२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

अनुपमेय आयाम

नेपाल आमा अनुपमेय छिन्। यिनै आमाको सेवामा यसपटक मुलुकले अर्की मातृतुल्य व्यक्तित्व पायो -प्रधानमन्त्री सुशीला कार्की। देशको एउटा विषम परिस्थितिमा राष्ट्रको सर्वोच्च स्थानमा पुगेर जिम्मेवारीपूर्वक निर्वाचन सम्पन्न गर्न सकेकोमा जति आभार व्यक्त गर्दा पनि थोरै हुन्छ। गत भदौ २३ को जेनजी विद्रोह र त्यो विद्रोहको आडमा मुलुकलाई खरानीमा परिणत गरेको अवस्थामा एउटा अनिश्चित भविष्य बोकेको देशलाई उनले नेतृत्व दिइन् । त्यो नेतृत्वसँगै आत्मानुशासन, समर्पण र अविराम प्रयासबाट मात्र यो सम्भव भएको हो। कतै मुलुक एउटा असफल राष्ट्र बन्ने हो कि भन्ने चिन्ता र चासो नभएको होइन। यसलाई सफलतापूर्वक पार लगाएर मुलुकलाई ठुलो गुन लगाएकी छन् उनले।

एकातिर छन् नेपाल आमा। अर्कातिर छन् तिनै आमाको सेवामा प्रतिबद्ध आमाहरू। विदेशमा सन्तान पुगेका आमाहरूले पनि उत्तिकै हार्दिकतापूर्वक यसपटक मतदान गरेका छन्। रमजानको व्रत बसिरहेका मुसलमान महिला पनि भोकैतिर्खै मतदानमा सरिक भएका छन्। महिला जनसंख्या पुरुषभन्दा धेरै रहेको यो मुलुकमा जिम्मेवारी पाउनबाट उनीहरू वञ्चित रहँदै आएका थिए विगतमा। अहिले निर्वाचनको मैदानमा मतदान अधिकृतदेखि अनेकन् जिम्मेवारीमा महिला खटिएका थिए। अझ कतिपय महिलाले काखमा आफ्ना नानी बोकेर पनि जिम्मेवारी निर्वाह गरेको देखिएको छ। यसरी उनीहरूले मुलुकलाई धन्य बनाएका छन् आमाहरूले।

नेपालले पहिलो पटक महिलालाई प्रधानमन्त्रीका रूपमा पाएको हो, त्यो पनि एउटा असहज अवस्थामा। प्रधानमन्त्री बनेको सुरुका दिनमा यो जिम्मेवारी कसरी पूरा होला भन्ने अवस्था थियो। जब मुलुक फागुन २१ बिहीबार बिहान ७ बजे मतदानका लागि लाम लाग्यो, उनलाई पक्कै पनि सन्तोषको अनुभूति भएको छ। मुलुकको विकट परिस्थितिमा उनले आमाले झैं फकाउने र फुल्याउने गरेर सबैलाई निर्वाचनमा सरिक गराइन्। जेनजी विद्रोहपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई मुलुकको बागडोर जिम्मा लगाइएको थियो। त्यो बेलामा उनी केही अनिच्छुक हुँदा पनि राष्ट्रपति रामचन्द्र पौडेलले समेत भावनात्मक रूपमा उनलाई जिम्मेवारीका निम्ति मनाउनुपर्ने अवस्था नआएको होइन । वास्तवमा उनको ठाउँमा अरू कोही प्रधानमन्त्री भएको भए पनि परिस्थिति यति सहज थिएन । रातदिन नभनी परिस्थिति सम्हालेर निर्वाचित सरकारको हातमा राखिदिने अवस्थामा उनले पुर्‍याएकी छन्। त्यही भएर सबैले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

