८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

कांग्रेस सकृय सदस्यता वितरण : आन्तरिक खिचातानीले केही अप्ठ्यारो

नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिबेशनको तयारीमा जुटेको छ । महाधिबेशनका लागि पहिलो अपरिहार्य बिषय सकृय सदस्यता टुंग्याउन अहिले कांग्रेस सकृय छ । सकृय सदस्य छानविन समिति निर्माण गरेर यो बिषयको टुंगो लगाउन जुटेको कांग्रेसले अहिले सम्म सकृय सदस्यता संकलनको काममा अपेक्षाकृत उपलब्धी हाँसिल गर्न सकेको भने छैन । जिल्लागत रुपमा देखिएका बिभिन्न विवादका कारण साधारण सदस्यताको अपडेट सुस्त बनेको छ । यसै बिषयमा रहेर कांग्रेसको सकृय सदस्यता छानविन समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीसंग नागरिकर्मी देवेन्द्र बस्नेतले कुराकानी गरेका छन् ।  

कांग्रेसको सकृय सदस्यता छानबिन समितिले अहिले के गरिरहेको छ ?  

पार्टीले निर्दिष्ट गरेको जिम्मेवारी अनुसार यो समितिले सकृय सदस्यहरुता संकलनको काम गरिरहेको छ । अहिले जिल्लाहरुगत रुपमा सकृय सदस्यको अपडेट गरिरहेका छौँ । महाधिवेशनको मुल बिषय भनेकै सकृय सदस्य अपडेट नै हो । तर अपेक्षाकृत ढंगले अपडेट हुन सकिरहेको छैन । अहिले सम्म देशभरका जिल्ला मध्य ६२ जिल्लाले काम सुरु गरेका छन् । कांग्रेसको नयाँ र पुरानो गरि १० लाख सकृय सदस्य संख्या अपडेट गर्नुपर्ने हुन्छ । तर अहिले सम्म तीन लाख मात्रैको अपडेट भएको छ । यो तीन लाख मध्य पुरानो तर्फ १ लाख ६५ हजार ९ सय ६ जना अर्थात ५४ प्रतिसत र नयाँ तर्फ १ लाख ३७ हजार ३ सय ४१ जना अर्थात ४४ प्रतिसत अपडेट भएको छ । नयाँ र पुरानो गरि अँझै ७ लाख संख्या अपडेट हुन बाँकी छ । र जिल्लागत रुपमा हेर्दा अहिले सम्म तीन जिल्लाले मात्रै सदस्यताको टुंगो लगाएका छन् भने बाँकी सबै जिल्लाहरुले यो काम टुंग्याउन सकेका छैनन् । र समग्रमा भन्दा पहाडी क्षेत्र भन्दा तराई क्षेत्रमा समस्या बढि देखिएको छ ।  

चैत १० गते सम्म टुंगिनु पर्ने सकृय सदस्यता संकलनको काम यो अवधि सम्म सकिएला त ?  

निर्धारित समयमा आउला भन्ने जस्तो लाग्दैन । तीस जिल्लाले अहिले सम्म अपेक्षाकृत काम गर्न सकेका छैनन् । ति जिल्लाहरुलाई हामीहरुले विशेष रुपमा लिएका छौँ । यि जिल्लाहरुमा केहि बिबाद वा समायोजन सम्बन्धी समस्या देखिएका छन् । यो समस्या समाधानका लागि हामीहरुले पहल गरिरहेका छौँ । र अहिले सम्मको जिल्लागत अपडेटको प्रकृयालाई हेर्ने हो भने निर्धारित समय सम्म सबै जिल्लाबाट सकृय सदस्यताको अपडेट आईपुग्ने देखिँदैन । फलतः समय थप अन्तिम बिकल्पनै हो । हामीहरुले अब बस्ने केन्द्रीय समिति बैठकमा यो बिषयबारे जानकारी गराउँने छौँ । र एक हप्ताको अवधि थप भएको खण्डमा निर्धारित संख्याको अपडेट हुने छ भन्ने हाम्रो विश्वास छ । तर हेरौँ केन्द्रीय समितिले कति दिनको समय थप गर्छ ।

जिल्लाबाट सकृय सदस्यताको विवरण नआउनुको कारण के रहेछ ? 

