२ असार २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

‘समाजवाद भन्ने तर पुँजीवादमा नाच्ने भएरै देश बिग्रेको हो’

वामपन्थी नेता एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतम (बायाँ) र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल (दायाँ)। तस्बिर: नागरिक

नेकपा (एमाले) मै रहेका वामदेव गौतम भन्नेबित्तिकै राष्ट्रिय राजनीतिमा हलचल गराउने नेताका रूपमा चिनिन्थ्यो। अहिले एमाले नरही वाम एकता गराउने उद्देश्यका साथ नेकपा एकता राष्ट्रिय अभियानलाई नेतृत्व गरिरहेका गौतम राष्ट्रियसभा सदस्य हुन्। मुलुकको सामयिक राजनीति, वाम एकता र नेपालको समृद्धिमाथि ‘नागरिक फ्रन्टलाइन’ का लागि प्रधानसम्पादक गुणराज लुइँटेलसँग नेता गौतमले खुलेर आफ्ना धारणा राखेका छन्। प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश।

हिजोआज नेपाली राजनीतिमा तपाईंको भूमिका कमजोर भएको हो?

पार्टी विकसित गर्न म सक्रिय भएँ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिचमा एकता गराउन मेरो भूमिका पार्टीभित्र प्रमुख थियो। पछि त्यो एकता टुट्यो र पार्टी विभाजित भयो। दुइजना अध्यक्ष, दुईतिरका नेता, एउटाले अर्कालाई भन्नु–नभन्नु सबै सीमा तोडेर उहाँहरू अगाडि जान थालेपछि मिलाउन सकिन्छ कि भनेर म बिचमा बस्ने। अलि भिन्न किसिमको भूमिकामा गएँ। त्यसको परिणाम राम्रो भएन। म निष्क्रिय भएर बसेको छु भन्ने मात्रै भयो।

तपाईं आफैंलाई पनि अहिले निष्क्रिय नै भएँ भन्ने महसुस भइरहेको छ?

म निष्क्रिय नै भएको छु। सक्रिय हुन पाएको छैन। म त धेरै काम गर्ने व्यक्ति हुँ। आन्दोलनमा मजति सक्रिय कोही भएको छैन। पार्टी निर्माणमा मजति कोही सक्रिय भएन। त्यो त ऐतिहासिक रूपले स्थापित भएको हो। स्थिति नै त्यस्तो किसिमको पर्‍यो कि पार्टी विभाजित हुँदा जतातिर गए पनि अर्कालाई नभएको आरोप लगाएर होच्याउनुपर्ने।

मलाई त्यो मन परेन र मलाई के पनि लाग्यो भने केही समयपछि फेरि मिलाउन सकिन्छ। विभाजित भएकालाई फेरि जुटाउन सकिन्छ भन्ने लागिरह्यो। अहिले पनि लागिराखेकै छ।

तपाईं त जहिले पनि कम्युनिस्ट एकता पक्षधर। माओवादी भूमिगत भएका बेलामा पनि एकदमै सक्रिय भएर मिलाउन खोज्नुहुन्थ्यो, अहिले के भयो?

अहिले काम गर्ने मेसो मिलिरहेको छैन। राम्रो उपलब्धि प्राप्त गर्नका निम्ति शक्ति चाहिने रहेछ। म नेकपा (एमाले) मा भएरै जति काम गर्न सकें; नेकपा एकता राष्ट्रिय अभियान भन्ने नामबाट एक प्रतिशत पनि आर्जन गर्न सकिएन। शक्तिमा रहेर मात्रै एकीकरण गर्न सकिन्छ र कसैलाई आफ्नो तर्फ ल्याउन सकिन्छ। शक्ति नभए केही गर्न पनि नसकिने रहेछ। पहिले यस्तो थियो भनेर नहुँदो रहेछ।

एमालेमा जाने कोसिस त धेरै गरें, तर उहाँहरूले अपमान गर्नुभयो। धुमधाम बाजा बजाएर जान्छु भनेको थिएन। केपी ओली (नेकपा एमाले अध्यक्ष) ले एकता पनि हुँदैन, एकीकरण पनि हुँदैन किनकि यो तिम्रो घर हो, यत्तिकै आउनुपर्छ। तिमीले बनाएको घर हो। घरमा आउन बाजा बजाएर धुमधाम गर्नुपर्ने जरुरी छैन भने। प्रवेश हुन पनि म तयार भएँ।

केपी ओलीले आफूले बोलेको र गर्ने काम नै समाजवाद हुन्छ, बिचबिचमा कुरा उठाउन पाइँदैन भन्नुभयो। म सहमत नभए पनि तपाईंले भन्नुहुन्छ भने चुप लाग्नेछु भनें। दुई घन्टा उहाँ र मेरो कुरा भयो। पछि उहाँले मलाई लैजान सक्नुभएन।

तपाईंले ठुलो पद माग्नुभएको हो र?

