कोभिड–१९ ले थला परेको पर्यटनलाई पुर्नजीवन दिन पर्यटनकर्मीहरू जुर्मुराएका छन्। लकडाउन खोलेर आर्थिक चहलपहल बढाउनु पर्नेमा उनीहरूको जोड छ। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पनि त्यस्तै माग गरेको छ। नेपालमा १९ सय ट्राभल कम्पनीहरू सञ्चालनमा रहेकामा ११ सय कम्पनी नाट्टामा आबद्ध छन्। प्रस्तुत छ पर्यटनको विषयमा नाट्टाका अध्यक्ष अच्यूत गुरागाइँसँग नागरिककर्मीहरू अमृत भादगाउँले र पवन बराइलीले गरेको कुराकानीः
कोभिड–१९ पछिको अबस्थामा नेपालको पर्यटनलाई कसरी पुर्नजीवन दिन सकिन्छ? यसमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ ?
कोरोनाले संसारलाई नै आक्रान्त बनाएको छ। यसको खोप वा औषधी नबनेसम्म समस्या भइरहन्छ। त्यसैले अब कोरानोसँग जुधेरै अघि बढ्नुपर्छ। कोभिड–१९ पछि पर्यटनलाई पुर्नजीवन दिनका लागि हामीले धेरै काम गरेका छौं। नेपाल सरकार, पर्यटन बोर्ड, पर्यटन विभाग, अर्थ मन्त्रालय र राष्ट्र बैंंकसँग सहकार्य गरेका छौं। त्यहीअनुरुप सरकारले पर्यटन सुरक्षा निर्देशिका जारी गरिसकेको छ।
हामी लकडाउनमा छौं, केही देशले पर्यटन खुला गरिसके, नेपालमा कहिले खुला गर्न सकिएला?
लकडाउनका कारण हामी पर्यटन व्यवसायी पीडामा पिल्सिएका छौं। यस्तै अबस्था रहिरहे श्रमिक वर्ग भोकै मर्ने अबस्था आउँछ। मानसिक पीडा बढ्दै जान्छ। बैंकलाई किस्ता तिर्नुपर्ने, कर्मचारीको तलब दिनुपर्ने र बिहानबेलुकीको छाक टार्नुपर्ने चिन्ताले गाँजेको छ। यसको जिम्मेवारी कसले लिने? त्यसैले सरकारले लकडाउन खोल्नुपर्छ र आर्थिक क्रियाकलापलाई अघि बढाउनु पर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्लाइटहरू सञ्चालनमा ल्याइहाल्नु पर्छ। समग्र पर्यटन व्यवसायीलाई परेको मर्का बुझेर छिटोभन्दा छिटो लकडाउन खोलिहाल्नु पर्छ।
यस्तै अवस्था रहिरहे श्रमिक वर्ग भोकै मर्ने अवस्था आउँछ। मानसिक पीडा बढ्दै जान्छ। बैंकलाई किस्ता तिर्नुपर्ने, कर्मचारीको तलब दिनु्पर्ने र बिहान–बेलुकीको छाक टार्नुपर्ने चिन्ताले गाँजेको छ। यसको जिम्मेवारी कसले लिने?
सामाजिक दूरी कायम गरेर अघि बढ्नु पर्ने अबस्थामा पर्यटक आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
विश्व स्वास्थ्य संगठन र यूएनडब्लुटिओको मापदण्ड अनुसार हामीले पर्यटन सुरक्षा निर्देशिका बनाइसकेका छौं। त्यसको पूर्ण पालना गर्दै पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ। यसमा सरकार, पर्यटन बोर्ड र पर्यटन व्यवसायीले विशेष भूमिका खेल्नुपर्छ। हामीले सुरक्षा निर्देशिका पालना गरेर विश्व बजारमा पर्यटकलाई सेवा दिन तयार छौं भन्ने सन्देश दिनु प-यो। यसमा सहकार्य गर्न हामी पर्यटन व्यवसायीका छाता संगठनहरू तयार छौं।
पर्यटन पेशाबाटै पर्यटनकर्मी पलायन हुने खतरा कत्तिको देखिन्छ?
मानिस जब आर्थिक क्रियाकलाप गर्न पाउँदैन तब उसलाई थुप्रै समस्याले घेर्न थाल्छ। काम गर्न नपाएपछि पैसा हुँदैन। बैंकले ताकेता गर्छ। त्यतिबेला उसले अर्को पेशामा फड्को मार्न सक्छ। विदेशिन सक्छ वा आत्महत्याको अन्तिम विकल्प रोज्न पनि सक्छ। त्यसैले सरकारले हाम्रो मर्मलाई बुझेर आर्थिक क्रियाकलाप बढाउनु पर्छ।
नयाँ पर्यटन सुरक्षा निर्देशिका अनुसार पर्यटकलाई घुमाउन प्याकेज महँगो पर्छ, यस्तो अवस्थामा पर्यटक आउलान् ?