निर्वाचनको महानतम् अभियानभन्दा पनि प्रतिशोधको राजनीतितर्फ लाग्नेहरूको कमी थिएन तर ठुलो उद्देश्य बोकेर हिँडेपछि त्यसैलाई पूरा गर्नतिर लाग्नुपर्छ भन्ने अनुपम सन्देश प्रधानमन्त्री कार्कीले दिएकी छन्। प्रधानमन्त्री कार्कीसँगै उनको टिममा मन्त्री रहेकाहरूको भूमिकालाई पनि यस बेला सम्झनुपर्ने हुन्छ। गृहमन्त्री ओमप्रकाश अर्याल यसको अग्रपंक्तिमा पर्छन्। उनीमाथि प्रतिशोधका अनेकन् दबाब थिए तर उनले एकनिष्ठ भएर निर्वाचनका निम्ति शान्तिसुरक्षाको वातावरण बनाउन क्रियाशीलता देखाए। भलै प्रधानमन्त्री कार्कीले आफ्नो अन्तरिम सरकारमा समावेश गरेका केही मन्त्रीहरू निर्वाचनमा भाग लिन गए। उनी भने यसमा लागिरहिन्। राम्रो पक्ष यो सरकारका सदस्यहरूलाई निर्वाचनमा जय–पराजयभन्दा पनि यसलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउनुपर्ने गुरुत्तर दायित्व थियो।

केही स्थानमा भएका सामान्य घटनाबाहेक मुलुकभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। यो भनेको मुलुकको लोकतन्त्र परिपक्वतातर्फ उन्मुख भइरहेको संकेत हो। निर्वाचनप्रति आममतदाताको रुचि र उत्साहले नेपाललाई लोकतान्त्रिक अभ्यासका लागि अग्रणी मुलुकमा उभ्याएको छ। तैपनि प्रारम्भिक अनुमानअनुसार ६० प्रतिशत मात्र मतदानभन्दा बढी नै अपेक्षा यसपटक भने भएको हो। केही स्थानका मतदाताले विकास निर्माणप्रतिको आकांक्षालाई प्रकट गर्दै मतदान केन्द्रमै नगएका खबर पनि आएका छन्। यसले भविष्यका निम्ति मतदान गर्ने मात्र होइन, अस्वीकार गर्ने एउटा प्रावधानसमेत हुनुपर्छ भन्ने मान्यतालाई दरिलो बनाएको रूपमा बुझ्न सकिन्छ।

संविधानसभाले बनाएको नेपालको संविधान २०७२ जारी भएपछिको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आफ्नो अवधि पूरा गर्न पाएको भए तेस्रो प्रतिनिधिसभाका लागि २०८४ सालमा मात्र निर्वाचन हुने थियो। दुई वर्ष अगावै सम्पन्न यो निर्वाचनबाट आएको प्रतिनिधिसभाले मुलुकका समस्यामा आफ्नो दृष्टिकोण गम्भीर बनाउनुपर्ने छ। त्यति मात्र होइन, सरकारले वस्तुनिष्ठ भएर काम गर्नतिर लाग्नुपर्छ। विगतमा जसरी सरकार बनाउने र भत्काउने खेल भए, त्यसतर्फ नलागी प्रमुख विपक्षमा बस्ने दल पनि दरिलो हुनु आवश्यक छ । सरकार जोसुकैले बनाए पनि गतिलो प्रतिपक्षी दल भएन भने लोकतान्त्रिक प्रक्रियालाई ठिक ठाउँमा ल्याउन सजिलो छैन।

लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष भनेको सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो । यसपटकको निर्वाचनमा गैरराजनीतिक व्यक्ति सहभागी भएर यसलाई सफलतापूर्वक सम्पन्न गरेका छन्। संक्रमणकालीन समयमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले पनि यसरी नै निर्वाचन सम्पन्न गराएका हुन् तर ती परिस्थितिभन्दा अहिले अझ कठिन परिस्थिति रहेको हो। यसलाई पनि पार लगाउन सफल भएकोमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, सुरक्षा निकाय, कर्मचारीतन्त्र लगायतप्रति आभार व्यक्त गर्नुपर्छ। यही लोकतन्त्रको आलोकमा मुलुक फेरि अगाडि बढोस्।  

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:०५ शुक्रबार

Download Nagarik App