२१ असार २०७७ आइतबार
अन्तर्वार्ता

‘विज्ञान र प्रविधिले संस्कृति निर्माण गर्न सकिँदैन’

श्रीरामसिंह बस्नेत, लेखक

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर रहरलाग्दो हुनुपर्दछ। सरसफाइ, सौन्दर्य, सार्वजनिक यातायात, मानिसहरूको व्यवहार, सुविधा, अवसर आदि सबै दृष्टिले सहर रहरलाग्दो हुनुपर्दछ। स्वदेशी वा विदेशी, जोसुकैले पहिलोपटक कुनै सहरमा प्रवेश गर्दा एउटा अर्कै आनन्दको अनुभूति गर्न पाऊन्, त्यो नै सार्थक सहर हो।

काठमाडौं कस्तो लाग्छ ?
मेरो जन्म नै काठमाडौंमा भएको हो। विगत ६ दशकभन्दा बढी समयदेखि म काठमाडौंको सुखदुःखसँग गाँसिएको छु। काठमाडौं विश्वकै ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्व बोकेको दुर्लभ सहरमध्येको एक हो। अत्याधुनिक सहरहरू त संसारमा जताततै छन्, तर काठमाडौं जस्तो ऐतिहासिक सम्पदा बोकेको सहर बिरलै छन्। तर, काठमाडौं अहिले भिल्लका देशमा मणिझैं भएको छ। मलाई कतिपय अवस्थामा यो सहर बेवारिस सहर जस्तो लाग्छ। जहाँसुकै सडकमा जसले खने पनि, खाल्डो पारेर छाडे पनि हुन्छ। निर्माण सामग्री जहाँ थुपारे पनि हुन्छ, जहाँ मन लाग्यो त्यहाँ पसल राखे हुन्छ।

आदिकवि भानुभक्त आचार्यले अलकापुरी कान्तिपुरी नगरी भनेर काठमाडौंको सौन्दर्य वर्णन गरी कविता लेखेका समयमा अहिले आधुनिक सहर भनेर कहलिएका विश्वका कतिपय सहर मरुभूमि थिए। अरुले मरुभूमिमा समेत फूल फुलाए, हामी भने उर्वर भूमिलाई क्रंकिट बनाउँदै छौँ।

आधुनिक युगमा विज्ञान र प्रविधिको सहयोगले धेरै वस्तु निर्माण गर्न सकिन्छ, तर संस्कृति निर्माण गर्न सकिँदैन। काठमाडौंको विश्वव्यापी पहिचान भनेकै सांस्कृतिक सहर हो।

काठमाडौंको राम्रो पक्ष ?
मौसम नै काठमाडौंको सबैभन्दा राम्रो पक्ष हो। जाडोमा अत्यधिक जाडो नहुने र गर्मीमा पनि प्रचण्ड गर्मी नहुने काठमाडौंको विशेषता हो। यस्तो विशेषता विश्वका अरु देशमा पाइँदैन। प्रकृतिप्रदत्त यो वरदानलाई सदुपयोग गर्न जरुरी छ। अर्को राम्रो पक्ष, यहाँको सांस्कृतिक सम्पदा हो। आधुनिक युगमा विज्ञान र प्रविधिको सहयोगले धेरै वस्तु निर्माण गर्न सकिन्छ, तर संस्कृति निर्माण गर्न सकिँदैन। काठमाडौंको विश्वव्यापी पहिचान भनेकै सांस्कृतिक सहर हो। तसर्थ, प्रकृति र संस्कृति नै काठमाडौंको अस्तित्वको प्रमुख आधार हो।

तपाईं आफू कति देशका सहरमा पुग्नुभएको छ र तीमध्ये सबैभन्दा सुन्दर लागेको सहर कुन हो ?
मैले अहिलेसम्म २३ देशका विभिन्न सहर घुम्ने मौका पाएको छु। तीमध्ये मलाई सबैभन्दा सुन्दर लाग्ने सहर स्विट्जरल्यान्डको जेनेभा हो। त्यसो त ऐतिहासिक महŒवका हिसाबले पेरिस र व्यवस्थापनका हिसाबले सिंगापुर पनि अब्बल लाग्छ।

आफ्नो देशका मनपर्ने ठाउँ ?
नेपालका करिब ६५ जिल्लाका विभिन्न सहर पुगेको छु। तीमध्ये मलाई राम्रो लागेको सहर इलाम र पोखरा हुन्। पोखरा त अद्वितीय भइहाल्यो। प्राकृतिक सौन्दर्यले भरिएको इलाम निकै आकर्षक छ।

तपाईंको अनुभवमा काठमाडौंको मुख्य समस्या ?
वास्तवमा काठमाडौंमा कुनै पनि ठूलो समस्या छैन। जति समस्या देखिएका छन्, ती सबै कृत्रिम र कसैको व्यक्तिगत स्वार्थका कारण उब्जिएका हुन्।

