ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाइ गरेका ती न्यायाधीशले बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउन, रातको समयमा घरमै बस्न र फैसलाको पर्खाइमा सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए।
राष्ट्रपति लुलाले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेका छन्, ‘मेरो ऐक्यबद्धता र समर्थन सर्वोच्च सङ्घीय अदालतका न्यायाधीशप्रति छ। उनी अमेरिकी सरकारको अर्को स्वेच्छाचारी र पूर्णतया आधारहीन कदमबाट प्रभावित भएका छैनन्।’
‘एक देशको न्याय प्रणालीमा अर्को हस्तक्षेप अस्वीकार्य छ र यसले राष्ट्रहरूबीचको सम्मान र सार्वभौमिकताको आधारभूत सिद्धान्तको उल्लङ्घन गर्छ।’ बोल्सोनारोमाथि सन् २०२२ मा लुलाले जितेको चुनाव उल्टाएर सत्तामा टिकिरहन खोजेको आरोप छ।
सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोलाई इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस लगाउन, रातको समयमा घरमै बस्न र फैसलाको पर्खाइमा सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए।
त्यसको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मोरेस र उनका ‘सहयोगी’ र तिनका परिवारका सदस्यको भिसा रद्द गरेको थियो
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमा भनेका छन्, ‘ब्राजिलको सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले जायर बोल्सोनारोविरुद्ध गरेको ‘राजनीतिक पूर्वाग्रहपूर्ण’ उत्पीडन र सेन्सरसिपले जटिलता सिर्जना गरेको छ। यसले ब्राजिलियालीको आधारभूत अधिकारको उल्लङ्घन मात्र गरेको छैन, अमेरिकीहरूलाई लक्षित गर्न ब्राजिलको सीमाभन्दा बाहिर पनि फैलिएको छ।’
ट्रम्प र बोल्सोनारो दुवैले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्छन् र बोल्सोनारोले आफ्नो फैसलालाई लिएर न्यायाधीशमाथि बारम्बार मौखिक आक्रमण गर्छन्। एएफपी
प्रकाशित: ४ श्रावण २०८२ ०८:४२ आइतबार


-1200x560-600x400.jpg)


