२० श्रावण २०७७ मंगलबार
अन्तर्वार्ता

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

नेपालका २८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बैंकमा दोस्रो कार्यकाल सम्हाल्दै छन् । सबैभन्दा कान्छो बैंक भएर पनि ६ वर्षमै टप १० को सूचीमा पर्न सकेको यो बैंकको सफलताका पछाडि बैंकको बोर्ड र व्यवस्थापन टिमबीचको समन्वयात्मक भूमिका प्रमुख कारण ठान्छन् दाहाल । दाहालको टेबलमा विभिन्न बैंकका परिसूचकहरू रहेको सानो पातो छ । पुँजीकोष, निष्क्रिय कर्जा र कर्जा निपेक्ष अनुपातमा सानिमा, नबिल, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टड, हिमालयन र एभरेष्ट बैंकका विवरण छन् । भुवनको विश्लेषण छ, ‘जुन बैंकमा बोर्डको हस्तक्षेप कम छ, बोर्ड र व्यवस्थापनबीच समन्वयात्मक अवस्था छ ती बैंक फैलिएका छन्, फस्टाएका छन् । सिइओहरू नगदी सेलिब्रेटी मानिन्छन् ।’ तर भुवन भने सामान्य जीवनशैली र भेषभूषा रुचाउँदा रहेछन् । नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णु बेल्बासेसँग भुवनले आफ्नै कार्यकक्षमा नेपालका बैंकहरू, मुलुकको आर्थिक अवस्थाको सूक्ष्म विश्लेषण गरे । कर्पोरेट कुराकानीमा दाहालसँगको वार्ता ।  

अन्य वाणिज्य बैंकभन्दा सानिमा बैंक के अर्थमा फरक छ ?

त्यस्तो खासै फरक छैन । अन्य बैंक र हाम्रो बैंकले गर्ने काममा त्यस्तो धेरै फरक छैन । सबै बैंकले ग्राहकलाई सेवा दिने हो हामीले पनि त्यही हो । हामीले गुणस्तरीय र भरपर्दो सेवा दिइरहेका छौं भन्ने हाम्रो आँकलन हो । इन्टरनेट, एटिएम अन्य बैंकका धेरै बिग्रने होलान् तर, सानिमा बैंकको त्यस्तो धेरै समस्या छ जस्तो मलाई लाग्दैन । त्यसैगरी संस्थागत सुशासनमा पनि हामी अगाडि छौं । बैंक सञ्चालक समितिले नीति निर्माण गर्छ । त्यसको कार्यान्वयन व्यवस्थापनले गर्छ । सञ्चालक समिति र व्यवस्थापनबीच राम्रो समन्वय छ, द्वन्द्व छैन । एकको काम अर्कोले हस्तक्षेप गर्दैनन् । सानिमा बैंकको खराब कर्जा पनि एकदमै कम छ । बैंकको ०.०१ प्रतिशत मात्र निष्क्रिय कर्जा छ । खराब कर्जा सबैभन्दा कम हुने बैंकमा पनि हामी नै छौं । 

बैंकको अहिलेको अवस्था ?

सानिमा बैंक सबैभन्दा कान्छो (सबैभन्दा पछि खोलिएको) बैंक हो । कान्छो बैंक भए पनि अहिले हामी ‘टप टेन’ भित्रमा छौं । बैंकहरूको अवस्था मापन गर्ने एउटा पद्धति छ, त्यसलाई क्यामल रेटिङ भनिन्छ । बैंकको पुँजी कोष, निष्क्रिय कर्जा, व्यवस्थापन, आम्दानी, तरलताका आधारमा तय गरिने विधि नै क्यामल रेटिङ हो । त्यसमा हामी १० भित्र छौं ।

सानिमा बैंक क्यामल रेटिङमा पर्नुको आधार के त ?

