coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘कम्युनिष्टले सत्ता चलाउन सकेनन्, अब हामी नेतृत्व लिन्छौं’

सर्वोच्च अदालतले नेकपालाई पुरानै अवस्थामा फर्काएपछि केन्द्रदेखि प्रदेशसम्म राजनीतिक उथलपुथल सुरु भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा २० जना नेकपा एमालेका सांसद छन् भने माओवादी केन्द्रका १३ जना छन् । नेपाली कांग्रेसका छ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद प्रदेशसभा छन् । माओवादी केन्द्रबाट निर्वाचित दैलेखबाट प्रतिनिधित्व गर्ने धर्मराज रेग्मीलाई शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएका छन् भने सुर्खेतबाट निर्वाचित ठम्मर विष्टलाई केन्द्रीय सदस्य बनाएका छन् । माओवादी केन्द्रका सांसदको संख्या घटेर ११ पुग्ने अवस्था छ । अहिलेको राजनीतिक, प्रदेश सरकारको भविश्यक र कांग्रेसको भूमिकाका विषयमा केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीसँग नागरिककर्मी नगेन्द्र उपाध्यायले गरेको कुराकानीको संक्षेप :

अहिलेको राजनीतिक उथलपुथललाई नेपाली कांग्रेसले कसरी हेरिरहेको छ ?

केन्द्रदेखि प्रदेशसम्मको राजनीतिक उथलपुथललाई कांग्रेसले नजिकबाट नियाली रहेको छ । पुस ५ गते यताको राजनीतिक परिवर्तनलाई कांग्रेसले परिपक्वताकासाथ नेतृत्व गर्‍यो । अहिले कांग्रेसको काँधमा संविधानलाई जोगाउँदै देशलाई डरलाग्दो दुर्घटनाबाट जोगाउने जिम्मेवारी आइलागेको छ । अहिलेको राजनीतिक उथलपुथललाई सही दिशाबाट ल्याउने भूमिका कांग्रेसले नेतृत्व गर्छ ।  

कर्णाली प्रदेशमा सरकार परिवर्तनको संभावना कत्तिको छ ?

कर्णालीमा सरकार परिवर्तन स्वभाविक छ । कर्णाली प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १३ जना सांसद मध्ये दुई जनाले दल त्याग गरिसकेको अवस्था छ । एमालेमा पनि अहिले समस्या छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सबैको पद खोसेपछि उनीहरुबीच पनि द्वन्द्व छ । उनीहरु दलीय हिसावले एउटै भएपनि सँगै रहने अवस्था देखिँदैन् । कर्णाली प्रदेशमा केपी ओली पक्षका भन्दा पनि माधव पक्षका सांसदहरु धेरै छन् । त्यसको प्रभाव पनि नेतृत्व परिवर्तनमा देखिने अवस्था छ । अव केन्द्रीय राजनीतिले स्थायीत्व लिएपछि प्रदेश सरकार र संरचना परिवर्तन हुन्छ भन्ने लागेको छ ।  

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित दुई जना सांसद नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । प्रदेशसभामा सांसद संख्या ४० बाट घटेर ३८ पुगेको अवस्था छ । यो तथ्याङ्कलाई हेर्दा नेकपा एमालेको सरकार बन्ने संभावना देखिन्छ नि ?

अहिलेको तथ्याङ्क हेर्दा नेकपा एमाले दलीय हिसावले बहुमतमा देखिन्छ । तर नेकपा एमालेभित्रै ठूलो समस्या छ । २० जना मध्ये ११ जना माधव नेपाल पक्षका नेताहरु छन् । केन्द्रको पार्टी राजनीतिको प्रभाव कर्णालीमा स्वभावैले देखिन्छ । अहिलेनै तपाईँले भनेजस्तै सहजै एमालेको सरकार बन्ने अवस्था छैन् ।

त्यसो भए राष्ट्रपति शासन लाग्ने र निर्वाचनमा जाने संभावना कत्तिको देख्नुहुन्छ ?

राष्ट्रपति शासन लागू हुने अवस्था म देख्दिन् । तर, पनि यो देशमा असंभव भन्ने केही छैन । राष्ट्रपति शासन लागू हुने भन्दा पनि निर्वाचनमा जाने संभावना धेरै देखिन्छ । संघमा प्रधानमन्त्री बन्ने जुन प्रावधान छ, मुख्यमन्त्रीको पनि त्यहीँ प्रावधान हो । कर्णालीमा राष्ट्रपति शासन लाग्ने र समयअघिनै निर्वाचन हुने भन्दा पनि कर्णालीमा मिलिजुली सरकार बन्ने संभावना धेरै छ ।

अव कांग्रेसको भूमिका के हुन्छ ?

अहिले हामी पर्ख र हेरको अवस्थामा छौं । परिवेश, परिस्थिति कस्तो ढंगले आउँछ, त्यसैका आधारमा हामी अघि बढ्छौं । हिजोको र आजको अवस्था फरक छ । हिजोसम्मको परिवेश हेर्दा कांग्रेस र एमाले मिलेर सरकार बन्ने अवस्था थियो । अहिले त्यो अवस्था पनि तत्काल देखिँदैन् । हाम्रो अहिलेको भूमिका भनेकोनै कुर्ने र हेर्ने हो । अन्तिम अवस्था कस्तो आउँछ, त्यसैलाई मध्यनजर गर्ने हो ।

कांग्रेस अहिले नेकपा एमाले र माओवादी केन्द्रसँग नियमित छलफलमा रहेको सुनिन्छ । छलफल कतातिर गइरहेको छ ?  

कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दलको हैसियतले दुई दल नेकपा एमाले र माओवादी केन्द्रसँग नियमित छलफलमा छौं । राजनीति भनेकै सत्ताकै लागि हो । सत्तामा गएर देश र जनताका लागि भलाई र सेवा गर्ने कामका लागि जाने हो । मौका र जिम्मेवारी आउँदा अघाडी नबढ्ने भन्ने कुरा रहेन् । अहिले प्रदेशको शासन सत्ता राम्रो गर्ने भन्दा पनि सत्ता हत्याउने भन्नेमा मात्रै छ । दुबै पक्षले हामीसँग सहयोग मागिरहेका छन् । बहुमतले मात्रै यहाँ केही हुने देखिँदैन् । अव सत्ता भन्दा पनि प्रदेश बनाउने कुरामा सोच्नुपर्छ । अहिलेको सरकारलाई पनि कांग्रेसले रचनात्मक ढंगले सहयोग र विरोध गरिरहेको हो । कम्युनिष्टको नेतृत्वमा सत्ता सञ्चालनमा समस्या देखियो अव हामी नेतृत्व गछौं भनिरहेका छौं ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App