२६ असार २०८२ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘कांग्रेस र एमालेले एकअर्कालाई झुक्याउँछन् जस्तो लाग्दैन’

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल नभई कुनै बेला दलको तर्फबाट गरिने वार्ता पूरा हुँदैनथे। अघिल्लो संसदीय निर्वाचनका बेला उनलाई नियोजित रूपमा उम्मेदवार बनाइएन। त्यसलगत्तै पार्टी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएपछि पराजित भए। सांसदबाटै वञ्चित गराएका पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर पुरानो मित्रताको निशानी कायम राखे। ‘नागरिक फ्रन्टलाइन’ को बुधबारको अंकमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग संवाद गर्दै डा. रिजालले आफ्ना गुनासाबारे कुरा नगर्ने भन्दाभन्दै पनि धेरै कुरा गरेका छन्। प्रस्तुत छ– डा. रिजालसँग गरेको संवादको सम्पादित अंश।

पछिल्लो समय न सरकारमा हुनुहुन्छ, न संसदमा, न पार्टीकै कुनै जिम्मेवारीमा। समय कसरी बिताइरहनुभएको छ?

खाली समयलाई मिलेको मौका ठानेको छु। साढे तीन वर्षअगाडि महामन्त्रीको निर्वाचनमा पराजित भएपछि मन्त्रीबाट पनि राजीनामा गरें। त्यसपछाडि मलाई अन्यायपूर्ण तरिकाबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने अवसरबाट वञ्चित भएँ। त्यतिबेलाको कुराले अहिले पनि सम्झिराख्ने हो भने अरूलाई त दुःख नदेला त्यसले मलाई मानसिक रूपमा दुःखी बनाइरहने छ। म आफैंलाई नराम्रो गर्ने छ। त्यसैले मैले समयलाई राम्रोसँग उपयोग गरेको छु। अहिले एउटा किताब ‘चोक्स पोइन्ट्स’ पढिरहेको छु। ‘मार्केट क्राफ्ट्स’ पढ्न पर्खिराखेको छु। त्यसअगाडि ‘केयरलेस पिपुल’ पढेको थिएँ। यो अवसर त मेरा लागि कसैले जुटाइदिएको ठानेको छु। जुटाइदिनेलाई धन्यवाद दिन्छु।

यसलाई भोलिको तयारीका रूपमा लिन सकिन्छ?

लेख्न थालिसकेको छैन तर ‘एसेन्स अफ नेपाली कांग्रेस’ विषयमा लेख्नुपर्छ जस्तो लागेको छ। नेपालको सन्दर्भमा संसदीय व्यवस्थाका बारेमा कसरी वकालत गर्न सकिन्छ भन्ने विषयमा पनि मनन गरिरहेको छु।

आजको दिनमा मान्छे कति बाँच्छ थाहा छैन। आजको भोलि के होला देखि लिएर अर्को २०/२५ वर्ष एकदमै सक्रिय क्रियाशील मान्छे पनि हुन सक्छ। कति लामो छ जीवन थाहा छैन। बाँचियो भने र बेलामा लेख्न सुरु गर्‍यो भने एउटा बाटो होला। कांग्रेसको वरिपरि बसेर फिक्सन लेख्ने मन छ।

कांग्रेसको इतिहास त हराउँदै गएको छ।

अन्तर्राष्ट्रिय रूपमै निर्वाचित अतिनायकवादीको शासन जतासुकै छ। ‘लोकतान्त्रिक संस्थाहरूको अर्थ छैन। मैले भनेअनुसार नै चलाउने हो। जितेर आइसकेको मलाई अप्ठ्यारो बनाउने?’ भन्ने खालका विचार आइरहेका छन्। त्यसलाई हरेक दिन सामाजिक सञ्जालमा घच्चीका साथ उभिन सकेन भने त्यो मान्छे राजनीतिबाट टाढिन्छ। राजनीतिमा टिकिराख्न हरेक दिन मान्छेले सुन्ने र चर्चा गर्ने ठाउँमा बस्नका लागि गरिने बहसले त राजनीतिलाई कारोबारी बनाइरहेको छ। त्यसले नेपालको राजनीतिलाई पनि कारोबारी बनाइरहेको छ।