हाम्रो पुँजी कोष, निष्क्रिय कर्जा, व्यवस्थापन, आम्दानी, तरलताको अवस्था राम्रो छ । बैंक सञ्चालक र व्यवस्थापनबीच राम्रो सम्बन्ध छ । नेपालमा बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट्र बैंक, एसबीआई बैंक, सानिमा बैंक, नबिल बैंक क्यामल रेटिङमा अगाडि छन् । अन्य कुराका अतिरिक्त बैंक सञ्चालकले व्यवस्थापनलाई हस्तक्षेप नगर्ने बैंक क्यामल रेटिङमा अगाडि नै छन् ।

संस्थागत संस्कार (कर्पोरेट कल्चर) मा सानिमा कहाँ छ ?

नियामक निकाय नेपाल राष्ट्र बैंक राम्रो भएकोले कर्पोरेट कल्चरको विकास हुन गएको हो । नियामक निकाय राम्रो नभएको भए कर्पोरेट कल्चर राम्रो हुने थिएन । मेरो करिअर कर्पोरेट कल्चरबाट सुरु भएको हो । नबिल बैंकमा काम गर्दा त्यहाँ अमेरिकन कल्चर थियो । त्यही कल्चरमा काम ग¥यौं । प्रमुख कार्यकारी अधिकृतले चाहँदैमा सबै चिज हुँदैन । व्यक्तिले जे भन्छ त्यही लागू हुन्छ भने त्यहाँ कर्पोरेट कल्चर हुँदैन । कर्पोरेट कल्चरमा नियम, नीति प्रधान हुन्छ । 

बैंकबाहेक अन्य ठूला कम्पनीको हकमा कर्पोरेट कल्चरको अवस्था कस्तो छ, तपार्इंको आँकलन ?

नेपालका केही ठूला कम्पनी पनि कर्पोरेट कल्चरमा चल्न थालेका छन् । शेखर गोल्छा, विनोद चौधरीलगायतले स्थापना गरेका कम्पनी कर्पोरेट कल्चरमा चल्न थालेका छन् । कर्पोरेट कल्चरका साथसाथै नियामक निकाय प्रभावकारी भएकोले बैंकको नाफा पारदर्शी हुन्छ, प्रत्येक तीन–तीन महिनामा बित्तीय अवस्था सार्वजनिक गर्नुपर्ने हुन्छ । बैंकहरू नाफामा रहेको देखिन्छ । तर, बैंकहरू मात्र नाफा कमाउने अरू घाटामा हुने भन्ने होइन । यहाँ नाफा कमाउने धेरै छन्, तर बित्तीय अवस्था पारदर्शी गर्नुपर्ने बाध्यता नभएकोले उनीहरूको अवस्था थाहा हुँदैन ।

नेपालका अधिकांश कम्पनी नाफामा छन् । तर, घाटामा गएको देखाइन्छ भन्न खोज्नु भएको हो ?

हो यही समस्या छ । भन्सारदेखि नै राजस्व छली सुरु हुन्छ । त्यसमा सरकारी कर्मचारीको संलग्नता छ । सबैले राजस्व तिर्ने हो भने अहिलेको भन्दा दोब्बर राजस्व त्यत्तिकै उठ्छ ।

राजस्वमा चुहावट हुन नदिने उपाय के–के हुन सक्छन्, तपाईंको सुझाव ?

कर तिर्ने रहरले होइन । व्यक्तिले कमाएको पैसा सजिलै अरूलाई दिन चाहँदैन । कर राज्यले लिने हो । जबसम्म व्यक्तिले कमाएको रकम सरकारले लिन सक्दैन तबसम्म राजस्वमा वृृद्धि हुन सक्दैन । राजस्व असुल गर्न कर्मचारीले राम्रो गर्नुपर्छ । कर्मचारीको तलब कमी भएकाले पनि कसरी आफूलाई फाइदा हुन्छ, त्यसै गर्ने गरेका छन् । सरकारी कर्मचारीको तलबले घर भाडा, गाडी, बालबालिकालाई पढाउन पुग्दैन् । उनीहरूलाई खान, लगाउन र बच्चालाई पढाउन पुग्ने पैसा दिइयो भने दायाँबायाँ हेर्दैनन् । 

कर्मचारीकै कारण बेथिति निम्तिएको हो भन्न खोज्नु भएको हो ?