काठमाडौंको क्षमताभन्दा बढी जनघनत्व र सवारीको चाप हुनु पनि त्यस्तै स्वार्थका कारण आएको समस्या हो। यहाँ अव्यवस्थित रूपमा घर बन्नुले नै सबैखाले समस्या र अभाव थपिँदै गएको हो। काठमाडौंको दोहन मात्र भयो, संरक्षण भएन। संघीय व्यवस्थाले पनि काठमाडौंको चाप र भार घटाउन सकेन।

नेपालको कर्मचारीतन्त्रमा ९५ प्रतिशत कुनै न कुनै राजनीतिक पार्टीका कार्यकर्ता छन्। पार्टी वा नेताका कार्यकर्ताबाट सेवाग्राही आमजनताको काम नहुनु स्वाभाविकै हो। कर्मचारीलाई कार्यकर्ता बनाउने अत्यन्तै घातक काम २०४८ देखि सुरु भयो र अझै झाँगिदै गएको छ। कर्मचारी, शिक्षक, प्राध्यापक, किसान, मजदुर, पत्रकार, वकिल सबै व्यावसायिक वर्गलाई पार्टीहरूले कार्यकर्ता बनाएर बिटुल्याइदिएका छन्, अनि जनताले सोचे जस्तो काम कसरी हुन्छ ? सबै समस्याको मूल जड यही हो।

तपाईं चार दशकसम्म पत्रकारिता र शिक्षा क्षेत्रमा सक्रिय रहनुभयो। सहरको विकासमा पत्रकारिताको के भूमिका रहन्छ ?
गाउँ, सहर वा समग्र देशकै विकासमा पत्रकारिताको अहं भूमिका रहन्छ। यसमा विशेषगरी आमजनतालाई सुसूचित गराउने र नीति–निर्मातालाई सचेत गराउने भूमिका पत्रकारिताको हो। त्यो काम नेपाली पत्रकारिताले गरिरहेकै छ। तर, हाम्रा नीति–निर्माता र कार्यान्वयनकर्ता भने पत्रकारिता क्षेत्रले उठाएका विषयलाई तत्कालै सम्बोधन गर्न–गराउन चासो दिँदैनन्। यस अवस्थामा पत्रकारिता जगत्ले चाहेर पनि सहरको विकासमा ठोस भूमिका खेल्न नसकिरहेको देखिन्छ।

तपाईं अहिले सामाजिक संस्था सामुदायिक विकास संघ ( कामनपा– १६) को अध्यक्ष हुनुहुन्छ। आफ्नो वडाको विकासमा तपाईंहरु के गर्दै हुनुहुन्छ ?

हाम्रो संस्था पुरानो भए पनि धेरै साधन–स्रोत भएको संस्था होइन। १६ वडा काठमाडौं महानगरपालिकाकै सबैभन्दा ठूलो क्षेत्रफल भएको वडा हो, त्यसकारण यहाँ समस्या र अवसर धेरै छन्। हामीले हरेक काम गर्दा वडासँग समन्वय गरेर मात्र काम गर्ने गरेका छौं। वडाले ल्याएका योजना र कार्यक्रमलाई आफ्नोतर्फबाट सघाउन र यस भेगका अन्य सबै सामाजिक संघसंस्थासँग समन्वयकारी भूमिका निर्वाह गरी सामाजिक विकासलाई अघि बढाउन हामी सदा प्रयासरत छौं।

सहरलाई सफा राख्न के गर्नुपर्ला ?
फोहोरको स्थायी समाधानका लागि मुख्य रूपमा ठूलो क्षमताको ‘रिसाइकल सेन्टर’ खोल्नुपर्छ। अहिले हामीकहाँ फोहोरलाई एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने काम मात्र भएको छ। यसबाट स्थायी समाधान हुन सक्दैन। एकातिर कृषिलाई चाहिने मलको कच्चा पदार्थ फोहोर हरेक दिन सयौं टन खेर गइरहेछ, अर्कोतिर मल नपाएर किसान पीडित छन्। यो हाम्रो विकासको ठूलो विसंगति हो।

काठमाडौंमा तपाईंलाई सबैभन्दा मनपर्ने ठाउँ ?
मलाई सबैभन्दा मन पर्ने ठाउँ स्वयम्भू हो। यो यति गरिमामय र महत्वपूर्ण स्थान हो कि बयान गर्नै कठिन छ।

काठमाडौं सहर कस्तो होस् भन्ने चाहनुहुन्छ ?
अहिले यति चाहन्छु कि घरबाट बाहिर निस्कँदा वा मोटरबाइक चलाउँदा मास्क लगाउनु नपरोस्। केही वर्ष अघिसम्म काठमाडौंमा हिँड्दा मास्क लगाउन पर्दैनथ्यो, म त्यही काठमाडौं फिर्ता चाहन्छु।

मेरो अर्को चाहना, काठमाडौंमा निर्धक्कसँग साइकल चढेर घुम्न पाइयोस्, बस् यति भए अहिलेलाई पुग्छ। ठूला–ठूला कुरा मात्र गरेर केही हात लाग्दैन।
प्रस्तुतिःउपेन्द्र लामिछाने

प्रकाशित: ७ मंसिर २०७६ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App