध्यक्षको नाताले झलनाथजीले नै हो । उहाँ नै नकारात्मक तरिकाले उभिएपछि अरु के लाग्छ ? सुशीलजी मरिकाटे कुरै बुझ्नुहुन्न । कांग्रेस, एमालेका दोस्रो तहका नेता सकारात्मक नै देखिनुभएको हो । माधव नेपाल, नारायणकाजीहरु हाम्रो मागप्रति पोजिटिभ नै हो । दुई माओवादी मिल्छन् भन्ने शंका नहटेपछि कसरी बुझउन सक्छांै त ?

नारायणकाजीले पछिल्लो समय निकै प्रयास गर्नुभएको थियो मिलाउन । तपाईँहरुसँग सल्लाह गरेरै भएको हो ?
उहाँसँग सरसल्लाह भइरहेको छ । वार्ता भंग हुने दिनमा पनि उहाँले वैद्यजीहरुलाई छाडेर निर्वाचनमा जानुहँुदैन भनेर अडान राख्नुभएकै हो । उहाँको भूमिका निकै सकारात्मक थियो तर शीर्ष नेताले उहाँको भनाईप्रति सम्बोधन गर्न सकेनन् ।

पोखराको बहिस्कारको निर्णय, ब्यालेट बक्स फुटाउने क्रियाकलाप, निर्वाचन सामग्री लुटपाट गर्ने काम गरेपछि संविधान सभाको पक्षमा नै माओवादी छैन भन्ने त स्थापित गरायो नि ?
हामीले यथास्थितिमा मात्रै चुनावमा जाँदैनौं भनेका हौं, नयाँ प्रक्रिया सुरु गरेर जान्छांै भनेर पोखरा बैठकबाटै वार्तालाई पनि साथसाथै लैजाने भनेका हांै । प्रतिकात्मकरूपमा बाकस फुटाएका हौं, साँच्चैको बाकस फुटाएका त होइनौं । सक्कली चुनाव हुने भए पो नफुटाउने ? नक्कली भएपछि त फुटाउनैप¥यो नि, कि होइन ? सक्कली बाकस फुटाएको होइन है (हा... हा... हा... ) ।

निर्वाचनमा भाग लिने असल नियत थियो भने किन निर्वाचन आयोगमा पार्टी दर्ता गराउनुभएन त ?
यो गलत कुरा हो । हाम्रो पार्टीले आयोगमा दर्ता गराउने भनेर छलफल गरेकै हो । आयोगमा पनि पार्टी विभाजन भएको औपचारिक पत्र दिएको नै हो । हामीले करिब १ सय सभासद लिएर नयाँ पार्टी गठन गरेका छौं भनेर जानकारी आयोगलाई गराएका पनि हौं । कार्यक्रम र विधान पनि पेश गरेका हौं । हामी निर्वाचनमा नजाने भन्ने कुरा होइन । हामीले के ठान्यौं भने वार्ता हँुदै जान्छ र सफल पनि हुन्छ । निश्चितरूपमा दर्ता गर्न समय हुन्छ । अन्तिम समयसम्म पनि हामी आशावादी थियौं कि अब सहमति हुन्छ । हामी निर्वाचनमा जान्छौं । मंसिरमा चुनाव हँुदैन । मेलापात हुन्छ, चाडपर्व हुन्छ । मौसमले पनि साथ दिँदैन् भन्ने भएपछि चुनाव सर्छ भन्ने लागेको थियो ।

अर्को, सहमति भएको अवस्थामा दर्ता गर्ने, मतदातामा नामावली लेखाउन पाइन्छ भन्ने नै भयो र सहमति नभए त बहिस्कारको कार्यक्रम त छँदै थियो ।

पार्टी दर्ता गर्ने तयारीचाहिँ थियो नै ?
एकदम पार्टी दर्ता गथ्र्याैं । त्यो पार्टीको नाममा पनि हुन सक्थ्यो वा मोर्चा बनाएर पनि जान सक्थ्यौं । सहमति हुन्छ कि हुन्छ भन्ने बेलामा हाम्रो पार्टीमा त्यसबारे छलफल पनि भएको थियो । तर सहमति हुनै सकेन ।