कर्मचारीलाई सामान्य खर्च गर्न पुग्ने तलब राज्यले दिनुपर्छ । सरकारी कर्मचारीले शिक्षा, स्वास्थ्यलगायतमा अत्यधिक खर्च गर्नुपरेको छ । खान, लाउनर, बस्न र बालबालिकाको शिक्षा कसरी दिने भन्ने मानसिक तनावमा कर्मचारी छन् । त्यस्तो तनावमा रहेका कर्मचारीले कसरी राम्रो काम गर्न सक्छन् त ?

मुलुकको विद्यमान आर्थिक अवस्थालाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ ?

मुलुकमा अथाह सम्भावना छन् । तर, त्यसको सही सदुपयोग हुन सकेको छैन । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने र हेर्ने रहर सबैलाई छ । गौतमबुद्ध जन्मेको स्थान लुम्बिनी हेर्न त्यत्तिकै आतुर छन् । कृषिमा अथाह सम्भावना छ । एक डेढ घण्टाको यात्रामा अत्यन्त गर्मी ठाउँमा जान सकिन्छ भने त्यति समयमा चिसो ठाउँमा पुग्न सकिन्छ । त्यहाँको वातावरणअनुसार अन्न, फलपूmल र तरकारी उत्पादन गर्न सकिन्छ । प्रकृतिले दिएको उपहारलाई व्यवस्थापन गर्न नसकिएको मात्र हो । नेचर, एडभेन्चर र कल्चर राम्रो छ । निजगढ एयरपोर्ट, मेलम्ची खाने पानी आयोजना निर्माण पहिले नै भइसक्नुपर्ने थियो । कर्पोरेट कल्चरमा राज्य चल्नुपर्ने थियो । तर, चल्न सकेको छैन । यो नै दुर्भाग्य हो । पर्यटन प्रवद्र्धन गर्न सकिन्थ्यो । कृषिमा आधुनिकीकरण जरुरी थियो । तर, दुर्भाग्य नै भन्नुपर्छ– स्याउ, ओखर, चामल, दालसमेत बाहिरबाट आयात गरिरहेका छौं । मासुका लागि भारतबाट खसी आयात गरिरहेका छांै । नेपालमै स्याउ प्रशस्त हुन्छ । तर, विदेशबाट आयात गरेका छौं । धान उत्पादन हुने ठाउँ प्रशस्त छ । तर, चामल भारतबाट आयात गरिरहेका छांै । धान उत्पादन गर्न भारतसँग प्रतिस्पर्धा गर्न नसके पनि स्याउ, सुन्तला उत्पादन गरेर विदेश निर्यात गर्न सकिन्छ । यस्तो विषयमा खोइ ध्यान दिइएको ?

सुधारको सम्भावना कत्तिको देख्नुभएको छ ?

मुलुकमा राजनीतिक स्थायित्व हुनुप¥यो । टायर बाल्ने ठाउँमा को नै लगानी गर्न आउँछ र । आर्थिक विकास गर्ने हो भने बन्दलाई सधँैका लागि बन्द गर्नुपर्छ । सुशासनमा ध्यान दिनुपर्छ । म त भन्छु नेपालको विकास गर्ने हो भने सुशासन कायम गर्न सक्नुपर्छ । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सुशासनमा ध्यान दिनुपर्छ ।

छायाँ अर्थतन्त्रको प्रभाव ज्यादै छ भनिन्छ, तपार्इंको धारणा के छ ?