मैले पद मागिनँ। टीका लगाएर जाने योजना मात्रै थियो। सबै साथीलाई त्यही भनेको थिएँ। सबै तयार पनि हुनुहुन्थ्यो।

कति जति हुनुहुन्छ?

८५ जनाको केन्द्रीय कमिटी छ। त्यसमध्ये १०/१५ जना यताउता भए। एक/डेढ हजार जति विभिन्न इलाका, जिल्लामा कोही संगठित भएर त कोही वामदेवको नाम जपेर बस्नेहरूको ठुलै समुह छ।

एकीकृत समाजवादीसँग मिल्ने कुरा के छ?

एकीकृत समाजवादीतर्फ धेरै कुरा अगाडि बढ्यो। झन्डै एक/डेढ वर्षअघि नै एकीकृत समाजवादीमा जाने कुरा गरिएको थियो। के मिल्यो के मिलेन उहाँहरू हामीलाई स्वीकार गर्न तयार हुनुभएन। पछि भोलि पर्सि नै टुंग्याउने भन्ने थियो त्यही बेलामा केपीले बोलाएर म त्यता गएँ। त्यसले फेरि तीनचार महिना खाइदियो।

माओवादी पार्टी विकल्प हुन सक्दैन?

भरसक माओवादी पार्टीमा नजाऊँ भन्ने हो। बराबर हैसियतमा पहिलेको जस्तै मिलेर जाँदा ठिकै हुन्छ, नत्र नीति, विचार र जनयुद्धसँग हामी कहिल्यै पनि सहमत भएनौं। जनयुद्धका नाममा उहाँहरूले जे गर्नुभएको थियो त्यो कामलाई समर्थन गरेर एकता भएको होइन। जनताको बहुदलीय जनवाद र जनयुद्धका सम्बन्धमा पछि महाधिवेशनबाट निर्णय गर्ने कुरा थियो। क्रमिक रूपमा जाने भनेको थियो। अहिले पार्टी नै रहेन।

माओवादीलाई भूमिगतबाट मूलधारमा ल्याउन पनि कोसिस गर्नुभयो। धेरैले त तपाईंलाई माओवादीनजिकको मान्छे पनि भन्थे। त्यति हुँदा पनि त्यो पार्टीमा जाऊँ जस्तो लाग्दो रहेन, है?

लाग्दैन। मैले स्पष्ट रूपले भनेको छु– नेकपा (एमाले) का दुई सय नेताहरू विभिन्न ठाउँमा मारिए। लडाइँमा गएका हैनन्। एक सय सेनाले मार्‍यो, दुई सय माओवादीले मारे। यस्तै अरू राजनीति पार्टी र नेता - कार्यकर्ताको पनि स्थिति छ। त्यही नीति थियो भन्नुहुन्छ भने भन्नुस्, थिएन भने त गल्ती भयो भनेर आत्मालोचना गर्नुस्। पीडितका अगाडि क्षमा माग्नुस् भनेर सधैंभर ‘प्रचण्ड’ (नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) लाई भनिराख्थें। काठमाडौँमै एउटा समारोह गरेर आत्मालोचना गर्छु भनेर प्रचण्डले मसँग भन्नुभएको थियो।

अबको राजनीतिक योजना के छ?

एकीकृत समाजवादीसँग संवाद चलाइराखेका छौं। नटुंगिकन टुंगिन्छ भन्नु पनि हतार हुँदोरहेछ। टुंग्याउने कोसिस गरिराखेका छौं, तर म त्यहीं सीमित हुदिनँ। बृहत्तर वामपन्थी एकताका निम्ति मेरो सर्त रहन्छ। नेपालमा भएका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने र समाजवाद हाम्रै जीवनमा विकसित गर्ने काम गर्नु छ। त्यसैका निम्ति म सम्पूर्ण रूपले लाग्छु। हाम्रै नेतृत्वमा समाजवाद कस्तो हुन्छ भनेर त मैले किताब पनि लेखेको छु।

एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये तपाईंका लागि उपयुक्त दल कुन हो?अहिले त एकीकृत समाजवादी नै हो।

अर्को वर्ष यहाँको राष्ट्रियसभाको कार्यकाल सकिँदै छ। त्यसपछिको योजना के छ ? २०८४ को चुनाव लड्नुहुन्छ?

