नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा चिनिएका छन्।
हालै सम्पन्न निर्वाचनमा ५० हजार ९४५ मत प्राप्त गर्दै संसद् पुगेका गौतमले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गरेका थिए।
देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम २०४३ असोज १० गते जन्मिएका हुन्। बुबा पूर्णप्रसाद गौतम र आमा जितकुमारी गौतमका सन्तान उनी पारिवारिक तथा सामाजिक जीवनसँगै सार्वजनिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
शिक्षालाई समाज रूपान्तरणको आधार मान्ने गौतमले शिक्षाशास्त्र, व्यवस्थापन शास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।
हाल उनी विद्यावारिधि (पिएचडी) अध्ययनरत छन्। शैक्षिक क्षेत्रमा उनको लामो अनुभव छ। देवचुली कलेज रजहरमा २०७१ देखि २०७७ सालसम्म क्याम्पस प्रमुखका रूपमा कार्यरत रहँदा उनले कलेजको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
युवा नेतृत्व र उद्यमशीलताका क्षेत्रमा पनि उनी सक्रिय रहेका छन्। युवा प्रतिभा तथा युवा उद्यमी सञ्जालका केन्द्रीय उपाध्यक्ष रहेका गौतम रजहर जेसिज–२०२० का अध्यक्ष तथा नेपाल जेसिजका पूर्वकेन्द्रीय उपाध्यक्ष (२०२१) रहेका छन्।
जेसिजमार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै उनले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म युवालाई सङ्गठित गर्ने प्रयास गरेका थिए।
साथै सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको सञ्चालक समिति सदस्यका रूपमा स्वास्थ्य क्षेत्रमा पनि योगदान गरेका छन्। विभिन्न विद्यालयमा शिक्षक तथा शैक्षिक संस्थामा प्रशासनिक जिम्मेवारी सम्हाल्दै उनले शिक्षा क्षेत्रसँगको सम्बन्ध निरन्तर कायम राखेका छन्।
युवा र सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ बाट सम्मानित गरेको थियो।
राजनीतिक रूपमा सक्रिय गौतम राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभापति रहेका छन्। नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्दै सुशासन, पारदर्शिता र विकासको मुद्दा उठाउँदै आएका गौतमलाई यस पटक नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ का मतदाताले प्रतिनिधिसभामा पठाएका छन्।
स्थानीय तहदेखि शिक्षा, युवा अभियान र सामाजिक क्षेत्रको अनुभव बोकेर सङ्घीय संसद्मा पुगेका गौतमले जिल्लाको विकास, रोजगारी सिर्जना र शिक्षा सुधारलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन्। स्थानीय सरोकारसँग नजिक रहेर सार्वजनिक जीवन बिताएको उनको राजनीतिक यात्राले अब सङ्घीय संसदमा नयाँ जिम्मेवारी पाएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १४:२० सोमबार