अहिले प्रतिव्यक्ति आम्दानी एक हजार डलर छ । स्याडो अर्थतन्त्रले जरा नै गाडेको छ । नेपाल आउने पर्यटनभन्दा नेपालबाट बाहिर जाने धेरै छन् । यसबारेमा राष्ट्र बैंकले अध्ययन गरेको हुनुपर्छ । घुस खाएको पैसा बैंकिङ प्रणालीमा आउँदैन । घुस खाएको पैसा बाहिर नै बस्छ । एक करोडभन्दा माथिको घुस विदेशमै डिल हुन्छ । कमाएको पैसा छल गर्ने क्रम रोकिएको छैन । कर्मचारी प्रशासनमा सुधार नगरी देश विकास हुँदैन । बाटो र बिजुलीमा विकास हुनुपर्छ ।

बैंकले ब्याजदर जथाभावी बढाउने गरेको आरोप लाग्ने गरेको छ नि ? तपार्इं के भन्नुहुन्छ ? 

बेश रेट लागू भएपछि त्यसरी ब्याजदर बढाउन मिल्दैन । बेश रेट भन्दा ३ प्रतिशत बढीमा लगानी गर्न पाइँदैन । बैंक छाड्ने बित्तीकै हामी पनि ग्राहक हुने हो । त्यसो भएकाले ठग्ने काम गर्दैनांै र ठग्ने काम नगरौं ।

अहिले नेपालका बैंकको अवस्था कस्तो छ ?

खासै खराब छैन । नियामक निकाय कडा भएकाले पनि बैंकको अवस्था राम्रो हुन पुगेको हो । नियम मिचेर गर्ने काम कम छन् । अधिकांश बैंकको अवस्था राम्रो छ । ८–१० वटाको बाहेक अरूको राम्रो छ ।

चुक्तापुँजी वृद्धिले बैंकले दिने प्रतिफल घट्ने अनुमान गरिँदैछ छ । तपार्इंको आँकलन के हो ?  

बैंकहरूको चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब पुगेको छ । यसले गर्दा आगामी वर्ष बैंकहरूले दिने प्रतिफलमा कमी आउने अनुमान गरिएको छ । बैंकहरूले सार्वजनिक गरेको पुससम्मको वित्तीय विवरणमा १० प्रतिशतभन्दा कम कमाएका ७ वटा, १५ प्रतिशतभन्दा बढी कमाएका १२ वटा र २० प्रतिशतभन्दा बढी कमाएका तीन बैंक मात्र छन् । अहिले बचतको ब्याजदर २ देखि १० प्रतिशत छ । मुद्धति भने ११ प्रतिशतसम्म छ । बैंकहरूले ऋण लगानी १४–१५ प्रतिशतसम्म गर्दै आएका छन् ।

अहिलेको सेयर बजारलाई कसरी विश्लेषण गर्नु भएको छ ?

धान बढी फल्ने खेतको मूल्य बढी हुन्छ । धान कम फल्ने खेतको मूल्य कम हुन्छ । १ कठ्ठा खेतमा ५ मुरी धान फल्नेको मूल्य र ३ मुरी धान फल्ने खेतको मूल्य एकै हुँदैन । सेयर बजारलाई पनि आकाशे पानी लाग्ने खेत, नहरबाट पानी लाग्ने खेतको रूपमा तुलना गर्न सकिन्छ । अहिले धान राम्रो छैन । तर, नहर लाग्ने सम्भावना छ भने पनि त्यसको मूल्य केही माथि हुन्छ । मैले त सेयर बजारलाई खेतसँँग तुलना गर्छु । कुनै कम्पनीको सेयर मूल्य बढी छ भन्नुको अर्थ उसको दिने प्रतिफल राम्रो छ भन्ने बुझ्नु पर्छ । साथै उक्त संस्थाको व्यवस्थापन कस्तो छ भन्ने पनि बुझ्नु जरुरी छ । फटाहा छ कि इमानदार छ ? त्यसले सेयरको मूल्यमा फरक पार्छ । इमानदार भएर मात्रै हुँदैन क्षमता र अनुभव छ कि छैन भन्ने पनि हेर्नुपर्छ । बैंक सञ्चालक समितिको बोर्डले व्यवस्थापनलाई हस्तक्षेप गर्छ कि गर्दैन । त्यो पनि हेर्नुपर्ने हुन्छ । बोर्ड र व्यवस्थापनसमूहबीच विवाद भयो भने पनि बैंकले राम्रो प्रगति गर्न सक्दैन । पहिला बुझ्दै नबुझी लगानी गर्नेहरू धेरै थिए । नबुझी लगानी गरेका कारण केही डुब्न पनि पुगे । तर, अहिले सेयर बजारमा लगानी गर्नुभन्दा पहिले कम्पनीका बारेमा बुझ्ने गरेका छन् । 