साबिकको प्याकेजमा १० देखि २० प्रतिशत महँगो पर्न सक्छ। अब हामीले नेपाललाई सस्तो गन्तव्यका रुपमा चिनाउनु हुँदैन। महँगा पर्यटक ल्याउनुपर्छ। त्यसका लागि डिजिटल माध्यमबाट विश्वव्यापी प्रचार गर्नुपर्छ। हामीले सबैभन्दा पहिला आन्तरिक पर्यटनमा जोड दिनुपर्छ। नेपाललाई अन्य देश भन्दा विशेष गन्तव्यका रुपमा चिनाउनु पर्छ।
पर्यटन सुरक्षा निर्देशिकाअनुसार प्याकेज बनाउँदा साबिकको प्याकेजमा १० देखि २० प्रतिशतसम्म महँगो पर्न सक्छ। अब हामीले नेपाललाई सस्तो गन्तव्यका रूपमा होइन स्पेशल गन्तव्यका रुपमा चिनाउनु पर्छ। महँगा पर्यटक ल्याउनुपर्छ। त्यसका लागि डिजिटल माध्यमबाट विश्वव्यापी प्रचार गर्नुपर्छ।
आन्तरिक पर्यटनको कुरा गर्नु भयो, तर नेपालीमा प्याकेज किनेर घुमफिर गर्ने संस्कृति छैन। उनीहरू आफ्नै ढंगले घुम्छन्। यस्तो अबस्थामा नाट्टा तथा टानलाई त खासै फाइदा पुग्दैन नि?
हामी आन्तरिक पर्यटकका लागि पर्यटन बोर्डसँग मिलेर प्याकेज बनाउँदैछौं। नेपालीलाई पनि ट्राभल कम्पनीमार्फत घुम्न प्रोत्साहित गछौं। ट्राभल तथा ट्रेकिङ कम्पनीमार्फत घुम्दा सजिलो र सुरक्षित हुन्छ। अर्को कुरा, सरकारले आफ्ना कर्मचारीलाई निश्चित रकमसहित घुमफिर विदा दिनुपर्छ। उसले वर्षका १० दिन मात्र भत्तासहितको घुमफिर विदा दियो भने पनि पर्यटन उद्योगमा ठूलो राहत पुग्नेछ। सरकार र निजी क्षेत्रको सहकार्यमा नयाँनयाँ गन्तव्यहरू पनि प्रवद्र्धन गर्नु आबश्यक छ।
एकातिर पर्यटन व्यवसायीमा बैंकको किस्ता तिर्नुपर्ने तनाव छ भने अर्कोतिर रोजीरोटीको पनि समस्या भईरहेको छ। यसमा सरकारसँग तपाइँहरूको माग के छ?
सरकारले ५ प्रतिशतमा ऋण दिने भनेको छ तर कसरी दिने भन्ने प्रस्ट पारेको छैन। कर्मचारीलाई तलब खुवाउन र व्यवसायलाई पुनः सञ्चालन गर्न व्यवसायीलाई उसको लगानी अनुसार ऋण उपलब्ध गराउनुपर्छ र ब्याज २ प्रतिशत भन्दा बढी लिनु हुँदैन। साथै पर्यटन व्यवसायीलाई डिजिटल तालिम र नयाँ प्रोडक्ट उत्पादनमा व्यस्त बनाउन सरकारले सहयोग गर्नुपर्छ।
सरकारले ५ प्रतिशत ब्याजमा ऋण दिने भनेको छ, तर कसरी दिने प्रस्ट पारेको छैन। पर्यटन व्यवसायीलाई उसको लगानीअनुसार ऋण उपलब्ध गराउनुपर्छ र ब्याज २ प्रतिशतभन्दा बढी लिनु हुँदैन।
कतिपय कम्पनीले कर्मचारी कटौती गरिसकेका छन्, तपाईँहरूले कर्मचारी व्यवस्थापन कसरी गरिरहनु भएको छ?
लकडाउनमा कर्मचारीहरू घरमै बसेर काम गरिरहेका छन्। हाम्रा कतिपय कर्मचारी सिजनल हुन्छन्। कति कम्पनीले पछि बोलाउने गरि कर्मचारीलाई बिदा दिइसके। कतिपय सिजनल कर्मचारीलाई व्यवस्थापन गर्न गाह्रो भएको छ। कर्मचारी व्यवस्थापनका लागि पनि सरकारले सहयोग गर्नुपर्छ।
नाट्टाले पर्यटन प्रवद्र्धन गर्ने कुनै योजना बनाएको छैन?
हामीले नेपाल पर्यटन बोर्डसँग मिलेर प्रवद्र्धनका काम गर्दै आएको छ। नेपाल भ्रमण वर्ष २०२० का लागि छानिएका गन्तव्यहरूको भिडियो खिच्ने र कथा लेख्ने काम भैरहेको छ। साथै पर्यटन सुरक्षा निर्देशिका सम्बन्धी तालिमहरू पनि सञ्चालन भइरहेको छ। हामी डिजिटल मार्केटिङका काम पनि गर्दैछौं।
प्रकाशित: २१ असार २०७७ १२:४२ आइतबार