अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा मारिएका चार अमेरिकी सैनिकको पहिचान खुलाएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीलाई लक्षित गरी गरेको आक्रमणपछि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउने यिनीहरू नै पहिलो अमेरिकी सैनिक हुन्।
मार्च १ मा कुवेतको पोर्ट शुआइबामा भएको मानवरहित हवाई आक्रमणमा उनीहरूको मृत्यु भएको थियो। मारिनेहरूमा फ्लोरिडाका ३५ वर्षीय क्याप्टेन कोडी ए खोर्क, नेब्रास्काका ४२ वर्षीय सार्जेन्ट प्रथम श्रेणी नूह एल टिट्जेन्स, मिनेसोटाकी ३९ वर्षीया सार्जेन्ट प्रथम श्रेणी निकोल एम अमोर र आयोवाका २० वर्षीय सार्जेन्ट डेक्लान जे कोडी छन्। उनीहरू सबै डेस मोइनेस आर्मी रिजर्भ युनिटमा कार्यरत थिए।
आर्मी रिजर्भका प्रमुख लेफ्टिनेन्ट जनरल रोबर्ट हार्टरले भने, ‘हामी हाम्रा महान् नायकहरूको सम्मान गर्छौँ, जसले हाम्रो राष्ट्रको रक्षामा निडर र निस्वार्थ रूपमा सेवा गरे। उनीहरू र उनीहरूको परिवारको बलिदान कहिल्यै बिर्सन सकिँदैन।’
त्यस्तै, ७९ औँ थिएटर सस्टेनमेन्ट कमान्डका मेजर जनरल टोड एर्स्किनले भने, ‘हाम्रो राष्ट्रलाई यस्ता बहादुर पुरुष र महिलाले सुरक्षित राखेका छन् जसले हरेक दिन सबै कुरा दाउमा लगाउँछन्। उनीहरू अमेरिकाको हृदय हुन्। हामी उनीहरूको नाम, सेवा र बलिदानलाई सधैँ सम्झनेछौँ।’
यस आक्रमणमा जम्मा छ जना अमेरिकीको मृत्यु भएको छ। बाँकी दुई जनाको पहिचान पनि जतिसक्दो चाँडो सार्वजनिक गर्ने पेन्टागनले जनाएको छ। एजेन्सी
प्रकाशित: २० फाल्गुन २०८२ ०७:०७ बुधबार





