हरेक वर्ष बालुवा र धुलोको आँधीबेहरीले विश्वका एक सय ५० देश र करिब ३३ करोड मानिस प्रभावित हुने पाइएको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार यो आँधीबेहरीले सार्वजनिक स्वास्थ्य, अर्थतन्त्र र वातावरणमा निकै ठुलो क्षति पु¥याइरहेको छ । संयुक्त राष्ट्रसंघका लागि डब्लुएमओकी प्रतिनिधि लाउरा पाटरसनले संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा हरेक वर्ष करिब दुई अर्ब टन धुलो वायुमण्डलमा उत्सर्जन हुने जानकारी दिएकी हुन् ।
पाटरसनका अनुसार यो धुलोको ८० प्रतिशतभन्दा बढी हिस्सा उत्तर अफ्रिका र मध्यपूर्वका मरुभूमिबाट उत्पन्न हुन्छ । यस्ता कणहरूले हजारौं किलोमिटर टाढा रहेका महादेश र महासागर पार गर्न क्षमता राख्ने भएकाले यसको असर विश्वभर रहन्छ ।
राष्ट्रसंघीय महासभाले गत शनिबार ‘बालुवा तथा धुलोको आँधीविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाएको थियो । महासभाले सन् २०२५ देखि २०३४ सम्मको दशकलाई यो समस्याको समाधानका लागि समर्पित दशक घोषणा गरेको छ ।
महासभाका अध्यक्ष फिलेमोन याङले बालुवा र धुलोका आँधीबेहरीलाई ‘सबैभन्दा बेवास्ता गरिएको तर विश्वव्यापी प्रभाव पार्ने संकटमध्ये एक’ रहेको बताए । याङका अनुसार जलवायु परिवर्तन, जमिनको क्षय र दिगो हिसाबले जमिनको उपभोग नहँुदा यो समस्या चर्कंदो छ ।
अध्यक्ष याङले यस्तो आँधीबेहरीबाट उत्पन्न हावामा रहेका कणहरूले हुने श्वासप्रश्वास र मुटुका रोगका कारण वर्षमा करिब सात लाख मानिसको असामयिक मृत्यु हुने बताए । ‘साथै यसले कृषि उत्पादनमा समेत २५ प्रतिशतसम्म ह्रास ल्याएको छ । खाद्य असुरक्षा र बसाइँसराइको समस्या बढाएको छ,’ उनले भने ।
पश्चिम एसियाका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगकी कार्यकारी सचिव रोला दस्तीका अनुसार यी आँधीबेहरीको आर्थिक भार ‘अत्यन्त चर्को’ छ । मध्यपूर्व र उत्तर अफ्रिकामा मात्र यसको वार्षिक लागत लगभग एक सय ५० अर्ब अमेरिकी डलर बराबर छ, जुन क्षेत्रीय कुल गार्हस्थ्य उत्पादनको २।५ प्रतिशत बराबर हुन आउँछ । उनले इराकमा आएको हालैका आँधीले अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी बिरामीको थेगिनसक्नु भिड बढेको र कुवेत तथा इरानमा विद्यालय तथा कार्यालयहरू बन्द गराउनुपर्ने बाध्यता आएको बताइन् ।
दस्तीका अनुसार सहाराबाट उडेको धुलो फ्लोरिडा र क्यारिबियनसम्म पुगेको पाइएको छ । राष्ट्रसंघको ‘धुलो र बालुवाका आँधीबेहरीविरुद्ध गठबन्धन’की सहअध्यक्षसमेत रहेकी दस्तीले हाल २० भन्दा बढी युएन तथा विश्वस्तरीय निकायहरूले संयुक्त रूपमा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्न र स्वास्थ्य तथा आर्थिक चुनौती समाधान गर्न कार्य गरिरहेका जानकारी दिइन्। यसैगरी उनले सबै देशहरूलाई धुलो तथा बालुवाका आँधीबेहरीसँग जुध्ने रणनीतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यसूचीमा समावेश गर्न आह्वान गरेकी छन् ।
‘हामीसँग यसअघि नै जमिन पुनःस्थापना, दिगो कृषि प्रणाली, र अत्याधुनिक चेतावनी प्रणालीजस्ता अवधारणहरू छन्। अब हामीलाई चाहिएको कुरा भनेको एकीकृत प्रयास र आवश्यक स्रोत जुटाउनु हो,’ दस्तीले भनिन् ।
प्रकाशित: ३० असार २०८२ १८:२० सोमबार