मेरो उमेर, परिस्थिति र अवस्थामा भर पर्छ। अहिल्यै भन्न सकिँदैन। आजको जति काम गर्न सक्छु भन्ने आत्मविश्वास कायमै रह्यो; मेरो समर्थनमा जनमत देखियो र पार्टीले पनि उम्मेदवारका रूपमा अगाडि जानुपर्छ भन्यो भने चुनाव लड्छु, लौ न मलाई उम्मेदवार बनाउनुस् भन्न जान्न।

८० वर्षको उमेरमा पनि जोस र जाँगर कायम हुन्छ?

नमर्दासम्म काम गर्नुपर्छ। मैले काम गर्ने भनेको देशमा समाजवाद विकास गर्ने हो। सामुहिक उत्पादन, स्वामित्व, शिक्षा, स्वास्थ्य, आवास, रोजगारीको ग्यारेन्टी सुनिश्चितता समाजवादको मूल विशिष्टता हो। त्यो हाम्रै जीवनमा हामीले घोषणा गरेर लागु गर्ने हो।

त्यो सम्भव छ?

हुन्छ। बाटो त्यही हो। संसारकै बाटो त्यही हो। अरूले समाजवाद नभनीकन समाजवाद लागु गर्छन्। अमेरिकामा पनि एउटा साम्राज्यवादी र अर्को समाजवादी नीति छ। त्यहाँ कुनै पनि मान्छे कामविना बस्दैन। १६ वर्षको र काम गर्न सक्ने उमेरसम्मको व्यक्तिले पनि काम गर्नुपर्ने समाजवादको एउटा विशेषता हो। काम गरेर प्राप्त हुने ज्यालामा बाँच्नुपर्छ।

समाजवादका नाममा पुँजीवादैमा जाने?

समाजवाद भनेको समाजवादै हो। सिंगो समाजले उत्पादन गर्ने हो। उत्पादन भएको वस्तुमाथि सिंगो समाजकै बराबरी स्वामित्व हुन्छ, तर त्यो बजारमा जानुपर्छ। बजारमा नजाने व्यवस्था रूसको समाजवाद हो। बजारमा गएर बजारबाट विभिन्न व्यक्तिले पैसा तिरेर किनेर त्यो पैसा जम्मा हुन्छ। त्यसले समाजवाद विकास गर्न मद्दत गर्छ। त्यो चीन, भियतनाम, लाओस, कम्बोडिया र क्युबामा लागु छ।

पार्टी निर्माणका लागि सिपी मैनालीलगायतका साना दलहरूलाई पनि सँगै लैजानुपर्ने होइन?

उहाँहरूलाई पनि सँगै लिएर जाने हो, तर एकदुईजना व्यक्तिबाट त्यो काम गर्न सकिन्न। सिपी मैनालीलाई नेकपा (एमाले) शक्तिशाली भएर आएको बेला भनेको थिएँ– कमरेड आउनुस्, यो पार्टी तपाईंले सुरु गरेको हो। एकता गरौं, तपाईं हाम्रो नेता नै हो। नेता भएर तपाईंले काम गर्नुभएको हो भन्न म गएँ। मलाई मेरै पार्टी राम्रो छ भन्नुभयो, आउनुभएन। केपीले भनेको पनि मान्नुभएन। उहाँ अहिले पनि कम्युनिस्ट पार्टी एकताका पक्षमा हुनु हुन्न।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम सही बाटोमै अगाडि बढेको छ?