जहिले पनि कांग्रेसको महाधिवेशन नहुनुको पछाडीको दोष केन्द्रीय नेतृत्वलाई दिईयो । सभापति शेरबहादुर देउबाले महाधिवेशन गर्न नचाहेको र बरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वका लागि आँफू अनुकुलको वातावरण नबने सम्म महाधिवेशन नचाहने भनेर आरोप लगाईए । तर यो आरोप गलत हो भन्ने अहिले सावित भएको छ । पहिलो कुरा त , पार्टीको महाधिवेशन फेरी पनि सर्छ, निर्धारित मितिमा हुनै सक्दैन भन्ने भ्रमले जरा गाडेर बसेको पाईयो । तर बैधानिकत : कांग्रेसले अब महाधिवेशनको मिति सार्न पाउने छैन भन्ने कुराको बोध हुन आवश्यक देखिन्छ । अनि अर्को कुरा भनेको पार्टीभित्रका अनेकन बिबाद अनि समायोजनको सकस देखिएको छ । जस्तो कि डोल्पा जिल्लामा पार्टी सभापतिले एकलौटी ढंगले काम गरेको भनेर अर्को समुहले बिरोध गरिरहेको छ । सभापतिले एकलौटी ढंगबाट सकृय सदस्यता वितरण गरेको भनेर उहाँ माथि आरोप लागेको छ । यसैगरि बाँकेमा पार्टीभित्रको आन्तरिक समायोजनको काम बाँकी नै छ । यसैगरि तत्कालीन फोरम लोकतान्त्रीकसंगको समायोजन प्रकृया पनि हुन नसकेकाले यसले पनि समस्या पारेको छ । बर्दियामा पनि फोरम लोकतान्त्रीकसंगको समायोजनाको समस्या छ । काभ्रेमा पनि यो समस्या छ । यि लगाएत अन्य जिल्लाहरुमा पनि समायोजन तथा पार्टी भित्रको आन्तरिक बिबादका कारण सकृय सदस्यताको बिषय जटिल बनेको छ । आफ्नो प्रभाव पार्नका लागि सदस्यता वितरणमा पारदर्शिता नहुनु कांग्रेसको सकृय सदस्यता वितरणको समस्या देखिदै आएको छ ।  

यि विवादले कांग्रेसको महाधिबेशनलाई प्रभावित पार्दैनन् त ? 

पक्कै पनि अहिले जिल्लागत रुपमा देखिएका विविध समस्यालाई हेर्ने हो भने कतै महाधिवेशनको कार्यतालिक फेरी परिवर्तन हुने त हैन ? भन्ने जस्तो पनि देखिन्छ । तर महाधिवेशन त निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिती कांग्रेसका सामु हो नि । नत्र पार्टीको बैधानिकता नै गुम्ने छ । यसर्थ यि समस्याहरुलाई समाधान नै अन्तिम बिकल्प हो । र मलाई लाग्दैन, जिल्लागत रुपमा देखिएका समस्याहरु धेरै जटिल प्रकृतिका हुन् । यि समस्या समाधानका लागि पहल कदमी थालिनु पर्छ र यि समस्या हप्ता दिनभित्रै समाधान हुन्छन् भन्ने मलाई लाग्छ । हप्ता दिन भित्रै समस्या समाधान भई सकृय सदस्यताको अपडेट सबै जिल्लाबाट हुन सक्यो भने त महाधिवेशनलाई प्रभावित पार्दैन ।

कसले भूमिका खेल्ने त समस्याको गाँठो फुकाउन ?  