३३ दलीय मोर्चामा कति दल छ ?
मोर्चामा आउने जाने क्रम चल्छ किनकि मोर्चा एजेन्डाले बन्छ र एजेन्डाले टुट्छ । अहिले साना÷ठूला गरेर ४० दल जति छन्। चुनावको माहौल बन्दै जाँदा तपाईँको पार्टीबाट माउ पार्टीमा फर्कनेहरूको नाम पनि सुन्नमा आउन थालेको छ र उनीहरू जनविद्रोहको लाइन ठिक भएन भन्ने आरोप पनि तपार्इँहरूलाई लगाइरहेका छन् । के भन्नुहुन्छ, पार्टी छाडेर गएको अवस्थालाई ? जबकि अहिलेसम्म ८ जना केन्द्रीय सदस्यले तपाईँलाई छाडिसकेका छन् ।

पार्टीमा आउने÷जाने÷छाड्ने भइराखेको हुन्छ । यो अहिलेको घटना होइन । हामीसँग आएका पनि छन् । गएका पनि छन् । यो आउने–जाने कुरामात्र हो । ठ्याक्क चुनावको बेलामा आउजाउ गर्दा त्यस्ता मानिसको चरित्र पनि थाहा हुन्छ । चुनाव एउटा राम्रो अवसर हो, मान्छे आउने÷जाने गर्न । साथीहरूलाई चुनावतिर जान मन लाग्यो, कसैलाई मन्त्री हुन मन लागेको होला, जानुभयो । राजनीतिक खुसीको कुरा हो ।

तपाईँहरूको राजनीतिक दर्शनले त यस्तो चुनावलाई त्यति मान्दैन होइन ? प्रयोगका लागिमात्र चुनावमा जाने÷नजाने कुरा होइन र ?
हाम्रो दर्शनले किन चुनाव नमान्ने ? चुनावबाटै निर्वाचित हुनुपर्छ भन्दा भइहाल्यो । हामी चुनाव मान्दैनांै भन्ने होइन, मान्दछौं । हामीले नमान्ने बिलकुलै होइन । राजनीतिमा धेरै विडम्बना भयो राजनीतिक दलहरूको । अहिलेको चुनावमा विभिन्न शक्तिकेन्द्रहरूले, बुद्धिजीवीहरूले, जनताले नेकपा—माओवादीलाई पनि लिएर जानुपर्छ भनेको होइन र ? हामी पनि लचकदार भएर आएको हो । यो चुनावमा नेकपा माओवादीले यताउता ग¥यो भनेर भन्न मिल्दैन । हामी लचकदार भएर आएका हौं । लगभग सहमति भइसकेको पनि हो । चुनावको मिति त प्राविधिक कुरामात्र हो । पार्टीहरूले संसदवादी व्यवस्थाका मूल्य, मान्यता ध्वस्त पारेका छन् । हामी लोकतन्त्रका कुरा गर्नेहरूलाई चुनौती दिन्छौं, स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरण भन्नेहरूलाई । जनवादी आन्दोलनमा हाम्रो चुनौती हो, संसदवादीहरूलाई । हामी लोकतन्त्रवादी पार्टीहरू हौं भन्ने अनि सरकार बनाउन नसकेर 'हजुर, प्रभु मिलाइदिनुप¥यो भनेर खिलराजजीकोमा जाने ? यिनले पनि आफूलाई पार्टी भन्ने ! हामीले मात्र भनेको हो र खिलराजले न्यायाधीश पदबाट छोड्नुपर्छ भनेर ? बार एसोसिएसन लडेको लड्यै छ, न्यायापालिका र कार्यपालिका प्रमुख एउटै हुनुहुँदैन भनेर । उसले संयुक्त राष्ट्र संघसम्म पनि निवेदन गरेको छ । लाज सरम पचाएका नेताहरू !

