१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’

न्यून शुल्कमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका-७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै गएको हो।

प्रारम्भमा प्रतिमहिना रु १०० शुल्कमा अङ्ग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस विद्यालयले कोभिड–१९ महामारीपछि सञ्चालन खर्च धान्न कठिन भएपछि शुल्कमा सामान्य वृद्धि गरेको जनाएको छ।

हाल सबै कक्षाका विद्यार्थीबाट प्रतिमहिना रु ७०० शुल्क लिइँदै आएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले जानकारी दिए। उनका अनुसार सबै कक्षामा समान शुल्क व्यवस्था गरिएको छ।

“समता स्कुलले सुरुमा रु १०० मै शिक्षा प्रदान गर्दै आएको थियो”, प्रधानाध्यापक पाण्डेले भने, “कोभिडपछि संस्थापक तहबाट आवश्यक बजेट व्यवस्थापन हुन नसक्ने अवस्था आएपछि सामान्य शुल्क लिएर विद्यालय सञ्चालन गर्नुपरेको हो।”

‘सबैका लागि शिक्षा’ भन्ने नारासहित विसं २०७५ मा ७५ विद्यार्थी र आठ शिक्षक–कर्मचारीबाट सञ्चालन गरिएको यस विद्यालयमा हाल ३४३ विद्यार्थी छन्। विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको छ। आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानकाअनुसार समता स्कुलले सुलभ शुल्कमा गुणस्तरीय अङ्ग्रेजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ। विद्यार्थीको चाप बढ्दै गएपछि प्रवेश परीक्षा मार्फत भर्ना लिने व्यवस्था गरिएको उनले बताए। हाल विद्यालय १२ रोपनी जग्गा भाडामा लिएर सञ्चालन भइरहेको छ।

“समता स्कुलप्रति विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको छ”, अध्यक्ष प्रधानले भने, “विद्यार्थी सङ्ख्या बढेसँगै प्रवेश परीक्षा प्रणाली लागू गरेका हौं, हामी नाफारहित नीति अनुसार विद्यालय सञ्चालन गरिरहेका छौं।”

सरकारी विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र निजी विद्यालयको महँगो शुल्कका कारण समता विद्यालयप्रति आकर्षण बढेको उनको भनाइ छ। विद्यालयले जेहेन्दार, गरिब तथा विपन्न, दलित र अल्पसङ्ख्यक समुदायका बालबालिकालाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था समेत गरेको छ।

प्रकाशित: २८ पुस २०८२ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App