विवादहरु केहि जिल्ला तहकै साथीहरुले समाधान गर्ने खालका छन् । जिल्लामा रहेका केन्द्रीय सदस्यहरु बसेर जिल्लाबाटै समस्या समाधान निकाल्न सकिने खालका सामान्य विवादहरु छन् । फलतः यस्ता सामान्य विवाद रहेका जिल्लाहरुमा त्यहि जिल्लाका केन्द्रीय सदस्यहरुसंग परामर्श हामीहरुले गरिरहेका पनि छौँ । बिबाद समाधानका लागि तपाईहरुले भूमिका खेल्नुस् भनेर उहाँहरुलाई आग्रह गरेका छौँ । र केहि समस्याहरु जिल्लागत रुपमा हुने छलफलबाट नटुंगिने खालका पनि छन् । यस्ता अलि जटिल  खालका समस्याहरुमा केन्द्रीय नेतृत्वले पहल कदमी लिनु पर्ने हुन्छ । जस्तो बर्दिया जिल्लाको कुरा गर्दा तत्कालीन फोरम लोकतान्त्रीकबाट आएकाहरु कति जना जाने ? यो समायोजनको बिषय केन्द्रले नै टुंग्याउने बिषय हो । हामीहरुले यि समस्या र समाधानका उपायका बारेमा पनि केन्द्रीय समितिलाई अवगत गराउने छौँ । तत्पश्चात केन्द्रीय समितिले यसका लागि पहल गर्यो भने समस्या समाधनका लागि समय लाग्ने छैन ।

सकृय सदस्यता वितरणमै समस्या देखिने, जस्तो कि आफ्नाहरुलाई मात्रै केन्द्रमा राख्ने समस्या पनि छ है कांग्रेसमा ?  

पहिलेको तुलनामा अहिले धेरै सुधार भएको मान्नु पर्छ । पहिला सकृय सदस्यताको सबै अधिकार जिल्ला सभापतिलाई थियो । सभापतिले कोठामै बसेर सकृय सदस्यताको सूचि तयार पार्ने र त्यसैलाई टुंगो लगाउने प्रबृत्ति थियो । तर अहिले सभापति माथिको एकलौटी अधिकार खोसिएको छ । त्यो अधिकार वडा समिति माथि छ । यसर्थ वडाकै साथीहरुले छलफल गरेर सकृय सदस्यताको टुंगो लगाउने भएकाले अहिले पहिलेको जस्तो समस्या छैन । तर, यो समस्या हुँदै नभएको भन्न पनि निमल्ला । जिल्ला तहका नेताहरुले वडामा आफ्नो प्रभाव राख्न सक्छन् र वडा तहकै नेतालाई पकडेर जान सक्छन् । तर पहिलेको जस्तो सकृय सदस्यता वितरणमा एकलौटी हुने समस्या चाहिँ अहिले छैन ।

सदस्यता विवरण आईसकेपछि छानविन समितिले कुनकुन बिषयमाथि छानबिन गर्ने हो ?  

कांग्रेसको पुरानो सकृय सदस्यता संख्या झण्डै ५ लाख हो । सतप्रतिसत सदस्यता संख्या बढाउने नीति अनुरुप अब कांग्रेसका थप पाँच लाख सकृय सदस्य थपिने छन् । यसरी कांग्रेसका नयाँ र पुराना गरि १० लाख सदस्यहरुको विवरण आईसकेपछि ति विवरण माथिको छानबिन यो समितिले गर्ने छ । जस्तो कि जिल्लाबाट आएका कुनै पनि सकृय सदस्य उपर उजुरी पर्न सक्छ । कांग्रेसमा योगदानै नगरेकालाई पार्टीको सकृय सदस्यता दिईएको भनेर उजुरी पर्न सक्ला । या वडाको सिफारीस बिनै सिफारीस आउन सक्लान् र त्यस्ताका विरुद्ध पनि उजुरी पर्ला । समग्रमा भन्दा खेरि सकृय सदस्यका रुपमा सिफारीस हुने जो कोहिका बारेमा आउन सक्ने उजुरीको छानबिन हामीले गर्ने हो । उनिहरु माथि लगाईएको आरोप सहि वा गलत के हो ? उजुरी परेका ब्यक्ति सकृय सदस्यताका लागि  योग्य उम्मेदवार हुन वा हैनन् भन्ने बिषयको छानविन गरेर निक्र्यौल गर्ने काम यो समितिले गर्छ ।

प्रकाशित: ६ चैत्र २०७७ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App