सेयर धितोमा लिने कर्जाको ब्याजदर महँगो छ भनिन्छ नि ?

बैंकमा लगानीयोग्य पुँजीको अभाव भएकोले कर्जाको ब्याजदर पनि बढेको हो । पहिले ७–८ प्रतिशतमा पाइने कर्जाको ब्याजदर अहिले १५ पुगेको छ । सानिमा बैंकले १५ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने गरेको छ । बैंकमा निक्षेप संकलनको तुलनामा कर्जाको माग अत्यधिक छ । आयोजना निर्माण गर्न, जलविद्युत् आयोजना निर्माण गर्ने भन्छौं । तर, आयोजना निर्माण गर्न रकमको अभाव छ । यसका लागि वैदेशिक लगानी बढाउनु पर्छ । सस्तो ब्याजमा कर्जा लिएर भए पनि आयोजना बनाउनु पर्छ । त्यसो गर्न सकिएन भने विकास निर्माणले गति लिन सक्दैन ।

मुलुकमा आर्थिक बेथिति मौलाउँदै गएको छ भनिन्छ, तपार्इं के भन्नुहन्छ ?

सरकारसामु आम्दानीभन्दा खर्च बढी हुने अवस्था आएको छ । सरकारको आम्दानीभन्दा खर्च बढी हुनु राम्रो होइन । सबैलाई सहिद घोषणा गरेर सरकारले के आम्दानी गर्छ ? कर्मचारी नियुक्ति गर्दा घुस ख्याउनुपर्ने स्थिति छ । दोहनकारी सोच बनाउँछांै । प्रतिमेगावाट बिजुली उत्पादन गर्न ६०–७० करोड लगाउँछौं । १० लाख पर्यटक आए भनेर उफ्रन्छांै । तर, उनीहरूले कति खर्च गरे भनेर कहिले पनि भन्दैनांै । साँच्चै भन्ने हो भने अहिले राज्य संयन्त्रले काम गरेको छैन । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीपछि बेथिति छ । त्यो बेथितिलाई अहिलेका प्रधानमन्त्री केपी ओलीले चिर्न सक्नुपर्छ ।

संघीयतामा प्रशासनिक खर्च बढ्छ भनिन्छ नि ?

संघीयता त्यति खर्चिलो हुँदैन । थोरै कर्मचारी राखेर काम गर्दा कम खर्च लाग्छ । पाँचवटा जिल्ला कार्यालयलाई मर्ज गरेर एउटा बनाउन सकिन्छ । कम जनसंख्या भएका जिल्ला जुम्लामा कम कार्यालय राखेर पनि सेवा दिन सकिन्छ । बढी जनसंख्या भएको ठाउँमा बढी कार्यालय स्थापना गरेर भए पनि सेवा पु¥याउनुपर्ने हुन्छ । कति खर्च गर्ने भन्ने कुरा कति कमाइ छ भन्नेमा भर पर्ने कुरा हो । आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न थालियो भने कसरी हुन्छ ? सरकार र प्रदेश सरकारहरू आम्दानी जति हुन्छ, त्यसैको आधारमा खर्च गर्नुपर्छ । यस्तो मान्यतामा काम गरियो भने संघीयता खर्चिलो हुँदैन । 

आम्दानीभन्दा खर्च बढी भएकै कारण समस्या आएको भन्न खोज्नु भएको हो ?