दोस्रो, विभिन्न समुदायको प्रतिनिधित्वका लागि अपनाइएको मिश्रित निर्वाचन प्रणालीले विकृति पनि भित्रिएको छ। त्यसमा को जान पाउने र को नपाउने? निर्वाचन प्रणाली यस रूपमा दुई सय ७५ को प्रतिनिधित्व छ। सरकार बनाउन एक सय ३८ ल्याउनुपर्ने कुराले गठबन्धनको संस्कृति निर्माण भएको छ। पछिल्लो समय त निर्वाचनपछिको गठबन्धनभन्दा जुनसुकै नामको दल भए पनि कारोबारी रूपमा चुनाव लडिरहेका छन्। त्यसपछाडि पनि गठबन्धन बनाएको गठबन्धनलाई नरहीकन सत्ताका लागि जे पनि गर्ने काम गरिरहेका छन्।

तेस्रो, दलभित्रको राजनीति पनि आम जनताले भोट हालेर प्रतिनिधि बनाएको शासनभन्दा बलियो छ। संसदभन्दा राजनीतिक पार्टीको शासन बलियो छ। पार्टी केन्द्रीय समितिले एउटा वडाको सदस्यको सदस्यता पनि खारेज गर्न सक्ने तागत राखेको छ। हामी संघीय संरचना बनाएका छौं भन्छौं। त्यस्तो किसिमको केन्द्रित तागत पार्टीको संरचनामा छ। पार्टीको केन्द्रीय संरचनाले केन्द्रको सांसददेखि स्थानीय संरचनासम्म सजिलै हल्लाइदिन सक्छ। उसका विचार र सोचभन्दा बाहिर जान नसक्ने हाम्रो राजनीतिक अभ्यास छ। त्यो नबदलिँदासम्म कारोबारी राजनीति रोकिँदैन।

तपाईं पनि यही कारोबारी राजनीतिकै सिकार हुनुभएको हो?

सभापति (शेरबहादुर देउवा) लाई यतिपछि तीतो पोख्दा दुःखी त म नै हुन्छु। उहाँलाई त केही फरक नपर्ला। दोस्रो कुरा, कांग्रेसमा फेरि सभापति लड्ने मौका पनि बाँकी नरहेको मान्छेबाट ठूलो अपेक्षा राख्दिनँ। उहाँलाई गाली गरेर मेरो पार्टीलाई सुधारको बाटोमा लिएर जान सक्दैन। उहाँ पार्टीलाई धेरै बिगार्न सक्नु हुन्न। त्यसैले उहाँलाई गाली नगरीकन सम्मान गरेको छु।अहिले सभापति बन्छु भनेर १० जना नेताहरू प्रतिस्पर्धा गर्न लर्को लागेको देख्नुहुन्छ। तिनीहरूका बारेमा अपेक्षा राखें, तिनका बारेमा छलफल गरें, ‘प्राइभेट’ ले पनि छलफल गरें, बाहिर सार्वजनिक रूपमा पनि यसो नगर्नुस् भन्यो भने आउने महाधिवेशनलाई कुन बाटोमा लिएर जाने कुरामा ठोस योगदान होला नि त।

तेस्रो कुरा, देउवाजीसँग मेरो सम्बन्ध धेरै लामो र पुरानो भयो। विद्यार्थी राजनीतिमा उहाँ हामीभन्दा अगाडिको हुनुहुन्छ। उहाँले नेविसंघमा आठ वर्ष सभापति भएर काम गर्नुभयो। उहाँले नेविसंघमा मनोनीत गरेको केन्द्र सदस्य थिएँ म। त्यो दिनदेखि आजको दिनमा म उहाँले मनोनीत गरेको पार्टीको केन्द्रीय सदस्यसम्म ४६ वर्षको यात्रा बितेको छ। अब मैले उहाँप्रति आग्रह राख्नुपर्ने कुनै खण्ड छैन।

जो मान्छेसँग धेरै नजिक हुन्छ त्यो मान्छेसँग कुनै दिन कुरा बिग्रिए मन त अलि बढी दुख्छ नि हैन?

उहाँलाई पनि दुखेको होला। सभापति हुनपहिले म उहाँसँग थिइनँ। पछि पनि उहाँसँग सम्बन्ध त बिग्रेको छैन, तर आफूलाई अप्ठ्यारो परेका बेला पछि पार्टीभित्र संघर्ष गरिरहेका बेला ऊ मसँग रहेन भनेर भन्नुहुन्थ्यो। सँगै लामो यात्रा गरेको मान्छेसँग गुनासो हुनु स्वाभाविक जीवन यात्रा भनिठान्नुपर्ला।

कांग्रेस पार्टी अहिले कसरी चलिरहेको छ?

