अमेरिकाको जर्जिया राज्यमा हुन्डाई र एलजी एनर्जी सोलुसनको ब्याट्री कारखानामा भएको छापाले दुई देशबिचको कूटनीतिक र व्यापारिक सम्बन्धमा तनाव निम्त्याएको छ।
आप्रवासन अधिकारीले ४७५ जनालाई पक्राउ गर्दा अधिकांश दक्षिण कोरियाली नागरिक परेका छन्। सोहीकारण सियोलमा आक्रोश र चिन्ता बढेको छ। यो घटनाले ट्रम्प प्रशासनको कडा आप्रवासन नीति र दक्षिण कोरियाको अमेरिकी लगानीबिचको द्वन्द्वलाई उजागर गरेको छ।
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले भने, ‘पक्राउ परेका ४७५ मध्ये ३०० भन्दा बढी हाम्रा नागरिक हुन्।’ उनले आपतकालीन बैठकमा थप भने, ‘हामी चिन्तित छौँ र जिम्मेवारी महसूस गर्छौँ। आवश्यक परे म वासिङ्टन गएर वार्ता गर्नेछु।’ दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले ‘सम्पूर्ण प्रयास’ गर्न आदेश दिएका छन्। कूटनीतिज्ञहरूलाई घटनास्थल पठाइएको छ। मन्त्रालयका प्रवक्ता ली जे–वुङले भने, ‘हाम्रा लगानीकर्ता र नागरिकको अधिकारमा अन्याय हुनुहुँदैन।’
यो छापा ट्रम्प प्रशासनको आप्रवासन अभियानको हिस्सा हो, जसले विदेशी लगानीलाई पनि प्रभावित पारिरहेको छ। हालै दक्षिण कोरियाले अमेरिकामा १५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेको थियो, जसमा २६ अर्ब हुन्डाईमार्फत हुने भनिएको थियो। जुलाईमा भएको व्यापार सम्झौताले ३५० अर्ब डलरको लगानी सुनिश्चित गरेको थियो। तर १५ प्रतिशत भन्सार र भिसा प्रतिबन्धले तनाव बढाएको छ। विश्लेषकहरूका अनुसार यो घटनाले दक्षिण कोरियाली कम्पनीहरूको अमेरिकी विस्तारमा बाधा पुर्याउन सक्छ, जसले दुई सहयोगी देशबिचको सम्बन्धलाई चुनौती दिन्छ।
ट्रम्पले भने, ‘यी अवैध आप्रवासी थिए र आइसले आफ्नो काम गर्यो।’ तर सियोलले यसलाई ‘राष्ट्रिय जोखिम’ मानेको छ, जसले लगानीकर्ताहरूको विश्वास घटाएको छ। दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले यसलाई ‘ट्रम्पको म्यागा नीतिपछि कोरियालीहरूलाई पक्राउ’ भनेर आलोचना गरेका छन्।
अमेरिकी होमल्याण्ड सेक्युरिटीका अधिकारी स्टीवन श्र्यांकले यो छापा एलाबेलको कारखानामा महिनौँको अनुसन्धानको नतिजा भएको बताए। उनले भने, ‘यो सामान्य छापा होइन, यो गम्भीर अपराध र अवैध रोजगारीको अनुसन्धान हो। पक्राउ परेका व्यक्ति अवैध रूपमा अमेरिकामा बसेर गैरकानुनी काम गरिरहेका थिए।’ पक्राउ परेकालाई फोकस्टन हिरासत केन्द्रमा राखिएको छ र देशनिकालाको प्रक्रिया चलिरहेको छ।
एलजी एनर्जी सोलुसनले ४७ कर्मचारी (४६ दक्षिण कोरियाली र एक इन्डोनेसियाली) पक्राउ परेको जनाएको छ। २५० जना ठेकेदारमार्फत थिए। कम्पनीले अमेरिकातर्फको सबै व्यवसायिक भ्रमण स्थगित गरेको छ। प्रवक्ताले भने, ‘अमेरिकामा खटिएका कर्मचारीहरूलाई यथासम्भव घर फर्काइनेछ वा उनीहरूलाई अस्थायी रूपमा आवासमै रोकिएको छ।’ उनका अनुसार निर्माण कार्य रोकिएको छ, जसले कारखानाको सञ्चालनमा ढिलाइ हुन सक्छ।
तर कम्पनीको सेयर मूल्य घटेको छ र लगानी योजना प्रभावित भएको छ। यो ४.३ अर्ब डलरको संयुक्त परियोजना हो, जसलाई जर्जियाको सबैभन्दा ठूलो आर्थिक विकास मानेको थियो। यो घटनाले दक्षिण कोरियाली कम्पनीहरूको अमेरिकी लगानीमा अनिश्चितता बढाएको छ, जसले दुई देशबिचको सैन्य र आर्थिक साझेदारीलाई परीक्षण गर्न सक्छ। सियोलले कूटनीतिक स्तरमा हस्तक्षेप बढाउने तयारी गरेको छ। एजेन्सी
प्रकाशित: २२ भाद्र २०८२ ०८:१५ आइतबार