निजी संस्थाहरू आम्दानी बढी र खर्च कम गरेर नाफा कमाउँछन् । तर, सरकारी निकायहरू बढी खर्च र कम कमाउँछन् । यस्तो स्थितिमा कसरी धेरै दिन चल्ने ? सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम घाटामा चल्ने तर, बुद्ध एयरले नाफा कमाउँदै जाने र जहाज थप्दै जाने कुरालाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यसैगरी सरकारी विद्यालय बन्द हुँदै जाने निजी स्कुल मौलाउँदै जाने गरेका छन् । सरकारी बैंक राम्रो नहुने तर, निजी बैंकको नाफा कमाउँदै जाने परिपाटीको विकास भएको छ । सरकारीमा काम नगर्ने, अधिक कर्मचारी भर्ना गर्ने बानीले समस्या पारेको हो । निजीले पनि सरकारी बैंकले जस्तै काम गर्ने हुन् । निजी बैंकले थोरै कर्मचारी राख्छन् । थोरै स्टाफबाट धेरै काम लिन्छन् । तर, सरकारी बैंकले धेरै कर्मचारी राख्छ कम काम लिन्छ । संघीयतामा पनि यस्तै नियम लागू हुन्छ । थोरै कर्मचारीबाट धेरै काम लिन सकिएको खण्डमा संघीयता खर्चिलो हुँदैन । आम्दानीलाई खर्चसँग जोड्नु पर्छ । 

पारिवारिक खर्चको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

परिवारमा हुने आम्दानीअनुसारको खर्च गर्नुपर्छ । आम्दानीभन्दा खर्च बढी गर्न थालियो भने त्यसले डुबाउँछ । मासिकरूपमा परिवारमा हुने आम्दानी र खर्चको विवरण निकाल्नुपर्छ । आम्दानीबाट केही रकम भैपरिका लागि जोहो गर्ने र बाँकी रहेको रकम खर्च गर्नुपर्छ । परिवारको कुरा राज्य सञ्चालनमा पनि लागू हुन्छ । 

सिइओहरू धेरै व्यस्त हुन्छन् भनिन्छ कसरी परिवारलाई समय मिलाउनु हुन्छ ?

खासगरी शनिबारको दिन परिवारलाई समय दिन्छु । वर्षमा १५ दिन बिदा लिन्छु । पहिला–पहिला कजेलमा पढाउँथे । तर, अहिले भने पढाउँदिन । बिदाको समय खास गरेर परिवारका लागि हो । 

सिइओहरू रसिक हुन्छन् भनिन्छ नि ? तपाईंको दैनिकी ।

खै त्यस्तो त छैन । जाँड, चुरोट केही खान्न । पार्टीहरूमा त्यति जान्न । बिहान ४ देखि ५ बजेसम्म उठिसक्छु । सूर्य नमस्कार लगायतका योग अभ्यासहरू गर्छु ।

पारिवारिक अवस्था ? 

मेरो घर सिन्धुली कमलामाई नगरपालिकामा पर्छ । म सामान्य परिवारको मानिस हुँ । रौतहटको चन्द्रनिगाहापुरमा २–१० कक्षासम्म पढेपछि पाटन कलेजबाट आइए गरेँ । सुरुमा मैले संसद सचिवालयमा जागिर खाएको हुँ । २०४८–७० सम्म नबिल बैंकमा असिष्टेनबाट जागिर सुरु गरेको हुँ । सानिमाको स्थापना कालदेखि यसैमा छु र अहिले सिइओको दोस्रो कार्यकालमा छु । 

आमाबुवा कृषक परिवारका हुनुहुन्छ । श्रीमती सरिता कृषि विकास बैंकमा कार्यरत छिन् । छोरा समीप दाहाल, भारतको नयाँदिल्लीबाट कम्प्युटर इन्जिनियरिङ गर्दैछन् भने कान्छो छोरा प्राज्ञ कक्षा ८ मा अध्ययनरत छन् । 

प्रकाशित: १८ चैत्र २०७४ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App