सही बाटो होइन। समाजवाद निर्माण गर्छौं भन्ने कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस मिलेका बेला समाजवाद घोषणा गर्नुपर्थ्याे र देशलाई सबै क्षेत्रमा द्रूत गतिमा अगाडि बढाउनुपथ्र्यो, त्यो भएन। त्यो हुन नसकेका कारण सारा लथालिंग हुने स्थिति सिर्जना भयो।

संविधानले त समाजवादउन्मुख भनेकै छ।

समाजवादउन्मुख भनेको समाजवाद हैन। नेपालको संविधानमा राज्यको स्वरूप र राष्ट्र कस्तो हुन्छ भनेर धेरै कुरा बताइएको छ। त्यसमा राज्य कस्तो हुन्छ, राज्यको चरित्र के हुन्छ भन्ने बेलामा एउटा चरित्र समाजवादउन्मुख हुन्छ भनेको हो। नाम समाजवादउन्मुख भन्ने पुँजीवादको गीतमा नाच्ने नेताहरू भएरै बिग्रेको हो।

पछिल्लो समय कांग्रेस, एमाले, माओवादी, नेकपा एस, रास्वपा, राप्रपालगायतका दलहरू मुलुकको राजनीतिमा क्रियाशील छन्। ती दलका बारेमा तपाईंको छुट्टाछुट्टै टिप्पणी के छ?

छुट्टाछुट्टै विश्लेषण गर्दिनँ। त्यसरी भन्दा उहाँहरूलाई नराम्रो पनि लाग्न सक्छ। जुन बाटोमा जसरी हिँड्नु पथ्र्यो, त्यसरी हिँड्नु भएको छैन। राज्य सञ्चालक नेकपा (एमाले) र कांग्रेस यी दुइटा ठुला पार्टीले जे गर्न सक्छन् त्यो भएन।

कांग्रेसले भनेको प्रजातान्त्रिक समाजवाद, बहुदलीय प्रतिस्पर्धाको प्रणालीअन्तर्गत विकसित हुने उत्पादन पद्धति, समाजवादी उत्पादन पद्धति, शिक्षा, स्वास्थ्य, आवास, रोजगारीलगायतका विषयको ग्यारेन्टीको घोषणा गरेर जानुपर्थ्याे, उहाँहरू जानुभएन। त्यसरी जान सक्नुभएन भने देश ठुलो भड्खालोमा जान्छ।

पछिल्ला दिनमा लोकतन्त्रकै विरोध गर्ने र राजाका पक्षमा अभिव्यक्ति आइराखेका छन्, ती मागलाई कसरी हेर्नुभएको छ?

ती माग गलत हुन्। नेपालमा शाहवंशी राजा मात्रै राजा भएनन्; भुरे–टाकुरे बाइसे–चौबिसे राजाहरूको एउटाएउटा पंक्ति छ। तिनलाई जोड्दा झन्डैझन्डै एक सय एक राज्य त्यहाँ देखा पर्छन्। लामो समयसम्मको कुरा गर्ने हो भने दुई हजार वर्षसम्म किराँतकाल रह्यो। ६ सय वर्ष लिच्छवीकाल रह्यो। सात सय वर्ष मल्लकाल रह्यो। ती सबैले आएर राज्य मागे भने पाउने कि नपाउने ?

यस्तै शाहवंशका एकजना व्यक्ति हामीले समर्थन गरेर राजा पनि भए। उनलाई अगाडि सारेर केही व्यक्तिले राजतन्त्र कायम गर्छौं भनेका छन्। यो उल्टो हिँड्ने हो र यसले उहाँहरूलाई ठुलो नोक्सान पुर्‍याउन सक्छ, तर त्यो स्थापित हुन सक्दैन।

अहिले नेपालमा यति धेरै राजा पाल्नै सकिँदैन भनिँदै छ। नेपालका समस्या त कसैले समाधानै गर्न सकेनन् भन्ने गुनासो पनि सुनिँदै छ।

यतिबेला पनि यस्तै राजा हुन्छन्। देश विकासका लागि जिल्ला, पालिका र वडा चाहिन्छ। त्यस्तो किसिमको व्यवस्था हुँदैन। पञ्चायतकालमा पनि ती सबै थिए। तिनै अहिले भएका छन्। त्यतिबेला एउटा ठुलो राजा बसेको भएकाले अरू तलका राजा भएनन्। अनि अहिले राजा छैन तिनै हुन् राजा भनेर बदनाम गर्नका निम्ति भनेका हुन्। जनताका जनप्रतिनिधिमा खर्च हुन्छ। त्यहाँ खर्च भएको छ।

राजनीतिक स्थायित्वका लागि साना दललाई निमिट्यान्न पार्ने किसिमको पनि प्रवृत्ति देखिन्छ।

त्यस्तो प्रवृत्ति आउँछ। साना–साना टुक्रा जम्मा गरेर राज्य सञ्चालन सम्भव छैन। त्यस्तो पार्टी निर्माण गरेर बस्न पनि हुँदैन। कम्युनिस्ट एउटा र कांग्रेस एउटा पार्टी हुनुपर्छ, तर राजावादी पार्टी हुनु हुँदैन। राजावादी मान्यता राख्न पाइँदैन।

तर डेमोक्रेसीमा त्यस्तो भन्न पाइन्छ?

