८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

महोत्सवमा कृषिलाई पहिलो प्राथमिकता

अमृत भट्टचन (अध्यक्ष, उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपरासी )

नवलपरासी - हाम्रो मुलुक कृषिप्रधान देश हो। यो देशको अर्थतन्त्र धान्नमा कृषिको महतवपूर्ण भूमिका छ। हामीलाई आवश्यक पर्ने कृषिउपज यही उत्पादन हुनुपर्छ भन्नेमा हाम्रो ध्यान छ। यहाँको उत्पादनलाई व्यवसायीकरण र व्यापारीकरण कसरी गर्न सकिन्छ भन्ने मै हामी लागिरहेका छौं।‘आफ्नै गौरव आफ्नै उत्सव समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव’ नारासहित तेस्रो गैंडाकोट महोत्सव २०७६ माघ १५ देखि सुरु भएको छ। नगरस्तरीय वाणिज्य संघबाट जिल्ला संघको मान्यता पाएपछि कान्छो जिल्लामा आयोजित महोत्सवबारे महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा उद्योग वाणिज्य संघ गैंडाकोट नवलपरासीका अध्यक्ष अमृत भट्टचनसँग नागरिकले गरेको कुराकानीको संक्षेप :

नवलपरासीलाई जिल्ला उद्योग वाणिज्य संघको मान्यतापछिको पहिलो महोत्सव कस्तो चलिरहेको छ ?
माघ १५ देखि सुरु भएको महोत्सव २६ गतेसम्म हुनेछ। यसअघि हामीले दुईवटा महोत्सव नगरस्तरीय उद्योग वाणिज्य संघ हुँदा सम्पन्न गरेका थियौं। तर अहिले हामी जिल्ला संघको मान्यता प्राप्त भएपछि पहिलो पटक महोत्सव गर्दैछौं। यो हाम्रा लागि गौरवको विषय हो। यो समग्र जिल्लाको महोत्सव हो। हामीले व्यवस्थापनमा कुनै कमी हुन नदिन २५ वटा विभिन्न उपसमिति बनाएर काम गरीरहेका छौं।

जिल्ला संघ भएर महोत्सव गर्दा केकस्ता चुनौति छन्। के नयाँ छ अहिलेको महोत्सवमा ?
हाम्रो मुलुक कृषिप्रधान देश हो। यो देशको अर्थतन्त्र धान्नमा कृषिको महत्वपूर्ण भूमिका छ। त्यस्तै जलस्रोतमा हामी धनी देश भन्छौं। मेला महोत्सव जसले आयोजना गरे पनि हुन्छ भन्ने कुराहरु लगभग उस्तै हुन्छन् तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रणालीगत सुधार प्रमुख कुरा हुन्छ। त्यसैले पहिलो र दोस्रो महोत्सवबाट पाठ सिकेर हामीले कसरी प्रणाली बसाउने र कृषिमा जिल्लालाई आत्मनिर्भर गराउने भन्नेमा हामी केन्द्रित छौं।

हामीलाई आवश्यक पर्ने कृषिउपज यही उत्पादन हुनुपर्छ भन्नेमा हाम्रो ध्यान छ। यहाँको उत्पादनलाई व्यवसायीकरण र व्यापारीकरण कसरी गर्न सकिन्छ भन्ने मै हामी लागिरहेका छौं। त्यसका लागि कूल स्टल तीन सय ५० मध्ये ३० वटा स्टल स्थानीय स्तरमै उत्पादित वस्तुको प्रदर्शनीका लागि निःशुल्क उपलब्ध गराएका छौं। स्टलमा रहेका उत्पादित वस्तु अवलोकनपछि उचित पुरस्कारको पनि व्यवस्था गरेका छौं। यसले किसानलाई थप हौसला मिल्नेछ। हाम्रो महत्वपूर्ण लक्ष्य नै कृषि उत्पादन खरिदका लागि भारत लगायत देशमा गएको नेपाली पैसा यही रोक्ने र जिल्लालाई आत्मनिर्भर गराउने हो।

यससँगै अहिले हामीले स्थानीय कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले कला संस्कृतिको प्रतियोगिता राखेका छौं। गैंडाकोट आइडल कार्यक्रममार्फत विजेतालाई एक लाख ५० हजार, उपविजेतालाई एक लाख र तेस्रो स्थान हासिल गर्नेलाई ५० हजार पुरस्कार राशीसहितको कार्यक्रम राखेका छौं। यसले यहाँको कला संस्कृतिको पहिचानसहित जगेर्नामा पनि ठूलो भूमिका खेल्नेमा हामी विश्वस्त छौं। त्यतिमात्रै होइन संस्कृति बुझ्न र सुहाउँदो आदानप्रदानका लागि रसियन कलाकारको महोत्सवका हरेक दिन नृत्य हुनेछ। यो सँगै राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति भइरहेको छ।