अलि आसलाग्दा नेताहरूमध्येमा हाम्रा दुई महामन्त्री हुनुहुन्छ। त्यसमाथि थापा महामन्त्री (गगन थापा) त अझै बढी कुरा होला शर्मा महामन्त्री (विश्वप्रकाश शर्मा) भन्दा। उहाँका बारेमा कहिलेकाहीं टीकाटिप्पणी गरे सामाजिक सञ्जालबाट अरिंगालहरूले टिप्पणी गरिरहेका हुन्छन्। अहिलेसम्म आक्रोश रिस गएको छैन? चुनाव हारेको साढे तीन वर्षपछाडि पनि त्यही कुण्ठा पारेर राख्या छ भनेर भन्छन् होला भन्ने डर छ। उहाँका अगाडि गर्छु। केही चित्त बुझेन भने फोन गर्छु। केही कुरा सुझाव दिनुपर्‍यो दिन्छु, तर सार्वजनिक रूपमा मेरो महामन्त्रीका रूपमा केहीभन्दा अरू मान्छेहरूलाई गाली गर्ने मौका हुँदो रहेछ।

दोस्रो कुरा, सभापतिमा पराजित मान्छेले सभापतिसँगै अपेक्षा राखेजस्तै म महामन्त्रीमा प्रतिस्पर्धा गरेको हुनाले महामन्त्रीमा जितेकाहरूले मेरो विचारलाई पनि उहाँले स्थान दिनुपर्छ, मेरो विचार पनि सुन्नुपर्छ भन्ने लाग्थ्यो। त्यसकारण अलिअलि बोल्थें तर त्यसको अर्थ अर्को लाग्न थाल्यो। त्यसपछि छाडिदिएँ।

आगामी महाधिवेशनमा तपाईंको योजना के छ?

६५ वर्ष पूरा भएपछि कांग्रेसमा ज्येष्ठ राजनीतिज्ञ सभाको सदस्य हुन पाइन्छ। महामन्त्रीको निर्वाचनमा पराजित भएको ७/८ महिनापछि त्यहाँ राख्दिए पनि हुन्थ्यो भनेको थिएँ। अहिले त फेरि सभापतिजी पनि सभापति नहुने बेलामा के ठेगान? अब ज्येष्ठ राजनीतिक सभाको उहाँ सभापति हुने र हामीलाई सदस्य दिने हो कि? कमसेकम त्यो चेतना त मेरो राख्नुपर्‍यो नि।

निर्वाचनमा पराजित भएपछि मैले महामन्त्रीहरूले ढंगका साथ काम गर्नुभयो भने राजनीतिमा ठाउँ खोज्ने छैन भनेको थिएँ। अहिले उहाँहरू महामन्त्री भएको चार वर्ष पुग्न ६ महिना बाँकी छ। यो ६ महिनामा पनि उहाँहरूले ढंगले काम गर्नुभयो भने मैले ठाउँ खोज्नेभन्दा ज्येष्ठ राजनीतिक सभामा जाने कुरा सोचे भइहाल्छ।

तर पनि नयाँ भूमिकामा जाने केही तयारी छ कि?

इमानदार रूपमा भन्ने हो भने पार्टीमा मेरो के भूमिका हुन्छ भन्नेतर्फ ध्यान गएको छैन। किनभने मैले पार्टीको पछिल्लो चरणमा प्रतिस्पर्धा गर्दा पराजित भएँ। एउटा कुरा पक्का हो कि, मलाई प्रतिनिधि भामा जान जसरी रोकियो त्यो अन्यायपूर्ण निर्णय थियो। एकपटक संसदमा जाने कुरा मेरो अधिकार हुनुपर्छ भन्ने लाग्छ।