डेमोक्रेसीमा कानुन हुन्छ। कानुन लागु हुन्छ। जसले कानुन मान्दैन, त्यसमाथि कानुन वज्रपात हुनुपर्छ।  त्यो गर्न सकेन भने जनताको शासन कायम हुन सक्दैन।

तर हामीले ल्याएको व्यवस्थाले त सबैखाले विचार बोक्न पाइन्छ नि?

पाइँदैन। राजा ल्याउँछौं भन्न पाइँदैन। जनतालाई ठग्नुपर्छ भन्ने विचार ल्याउन पाइँदैन। उत्पात गर्छु भन्न पाइँदैन। भित्रभित्र पूरै देश बर्बाद गर्ने बाटोमा लैजाने बाहिरबाट नाचेर हिँड्ने त्यसो गर्न पाइँदैन। कानुन मान्नुपर्छ। संविधान मान्नुपर्छ। त्यो सबै मानेर मात्रै यो राज्यमा नागरिक भएर बस्न पाइन्छ। त्यस्तो किसिमको गर्दैन भने उसमाथि कानुन लागु हुनुपर्छ। संविधान लागु हुनुपर्छ। उसलाई त्यस्तो गर्न नपाउने गरी व्यवस्थित गर्दिनुपर्छ।

दुई सय ४० वर्ष, दुई हजार वर्ष, ६ सय वर्ष, सात सय वर्षका राजा र राजतन्त्र सबैलाई ध्वस्त गरेर नयाँ व्यवस्था ल्याएका हौं। जनताको विरुद्धमा जान्छु, त्यसलाई सिध्याउँछु भन्ने माग हुन्छ? त्यो त उल्टो बाटो हिँड्ने हो। उल्टो बाटो हिँड्नका निम्ति अधिकार हुँदैन।

माओवादी अध्यक्ष दाहालले कांग्रेस र एमालेले काम गर्न सकेनन् भन्ने धारणा राखेका छन्, माओवादीप्रति प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका नेताहरूको दृष्टिकोण ठिक नभएकै हो?

कांग्रेस र माओवादीको शासन पनि देखें। कांग्रेस र एमालेले शासन गरिराखेका छन्। माओवादी र एमाले मिलेर पनि शासन गरे। सबैका शासन देखियो। न केपीको दृष्टिकोण सफा छ, न शेरबहादुर देउवाको न त प्रचण्डको।

अहिले बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद चाहिएको हो। त्यस्तो किसिमको समाजवाद उत्पादनमा पनि सामुहिकता र स्वामित्वमा पनि सामुहिकता। शिक्षा, स्वास्थ्य, आवास, खेलकुद त्यो सबैको प्रचुर मात्रामा जनताले उपभोग गर्न पाउने अधिकारसहितको त्यस्तो समाजवाद हो। त्यो समाजवाद निर्माण गर्न सकिन्थ्यो। अहिले पनि सकिन्छ।

तीनवटा पार्टी एक ठाउँ आउँछन् भने अहिले पनि समाजवाद निर्माण र घोषणा गर्न सकिन्छ। यो देशलाई छिटोभन्दा छिटो युरोपियन स्ट्यान्डर्डको अवस्थामा पु¥याउन सकिन्छ, तर उहाँहरू त्यो आँट गर्नुहुन्न।

शासन सत्तामा हुँदा वा राजनीतिक केन्द्रमा रहेर काम गर्दा र अहिले आफूमा के फरक पाउनुहुन्छ?