छिमेकी जिल्ला चितवनको विकासले लिएको गतिजस्तै नवलपुरले गति लिन महोत्सव र वाणिज्य संघको भूमिका के रहन्छ ?
छिमेकी जिल्ला चितवन तीव्र गतिले विकास भइरहेको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व प्रधानमन्त्री स्व शुसिल कोइरालाको समेत निर्वाचन क्षेत्रले घेरिएको ठाउँ भएकाले पनि यो हुनु स्वभाविक हो। हामी शिक्षा, स्वास्थ्य, व्यापार आदिमा चितवनकै भर परिरहेका छौं। तर अब हामीले के अभियान थालेका छौं भने अव हामी अन्य जिल्लासँग आश्रित हुन नपरोस्। हाम्रै ठाउँमा शिक्षा, स्वास्थ्य सहज तरिकाले पाउनुपर्छ भन्नेमा हामी लागिरहेका छौं। अब नवलपुरले पनि ठूलो फड्को मारिरहेको छ। कृषिसँगै व्यापक उद्योग स्थापना हुँदैछन्। हाम्रो उद्देश्य पनि उद्योगधन्दा, होटल व्यवसाय खोल्ने र त्यसले आर्थिक चलायमान हुने र रोजगारी सृजना गर्नेमा हामी विश्वस्त छौं।

केन्द्र सरकरको कार्यक्रम भिजिट नेपाल २०२० मा महोत्सवले कसरी सहयोग गरिरहेको छ ?
निश्चित रुपमा। नेपाल सरकारले घोषणा गरेको कार्यक्रम भिजिट नेपाल २०२० लाई सफल पार्न हामीले राष्ट्रिय टेलिभिजन र स्थानीय टेलिभिजनबाट दैनिक तीन घण्टा नवलपुरको विषयमा ‘आर्थिक विकास संवाद’लाई अन्तरक्रिया गरिरहेका छौं। विभिन्न व्यानरहरुमा पनि हामीले भिजिट नेपाल २०२० सफल पारौं लेखिएको छ। छिमेकी जिल्ला चितवन, तनहुँ रहेका कारण पनि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरेका छौँ। नजिकै देवघाटधाम छ। गैंडाकोटमा मौलाकालिका छ। धार्मिक पर्यटक सँगै मनोरञ्जन सहित गैंडाकोटमा आनन्द लिन सकिने ठाउँ भएकाले पनि पर्यटक पक्कै वढ्ने छन्।

जिल्लाको अर्थतन्त्रमा कस्तो असर पार्ला ?
महोत्सव हुँदा स्थानीय उत्पादनले बजार पाएको छ। नवलपुर आफैंमा धार्मिक र पर्यटनको हव हो । त्यसमाथि नारायणीमा भइरहेको जलयात्राले पनि अर्थतन्त्रमा सहयोग पु-याएकै छ। निजी क्षेत्रले अब त्रिवेणी धामसम्मै जलयात्रा लैजान सकिन्छ कि भनेर अध्ययन  गरिरहेका छन्। हामी सफल हुनेछौं। महोत्सवले यहाँको उत्पादन र बजारलाई चलायमान बनाउने छ।

महोत्सवमा कस कसले सहयोग गरेका छन् ?
यो समग्र नबलपरासी वर्दघाट सुस्ता पूर्वको महोत्सव हो। सबै राजनीतिक दल, संघसंस्था, सर्वसाधारण सबैको उत्साहपूर्वक सहयोग छ। पाँच सयभन्दा बढी संघसंस्थाले उद्घाटन दिनको -यालीमा सहभागिता जनाएका छन्। भव्य र सभ्य रुपमा महोत्सव चलिरहेको छ।

महोत्सवमा हुने कारोबार र यसको उपयोग के मा हुँदैछ ?
हाम्रो व्यापारिक संस्था। हामी व्यवसायिक तर हाम्रो सामाजिक उत्तरदायित्व पनि छ। करिब १५ लाख लागतमा प्रदर्शनी स्थल गैंडाकोट–२ नारायणी किनारमा सोलार प्यानल जडान गरेका छौं। सार्वजनिक शौचालय निर्माण गरिरहेका छौं। महोत्सवबाट बचत भएको रकममध्ये १५ लाख यही प्रदर्शनी स्थल स्तरोन्तीमा खर्च गर्दैछौं। संघको आफ्नै भवन निर्माणमा पनि केही रकम खर्च गर्नेछौं।

प्रकाशित: २० माघ २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App