शेखर (कोइराला) जीको नेतृत्वमा म चुनाव लडें। गगन थापासँगै महामन्त्री लड्ने। त्यही समूहबाट उपसभापति कोही जित्नुभयो होला। उहाँहरूसँग कहीं न कहीं गुनासो छ किनकि चुनाव लड्न पाइनँ। पार्टीको केन्द्रीय संगठनको सदस्य डेढदुई वर्षपछाडि उहाँहरूको मेहनतबाट होइन सभापतिले बनाउनुभयो। त्यसपछि पनि संसदमा लिएर जाने कोसिस उहाँहरूले गर्नुभएन। त्यसपछाडि पनि पार्टीमा केही भूमिका आउनुपर्छ भन्ने उहाँहरूले आफ्नो भूमिकालाई जोखिममा राख्नु पनि पर्दैनथ्यो नि। हामीसँगको साथीछेउ परेको छ। त्यसका लागि हामीले बोल्नुपर्छ भन्ने चेतना उहाँहरूलाई भएन।

चरम अन्याय भएको महसुस गर्नुभएको छ?

आजको दिनमा मूल्यांकन गर्दा कुनै एउटामा मन अड्याउने कुरा केही छैन। हामी समूह बनाएर हिँडेका साथीहरूले यो मान्छेलाई जिम्मेवारी दिँदा पार्टीलाई जाति नै हुन्छ भनेर कसैले पनि बोलेको मैले आजसम्म पाएको छैन। यो नपाएपछि मैले उहाँहरूप्रति कुनै आग्रह नराखीकन मूल्यांकन गर्न त गर्न मिल्यो नि।

आफू राम्रो छु भनेर अरूलाई हिलो छ्याप्ने प्रवृत्तिलाई कसरी निरुत्साहित गर्ने भन्ने सोच्नुभएको छ?

मैले अहिलेसम्म आक्षेप लगाउनेखाले कुरा गरेको छैन। मैले उहाँहरूको मूल्यांकनका बारेमा कुरा गरेको हुँ। आजको दिनमा एउटा चेतना मसँग छ।

बितेको एक वर्षमा सार्वजनिक रूपमा बढी देखिने नेताहरूले के कुरा गर्छन् भनेर कृत्रिम बौद्धिकता (एआई) सँग अन्तरक्रिया गर्दाको सार मैले पाएको छु। म एकजनाले सबै पार लगाउँछु, मलाई नेता बनाउनुस्, सबै ठिक हुन्छ, अरूले धेरै चिन्ता गर्नु पर्दैन भन्ने खालका कुरा आउँछ। कांग्रेस आजको दिनमा अन्तर्मुखी पार्टी भएको छ। अरू सबै कुरा बिर्सेर महाधिवेशनमा मलाई नेतृत्व दिनुस् बाँकी सबै म चुड्कीका भरमा ठिक गर्छु भन्याजस्तो हाम्रा साथीहरू गरिरहेका छन्। त्यसैले पनि मैले पार्टीमा आगामी भूमिकाबारे धेरै ध्यान दिएको छैन।

मान्छेसँग कुरा गर्नुभन्दा कृत्रिम बौद्धिकतासँग कुरा गर्दा बढी संवेदनशील हुँदो रहेछ कि के हो?

त्यो त हैन। तर म अब बढी एकांगी हुने हो कि होला कि भन्ने एउटा डर छ। २०५९ असोज १८ गते त्यतिबेलाका महाराज ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गर्नुभयो। त्यो बेलादेखि ‘रोलर कोस्टर राइड’ मा जस्तो हिँडेको थिएँ। अस्ति महामन्त्रीको निर्वाचनमा पराजय हुनेभन्दा अगाडिसम्म सधैं केही न केही बिहानदेखि बेलुकासम्म दौड्यादौड्यै थिएँ। हिजोआज कहिलेकाहीं त खोजीखोजी पनि केही साथीहरूसँग भेट्ने प्रबन्ध पनि गर्छु। म अर्कै खालको, अर्कै प्रवृत्तिको, अर्कै संस्कृतिको मान्छे बन्न चाहन्न।

सरकारको कामलाई कसरी हेरिराख्नुभएको छ?