त्यतिबेला राज्य सञ्चालनमा सक्रियता थियो। अहिले फेरि कसरी पार्टीहरूलाई जम्मा गर्न सक्छु, त्यहाँभित्र रमाएर कसरी काम गर्न पाउने अवस्था सिर्जना गर्न सक्छु भन्ने सोचाइ बढी भएको छ।

एमाले, माओवादी, अरू कम्युनिस्ट पार्टीहरू र नेपाली कांग्रेस एकताबद्ध हुनेबित्तिकै तुरुन्तै समाजवाद घोषणा गर्न सकिन्छ। तुरुन्तै समाजवाद निर्माण गर्न सकिन्छ। एक वर्षमा आमूल परिवर्तन गरेको देखाउन सकिन्छ। पाँच वर्षमा हामी एसियाली मापदण्डमा छलाङ लगाउँछौं। १० वर्षमा युरोपियन स्ट्यान्डर्डमा पुग्न सक्छौं। त्यो मैले मेरो किताबमा पनि लेखेको छु। संसदमा दुईचार दिन बिराउँदै भनिराखेको छु।

दुइटा ठुला दल मिलेर सरकार चलाउनु हुँदैन भन्छन्, तपाईंलाई के लाग्छ?

भइराखेको छ। नौ महिनादेखि सरकार चलिराखेको छ। चलिराखेका बेला हैन भनेर कसरी भन्ने? काम पनि भएको छ, तर जस्तो काम गर्ने भनेको हो त्यो भएको छैन। यसो गर्‍यौं भन्दा देखाउन सक्दैनन्।

तपाईंको विचारमा यो गठबन्धन पूरा समय टिक्छ?

म भन्दिनँ। राजनीति भविष्यवाणी नगर्ने। टिकी त राख्या छ। यो पनि भन्नै केही पर्‍यो र? यो रहनु र नरहनु केही फरकै छैन। यसले कामै गर्‍या छैन। दौडिन त दौडिराख्नु भएको छ, भाषण भइराख्या छ, उद्घाटन भइराख्या छ, तर सिद्धान्तबमोजिम भएन। सिद्धान्तबमोजिम नहुने बाटोमा हिँडेपछि यस्तै हुन्छ।

केपी ओलीलाई तपाईंले नजिकबाट चिन्नुभएको छ, अहिले पनि निरन्तर भेट हुन्छ, ओलीले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुहुन्छ?

कुनै पनि संस्था वा व्यक्तिसँग गरेको सम्झौता जस्ताको त्यस्तै लागु गर्नुपर्छ भन्ने मेरो मान्यता छ। यसको विपक्षमा जान पाइँदैन। जुन दिन शेरबहादुरलाई सुम्पनुपर्ने हो राज उहाँले सुम्पिनुपर्छ।

तपाईंलाई प्रधानमन्त्री बन्न मन छैन?

हुन मन छ भने बदनामीको विषय बन्छ। म प्रधानमन्त्री हुन्थें भने अहिलेसम्म समाजवाद घोषणा गरेर समाजवादको विकास आधा चरणमा पुर्‍याइसक्थें। मेरो किताब खोजेर पढ्नुहोला, त्यो लागु गरिन्थ्यो।

अझै पनि वामपन्थी एकता गर्न सकिन्छ, गर्छु भन्नेमा हुनुहुन्छ?

वामपन्थी एकताविना देशलाई समाजवादमा डोर्‍याउन सकिँदैन। वामपन्थीहरू एकताबद्ध भए कांग्रेसलाई पनि समाजवादमा तान्न सकिन्छ। वामपन्थीहरू एकताबद्ध भएरै राजा फाल्ने संघर्षमा हामीले कांग्रेसलाई पनि साथमा लिएर हिँड्न सकेका हौं।

वामपन्थी एकताबद्ध नभएको भए कांग्रेस कुनै पनि हालतमा आउने थिएन। त्यसकारण पहिले वामपन्थीहरू एक ठाउँमा आउनुपर्छ। त्यसपछि कांग्रेस खुसी भएर आउँछ। शासन सञ्चालन गर्ने ठाउँमा उसलाई पनि भाग दिनुपर्छ। पाँच वर्षमा उत्पादन र विकास निर्माण युरोपेली स्ट्यान्डर्डमा पुर्‍याउने र प्रतिव्यक्ति आम्दानी १० वर्षमा युरोप र नेपालको बराबरी हुने गरी योजनामा सामेल हुनुपर्छ।

यो प्रणाली नै परिवर्तन गर्न तयार हुनुहुन्छ?

