१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

वायु प्रदूषणले बच्चा र वृद्धवृद्धा जोखिममाः डा दिपेश कार्की (अन्तर्वार्ता)

डा दिपेश कार्की, फिजिसियन, फिस्टेल अस्पताल, पोखरा

वायु प्रदूषणले गर्दा पर्यटकीय सहर पोखरा पछिल्लो केहीदिनदेखि धुम्म छ । बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा ड्याम्मै छेकिएका छन् । प्रदूषणकै कारण स्वास्थ्यमा असर पर्न थालेको गुनासो पोखरेलीको छ । जल तथा मौसम विज्ञान कार्यालयले पनि पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको बताएको छ । त्यसबाहेक यही प्रदूषित वायुका कारण अस्पतालमा बिरामी पनि थपिन थालेका छन् । चिकित्सकहरुले पनि वायु प्रदूषणले मानव स्वास्थ्यमा हानी गर्ने बताईरहेका छन् । यही सन्दर्भमा वायु प्रदूषणको असर र त्यसले मानव स्वास्थ्यमा पार्ने जोखिम तथा जोगिने उपायबारे फिस्टेल अस्पतालका फिजिसियन डा. दिपेश कार्कीसँग नागरिककर्मी सन्तोष पोखरेलले गरेको कुराकानीः

पोखरा अहिले तुवाँलोले छोपिएको छ । यो तुवाँलोले मान्छेको स्वास्थ्यमा के कस्तो असर गर्छ ?

तुवाँलोले मान्छेको स्वास्थ्यमा दीर्घकालिन समस्या पार्ने हो । बसन्त ऋतुको आगमनसँगै नेपालका विभिन्न जंगलमा डढेलो लाग्ने गर्छ । त्यसको धुँवासँगै त्यहाँ पहिल्यै रहेको ग्यास, धुलो र प्रदूषणसँग मिसिँदा त्यसले मानव स्वास्थमा असर पार्ने हो । यसले दुईथरि असर पार्छ, एउटा हो, उत्तिखेरै देखिने असर पनि रहन्छ । विशेषगरि बुढाबुढी र बालबालिकाको स्वास्थ्यमा यसले नराम्रो असर पार्छ । एलर्जी हुने बच्चालाई त झनै समस्या पार्छ । आँखाको एलर्जी हुने, बच्चाको स्वास प्रश्वासवमा पनि समस्या पार्न सक्छ । त्यस्तै वृद्धवृद्धाको फोक्सोमा पनि असर पार्छ । वायु गुणस्तर सुचकांक (एयर क्वालिटि इन्डेक्स) नराम्रो हुँदा लामो समय असर पार्छ ।  हामी बसेको क्षेत्रमा कस्तो किसिमको ग्यास छ भन्नेमा पनि भर पर्छ । तर यस्तो प्रदूषणले फोक्सोको क्यान्सर, मुटु र दमको समस्या निम्त्याउन सक्छ ।  

यो तुवाँलोमा के हुन्छ, जसले हाम्रो स्वास्थ्यलाई हानी गरेको हुन्छ ?  

तुवाँलोमा हुने धुँवा हो । डढेलो लाग्दा यो बेला निस्क्नछ । वनस्पति सुकेको हुन्छ, त्यो जलाउँदा पनि धुँवा निस्कन्छ । त्यसमा केही धुलो पनि मिसिएको हुन्छ । चैत बैशाखमा हुरी लाग्दा धुलो उड्छ र त्यो पनि मिसिन्छ । उद्योग र सवारीबाट निस्केको धुँवा पनि मिसिन्छ । अहिले धुलो, ढडेलो बाट निस्केको र स्थानीय ग्यास मिसिएको छ, जुन मानव स्वास्थ्यका लागि हानीकारक छ ।  

ग्यासमा के के मिसिएको हुन्छ र त्यसले हानी गर्ने हो    

यस्तो प्रदूषित वायुमण्डलमा कार्बन मोनोअक्साइड हुनसक्छ । कार्वनडाईअक्साइड हुन सक्छ । हाइड्रोजन सल्फाइट हुन सक्छ । यी सबै किसिमका ग्यास हुन्छन्, जसले मानव स्वास्थ्यमा असर पार्छ ।  

यस्तो वायु प्रदूषणबाट जोगिन के गर्ने ?  