खिलराजले न्यायपलिकाबाट राजीनामा दिने र चैतमा चुनाव सार्ने भनेको भए सहमति हुन्थ्यो भन्ने भनाई हो ?
हो त । हाम्रा चार बुँदाबारे संविधानका अन्तर्वस्तुबारे कुरा भइसकेको थियो । गोलमेच सम्मेलनबाट टुंगो लगाउने भनेर मोटामोटी कुराकानी भइसकेको थियो । त्यसले अड्काउने थिएन ।

संयुक्त राष्ट्र संघबाट फर्किएपछि खिलराजजी झन् कुनै हालतमा प्रधान न्यायाधीशबाट राजीनामा नगर्ने बताउँदै हुुनुहुन्छ ? बारको विरोध, बानकी मुनको सबैलाई मिलाएर जाऊँ भन्ने सुझाव भन्दा फरक किसिमले जानुभएको छ । कसरी सहमति हुन्थ्यो भनेर मान्ने ?
यो कुरा हामीले जान्ने होइन । व्यक्तिगतरूपमा खिलराजजीसँग हाम्रो कुनै रिसइबी छैन । खिलराजजी आफँै आउनुभएको पनि होइन । यी चार दल त म हुतिहारा भन्छु, यिनैले, लौ हजुर आउनुप¥यो भनेर भन्न गएका हुन । उनीहरूको काम हो । खिलराजजीले पनि नयाँ राष्ट्रिय सहमतिका नाममा महानता देखाउन सक्नुहुन्थ्यो । अहिलेको अवस्थालाई ध्यानमा राखेर, उहाँ महान् बन्न सक्ने अवस्था थियो । शान्ति प्रक्रियालाई ध्यानमा राखेर उहाँले न्यायाधीश छोड्नुभएको हुन्थ्यो । उहाँ नै प्रधानमन्त्री भइराख्ने अवस्था त छँदै थियो । हामी सुन्दैछौं, अब चार महिनामा प्रधान न्यायाधीशको उहाँको पद सकिँदैछ भनेर । उहाँको पनि के अडान हो ?

एकखाले शंका छ नि । खिलराजले प्रधान न्यायाधीशबाट राजीनामा गरेपछि फेरि नयाँ सरकार गठनमा राजनीति अल्झन्छ ? राजनीतिले अर्को बाटो लिन्छ भनिन्छ नि ?
केको अर्को सरकार ? उहाँकै नेतृत्वमा भनेपछि भइहाल्यो नि । उहाँको नेतृत्व मान्छौं भनेपछि केको नयाँ राजनीतिक कोर्स ? अलिअलि मिलाउँदा हुुने कुरा थियो । हामी लचकदार भएर प्रस्तुत भएका थियौं ।

चुनावमा तपाईँहरूले बागी उठाउने र कतिपय क्षेत्रमा स्वतन्त्र उठाएर सहयोग गर्ने रणनीति छ भनिन्छ । के हो कुरा ?
केको बागी उठाउने ? बागी उठाउने भए चुनाव बहिस्कार भन्ने नै थिएनौं । बिलकुल त्यस्तो कुनै नीति छैन ।

भोटर त चुपचाप बस्दैनन् होला । तपाईँका समर्थकहरू पनि चुनावमा कुनै न कुनैरूपमा सहभागी हुन सक्तैनन् ?
हामीले यसअघि पनि बहिस्कार गरेका छौं । पञ्चायत व्यवस्था पनि बहिस्कार गरेको हो । बहुदलीय व्यवस्थामा पनि बहिस्कार गरेको हो र चुनावमा भाग पनि लिएको हो ।

