२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ

देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन’ र ‘डिस इन्फरमेसन’ प्रवाह गर्ने तथा गाडी जलाउनेलगायत निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जनलााई पक्राउ गरिएको जानकारी दिए।  

उनका अनुसार सुरक्षा चुस्त र प्रभावकारी बनाइएकाले काठमाडौंमा राति दुई वटा गाडी जलाएको पाइए पनि निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका कुनै पनि घटना भएका छैनन्।

प्रवक्ता काफ्लेले सबै मतदानस्थलमा प्रहरी पुगिसकेको जानकारी दिँदै सुरक्षा मजबुत पारिएको बताए। उनले भने, 'जिल्लाका मतदान केन्द्रहरूमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर सुरक्षालाई चुस्त बनाउने काम भएको छ। मोबाइल र रिजर्भ टोलीले अन्य सुरक्षा संयन्त्रसँग समन्वय गरी निर्वाचन सुरक्षा सुदृढ बनाउन उच्च मनोबलका खटिने काम भएको छ। प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गर्ने तथा मौन अवधि उल्लङ्घन गर्नेहरू पहिचान गरी विशेष निगरानी गर्ने र नियन्त्रण गर्ने काम भइरहेको छ।'

आजै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलको अनुगमन गरी मौन अवधिमा सीमा सुरक्षामा विशेष निगरानी र सुरक्षा चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिएको पनि उनले जानकारी दिए।

मंगलबार देशका विभिन्न क्षेत्रमा तर्साउनका लागि राखिएका पाँचवटा नक्कली वस्तु फेला परेका र सेनाले निष्क्रिय गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App