यो प्रणालीबाट त अगाडि जानै सकिन्न। यो प्रणाली भनेको गरिब गुरुवा हुने, खरानी धसेर हिँड्ने, भिक्षा देऊ भनेर अमेरिकातिर जाने, उनीहरूले जति भिक्षा दिन्छन्, ल्याएर हामीले यसो गर्‍यौं भन्ने प्रणाली हो। अब जाने भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक प्रणाली, प्रतिनिधिसभा र राष्ट्रिय सभामा १५/१५ जना सदस्य, प्रदेशमा पनि त्यत्तिकै सदस्य र बैठकमा जति क्षेत्र छन् त्यति आउँछन्। बैठक सकिएपछि घर गएर काम गर्छन्।

तलदेखि माथिसम्म सय अथवा डेढ सयजना जो नीति कार्यक्रम बजेट आदि–इत्यादि बनाउन लागिपरेका हुन्छन्, उनीहरूले मात्रै तलबभत्ता खाएर बस्ने। त्यस्तो किसिमको व्यवस्था हामीले सिर्जना गर्नुपर्छ। संविधान संशोधन गरेर जानुपर्छ।

तर आज ३६ हजारभन्दा बढी राजनीतिक कार्यकर्ताले देशैभरि जागिर स्तो खाइराखेका छन्, तिनलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?

बाहिर पद हुन्छ। ज्यालादारी वा महिनावारीबाट प्राप्त आम्दानीबाट जीविका चलाउनुपर्छ। हरेकका घरमा सोह्र वर्ष उमेर पुगेका मान्छेले काम गर्छ। काम गर्दैन भने खाना पाउँदैन भन्ने व्यवस्थाबाट हामी अगाडि बढ्नुपर्छ।

हामीसँग पुँजीवाद छ। पुँजीवादमा जनतालाई ठग्नेभन्दा अर्को हुँदैन, तर पुँजीवादसँगै जानुपर्छ। पुँजीवादलाई सँगै लिएर हिँड्नुपर्छ। समाजवाद मुख्य हुनुपर्छ। समाजवाद भनेको सामुहिक उत्पादन गर्ने, त्यसको मूल्य जति प्राप्त हुन्छ त्यो उत्पादनमा सामेल भएकाहरूले नै बाँडिचुँडी गर्ने। देशैभरिकाले त्यस्तै गरेर उत्पादन र निर्माणमा लाग्ने।

यो त कल्पना मात्रै भएन? यथार्थमा यस्तो नि हुन्छ?

यथार्थमा नआउने भए चीन, भियतनाम, क्युबा र लाओसमा किन आयो? थाइल्यान्ड, सिंगापुर, मलेसिया कसरी धनी भए? इन्डोनेसिया हामीभन्दा अगाडि नै छ। हाम्रा नेताहरू काम गर्न सक्ने अवस्थामा भएनन्। क्षमता त रहेछ।

क्षमता भएरै निर्वाचन गरेर प्रधानमन्त्री भएका छन्, तर देशलाई चाहिने किसिमले यिनीहरूले काम गरेनन्। यिनीहरूले गर्ने काम जे–जसरी गरिरहेका छन्, त्यसलाई अलिकति सच्याउनुपर्छ, हामी अगाडि बढ्न सक्छौं। समृद्ध हुन सक्छौं, सम्पन्न हुन सक्छौं। मागेर खाने अवस्था हाम्रो समाप्त हुन्छ। काम गरेर खाने अवस्था सिर्जना हुन्छ। आफ्नो देशको मालिक आफैं हुन पाउने व्यवस्था हुन्छ। यो सुरु मात्रै गर्नुपर्छ परिणाम सबै प्राप्त हुन्छ।

सुन्दा पनि एकदमै रमाइलो लाग्यो, तर काम कसले गर्छ?

राजनीतिमा यस्तै हुन्छ। मैले भनें, तपाईंले, अर्काले भन्नुहुन्छ। आजको अन्तर्वार्ता हेर्छन्, मैले मात्रै राम्रो बोल्छु भन्ने हैन। अर्काले पनि बोल्या हुन्छ। कम्युनिस्टै हुनपर्छ भन्ने छैन, सबैले भनेपछि स्थिति तयार हुन्छ।

नेपाल बन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ?

विल्कुल बन्छ। एकदम विश्वस्त छु। नेपाल एसियाको सबैभन्दा समृद्ध बन्ने देखिन्छ। पाँच वर्षमै बन्छ। १० वर्षभित्र त हामी युरोपेली स्ट्यान्डर्ड नाघेर अगाडि बढ्छौं।

प्रकाशित: ९ जेष्ठ २०८२ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App