तपाईँलाई चुनावबाट टाढै रहन चाहने नेता भनिन्छ, हो ?
बिलकुल होइन । पञ्चायतकालमा पनि चुनावमा भाग लिएको हो हामीले २१, २२ सालमा । त्यसबेला कांग्रेस बहिस्कार बसेको थियो । प्युठान, दाङ जिल्लामा हामी लडेकै हौं । २०४६ सालपछि पनि संयुक्त जनमोर्चा बनाएर चुनावमा लडेकै हौ । चुनाव विरोधी हामी होइनौं ।

तपाईँहरूलाई चुनाव बहिस्कार गर्ने अधिकार हुन्छ । बिथोल्ने अधिकार त हुँदैन नि अरुको चुनावमा भाग लिने अधिकारलाई । ब्यालेट बक्स फोडेर प्रदर्शन गर्नुभएको छ । उमेदवार धम्क्याउने काम पनि भएका छन् । त्यस्तो गर्न पाइन्छ ?
कहाँ धम्क्याएको छ ? धम्क्याएको छैन ।

पश्चिममा सभासद्का उमेदवारलाई धम्क्याएको कुरा आयो । चुनावमा भाग नलिन चिठी पठाउँदै हुनुहुन्छ । चिठीमा भाग लिएको अवस्थामा कारबाहीको धम्की पनि होला । आफूले बहिस्कार र विरोध गर्न पाइन्छ लोकतन्त्रमा तर अरुलाई धम्क्याएर बिथोल्न कसरी पाइन्छ र ?
हामीलाई पनि धम्क्याइएको छ । हाम्राविरुद्ध पनि षड्यन्त्र भएका छन् । हामी लिखितरूपमा आग्रह गर्छाैं ।

खासमा आग्रह कि धम्कीको भाषा प्रयोग गर्दै हुनुहुन्छ ?
आग्रहकै भाषा हो । धम्कीको भाषा होइन । हामी विनम्रतापूर्वक लिखितरूपमा आग्रह÷अनुरोध गर्छौं । निर्वाचनमा भाग लिन्न भन्नु पनि लोकतान्त्रिक अधिकार नै हो । हामी लोकतान्त्रिक तरिकाले जान्छौं, उहाँहरू पनि लोकतान्त्रिक तरिकाले आउनुप¥यो ।

उहाँहरू आउनुपर्ने लोकतान्त्रिक तरिका भनेको कस्तो हो ?
त्यो हामीले सिकाउने हो ? हाम्रो बहिस्कारको सम्मान गर्ने । जनताले जे भन्छन्, त्यही गर्ने ।

निर्वाचनको मुखमा तपाईँहरूले दश दिने आमहड्तालको कार्यक्रम राख्नुभएको छ । त्यसले त भिडन्त निम्त्याउँदैन र ?
हामी शान्तिपूर्ण तरिकाले जान्छौं । हामीलाई पनि बन्द गर्ने अधिकार छ । चुनाव नौटंकी भएको हुनाले यसका विरुद्ध हामीले आमहड्ताल राखेका हौं ।

तपाईँहरूबाहेक अरु चुनावमा जाँदैछन् । सरकार गठनलगायत् सबै यो चुनावलाई राजनीतिक निकासको आधार भन्दैछन् दलहरू । जनताबाट अनुमोदन हुने कुरामा तपाईँहरू किन नअटाउनुभएको ?
राजनीतिमा बाध्यात्मक स्थिति कसरी आउँछ ? सुशीलजीले धेरै ठाउँमा बाध्यता भन्नुभयो । बाध्यता कसरी आयो ? दलहरू हुँदाहुँदै किन प्रधान न्यायाधीश ? हामीसँग किन सल्लाह भएन ? के चार दलीय सिन्डिकेटमात्र हो । विगतको संविधान सभा चुनावको आधारमा बहुमत÷अल्पमत भन्नुहुन्छ भने हामीसँग ९० देखि १०० को हाराहारीमा सभासद् छन् । के आधारमा कसरी सहमति गर्नुभयो ? हाम्रो चुनौती हो । यो निर्वाचनका लागि हाम्रो ठाडो चुनौती हो । यसले जनताको संविधान बनाउँदैन ।

