६ चैत्र २०८० मंगलबार
अन्तर्वार्ता

गृहमन्त्री दिए कांग्रेस सरकारमा जान्छ: कांग्रेस नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले भागबण्डा मिले कांग्रेस सरकारमा जाने बताएका छन्।

शनिवार चितवन आएका कोइरालाले नागरिक दैनिकसंगको छोटो कुराकानीमा सम्मान जनक मन्त्रीहरु पाए सरकारमा जाने बताएका हुन्।

‘अहिलेको सरकार एकदम ढुलमुल वाला सरकार हो। त्यसैले अहिले नै हाम्रो प्रयत्न सरकारलाई बलियो बनाउने हुन्छ। उनीहरु पनि हामीलाई केही दिनुपर्‍यो, ’उनले भने, ‘राष्ट्रपति दिन्छन् कि अथवा भागबन्डा गरेर मन्त्री पद दिन्छन्, यो त रणनीतिमा भर पर्छ।’ 

गृहमन्त्री पद पाए कांग्रेस सरकारमा जान्छ भन्ने प्रश्नमा कोइरालाले गृहमन्त्री दिएपछि सरकारमा जाने बताए।

कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार कांग्रेसले आफ्नो रणनीति बनाउने बताए। कुराकानीकै क्रममा कोइरालाले नेकपा (माओवादी केन्द्र) कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा रहेको संकेत गरे। कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने कोरालाले दाबी समेत गरेका छन्। यस विषयमा सभापति शेर बहादुर देउवाले अन्य दलहरूसँग छलफल थालेको उनले बताए।

कोइराला र नागरिक सहकर्मी वसन्त ढुंगानाको छोटो कुराकानी:

राष्ट्रपतिको निर्वाचनमा कांग्रेस कसरी अगाडि बढ्छ?

हामी पनि आफ्नो क्यान्डिडेट (प्रतिस्पर्धी) दिन्छौँ भन्ने हाम्रो केन्द्रीय समितिले निर्णय गरेको छ। हामीले पनि हाम्रो क्यान्डिडेट दिन्छौँ। त्यसपछि हाम्रो केन्द्रीय सभापति शेरबहादुर देउवा ज्यूले अरु दलहरूसँग संवाद गरेर कस्तो बाटो हुन्छ। त्यो त वार्ता पछि थाहा हुन्छ। तर, हाम्रो निर्णय चाहिँ हामी पनि क्यान्डिडेट हुन्छौँ भन्ने मात्रै निर्णय भएको छ।

प्रधानमन्त्री ज्यूले अहिले राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रयासमा हुनुहुन्छ। प्रधानमन्त्री ज्यूले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न लाग्नुभएको हो?

यसो हेर्दा त्यस्तै लाग्छ। त्यसैले हामीले भन्दै छौँ। अहिले हामी एकता बद्ध भएर गयौँ भने माओवादी पनि हामीसँग आयो भने राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ। ओली जी यसको विरोध गर्दै हुनुहुन् । ओली जी विरोधमा हुनुहुन्छ। ओली जी एकातिर हुनुहुन्छ। हामी अर्को तिर छौँ। अब प्रचण्ड जी के गर्नुहुन्छ। त्यसैमा निर्भर हुन्छ।

त्यसो भए अहिलेको सरकारलाई कांग्रेसले ढाल्ने प्रयास गरिरहेको हो?

छैन, त्यस्ते ढाल्ने प्रयास त हामीले गरेका छैनौँ।

राष्ट्रपतिमा सत्ता गठबन्धनले कांग्रेसलाई सहयोग गरेन भने सरकारलाई दिएको विश्वासको मत फिर्ता लिन्छ कि लिँदैन?

त्यसपछि त अर्को मोड लिन्छ। त्यसपछि हामीले परामर्श गरेर अनि हामी नयाँ योजना तर्जुमा गछौँ।

केन्द्रीय समितिले यो विषयमा के कुरा गर्ला? तपाईँको धारणा के हो?

मेरो धारणा के हो भने पहिले हेरौँ त। उनीहरु कुन किसिमको सरकार चलाउँछन्। ठोस कार्यक्रम उनीहरु के ल्याउँछन्। त्यसैको आधारमा हामीले आफ्नो निर्णय बनाउँछौँ। हुन त अहिले सरकार भर्खर गठन भएको छ।

पछिल्लो सरकारको गतिविधिलाई हेर्दा के भन्नुहुन्छ तपाई?

सरकारले केही काम नै गर्न सकेको छैन। रवि लामिछानेको तपाईँलाई कुरा थाहा छ। त्यो पनि एउटा आघात पुगेको छ अहिलेको सरकारलाई त्यो ठुलो आघात हो नि त्यो त। त्यस अर्थ अहिलेको सरकार एकदम ढुलमुल वाला सरकार हो। त्यसैले अहिले नै हाम्रो प्रयत्न के हुन्छ भन्दा हामीले सरकारलाई बलियो बनाउँदा खेरी उनीहरु पनि हामीलाई केही दिनु पर्‍यो नि! राष्ट्रपति दिन्छन् कि अथवा भाग बन्डा गरेर मन्त्री पद दिन्छन्। यो त रणनीतिमा भर पर्छ।

अब गृहमन्त्री पायो भने कांग्रेस जान्छ त सरकारमा?

किन नजानु। गृह मन्त्री दिए त जान्छ नि।

कांग्रेस सरकारमा जान्छ गृहमन्त्री दिएपछि?

जान्छ जान्छ जान्छ। हस्

कांग्रेस पनि सरकारमा जान तयारी अवस्थामा हो?

कार्यकर्ताको इसारामा उत्तर दिन थाल्दै भने, तयारी होइन। उनीहरुले कति हात अगाडि हाल्छन्। त्यसमा निर्भर गर्छ। हाम्रो रणनीति। हस् धन्यवाद.......

कुराकानीको अडियो अन्तर्वार्ता

प्रकाशित: १४ माघ २०७९ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App