भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युको कारणबारे ओडिसास्थित भुवनेश्वर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
भुवनेश्वर प्रहरी कमिस्नार डा. सुरेश देवदत्त सिंहका अनुसार अबको एक हप्तामा ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्ट आएपछि अनुसन्धान अघि बढ्नेछ । उनै कमिस्नार सिंहसँग नागरिक दैनिकका संवाददाताद्वय मिथिलेश यादव र टपेन्द्र कार्कीले मंगलबार राती गरेको कुराकानीको सारसंक्षेपः
प्रिसा मृत्युबारे अनुसन्धान कहाँ पुगेको छ ?
अनुसन्धान पूरा भएको छैन अझै चलिरहेको छ । अहिले हामी सुरुवाती चरणबाटै अघि बढेका छौ । सुरुवातमा हामीले हेर्दा उनी झुण्डिएको (ह्याङगिङ) भेट्यौ । यो केशको अनुसन्धान अहिले पूरा भएको छैन, जाँचपड्ताल चलिरहेको छ ।
अनुसन्धानको पछिल्लो अवस्था चाहिँ के छ ?
जब हामीले थाह पायौ शुरुमा उनको अभिभावकलाई खबर गरियो । प्रिसाको बुबा र परिवारको सदस्य आएपछि प्रदेश सरकार अन्तर्रगतको क्यापिटल अस्पतालमा पोष्टमार्टम गरियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आइसकेको छ । त्यसको पनि विश्लेषण गर्दैछौ । त्यसैले तथ्य अहिले नै भन्न मिल्दैन । पोष्टमार्टम मजिस्ट्रेडको उपस्थिति र क्यामराको निगरानीमा गरिएको थियो । उनको पोष्टमार्टम चार जना डाक्टरले गरेका थिए । पोष्टमार्टमको रिपोर्टलाई हेरेर थप अनुसन्धान अघि बढाएका छौ ।
प्रिसाको बुबाले यहाँको प्रहरीलाई के भने ?
प्रिसाको अभिभावक यहाँ आइसकेपछि यहाँको प्रहरीले भेट्यो । कुराकानी गर्यो। उनले सत्य तथ्य पत्ता लगाइदिन आग्रह गरका छन् । अभिभावकको बयान लिएका छौ । उनको बयान अनुसन्धान अधिकृत, डिस्ट्रिक्ट मजिस्ट्रेडलाई र क्यामराका सामुन्ने भएको छ । अभिभावकले प्रहरीको अनुसन्धानलाई विश्वास गर्छौ भनेका छन् । उनीहरूलाई हिजो (मंगलबार) मात्रै नेपाल पठाइएको छ । प्रिसाको बुबाले डिस्ट्रिक्ट मजिस्ट्रेडलाई पनि भेटेका छन् । प्रिसाका अभिभावले प्रहरीको अनुसन्धानलाई विश्वास गर्ने भनेका छन् । सत्य के हो तथ्य के हो यहाँको प्रहरीले बाहिर ल्याउँछ ।
प्रिसाको ल्यापटप र मोबाइल कहाँ छ ?
प्रिसाको ल्यापटप र मोबाइल बरामद गरेर प्रहरीले फरेन्सिक ल्याबमा पठाएको थियो । ल्यापटप र मोबाइल कोडेड भएकाले खोल्न दुुई/तीन लाग्यो । ल्याबले डाटा सुरक्षित गरेर प्रहरीलाई पठाएको छ । पोष्टमार्टम रिपोर्ट र डाटा एनालाइसिस हुनेछ । साथै ल्याबको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्छ । पोष्टमार्टम रिपोर्टमा ‘फल प्ले’ छैन । पोष्टमार्टम रिपोर्ट मात्रै हेरिरहेका छैनौ विभिन्न कोणबाट अनुसन्धान अघि बढाउनेछौ ।
फरेन्सिक ल्याबको रिपोर्ट आउन कति समय लाग्छ ?
फरेन्सिक ल्याबबाट रिपोर्ट आउन पाँच/सात दिन लाग्छ । रिपोर्ट के आउँछ त्यही अनुसार अघि बढ्छौ । ल्यापटप र मोबाइल कोडेड भएकाले समय लागेको हो ।
प्रिसा नेपाली नागरिक, घटना चाहिँ भारतमा भयो, अनुसन्धान कमजोर हुने आशंका छ यसमा के भन्नुहुन्छ ?
अपराधको अनुसन्धानमा देशको सीमा हुँदैन, विदेशी स्वदेशी नागरिकमा भेदभाव हुँदैन । अपराध गर्ने नागरिक जहाँको भएपनि अपराधी नै हुन्छ । उसलाई कानुनी दायरामा ल्याउन कोही कसैले छेक्दैन । हामीले अघिल्लो प्रकृति लम्सालको मृत्युको अनुसन्धान पनि तथ्यमा आधारित भएर गरेका छौ । र दोषी अहिले पनि थुनामा रहेको छ ।
प्रिसाको मृत्यु प्रकरणमा पनि प्रहरी तथ्यमा आधारित भएर नै अनुसन्धान गर्छ । यदि कोही दोषी देखिएमा कानुन अनुसार कारवाही गर्छ । यसमा यो देश वा त्यो देश भन्ने भेदभाव छैन । नेपालबाट तपाईंहरू आउनु भएको छ, यी घट्नामा चासो देखाउनु भएको छ । नेपाली विद्यार्थीको दुःखद घट्नाको बारेमा जानकारी लिन नेपालबाट आउने तपाई पहिलो मिडियाकर्मी हो । यहाँको प्रहरीले गरेको काम कारवाही बारे र अनुसन्धानबारे खुलस्त बुझेर जानुहोस्, सत्य तथ्य थाह पाउनुहोस् हाम्रो सहयोग रहन्छ ।
प्रकाशित: २४ वैशाख २०८२ ०९:१५ बुधबार