सय जना सभासद्को कुरा गर्नुहुन्छ । ११ जना सभासद् भएका विजय गच्छदार जत्तिको प्रभाव पनि छैन त तपाईँको १०० जना सभासद् भएको पार्टीको । किन यस्तो ? समीक्षा भएको छ ?
देशभक्त र दलालको फरक त्यही हो । हामी देशभक्त हौं । वैदेशिक प्रतिक्रियावाद पनि हामीविरुद्ध छ । यहाँका दलाल पनि हाम्रोविरुद्ध छन् । मुख्य कारण यही हो ।

एकीकृत माओवादी सेना परिचालन गर्नेलगायत्का काम गरेर तपाईँहरूविरुद्ध लागिरहेको अवस्था होइन ?
डरलाग्दो अवस्था छ । हामी झुक्दैनौं । संसदीय व्यवस्थाको मूल्य÷मान्यता कहाँ राख्नुभयो ? हाम्रो प्रश्न यही हो । लोकतन्त्रको मूल्य÷मान्यता कहाँ बाँकी राख्नुभयो । लोकतन्त्रको मूल्य र मान्यताअनुसार आएको भए हामीलाई गाह«ो हुन्थ्यो । लोकतान्त्रिक मूल्य÷मान्यता छैन । संविधान संशोधन किन गर्नुभयो ? त्यत्तिकै संविधान संशोधन गर्न पाइन्छ ? कसले अधिकार दियो संविधान संशोधन गर्न ? कानुनी, संवैधानिक हिसावले गर्नुप¥यो । सम्पूर्ण मूल्य÷मान्यता ध्वस्त पार्दै जाने अनि हामीले मान्नुपर्छ भन्ने कहाँ छ ?

विगत संविधान सभामा पनि तपाईँका अडान थिए, जनवादी संविधान भन्ने कुरा गर्नुहुन्थ्यो र सभासद पद पनि त्याग्नुभएको पृष्ठभूमिमा तपाईँबाट के अपेक्षा गर्ने ?
सबैका आफ्ना अडान हुँदैनन् र ? कांग्रेसका पनि अडान छन् । हाम्रो पनि अडान छ । अडान छन् त्यसैले संविधान सभा चुनावबाट जाऔं भनेको हो ।

कांग्रेस, एमाले, एकीकृत माओवादीमाथि विदेशी हात छ भन्नुहुन्छ । तपाईँको पार्टीमा पनि चुनावमा आउन नदिने पक्ष छ नि ?
छैन, त्यस्तो छैन । हाम्रो पोलिटब्युरो बैठकबाट निर्णय गरेका हौं । हामीले पोलिटब्युरोबाटै लचकतापूर्वक प्रस्तुत हुने कुरा भएको हो ।

विप्लव चुनावको विरोधमा, अरुचाहिँ अलिक भिन्न भनिन्छ नि ? तपाई आफैँ अप्ठेरोमा हुनुहुन्छ रे नि ?
होइन । पार्टीमा त्यस्तो छैन । दुष्प्रचार गर्ने धूनमात्र हो यो ।

पोखरा भेलालाई पोलिटब्युरोले काट्न सक्छ ?
पोखरा भेलामा यथास्थितिमा चुनावमा जाँदैनौ भन्ने हो । हामीले पोलिटब्युरोबाट ४ बुँदे निर्णय ग¥यौं । हाम्रो मुख्य मुद्दा ४ बुँदे हो । पहिले १८ बुँदे हो । त्यसैबाट ४ बुँदा निकालिएको हो ।

चुनावका बेलाको आमहड्तालमा केही पुनरावलोकन हुन्छ कि ?
यो कुरा अहिले छाडौं । हेर्दै जाऔं । यही प्रक्रियामा फेरि तपाईँहरू आउनुहोस् भनिन्छ कि ? सम्भावना त सकिएको छैन । मैले सबैथोक सकियो भनेर भनेको छैन ।

प्रकाशित: १७ आश्विन २०७० २३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App