अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग ठुलो तेल सम्झौता भएको बताएका छन्।
उनका अनुसार सम्झौता कार्यान्वयन भए अमेरिकाले भेनेजुएलामा रहेको ६५ अर्ब ब्यारेल तेलको भण्डारमा पहुँच पाउनेछ। ट्रम्पले यसलाई विश्वकै ठुलो तेल सम्झौता भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गरेका हुन्। ट्रम्पका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पीट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबिच भएको वार्ताबाट सम्झौता तयार भएको हो। ट्रम्पले ‘अमेरिकाले भेनेजुएलासँग विश्वकै सबैभन्दा ठुलो तेल सम्झौता गरेको’ भनेका छन्।
रोड्रिगेज नेतृत्वको सरकारले ६५ अर्ब ब्यारेल तेलको प्रमाणित क्षमता भएका १७ वटा क्षेत्र विकास गर्ने योजना रहेको बताएको छ। सरकारका अनुसार सम्झौताबाट भेनेजुएलाको तेल उद्योगमा करिब १०० अर्ब डलर लगानी आउन सक्छ भने २०९ अर्ब डलरभन्दा बढी कर प्राप्त हुन सक्छ। रोड्रिगेजले सम्झौताले देशको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण प्रभाव पार्ने बताएकी छन्।
सम्झौताअनुसार अमेरिकाले भेनेजुएलामा एउटा निजी कम्पनीसँग मिलेर नयाँ कम्पनी बनाउनेछ। अमेरिकी अधिकारीका अनुसार रोड्रिगेजले उक्त कम्पनीलाई तेल क्षेत्र विकास गर्न १०० वर्षसम्मको अधिकार दिने भएकी छन्। नयाँ कम्पनीको प्रभावकारी उत्पादन हिस्सामध्ये अमेरिकाले ५५ प्रतिशत पाउनेछ। यसमा स्वामित्व हिस्सा र लागत मूल्यमा तेल खरिद गर्ने अधिकारसमेत समावेश हुनेछ।
अमेरिकामा पेट्रोलको मूल्य उच्च रहेका बेला यो सम्झौता भएको हो। शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४.०९ डलर पुगेको थियो, जुन गत वर्षको सोही समयको ३.२१ डलरभन्दा धेरै हो। तर भेनेजुएलाको तेल उत्पादन बढाएर तत्काल पेट्रोलको मूल्य घटाउन भने सम्भव नहुने विज्ञहरूले बताएका छन्। कमजोर पूर्वाधारका कारण उत्पादन बढाउन वर्षौं र अर्बौं डलर लगानी आवश्यक पर्ने उनीहरूको भनाइ छ।
भेनेजुएलामा विश्वकै सबैभन्दा ठुलो तेल भण्डार रहेको मानिन्छ। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार त्यहाँ करिब ३०३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ। तर कमजोर पूर्वाधारका कारण भेनेजुएलाले विश्वको कुल तेल उत्पादनको करिब १ प्रतिशत मात्रै उत्पादन गरिरहेको छ।
अमेरिकी विदेशमन्त्री रुबियोले सम्झौताले भेनेजुएलामा अर्बौं डलरको निजी लगानी भित्र्याउने र अमेरिकामा पेट्रोलको मूल्य घटाउन सहयोग गर्ने बताएका छन्। उनले ‘यो सम्झौता अमेरिकी र भेनेजुएलाका नागरिक दुवैका लागि ठुलो जीत हो’ भनेका छन्।
यो सम्झौता अमेरिकाले भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका ल्याएको करिब नौ महिनापछि भएको हो। मदुरो अहिले अमेरिकाको जेलमा छन् र आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। एजेन्सी
प्रकाशित: १३ भाद्र २०८३ ०९:४१ शनिबार