प्रदूषणबाट जोगिनबाट तीन फरक तरिका अपनाउन सकिन्छ । पहिलो कुरा आफैले पनि प्रयास गर्नुपर्छ । त्यसका लागि अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कने हुन्छ । बालबालिका र वृद्धवृद्धालाई सकेसम्म घरबाहिर निस्कन दिनुहुँदैन । दोश्रोमा घरबाहिर निस्कदा मास्कको प्रयोग गर्नुपर्छ । मास्कले कोरोनाबाट बच्न र तुँवालोबाट पनि बच्न सकिन्छ । त्यस्तै समुदायबाट पनि पहल हुनुपर्छ । समुदायले यो बेला वनमा डढेलो लगाउन रोक्नुपर्छ । यो बेला पिकनिक जाने काम गर्नुहुँदैन । पिकनिक गएर आगो खुला छाड्दा त्यसले आगलागी निम्त्याउन सक्छ । डढेलो नियन्त्रणमा समुदायको भूमिका हुनुपर्छ । त्यसैगरि निजी साधनले प्रदुषित धुँवा पालेको खण्डमा बेलाबेला मर्मतसम्भार गर्न सकिन्छ । त्यसबाहेक सरकारले पनि वैकल्पिक उर्जाका लागि प्राथमिकता दिनुपर्छ । विद्युतीय सवारी संचालनमा प्रोत्साहन दिनुपर्छ । पछिल्लो समय विद्युतीय सवारीलाई हतोत्साही गराइएको छ । विद्युतीय र सौर्य उर्जालाई प्राथमिकता दिनुपर्छ । अब पुराना साधनलाई संचालन गर्न दिनु हुँदैन । अटेर गर्ने मान्छेलाई कारवाहि पनि गर्न सकिन्छ ।  

उमेर कम भएको व्यक्तिलाई असरै नगर्ने भन्ने त होइन नी ?  

होइन, जो कोहीलाई पनि यसले असर गर्छ । पछिल्लो तीनदिनभित्र यस्तो समस्या बढेको छ । अरु वर्गलाई असरै नगर्ने भन्ने होइन, तर बच्चा र वृद्धवृद्धालाई बढी असर पार्छ । उनीहरुको ज्यान समेत जान सक्ने जोखिम हुन्छ ।  

पोखरामा पछिल्लो समय यस्तो समस्याका बिरामी बढेका हुन त ?  

मेरो अनुभवमा पोखरामा अहिले यस्तो खालको समस्या लिएर आउने बिरामी बढेका छन् । दमका बिरामी बढेका छन् । एलर्जी र धुवाँधुलोका कारण हुने दमको समस्या बढेको छ । धुँवाको समस्याले पारेको अप्ठेरोका बिरामी बढेका छन् । भर्ना भएका बिरामी पनि बढिरहेका छन् ।  

पोखरा सुन्दर र स्वच्छ सहर भनिन्थ्यो । के अब पोखरा पनि वायु प्रदूषणका हिसाबले खराब हुँदै गएको हो ?  

ठ्याक्कै त्यस्तो भन्न सकिने अवस्था त छैन । तर, पछिल्लो समय पोखरामा तिब्रगतिमा सहरीकरण बढिरहेको छ । पहिला हरियाली भएको ठाउँमा अहिले कंंक्रिट जंगल बनिसकेको छ । वर्षेनी गाडी पनि थपिएका छन् । पहिला भन्दा बढेको चाँही हो । बेलैमा वर्षा नहुँदा पनि यस्तो समस्या बढेको हो । पहिला पहिला यो बेला वर्षा बढी हुने र हावाहुरी चल्न हुँदा यो समस्या कम हुन्थ्यो । तर, अहिले हावाहुरी र वर्षा पनि एकसातादेखि भएको छैन । हावाहुरी र पानीले वायुमण्डल थिग्रिन पाउँथ्यो र वातावरणमा सुधार हुन्थ्यो । तर अहिले मानवीय गतिविधि बढ्दै गएर आगलागी थपिएका छन् । त्यसैमा पानी पनि नपर्ने र हावाहुरी पनि नचल्दा बढी समस्या भएको हो ।  

सरकारले वायु प्रदूषण बढेको भन्दै सचेत हुन भनेको छ । तर, यहाँ विद्यालय, बजार सबै खुलेका छन् । यस्तो बेलामा के गर्नुपर्ने हो ?

वायु प्रदूषणबाट बढि प्रभावित हुने भनेको बालबालिका र वृद्धवृद्धा हुन् । यस्तो बेलामा घरबाहिरका गतिविधि कम गर्नुपर्छ । सकिन्छ भने यो बेला विद्यालय रोक्नुपर्छ । मौसममा सुधार नआउन्जेल विद्यालय संचालन रोक्न सकिन्छ । वृद्धवृद्धालाई घरबाहिर ननिस्कन भनेर चेतना जगाउन जरुरी छ ।  

 

प्रकाशित: १६ चैत्र २०७७ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App