फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणाको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले निन्दा गरेको छ। ‘यस्तो कदमले आतङ्कवादलाई पुरस्कृत गर्छ र गाजा जस्तै अर्को इरानी प्रतिनिधि सिर्जना गर्ने जोखिम बढाउँछ,’नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा भनेको छ,’ यस्तो अवस्थामा प्यालेस्टिनी राज्य इजरायललाई ध्वस्त पार्ने एउटा अर्को माध्यम हुने छ।’
त्यस्तै इजरायली रक्षामन्त्री इजरायल काट्जले यो कदमलाई ‘अपमानजनक र आतंकवादप्रति आत्मसमर्पण’ भनेका छन्।‘ हामी हाम्रो सुरक्षालाई हानि पुर्याउने, हाम्रो अस्तित्वलाई खतरामा पार्ने र इजरायलको भूमिमा हाम्रो ऐतिहासिक अधिकारलाई कमजोर पार्ने प्यालेस्टिनी अस्तित्वको स्थापना हुन दिने छैनौँ,’ उनले भने।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभामा घोषणा गर्दै फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने बताएका छन्। ‘मध्यपूर्वमा न्यायपूर्ण र दीर्घकालीन शान्तिप्रति आफ्नो ऐतिहासिक प्रतिबद्धतामा दृढ रहँदै, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ,’ म्याक्रोनले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्।
प्रकाशित: ९ श्रावण २०८२ ०८:०४ शुक्रबार





