२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि भने : २०० प्रतिशत करको धम्की दिएर भारत-पाकिस्तान युद्ध रोकेँ

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा भारत र पाकिस्तानबिचको सैन्य टकराव आफूले रोकेको दाबी पुनः दोहोर्‍याएका छन्। 

वासिङ्टनमा आयोजित आफ्नो नवनिर्मित संस्था ‘बोर्ड अफ पिस’ को उद्घाटन बैठकमा बोल्दै उनले दुवै देशलाई २०० प्रतिशत कर (ट्यारिफ) लगाउने धम्की दिएपछि द्वन्द्व रोकिएको बताएका हुन्। ट्रम्पले भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले हाम्रा चिफ अफ स्टाफसामु स्वीकार गरे कि राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तान द्वन्द्व रोकेर २ करोड ५० लाख मानिसको ज्यान बचाउनुभयो।’

उनले थपे, ‘मैले प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेहबाज शरीफलाई फोन गरेर स्पष्ट भनेको थिएँ- यदि तपाईंहरूले यो समस्या तत्काल समाधान गर्नुभएन भने म कुनै पनि व्यापार सम्झौता गर्ने छैन र दुवै देशका सामानमा २०० प्रतिशत कर लगाइदिनेछु।’

ट्रम्पका अनुसार पैसा र ठूलो आर्थिक नोक्सानीको डरले दुवै देश पछि हटेका थिए। उनले यस द्वन्द्वका क्रममा ११ वटा महँगा लडाकु विमान खसालिएको दाबी गरे। तर कुन देशका कति विमान थिए भन्ने खुलाएनन्।

सन् २०२५ अप्रिल २२ मा कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंककारी आक्रमणमा २६ जनाको ज्यान गएपछि तनाव सुरु भएको थियो। उक्त हमलाको जिम्मेवारी लश्कर-ए-तैयबाको प्रोक्सी समूह ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको थियो।

जवाफमा भारतले मे ७ मा पाकिस्तान र पीओकेका आतंककारी अड्डाहरूविरुद्ध ‘अपरेशन सिन्दूर’ सुरु गर्‍यो। यस क्रममा लश्करको मुरीदके र जैशको बहावलपुर कम्प्लेक्समा आक्रमण गरिएको थियो। मे १० मा युद्धविराम हुनुअघि भएको हवाई भिडन्तमा भारतका ५ र पाकिस्तानका ६ विमान खसालिएको दाबी गरिएको छ।

भारतले ट्रम्पको मध्यस्थताको दाबीलाई अस्वीकार गर्दै यो समस्या द्विपक्षीय वार्ता मार्फत समाधान भएको बताउँदै आएको छ। उता, पाकिस्तानले भने ट्रम्पको भूमिकाको समर्थन गरेको छ। एजेन्सी 

प्रकाशित: ८ फाल्गुन २०८२ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App