के कठिनाइ थियो र यो सरकार बन्यो? सरकार गठन भएको भोलिपल्ट देखि काम गर्न थालेको भए हुन्थ्यो नि। कांग्रेस र एमाले मिल्ने त काहीँ दायाँ बायाँ हेर्नै परेन नि त। कसैले हल्लाउन सक्ने तागत थिएन। आज एघार महिना बितिसकेपछि पनि हामी आउनु भन्दा अगाडि ठिक थिएन। हामी आएपछि यो गजब भयो भन्ने बोलिराख्नु पर्ने बाध्यताले त आफ्नै भद्दा मजाक भइराखेको छैन र? शासनकै कुरामा यति झन्झटमा पर्‍या छ भने बाँकी कुरा त मुठ्ठीबाट बालुवा झर्दै गए जस्तो हुन थालेको छ। एक वाक्यमा भन्ने हो भने कांग्रेस–एमाले सरकारले योभन्दा बढी गर्न सक्नुपथ्र्यो। अझ यो सरकारले अढाई वर्ष काम गर्नु छ। त्यो अढाई वर्ष काम भएन भन्ने कुरालाई स्वीकार गर्ने हो भने आगामी वर्ष राम्रोसँग चल्छ?

यो सरकार बन्ने बेलामा संसद्को यो अन्तिम विकल्प भनिएको थियो। यो पनि असफल भए के भन्ने प्रश्न उठ्ने गरेको छ।

यो विचारसँग म दुइटा कारणले असमर्थ छु। यो सरकार असफल भएको छैन। यो सरकारले ११ महिना व्यतीत गरेको जुन ढंग छ, त्यही ढंगबाट अर्को अढाई वर्ष व्यतीत गर्‍यो भने सरकार असफल भएको हुनेछ। यो एघार महिना जस्तै अर्को अढाई वर्ष यो सरकार चलिराख्यो भने टिक्न पनि कठिनाइ बेहोर्नु पर्ने हुन्छ। असफल भएको छैन। तीस महिना काम गर्ने अवधि अझ बाँकी छ।

प्रधानमन्त्री बढी हाबी हुनुभयो भन्ने छ नि?

म त्यतातिर जाँदिनँ। को बढी हाबी छ भन्ने संयन्त्रमा बस्ने साथीहरूलाई थाहा होला। मन्त्रीमण्डलमा बस्ने साथीहरूलाई थाहा होला। मैले त मेरो सभापति र उहाँ बसेर कहिले संयन्त्रको बैठक गरेर कहिले मन्त्री परिषद्को बैठक गरेर कहिले दुइटा नेता मात्रै बसेर काम गरेर देखेको छु। बिग्रेको जति कुरा ओलीजीको टाउकामा र सहीजति कुरा हाम्रो देउवाजीको कारणले हो भनेर भन्दा कांग्रेस–एमाले गठबन्धन नै फेर्न खोज्या जस्तो अर्थ होला नि।

जति ठूलो समर्थनमा सरकार बने पनि काम गर्न नसक्नुमा हाम्रो संरचनागत त्रुटि नै हो?

केही कुरा संरचनाको त्रुटि पनि छ। केही कुरा अभ्यासबाट गर्ने हो। आखिरी जीवन भनेको निरन्तर परिमार्जनको प्रक्रिया हो नि। आजको दिनमा केही नसिक्ने हो भने भोलिको दिन बाँच्नुको के अर्थ हुन्छ र? आज सरकार सञ्चालन गरेको अनुभवबाट अर्को अढाई वर्ष झन् राम्रोसँग सरकार सञ्चालन गर्ने चेतना नहुने हो भने त सरकारको औचित्य समाप्त हुन्छ। त्यो चेतना त हुनुपर्‍यो। कांग्रेस र एमालेको सरकारलाई नपुग्दो के छ र? कहीं अलमलिनुपर्ने कही खण्ड छैन। त्यो चेतना पनि जागृत होस्।

मुख्य कुरा यो दस वर्षको संवैधानिक अभ्यासबाट सिकेका कुराका आधारबाट हामीले संविधानलाई संशोधन गर्नुपर्ने छ। त्यो संविधान संशोधन गर्नलाई हामीले पुँजी आर्जन गर्नुपर्छ। त्यो आर्जन गर्न जनताको विश्वास आर्जन गर्नुपर्‍यो। जनताको विश्वास लिन आजको निराशा चिर्न सक्नुपर्‍यो। त्यो निराशा चिरेर पुँजी आर्जन गरेर एउटा सहमति निर्माणपछि संविधानलाई संशोधन पर्नुपर्छ। २०७४ र २०७९ को जस्तै सिसिफसको यात्रा गर्दै जाने अवस्था २०८४ मा नहोस्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु भन्नुभएको छ। तथापि कांग्रेस आफैंले संसदीय दलको नेता नै परिवर्तन गरेर कुनै युवालाई दिए सरकार प्रभावकारी हुन्थ्यो कि?

नेता बदल्ने कुरा बन्द गरे हुन्छ। कांग्रेसका नेताहरूलाई मेरो यो अनुरोध हो। किनभने उहाँहरूले हस्ताक्षर गरेरै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ। त्यतिबेला कुन चेतनाबाट लेख्नुभयो? त्यसैले अहिले प्रधानमन्त्री अर्को मान्छे बनाउने नसोचे हुन्छ, कुरा नगरे हुन्छ। उहाँहरूले गर्ने काम समयमा महाधिवेशन अर्थात् अबको ६ महिना भित्र गराउन सक्नुपर्छ। त्यता ध्यान दिनुहोस्। संसद्को नेता बदल्ने कुरा बिर्सनुस्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तपाईँले लेख्नुभएको छ। सहमति गर्नुभएको छ। पदाधिकारी, पूर्वपदाधिकारी, कार्यसम्पादन समिति, केन्द्रीय समिति, संसदीय दलको बैठक जहाँ सुकै सार्वजनिक रूपमा बोल्नुभएको छ।

ओलीको पालो सकिएपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो भन्ने कुरा कांग्रेसको प्रतिबद्धता हो। त्यही बाटोमा जाने हो, तर कांग्रेसको महाधिवेशन त साढे तीन वर्ष समय बितिसक्यो। एकाग्र मनले ६ महिनामा त्यता लाग्नुस् न। त्यो पो सजिलो बाटो हो। छिटै कांग्रेसमा आशा जोगाउने त्यो उपाय हो। सङ्घीय संसद् वा प्रदेशसभा मात्र होइन। स्थानीय तहको निर्वाचनअगाडि कांग्रेसको त्यो नेतृत्व बोकेर जानुस् न। तर एउटा प्रतिबद्धताका साथ अब हुने प्रधानमन्त्री कांग्रेसका तर्फबाट शेरबहादुर देउवालाई हामीले तोकेर, लेखेरै निर्णय गरेका हौं।

जतिसुकै स्थायी संरचना बनाएको भने पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णिम वाग्लेलीसँग कांग्रेस सभापति देउवाको कुराकानी भयो भन्ने समाचार आएका छन्।

आजको दिनमा मेरो पार्टी सभापति र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष दुवैजनालाई यो कायम राख्न नै जाति छ। कांग्रेस–एमालेबिचको सहमतिलाई कायम राख्नुमा दुवैलाई ‘इन्सेन्टिभ’ छ। त्यो काम गर्नेमा दुवैको प्रतिबद्धता आजसम्म देखिन्छ। अन्यथा केही सोच्नुपर्ने खण्ड केही छ जस्तो मलाई लाग्दैन। तर स्वाभाविक रूपमा दुइटा पार्टी बेग्लाबेग्लै हुन्। भोलिका दिनमा आआफ्नो राजनीतिले लिएर हिँड्ने हुन्। त्यसैले कहीं के गर्न पाइन्छ कसो गर्न पाइन्छ भन्ने अरूलाई चासो हुनु स्वाभाविक हो। अरू राजनीति पार्टीहरूसँग कुराकानी गर्ने कुरालाई बन्द गर्ने, अर्को पार्टीसँग बोल्दा शंका गर्नुपर्ने खालको राजनीतिले कसरी अर्को अढाई वर्ष चल्छ? चल्दैन।

कांग्रेस र एमालेले आजको दिनमा एकअर्कालाई झुक्याउँछ जस्तो लाग्दैन। तर कांग्रेस र एमालेले सरकार सञ्चालन गर्ने कुरामा केही कठिनाइ देखिन्छ। आज सतहमा देखिएको छैन। त्यो सम्बोधन गर्ने आवश्यकता देखिन्छ। त्यो समाधान मेरो सभापति र नेकपा एमालेका अध्यक्षका बिचमा कुराकानी गरेर गर्नुपर्छ। अहिले भित्री रूपमा देखिएका कठिनाइलाई एकअर्काप्रति अविश्वास नमौलाओस् भनेर त्यो गर्नुपर्छ।

मलाई मेरो पार्टी सभापतिको तरिका नै ठिक लाग्छ। ओलीजी अन्यथा नल नलिनुहोला। ओलीजी र प्रचण्डजीले एक अर्कालाई भन्न के बाँकी राख्नुभएको छ त? मेरो पार्टी सभापतिले ओलीजीलाई वा ओलीजीले मेरो पार्टी सभापतिलाई भन्नुपर्ने दिन फेरि आए त्यसले नेपालको संसदीय अभ्यास, नेपालको संविधानलाई अझ बढी फराकिलो समर्थनको आधार कसरी सिर्जना छ? गर्दैन नि। त्यसैले मेरो पार्टीको सभापति खासै कसैलाई गाली गर्नुहुन्न। त्यस्तै ओलीजीले पनि मेरो सभापतिलाई कुनै पनि कुरामा गाली गर्नुपर्ने अवस्था नरहने खाले भएर राजनीति जाओस्।

राजावादीको आन्दोलनबारे तपाईंको टिप्पणी के छ?

संविधान संशोधन गर्न पाइने भन्ने विषयभन्दा उहाँहरू बाहिर हुनुहुन्न। विचारको बहुमत निर्माण गर्न पाउनुहुन्छ। त्यो कुरालाई रोक्न पाइँदैन। यो संविधानविरोधी हो। यो गतिविधि गर्न दिन्न। यो गतिविधि सहन्न भन्ने कुरा मलाई मन पर्दैन। किनभने आठवटा फाँसीको मुद्दा बोकेर पञ्चायतका बेला अदालतमा जाने, आफ्नो मुद्दामा लड्ने बिपी कोइरालाको पार्टीको मान्छे हुँ। कसैले संविधान संशोधन गर्छु भन्ने विचारलाई अगाडि लिएर जान्छु भने त्यसलाई बोल्न पाइँदैन। बन्द गर्छु। मुख थुन्छु। यो संविधानले दिँदैन। त्यो अधिकार भन्ने कुरामा म सहमत हुन सक्दिनँ। हामी त्यसमा आत्तिनुपर्ने केही छैन।

पूर्वराजा ज्ञानेन्द्रलाई दलहरूले नेपाली जनताले सुन्न नै अपाच्य लाग्ने शब्द बोल्ने गरेका छन्। यसले तपाईंहरूप्रति जनताको दृष्टिकोण कहाँ पुगेको छ?

यहाँ साथीहरूले मुद्दा हाल्नुपर्‍यो, फलानालाई मुद्दा चलाउँछौं, फलानालाई के गर्छौं भन्नुभयो नि। तीनकुने घटनाको जिम्मा लगाउनुपर्छ भने भन्ने कुरा चर्कोसाथ आयो। हाम्रा पार्टीका साथीहरू र एमालेका साथीहरूले पनि भन्नुभयो। त्यसलाई मैले धेरै रुचि गरेर मान्दिनँ।

नेपाली कांग्रेस हेर्दा लोकतान्त्रिक पार्टीजस्तो देखिए पनि पछिल्ला घटनाक्रम हेर्दा आफ्ना जतिसुकै ठूला अपराधी भए पनि र अन्य राजनीतिक दल र सर्वसाधारण नागरिकमाथि अन्याय भए पनि त्यसलाई भिन्न रूपमा व्यवहार गर्ने गरेको देखिन्छ?

भिन्न रूपमा व्यवहार गर्नु पर्दैन। हुँदैन भन्ने हो। जस्तो– धेरै वर्षदेखि नै भिजिट भिसामा केही झन्झट, गोलमाल छ भन्ने छ। यसको समस्याको गहिराइमा नजाने गृहमन्त्रीले राजीनामा दिए पुग्यो भन्ने छ। हामीलाई खाली कसको गर्धन जान्छ, कसको गर्धन काटिन्छ भन्नेबाहेक अर्कोमा हाम्रो रुचि छैन। वा अरू पार्टीको नेताका बारेमा मैले कहिले पनि राजीनामा गर्नुपर्छ भनेको छैन। हाम्रो पार्टीले संसदमा अवरोध गरेको बेलामा पनि मैले कहिले भनिनँ। नेपालको संविधान, विधि, प्रक्रियाबाट त्यो टुङ्गो लाग्नुपर्छ।

प्रकाशित: १३ असार २०८२ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App